विदेशमा १०१ नेपालीको शव अलपत्र, कोरोनाका मृतक नल्याइने | Khabarhub Khabarhub

विदेशमा १०१ नेपालीको शव अलपत्र, कोरोनाका मृतक नल्याइने


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विभिन्न मुलुकमा नेपालीका १०१ शव अलपत्र अवस्थामा छन् ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरब मलेसिया, युएई, कुवेत, कतार, साइप्रस, दक्षिण कोरिया र सेफल्समा ७४ जना नेपालीको मृत्यु भएको छ । बाँकी २८ जना नेपालीको भने कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार साउदी अरबमा २८, मलेसियामा १५, युएईमा १२, कतारमा ८, कुवेतमा ६, साइप्रस, दक्षिण कोरिया र सेफल्समा एक–एक जना नेपालीको मृत्यु भएको छ ।

लकडाउनअघि नै वैदेशिक रोजगारीका क्रममा केही नेपालीको मृत्यु भएपछि तिनका आफन्तले वैदेशिक रोजगार व्यवसायीलाई समन्वयका लागि ताकेता गरेका थिए । लकडाउन भएपछि समन्वय गरेर पनि पार नलागेको वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले बताए ।

‘कामका शिलशिलामा विदेशमा रहेका नेपालीको मृत्यु भएपछि कामदार पठाउने हामी व्यवसायीलाई पनि तिनका आफन्तले बारम्बार आग्रह गरेका थिए,’ गुरुङले भने, ‘हामीले पनि भन्ने वैदेशिक रोजगार विभाग, बोर्ड, श्रम र परराष्ट्र मन्त्रालयलाई नै हो, तर महामारीको यो विषम परिस्थितिमा पीडित परिवारका आफन्तले मन थाम्नु बाहेकको विकल्प छैन ।’

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार श्रम स्वीकृति लिएर गएका तर दुर्घटना लगायतका अन्य विविध कारणले मृत्यु भएकाहरूको उतै सत्गत गराउन परिवारलाई मनाउने प्रयत्न भइरहेको छ ।

युएईमा मृत्यु भएका १२ जनामध्ये २ जना, दक्षिण कोरिया र सेफल्सका एक–एक जनाको भने परिवारले अनुमति दिएपछि उतै सत्गत गरिएको छ ।

परम्परादेखिको रीतिथितिको कारण देखाउँदै आफन्तले नमानेपछि अरू ६९ वटा शव नेपाल ल्याउने तयारी गरिएको छ तर लकडाउन नहटी ल्याउने सम्भावना नरहेको उनले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय उडान बन्द छ, अधिकांश मुलुकहरू लकडाउनमा छन्, कतिपय देशमा त कर्फ्यूकै अवस्था पनि छ, यस्तो बेला शव ल्याउन कठिन छ,’ श्रेष्ठले भने, ‘लकडाउन खुलेलगत्तै हामी शव ल्याउँछौँ, त्यसको तयारी हामीले गरिसकेका छौँ ।’

जहाज चाटर्ड गरेरै शव ल्याउन पठाउने विकल्पबारे छलफल भएपनि व्यावहारिक नभएपछि लकडाउन नहटी नल्याउने निचोडमा पुगेको उनले बताए ।

‘जहाज पठाउँदा पनि ८ मुलुकमा पठाउन पर्‍यो, त्यो पनि एकै ठाउँमा शव हुन्नन् भेला पार्नै पर्‍यो, अर्कातर्फ बाँचेका मानिसलाई प्राथमिकता नदिएर शव लानमात्र खोजियो भनेर विरोध आउन सक्ने अवस्था आकलन गरेर पनि तत्कालै शव नल्याइने निर्णयमा पुगियो,’ उनले भने ।

अझै पनि के गर्ने भन्नेबारे सरकारले नीतिगत निर्णय गरिदिए सहज हुने उनले बताए । श्रेष्ठका अनुसार कोरोनाको त्रासका कारण नेपाल आउन नै चाहने नेपालीको संख्या पनि हजारौँ छ ।

भिसा अवधि तथा श्रमको अवधि सकिएर पनि लुकिछिपी काम गरिरहेका ७ हजार जति नेपालीलाई कुवेत सरकारले आममाफी दिएको छ । उनीहरूलाई पनि नेपाल ल्याउन दबाब परिरहेको छ तर नीतिगत निर्णय हुन नसक्दा समस्या भएको उनले गुनासो गरे ।

श्रममन्त्री रामेश्वर राय यादवले भने तत्कालै विदेशमा रहेका नेपालीलाई ल्याउने सम्भावना नभएको दोहोर्‍याएका छन् ।

‘सबै नेपालीलाई एकैपटक नेपाल ल्याउन सम्भव छैन, ल्याइहाले पनि व्यवस्थापन गर्न कठिनाइ छ,’ मन्त्री यादवले भने, ‘अप्ठेरोमा परेका नेपालीलाई आवश्यक परे दूतावासमै सेल्टरको समेत व्यवस्था गर्न हामीले सम्बन्धित मुलुकमा रहेका हाम्रा दूतावासलाई निर्देशन जारी गरेका छौँ ।’

आपतकालीन उद्धार गर्नैपर्ने अवस्थाका कामदार भए राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा शुक्रबार गठित समितिले दिने सिफारिसका आधारमा निर्णय हुन सक्ने यादवले जानकारी दिए ।

विदेशमा अलपत्र परेका नेपालीका १०१ वटा शवका विषयमा भने मन्त्री यादवले शव अलपत्र नभई अस्पतालमै रहेकाले उतै सत्गतका लागि परिवारले अनुमति दिए सबैको कल्याण हुने जिकिर गरे ।

‘यो महामारीका बेला शव उतै सत्गतिका लागि अनुमति दिए सबैको राम्रो हुन्छ, शव ल्याइनै हालिए पनि यहाँ पनि जोखिम छ,’ उनले भने, ‘भिडभाड गर्न नमिल्ने समयमा सत्गतका लागि मानिसहरु भेला हुन्छन् नै त्यसले पनि अप्ठ्यारो पार्छ, मेरो अहिले पनि अनुरोध छ शव उतै व्यवस्थापन गरौँ ।’

शव ल्याउनै पर्ने परिस्थितिमा लकडाउन खुलेपछि पनि कोरोना संक्रमितबाहेकको मात्रै शव ल्याइने उनको भनाइ छ । मन्त्री यादवको भनाइ नै नीतिगत निर्णयमा परिवर्तित भए बेलायत, अमेरिका, युएई र आयरल्याण्डमा कोरोना भाइरस संक्रमणले मृत्यु भएका २८ नेपालीको उतै सत्गत गर्नुपर्ने हुन्छ ।

कोरोना भाइरसको महामारीले ग्रस्त भएका ती मुलुकहरूमा नै दैनिक औसत २ हजार हाराहारी मानिसको मृत्यु भएकाले नेपालीको शव व्यवस्थापन प्राथमिकतामा परेको छैन ।

महामारीले ती मुलुकहरूले आफ्नै नागरिकको शव व्यवस्थापनमा समस्या भोगिरहँदा मृतक नेपालीका आफन्त सम्पर्कमा नपुग्दा शव अलपत्र परेका खबरहरू बाहिरिएका छन् ।

एनआरएनको तथ्यांकानुसार आइतबारसम्म बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जना नेपालीको कोरोना भाइरसले मृत्यु भएको छ ।

ती मुलुकहरूमा मृत्यु भएका नेपालीहरूको अन्तिम संस्कार गर्न समेत समस्या भइरहेको छ । अमेरिकामा नै कोरोना भाइरस र अन्य कारणले मृत्यु भएका १२ नेपालीको शव १५ दिनदेखि अस्पतालकै शवगृहमा राखिए पनि मृतकका आफन्त तथा परिवारजन सम्पर्कमा नपुगेकाले व्यवस्थापनमा समस्या भएको हो ।

कोरोना भाइरसको महामारी फैलिएको अमेरिकामा अरू कारणले मृत्यु भएका नेपालीको पनि शव बुझ्न परिवारजन सम्पर्कमा नपुगेपछि अमेरिकास्थित नेपाली दूतावासले समन्वयको प्रयत्न गरिरहेको छ ।

अहिलेसम्म परिवार वा आफन्तबारे केही पत्ता लाग्न नसकेकाले समस्या भएको नेपाली वाणिज्य दूतावासका कार्यवाहक कन्सुलेट पुष्प भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ४२ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल