कैलालीको श्रीलङ्का टापुमा कर्णाली नदीको त्रास, १५ बिघा जमिन कटान | Khabarhub Khabarhub

कैलालीको श्रीलङ्का टापुमा कर्णाली नदीको त्रास, १५ बिघा जमिन कटान


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा जमिन कटान गरेको छ ।

नदीले कटान तीव्र पारेपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तीव्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन् ।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए ।

‘नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ । कैलालीको भाग बाँकी छ’, बोहराले भने, ‘दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ ।’

वैशाखदेखि नै कटान शुरु गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको उनले बताए ।

‘श्रीलङ्कामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ’, बोहरा भन्छन्, ‘वर्षेनिको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ । अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ ।’

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो । वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ ।

नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ । स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताउँछन् ।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ ।

श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ । त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ ।

त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ । त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको आयोजनाका प्रमुख धर्मकुमार न्यौपानेले बताए ।

टीकापुर–५ शाहीपुरमा पनि कर्णाली नदीमा सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध भत्कने जोखिम बढेको छ ।

तटबन्ध वरिपरीको माटोमा चिरा पर्न थालेकाले नदी बस्ती पस्ने जोखिम बढेको हो । नदी बस्तीमा पसे टीकापुर नगरपालिका डुबानमा पर्ने देखिन्छ ।

शाहीपुरमा तटबन्ध भत्किएमा टीकापुरमा हजारौँ परिवार डुबानमा पर्नुका साथै हजारौँ विघा जमिन कटान र डुबानमा पर्ने भएकाले आयोजनालाई अस्थायीरुपमा भए पनि तटबन्ध गर्न आग्रह गरेको स्थानीय बडघर धर्मराज जैसीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : २३ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा