कोरोना भाइरस संक्रमणको त्रास– भीडभाड हुने सरकारी कार्यालयमै बेवास्ता ! | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको त्रास– भीडभाड हुने सरकारी कार्यालयमै बेवास्ता !



काठमाडौं– बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय बबरमहल पुग्दा दुईजना महिला सुरक्षागार्डको रुपमा गेटमा खटिएका थिए ।

हातमा सेतो र निलो रङको थर्मोस्क्यानर समातेका उनीहरुमध्ये एक महिलाले कार्यालय प्रवेश गर्नेलाई रोक्दै थिइन् भने अर्की महिला ज्वरो परीक्षण गर्दै थिइन् ।

‘दाइ पख्नोस् ! तपाईको ज्वरो परीक्षण गर्नुपर्छ’ उनले कार्यालय प्रवेश गरिरहेका एक व्यक्तिलार्ई रोक्दै भनिन्, ‘परीक्षण नगरी कार्यालय प्रवेश गर्न पाइदैँन ।’

मानिसहरु लाइनमा थिए । शरीरको तापक्रम परीक्षणका लागि । तपाईको तापक्रम सामान्य छ जानुस् भन्दै ती महिलाले मानिसहरुलाई पठाइरहेकी थिइन् ।

त्यस्तै अर्को दृश्य ललितपुर महानगरपालिकाको । जहाँ पुग्ने मानिसहरुले कार्यालय प्रवेश गर्नुअघि गेटमा ज्वरो परीक्षण सकेर स्यानिटाइजरको प्रयोग गरिरहेका थिए ।

ललितपुर महानगरपालिको गेटमा पनि एक महिला र एक पुरुष सुरक्षागार्ड महानगरको कार्यालय प्रवेशस्थलमा थर्मोस्क्यानर लिएर उभिएका थिए । महिला सुरक्षागार्ड महानगरमा प्रवेश गर्ने व्यक्तिको ज्वरो परीक्षण गरिरहेकी थिइन् भने पुरुष सुरक्षागार्डले स्यानीटाइजर दिइरहेका थिए ।

‘महानगरभित्र प्रवेश गर्नेहरुको तापक्रम परीक्षण गरिरहेको छु’ उनले भनिन्, ‘अहिलेसम्म सबैको तापक्रम सामान्य नै देखिएको छ ।’

‘ज्वरो परीक्षण गरेपश्चात हातमा स्यानिटाइजर लगाएर मात्र भित्र प्रवेश गर्न दिइरहेका छौं’ त्यस्तै हातमा रहेको स्यानिटाइजर देखाउँदै अर्का सुरक्षागार्डले भने, ‘हामीले आजबाटै यो काम शुरु गरेका हौं ।’

ललितपुर महानगरपालिकाले यसअघि आफ्ना विभिन्न वडाहरुमा मास्क र स्यानिटाइजरको उत्पादनका लागि तालिम समेत दिइसकेको छ । अहिले ती वडाबाट राम्रो उत्पादन भइरहेको प्रवक्ता राजु महर्जन बताउँछन् ।

‘हामीले केही दिनअघि मास्क उत्पादनका लागि तालिम दिएका थियौं अहिले उत्पादन भएका मास्कहरु मार्केटमा समेत गइरहेको छ’ प्रवक्ता महर्जनले खबरहबसँग भने, ‘त्यस्तै अहिले सेनिटाइजरको उत्पादनका लागि नास्टसँगको सहकार्यमा तालिम दिने कार्य भइरहेको छ ।’

ललितपुरपछि हामी पशुपति क्षेत्र पुग्यौं । पशुपति क्षेत्रमा दर्शनका लागि ठूलो संख्या दर्शनार्थीहरु भेटिएका थिए । मन्दिर प्रवेश गर्नेको हकमा कोरोना भाइरसको संक्रमणबाट जोगिने केही उपाय अपनाइएको पाइएन ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पनि कुनै तयारी गरिएको पाइएन ।

कोषले आजसम्म कार्यालय प्रवेश गर्दा कसैको तापक्रम परीक्षण गरेको छैन र स्यानिटाइजरको प्रयोग पनि गरिएको छैन ।

कोषको मानवसंशाधन शाखाले आफ्ना कर्मचारीका लागि भने एउटा सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार विद्युतीय हाजिर मेशिनको औंठा छापले पनि कोरोना सर्न सक्ने प्रवल सम्भावना रहेको हुँदा आजको मितिबाट यसको प्रयोग नगर्न र फेसको माध्यमबाट मात्र हाजिर गर्नु हुन अनुरोध गरिएको छ ।

यो सूचना कोषले फागुन महिनाको २९ गते सार्वजनिक गरेको हो । हाजिरको प्रक्रिया यस्तो बनाए पनि कोषभित्र पनि अहिले कोरोनाको संक्रमण तथा जोखिम कम गराउनका लागि त्यस्तो केही सामग्रीको प्रयोग गरेको भने पाइदैँन ।

सरकारी कार्यालयहरुमा यस्तो देखियो

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग, स्यानिटाइजर, हात धुने व्यवस्था लगायत गर्न चिकित्सकहरुले आग्रह गर्दै आएका छन् ।

मानिसको बढी भीडभाड हुने क्षेत्रमा नजान र जानै परे सावधानी अपनाउन सरकारले पनि आग्रह गरेको छ तर सरकारी कार्यालयहरुमै भने त्यस्तो सावधानी अपनाइएको पाइँदैन ।

सरकारी कार्यालयमा प्रवेश गर्दा कस्ता प्रक्रिया अपाउनुपर्ने व्यवस्था गरेको छ त ? यसबारे केही सरकारी कार्यालयहरुमा पुग्दा कतै राम्रो तयारी देखियो भने कतै शून्य ।

सेवाग्राहीको भीड हुने यातायात व्यवस्थाको कार्यालय एकान्तकुनामा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि केही उपाय अपनाइएको पाइएन ।

बिहीवार रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा विभिन्न कामका लागि आएका सर्वसाधरणको भीड देखिन्थ्यो ।

कार्यालयका कोठाहरुमा सेवाग्राही र कर्मचारी बिना मास्क भीडभाड र लाइनमा उभिएका थिए । हरेक दिन उत्तिकै भीड हुने यस कार्यालयले स्यानिटाइजर, थर्मोस्क्यानर, साबुन पानी जस्ता सामाग्रीको उपलब्ध गराउन सकेको छैन ।

अहिलेसम्म कार्यालयभित्रका कर्मचारीले पनि कोरोनाको जोखिम कम गराउनका लागि कुनै पनि उपाय नअपनाएको एक कर्मचारीले खबरहबलाई जानकारी दिए ।

‘यहाँ कार्यरत कर्मचारीहरुले मास्कको प्रयोग गरिरहनु भएको छ’ उनले भने, ‘स्यानिटाइजर, स्प्रे प्रयोग हाम्रो कार्यालयमा भएको छैन ।’

दैनिक सयौंको संख्यामा सेवाग्राही पुग्ने स्थानमा सम्भावित संक्रमणको जोखिमबाट बच्ने उपाय अपनाउनु पर्ने भएपनि त्यस्तो भएको पाउन सकिँदैन ।

यातायात व्यवस्थाको कार्यालयमा मात्र होइन त्यस्ता धेरै कार्यालयले संसारभर फैलिइरहेको कोरोना भाइरसको जोखिम कम गराउनका लागि अहिलेसम्म केही पहल गरेको पाउइएको छैन ।

स्थानीय सरकारका रुपमा रहेको काठमाडौं महानगरपालिकाले पनि अहिलेसम्म यसबारे सावधानी अपनाउन सेकेको छैन । महानगरपालिकाको कार्यालय बागदवारमा पुग्ने जो कोहीले बिना परीक्षण कार्यालय प्रवेश गरिरहेका छन् । कार्यालयमा कुनै पनि सावधानी अपनाएको देखिँदैन ।

चिकित्सकहरुका अनुसार कोरोना भाइरसको जोखिमबाट जोगिन नियमित रुपमा सावुन पानीले हात धुने, अरुसँग हात नमिलाउने, स्यानेटाइजरको प्रयोग गर्ने, मास्क लगाउने काम गर्नुपर्छ ।

त्यस्तै खोक्दा वा ह्याँछु गर्दा कुहिनो वा कागजी–रुमालले नाक र मुख छोप्ने । भीडभाडयुक्त स्थानमा नजाने ।
रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्ने र ज्वरो आउने, सुख्खा खोकी लाग्ने, स्वास फेर्न कठिन भए तुरुन्त अस्पताल जाने गर्नुपर्छ ।

कोरोनाको संक्रमण यतिवेला विश्वव्यापी बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषणा गरिरहेको छ ।

अमेरिका, युरोप लगायतका विकशित देशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रणमा आउन नसकेको समयमा कोरोना संक्रमणको जोखिमबाट बच्न सावधानी अपनाउनु वुद्धिमानी हुन जान्छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले एसईई परीक्षा स्थगन गरेको छ भने अन्य विश्वविद्यालय, लोकसेवा आयोगको परीक्षा पनि स्थगित गरिएको छ । विद्यालय तथा कलेजहरु चैत्र मसान्तसम्मका लागि स्थगन गरिएको छ ।

यसैबीच सरकारले २५ जना भन्दा धेरै मानिसको भेलामा रोक लगाएको छ भने भीडभाड हुने क्षेत्रमा नजान सार्वजनिक रुपमा आह्वान गरेको छ ।

त्यस्तै मठ मन्दिरमा पनि २५ जना भन्दा धेरै जना भेला नहुन तथा दर्शनार्थीको लाइन १ मिटरमा राख्ने व्यवस्था मिलाउन सरकारले आह्वान गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १० : १० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न