अन्नपूर्ण हिमपहिरोमा चार दिनदेखि हराएका ७ जनाको अवस्था अझै अज्ञात | Khabarhub Khabarhub

अन्नपूर्ण हिमपहिरोमा चार दिनदेखि हराएका ७ जनाको अवस्था अझै अज्ञात

प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा वेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पार्न सकिएको छैन ।

पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए ।

घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

टेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल सङ्घ पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ ।

घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले वेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए । घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको बताइन्छ ।

शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उनका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पदयात्रामार्गको दोभानभन्दा माथि तथा माछापुच्छ्रे आधार शिविर, देउरालीलगायतका स्थानबाट १३० पर्यटक तथा नेपाली नागरिकलाई स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएकोमा ६४ लाई पोखरा तथा अन्यलाई छोम्रोङसम्म ल्याइएको टानले जनाएको छ । घटनापछि अन्नपूर्ण पदयात्रा मार्गमा अहिले कोही पनि पर्यटक नरहेको बताइन्छ ।

टानले घटनालगत्तै सातको उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो । सो टोलीले त्यहाँको स्थलगत अवलोकन गर्दा पर्यटक हराएको आशङ्का गरिएको स्थलमा बाक्लो हिउँ जमेका कारणले हिउँ पग्लन कम्तीमा पनि एक महिना समय लाग्ने र खोजीमा कठिनाइ भएको जनाएको छ । घटनास्थल वरपर अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको बताइन्छ ।

हराइरहेका आफन्तसमेत घटनास्थलतर्फ गएको टानका निर्वतमान अध्यक्ष एवं उद्धार टोलीका संयोजक दीपकराज अधिकारीले जानकारी दिए । त्यसैगरी कोरियनका आफन्तको टोलीसमेत आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ ।

चार चिनियाँ पर्यटक सम्पर्कमा

यसैबीच थ्रोङला पार गर्ने क्रममा मनाङबाट सम्पर्कविहीन भएका चार चिनियाँ पर्यटक आइतबार सम्पर्कमा आएका छन् । ती पर्यटक थ्रोङला पार गरेर मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलले जानकारी दिए ।

मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका उनीहरु सम्पर्कमा नआएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ८ : ०८ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार