खेल सुरु नगरौँ खेलक्षेत्रकै चिन्ता, सुरु गरौँ कोरोनाको डर | Khabarhub Khabarhub

खेल सुरु नगरौँ खेलक्षेत्रकै चिन्ता, सुरु गरौँ कोरोनाको डर



काठमाडौं- सरकारले जेठ अन्तिममा लकडाउन केही खुकुलो बनाएको छ तर पनि खेल क्षेत्र ठप्पै छ । चैत पहिलो सातादेखि नै बन्द खेलकुद गतिविधि पुनः चालु हुन सकेको छैन ।

अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालय खेलकुद गतिविधि सुरु गर्ने योजना बनाउँदै छन् तैपनि कहिले सुरु हुन्छ भन्ने थाहा छैन ।

लकडाउनले खेलाडी, प्रशिक्षक, रेफ्री र संघ सबैलाई असर पारेको छ । लकडाउनले सबैभन्दा बढी असर खेलाडीलाई असर परेको छ । एक्कासी लकडाउनले खेलाडीहरू घरमा थन्किन पर्दा शारीरिक र मानसिक समस्या भोग्नु परेको गुनासो गर्न थालेका छन् ।

कोरोना भाइरसले नेपाली खेलकुदमाथि गरेको असर, आगामी योजना, र यस्तै विषयको सेरोफेरोमा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालसँग खबरहबले गरेको कुराकानीको मुख्य अंश प्रस्तुत गरेका छौँ ।

देश लकडाउनमा छ, अहिले नेपाली खेलकुदको अवस्था कस्तो छ ?

नेपाली खेलकुद पनि लकडाउनकै अवस्थामा छ । लकडाउन हुनुभन्दा एक दिनअघि नै हामीले सम्पूर्ण खेल गतिविधि बन्द गर्‍यौँ । फागुन २१ गते सूचना जारी गरी भइरहेका खेललाई निरन्तरता दिन र नयाँ प्रतियोगिता नगर्न पत्राचार गरेका थियौँ । भइरहेका प्रतियोगितामा ठूलो लगानी भइसकेकाले नरोक्न भनिएको थियो । चैत १ गतेबाट अन्य प्रतियोगिता गर्न दिइएन, ‘बि’ डिभिजन फूटबल लिगबाहेक । बि डिभिजन लिगमा दर्शकको भिड नहुने भएकाले निरन्तर गर्न भनिएको थियो ।

लकडाउनपछि हामीले तीन वटा काम गर्‍यौँ । पहिलो, खेलाडीलाई फिजिकल्ली र मेन्टल्ली फिट रहनुस् भन्यौँ । घरमा जे–जे साधन र स्रोत उपलब्ध छ त्यसको सदुपयोग गर्दै फिट रहन भन्यौँ ।

दोस्रो, लकडाउनको मध्यतिर हामीले खेलाडीलाई जुम एपको माध्यमबाट प्रशिक्षण दियौँ । जुमबाट जसले प्रशिक्षण लिए उनीहरूको अनुभव सुन्दा त्यति प्रभावकारी भएन । प्रशिक्षकहरूले पनि गुनासो गरे ।

अहिले तेस्रो फेजमा खेल हेरेर व्यक्तिगत र सामाजिक दूरी कायम हुने खेलहरूको प्रशिक्षण सुरु गरेका छौँ । यसलाई औपचारिकभन्दा पनि अनौपचारिक बनाएका छौँ । सानो संख्यामा रहेर राष्ट्रियस्तरका खेलाडीका लागि प्रशिक्षण सुरु गरेका छौँ । सामूहिक खेल पनि थोरै संख्यामा अभ्यास सुरु गर्न भनेका छौँ ।

लकडाउनकै समयमा अहिले नेपाली खेलकुद तेस्रो चरणमा पुगेको हो ?

हो, तेस्रो फेजमा छौँ । जस्तो, नेपाली क्रिकेट टोलीको राष्ट्रिय टोलीका खेलाडीहरूले नेटमा अभ्यास गरिरहेका छन् । फूटबलको पनि फिजिकल फिटनेस र ‘बडी टच’ नहुने गरी सामाजिक दूरी कायम गरेर जो जहाँ छ त्यही ठाउँमा अभ्यास गर्नु भनेका छौँ । अहिलेसम्म अन्तर्राष्ट्रियरूपमा पनि केही लिगहरू छाडेर सेप्टेम्बरसम्मका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिएका छन् ।

अहिले प्रतियोगिता छैनन् तर त्यसै बसेर हुँदैन । खेलाडी फर्ममा आउन कम्तीमा १५ दिनदेखि एक महिना लाग्छ । हामीले अहिलेदेखि गृहकार्य गरिरहेका छौँ ।

विभागीय टोलीहरूले क्रमशः अभ्यास गरिरहनुभएको छ । नेपाल सरकारसँग अनुमति लिएका छौँ । केही दिन पछाडि सरकारको सहमति लिएर खेलाडी सुरक्षित हुने र खेलकुदका गतिविधि पनि नरोकिने गरी अगाडि बढाउने तयारी गरिरहेका छौँ ।

खेलकुद पुनः सञ्चालनका लागि सरकारसँग कसरी समन्वय भइरहेको छ ?

हाम्रो कुरा प्रष्ट छ । हामी अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गर्न सक्ने स्थितिमा छैनौँ । पहिलो कुरा मोबिलिटी हुनु पर्‍यो । प्रतियोगिताहरूको हकमा मेची, महाकालीका खेलाडीहरू प्रतियोगिता स्थलसम्म आउन सक्ने वातावरण बनेको छैन । दर्शक आउन सक्ने वातावरण छैन ।

हामीले केही प्रतियोगिता गर्न पनि अनुरोध पनि गरेका छौँ । लकडाउनकै कारण फूटबलको ‘बि’ डिभिजन लिग रोकियो । बी र सी डिभिजन लिगका खेलाडी र प्रशिक्षकलाई कोरोना जाँच गरौँ र लिग सुरु गरौँ भनेका छौँ ।

एउटा फूटबल प्रतियोगिता सुरु गर्न पनि कम्तिमा १५ दिन लाग्छ । बी र सी सुरु गर्न पनि खेलाडीलाई काठमाडौँ डाक्नुपर्‍यो । डाक्ने स्थिति पनि बनोस्, दर्शकविना वा सीमित दर्शक अथवा टेलिभिजन वा फेसबुक लाइभ गरेर प्रतियोगिता गरौँ भनेका छौँ ।

सरकारले सार्वजनिक गरेको चरणबद्ध लकडाउन खुकुलो पार्ने कार्यक्रममा खेलकुद अन्तिममा छ । कोभिड–१९ सम्बन्धी उच्च स्तरीय समितिले खेलकुदलाई अन्तिममा राखेको छ । हामीले धेरै ‘रिक्वेस्ट’ गरेपछि उहाँहरूले अहिले ‘अन्तिम’ भन्नुभएको छैन ।

यही महिनाको १५ गतेसम्म फेरि डाक्नुहोला । असार २१ सम्ममा लकडाउन छ त्यसपछिको परिस्थिति हेरेर के उपयुक्त छ, त्यो निकास निकालौँला ।

सरकारको प्राथमिकतामा खेलकुद नरहँदा राखेपले एकतर्फीरूपमा हामी खेलकुद गतिविधि सुरु गर्छौं भन्दा हुन्छ त ?

मैले सरकारसँग शरीर नछोईकन खेल्ने व्यक्तिगत स्पर्धाका खेलहरू सुरु गरौँ भनेको हुँ । शरीर छोइने खेल पनि फरक ढङ्गले गर्न सक्छौँ ।

कराते अथवा तेक्वान्दोमा एउटा काता हुन्छ, अर्को पुम्से हुन्छ । काता भनेको आर्टस् हो । आर्टस् गर्न कुनै समस्या भएन । फाइट गर्न सक्ने स्थिति भएन भने पनि खेलाडीले डेमो गरेर आफ्नो खेल निखार्न सक्छ । त्यसले खेलाडीलाई लकडाउन खुलेको १५ दिनदेखि १ महिना लाग्ने अवधि बचत गर्छ । उसको फिजिकल फिटनेस हुन्छ ।

नेपालमा दुई मोडलमा जान सकिन्छ । पहिलो मोडल राष्ट्रिय अन्तर्राष्ट्रिय हेर्दा खेलाडीको फिजिकल फिटनेस पहिलो शर्त हो । जस्तो : फूटबलमा खेलाडीले कम्तीमा २ घण्टा सब्स्टिच्युट नभई खेल्न सक्नुपर्छ भन्छ । दुई घण्टा खेल्न फिजिकल फिटनेस चाहियो ।

हामीले अहिले पौडी खेल सुरु गरौँ भनेका छैनौँ । प्रत्येकको घरमा पौडी पोखरी छैन । पौडी सुरु गर्ने बित्तिकै त्यहाँ कन्ट्यामिनेसन हुने सम्भावना बढी हुन्छ । तर, भारत्तोलन गर्नलाई के अप्ठ्यारो पर्‍यो र !

तपाईंले भनेकै कुरामा पनि सरकारले अनुमति दिने कुरा त रह्यो नि ?

सरकारले अहिले हामीलाई आधिकारिकरूपमा अनुमति दिने स्थिति छैन । अहिले सरकार पनि तैँ चुप मै चुपको स्थितिमा छ ।

हामीले अभ्यास सुरु गर्‍यौँ है भनेर इन्फर्मल जानकारी पनि दिएका छौँ । सरकारबाट रोक्नु भन्ने आदेश पनि छैन । सबैलाई खुला गर्नू भन्ने पनि छैन । किनभने सरकार पनि द्वैध मनस्थितिमा छ । एकातिर खुला नगरौँ इकोनोमिक मोविलिटी रोकिने भयो । खुला गरौँ फेरि कोरोना संक्रमण बढ्ने हो कि ! कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ । जति धेरै पीसीआर जाँच गर्‍यो त्यति धेरैमा संक्रमण बढ्दो छ ।

हामीले सरकारसँग आग्रह गरेका छौँ । खेलकुदका गतिविधि अगाडि बढाएनौँ भने, मनोपरामर्शका कुरा अगाडि बढाएनौँ भने खेलाडीहरूलाई गीत–संगीतबाट अगाडि बढाएनौँ भने त्यसले नकारात्मक बाटो समात्न सक्छ ।

सरकारको यसमा सैद्धान्तिक विमति छैन तर हाम्रो जनस्वास्थ्य विज्ञहरूको भनाइ फरक छ । उहाँहरू खेलकुद गतिविधि अहिले गर्नु हुँदैन भनिरहनु भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमण पिकमा पुगेको छैन । पिकमा नपुगीकन तल झर्दैन । त्यसैले अहिले यो गतिविधि दिनु हुँदैन, यसबाट समुदायमा पनि सर्छ भन्ने चिन्ता उहाँहरूको छ ।

सरकारले सबै पक्षलाई सोध्ला नि ! विश्व स्वास्थ्य संगठनको निर्देशन हेर्ला, स्वास्थ्य मन्त्रालयको पनि कुरो सुन्ला । हाम्रो पनि कुरा सुन्ला । म यति पक्का भनिदिन्छु, अब अहिले तोकिएको लकडाउन अवधिपछिको समयमा नेपाल सरकारले पनि खेलकुद अभ्यासमा फर्किने गरी केही खुकुलो नीति ल्याउँछ भन्नेमा म विश्वस्त छु ।

अभ्यासका लागि खेलाडी मैदान फर्काउने तयारी भइरहेको छ । तर, खेलस्थलमा अहिले खेल्न सक्ने स्थिति छैन । खेलस्थलहरू तयारीको अवस्था के छ ?

अभ्यास गर्न मैदानको समस्या छैन । खासखास ठाउँका मैदानहरू अहिले पनि तयारी अवस्थामै छन् । दशरथ रंगशाला, पोखराको रंगशाला, नेपालगञ्ज रंगशाला हेर्न सक्नुहुन्छ । यी ठाउँहरूमा समस्या छैन । जहाँ हामीले ध्यान पुर्‍याउन सकेनौँ, त्यहाँ स्थानीयले पनि ध्यान दिन सकेनन् । कतिपय ठाउँमा क्वारेन्टाइन पनि राखिएको छ ।

त्रिपुरेश्वर कभर्डहल, सातदोबाटो खेल परिसर लगायतका खेलस्थल पनि त अहिलेकै अवस्थामा खेल्न मिल्ने छैनन नि !

हामीले असार २ गतेदेखि सबै कर्मचारीलाई सिफ्टअनुसार काममा बोलाएका छौँ । जहाँ खेल्न अयोग्य छ त्यहाँको सरसफाइ गरेर खेल्न योग्य बनाइन्छ ।

राखेपले अभ्यास सुरु गर भन्छ तर कतिपय संघ, प्रशिक्षक र खेलाडी सरकारको आधिकारिक निर्णय नआई कसरी अभ्यासमा जाने भन्नेमा द्विविधामा छन्, आधिकारिक निर्णय कहिले आउँछ त ?

यी कुराहरू अल्छीका कुरा हुन् । जो जो मान्छेलाई हामीले कुरा गरेका छौँ, जो साँच्चै खेलाडी र खेलप्रति संवेदनशील छन्, ती मान्छेहरूले सुरु गरिसकेका छन् । कतिपय ठाउँमा अभ्यासका लागि स्थानीयबाट पनि अब्जेक्सन थियो ।

तपाईंहरुले यहाँ किन सुरु गराएको, हामीलाई कोरोना सर्छ भन्ने थियो । एक दुई ठाउँमा त मै पनि पुगे । खेलाडी कभर्डहलभित्र छिरेर अभ्यास गरेर ऊ घर जाँदा तपाईँहरूलाई के असहज छ त, त्यो खेलाडी कोरोनै बोकेर आएको छ त भनिसकेपछि उहाँहरू शान्त हुनुभयो ।

अब हामीले मुख्य प्रशिक्षकहरूलाई अनौपचारिकरूपमा निर्देशन दिइरहेका छौँ । अहिले हामीले अफिसियलरूपमा भन्न सक्न अवस्था छैन । मन्त्रालय र राखेप छलफलमा जुटिरहेका छौँ । हामी बीचको एक निष्कर्ष आएपछि त्यहीअनुसार अभ्यासमा जाने भनेका हौँ ।

एउटा सेन्टिमेन्टल कुरा भनौँ, कुनै एउटा खेलाडीमा कोरोना संक्रमण देखियो र त्यसबाट अन्यमा देखिने अवस्था आए सबैले आलोचना गर्नुहुन्छ । तपाईंहरुले नै पनि अलिकति पनि हेक्का नराखीकन अभ्यासमा गयो भन्नुहुन्छ । त्यसैले यी सबै कुरालाई मध्यनजर गर्दै हामी छिट्टै नयाँ निर्णय गर्छौं ।

अभ्यास सुरु भएपछि खेलाडीहरूलाई छुट्टै होटल वा क्वारेन्टाइनमा राख्ने कुनै योजना छ राखेपसँग ?

त्यस्तो छैन । राष्ट्रिय टोलीका सबैजसो खेलाडीहरू विभागीय टोलीमा छन् । उहाँहरूले त्यतै अभ्यास सुरु गर्नुभएको छ । विभागीय बाहिरका खेलाडीको संख्या सिमित छ । उहाँहरूलाई साधन छ । बाहकबाट अथवा आफ्नो साधनबाट आउनुहुन्छ । त्यो भएन भने खेलाडीका लागि आधा घण्टा हिँड्नु केही ठूलो कुरा होइन । स्वास्थ्य नै ठिक हुन्छ । अभ्यास गर्ने खेलाडीका लागि क्वारेन्टाइनजस्तो छुट्टै बस्ने व्यवस्था गर्न सम्भव छैन । सम्भव नभएको कुरामा धेरै जानु हुँदैन ।

लकडाउनपछिको नेपाली खेलकुद कस्तो होला ?

लकडाउनपछि हामी एउटा काम गर्छौं । हामी ७७ वटै जिल्लामा पुग्न नसकौँला तर प्रादेशिकरूपमा हामी एउटा निर्देशन दिन्छौँ ।

उनीहरूलाई मनौवैज्ञानिक परामर्शका लागि, फिजिकल फिटनेसका लागि, योगाका लागि, ध्यानका लागि सम्बन्धित क्षेत्रका विज्ञबाट वर्कसप सञ्चालन गर्छौं ।

यो काठमाडौँ र बाहिर पनि गर्छौं । यसले उहाँहरूलाई मनोबल उच्च राख्न सहयोग गर्छ । त्यसपछि मात्रै उहाँहरू दैनिक काममा फर्किनु हुन्छ । कतिपय खेलका धेरै खेलाडीहरू बिहान बेलुका के खाऊँ भन्ने स्थितिमा पनि छन् ।

कतिपय व्यावसायिक खेलाडीको चिन्ता छ । मेरो यो समय खेलबाट कमाउने अवसर थियो, त्यो प्रतियोगिताबाट यति पाउँथे वा जित्थे भन्ने हुन्छ । अन्तर्राष्ट्रिय खेलका यो यो मा भाग लिन्थेँ यसबाट यति आउँथ्यो भन्ने हुन्छ । ज्यान रहे पो खेल रहन्छ । जीवन रक्षा पहिलो कुरा हो ।

लकडाउनले खेल संघ, खेलाडी, प्रशिक्षक, रेफ्री लगायत सबैलाई आर्थिकरूपमा कमजोर बनाएको छ । यसलाई कम गर्न राखेपले कुनै आर्थिक प्याकेज ल्याउनेबारे केही योजना छ ?

आर्थिक प्याकेज ल्याउन सम्भव पनि हुँदैन । राखेपसँग त्यो खालको बजेट छैन । हामीले के भनेका छौँ भने, कोही साँच्चै समस्यामा पर्नुभएको छ भने राखेपले सहयोग गर्छ, गरिरहेको पनि छ । त्यसका लागि सूचना नै जारी गरेका छौँ । साँच्चै समस्या छ भने जानकारी गराउनुस् भनेका छौँ ।

हामीले एउटा सोच राखेका थियौँ । यहाँका खेलाडी, प्रशिक्षकहरूका लागि बीमा गर्ने योजना बनाएका थियौँ तर सरकारले बजेट भाषणबाट सम्बोधन गरिदिएको छ ।

अब हामी खेलाडी, प्रशिक्षक, पत्रकार सबैको कोरोना जाँच गर्छौं पनि भनेका थियौँ । आरडीटी जाँच गर्ने योजना थियो तर विवादास्पद भएपछि रोक्यौँ । पीसीआर गर्न महँगो छ । कोही समस्यामा पर्नुभएको छ भने सहयोग गर्न हामी तयार छौँ ।

नवौँ राष्ट्रिय खेलकुदको तयारी पनि गर्नु छ । लकडाउनले नवौँ राष्ट्रिय खेलकुदलाई असर कत्तिको असर गर्ला ?

नवौँ राष्ट्रिय खेलकुदलाई यसले कत्ति पनि असर गर्दैन । पहिलो समस्या पर्ने भनेको भौतिक पूर्वाधारमा हो । पूर्वाधारको कुरा गर्दा दुई खेलबाहेक सबै खेलका संरचना तयार छन् ।

सुटिङ र स्वीमिङको पूर्वाधार छैनन् त्यो बाहेक सबै संरचना तयार छन् । सुटिङ र स्वीमिङका लागि टेन्डर आह्वान गरेका छौँ । त्यो बेलासम्ममा हामी काम सक्छौँ ।

केही गरी सकिएन भने वैकल्पिक उपाय खोज्छौँ । ती दुई खेल अन्य ठाउँमा गरेर भए पनि गराउँछौँ । पूर्वाधार नभएका कारणले रोकिँदैन । हामीलाई तीन महिना समय भए पुग्छ ।

पहिलो महिनामा जिल्ला छनोट र तयारी गर्छौं । दोस्रो महिनामा प्रदेश छनोट हुन्छ र अभ्यासको व्यवस्था गर्छौं । तेस्रो महिनामा प्रदेशका लागि छनौट भएका र विभागीय टिमबाट सहभागी हुने खेलाडी राखेपको सम्पर्कमा आउनुहुन्छ ।

मंसिर मसान्तसम्म कोरोनाको इम्पेप्याक्ट देखिएन भने हामी पुस, माघ, फागुन गरेर अघि बढाउन सर्क्छौं । कतिपय देशमा देखिएको जस्तो दोहोरिने अवस्था आयो भने सोचौँला । अहिले तोकिएकै समयमा हुन्छ हुँदैन भनेर प्रश्न गर्ने बेला भएको छैन ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ५० बजे

गठबन्धनबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीको दाबी पेस 

काठमाडौं– नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा

काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित विधिबाट तोकियो

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि काठमाडौँ जिल्लाका

गठबन्धनमा गडबड : कांग्रेस भन्छ- नयाँ खबर सुन्न पाइन्छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ (तस्बिरहरु)

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ।