बिचल्लीमा दलित परिवार : गाँस, बास र कपासकै समस्या « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

बिचल्लीमा दलित परिवार : गाँस, बास र कपासकै समस्या



बैतडी- बर्सातको समय, लगातारको झरी, अनि खुला आकाशमा रात दिन काट्नुपर्ने बाध्यतामा बस्नुपर्दा कस्तो होला ? एक दिन होइन, दुई दिन होइन, महिना पनि होइन, वषौँदेखि यसैगरी रात दिन काटिरहेको छ बैतडीको एक दलित परिवार ।

बैतडीको पाटन नगरपालिका–४ जेउडेका रमेश लावडको परिवारलाई गाँस, बास र कपासको समस्या भएको छ । मेरुदण्डमा भएको बोन टिबीबाट ग्रसित ३० वर्षीय रमेश शारीरिकरूपमा समेत कमजोर छन् । रमेशको मेरुदण्ड नै नभएपछि घरपरिवार पाल्न निकै समस्या भएको हो ।

रमेशका श्रीमती, दुई छोरा र एक छोरी गरेर पाँच जनाको परिवार छ । पाँच वर्षदेखि रमेश बोन टिबीबाट गस्रित हुन् । पाँच वर्ष अगाडिसम्म भारतमा रहँदा घरपरिवार सजिलैसँग पाल्न सकेको भए पनि हाल आएर रमेशलाई सङ्कट परेको हो । १५ वर्षकै उमेरमा रमेशको बिहे भयो । बिहे गरेको एक वर्षमा आमाबुवा सँधैका लागि बिदा भए । आमाबुवा गुमाएपछि रमेशलाई झनै पीडा थपियो । उनले भने, ‘भगवान्ले पीडा पनि गरिबलाई नै दिनेरहेछ, गरिबका लागि भगवान् पनि आफ्नो नहुने रहेछन् ।’

एक्लै छोरा, सानैमा आमाबुवा गुमाउँदाको पीडा १६ वर्षको उमेरमै भोग्न बाध्य भए । आमाबुवा गुमे पनि आफू रोजगारीका लागि भारत गएर परिवार पाल्न ठिक्क हुने गरेको बेला बोन टीबीले थला परे । भारतमै रोजगारी गर्ने क्रममा शरीर दुखिरहने, पीडा हुने गरेपछि रमेश अस्पताल गए । बैङ्गलोरमा रोजगारी गरिरहेका रमेशलाई स्थानीय अस्पतालमा दुखाई कम हुने औषधि दिइयो तर रोग पत्ता लागेन ।

त्यसपछि दिल्ली पुगे र त्यहाँ पनि त्यही क्रम दोहिरियो । औषधि मात्रै सेवन गर्न भन्ने तर रोग पत्ता लाग्न नसक्दा रमेशलाई दुखाइले झनै च्याप्दै लग्यो । सोही बेला रमेशले भारतकै पिथौरागढमा जाँच गर्दा बोन टिबी भएको पत्ता लाग्यो ।

बोन टिबी पत्ता लागेपछि शल्यक्रिया गरेर उपचार गर्दा भएको पैसा जति उपचारमै सकिएको रमेशले बताए । बोन टिबी भएपछि भएको सबै जायजेथा उपचारमा सकियो र भारतमा रोजगारी गरी कमाएको सबै पैसा र सम्पत्ति पनि सकियो । उपचारमै भएको पैसा र सम्पत्ति सकिएपछि रमेशको दिनचर्या दयनीय बनेको छ । बर्सातको समयमा न त ओत लाग्ने घर छ, न शरीरमा एकसरो लुगाबाहेक अरु छ, न त सम्पत्ति नै रह्यो ।

ओत लाग्ने घर नहुँदा पुरानो जीर्ण घरमा प्लास्टिकको छानो हालेर बस्नुपरेको उनले सुनाए । पाँच जनाको परिवार रहेका रमेशलाई अहिले घरपरिवार पाल्नसमेत निकै धौधौ भएको छ । शारीरिकरूपमा कमजोर हुँदा ज्याला मजदुरीसमेत गर्न नसक्ने भएकाले परिवार पाल्न निकै समस्या भएको उनले बताए । अहिले बर्सातको समयमा चुहिने घरमा रात बिताउनुपरेको उनको भनाइ छ ।

“आफन्तको शरणमा पनि कति जानु, जाँदाजाँदै थाकिसकेँ”, उनले भने, “राति सुतेपछि बिहान उठ्दा शरीर सुन्निएको हुन्छ, बिहान उठ्न सकिँदैन, पूरै ओछ्यान भिजेको हुन्छ ।”

सहयोगका लागि सबैलाई भनेको भए पनि कुनै चासो नदिएको रमेशको भनाइ छ । उनले भने, “गरिबको गुनासो सुन्ने कोही भएन, कसलाई भन्ने, गरिबका दिन जहिल्यै उस्तै ।”

आर्थिक अवस्था कमजोर भएपछि घर बनाउनका लागि वडा कार्यालय, जनता आवास कार्यक्रम, हलिया मुक्ति समाजमा निवेदन दिएको भए पनि कसैले सहयोग नगरेको उनले गुनासो गरे । उनले भने, “जनता आवासका मान्छे आएर घरको अवस्था हेरेर फोटो खिचेर लगे, मेरा लागि जनता आवास पनि काम लागेन, खै किन हो । के भयो भनेर सोध्दा कोरोनाले खायो भन्छन् ।”

घरमा आएर सबै प्रक्रिया पुर्‍याउँदा अब त घर बन्छ भन्ने सोचेको तर हालसम्म पनि कतैबाट पनि सहयोग नपाएको उनको भनाइ छ । नजिकको सरकार भनेर चिनिने नगरपालिका र वडा कार्यालयलाई पनि सहयोगका लागि आग्रह गरेको भए पनि कुनै सहयोग प्राप्त नभएको उनले बताए ।

उनले भने, “अहिले छोराछोरीलाई विद्यालय पठाउन सकिएको छैन । उनीहरुको शरीरमा एकसरो लुगासमेत दिन सकिएको छैन ।” बाह्र वर्षकी जेठी छोरी निर्मलाले कक्षा ६ बाट पढाइ छाडिन् । घर नजिकै रहेको मसानी दलित प्राविमा कक्षा ५ सम्म पढाइ गरेको भए पनि त्यसपछि पढ्नलाई घरपरिवारको आर्थिक अवस्था कमजोर हुँदा समस्या भयो ।

“स्कूल पढ्ने रहर त थियो तर के गर्नु कापी कलमसमेत किन्न पैसा नभएपछि कसरी पढ्नु”, निर्मलाले भनिन्, “कतैबाट सहयोग मिल्यो भने अझै पनि पढ्ने इच्छा छ, घरपरिवारले पढाउन सक्ने अवस्था छैन ।”

यस्तै १० वर्षको छोरा तारा कक्षा ४ मा पढ्छन् भने आठ वर्षको अर्को छोरा हरिश ३ कक्षामा पढ्छन् । उनीहरु गाउँमै रहेको विद्यालयमा अध्ययन गर्छन् । साँझ बिहान छाक टार्न समस्या रहेको रमेशले बताए । उनले भने, “भएको अन्नपात डेढ महिना मात्रै खान पुग्छ ।”

छोराछोरीलाई बिहान खुवाएर साँझ के खुवाउने भन्ने चिन्ता लाग्ने गरेको रमेशकी श्रीमती पार्वतीले बताइन । “कहिले कोहीसँग माग्छौँ, कहिले कोहीसँग मागेर गुजारा चलाएका छौँ”, उनले भनिन्, “पानी परेको दिन पनि छिमेकीको शरणमा जानुपर्छ, ओत लाग्नलाई, कम पानी परेको दिन गोठमा सुत्ने गरेका छौँ, गोठमा पनि दुई दिन सर्प देखियो, बस्न पनि डर लाग्ने गरेको छ ।” रमेशसँग ‘ग’ वर्गको परिचयपत्र भएकाले भत्ता पनि पाउँदैनन् । स्थानीय पसलेको खाद्यान्न उधारो तिर्न रु एक लाख पुगेको उनले बताए । घर निर्माण शुरु गरेको भए पनि अधुरै छ ।

स्थानीय सरकारलाई थाहा छैन

रमेश लावडलाई गाँस, बास कपासको समस्या रहेको भए पनि स्थानीय सरकारले भने थाहा नभएको जवाफ दिएको छ । रमेशको परिवारलाई स्थानीय सरकारबाट कुनै सहयोग प्राप्त नभएको हो । लकडाउनको बेला केही महिनाअघि राहतका लागि खाद्यान्न पाएको भए पनि अरु कुनै सहयोग प्राप्त भएको छैन । लकडाउनको बेला राहत वितरण गरेको पाटन–४ का वडाध्यक्ष दीपक विष्टले जानकारी दिए ।

रमेशलाई समस्या भएको भन्ने खासै जानकारी नभएको उनले बताए । उनले भने, “रमेशको परिवार हालसम्म पनि सम्पर्कमा आएको छैन, रमेशजस्तै सोही गाउँका थुप्रै समस्या छन् ।”

उक्त ठाउँका ५० प्रतिशतभन्दा बढी दलित घरपरिवारको अवस्था एउटै रहेको उनले भने । उता नगरप्रमुख केशवहादुर चन्दले पनि रमेशको आर्थिक अवस्था कमजोर भएर जीविकोपार्जन गर्न समस्या रहेकोप्रति अनभिज्ञता प्रकट गरे ।


भर्खर

0