महावीर भन्छन् – आइडिया ल्याउनुस्, हामीसँग काम गर्नुस् « Khabarhub
Logo
१९ चैत्र २०७६, बुधबार

महावीर भन्छन् – आइडिया ल्याउनुस्, हामीसँग काम गर्नुस्



काठमाडौं– राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राष्ट्रिय आविष्कार केन्द्रमा छुट्टै रौनक छ ।

यहाँ प्रायः ट्याकट्याट टुकटुक आवाज सुनिरहन्छ । मानौं, त्यो कुनै कारखाना हो र निरन्तर केही उत्पादन गरिँदैछ ।
न यो कारखाना हो, न त केही उत्पादन नै गरिँदै छ यहाँ ।

नयाँ आविष्कारमा लागिपरेका समूहहरूले काम गर्दाको त्यो ध्वनि बाहिरैसम्म सुनिन्छ ।

यतिबेला आविष्कार केन्द्रमा ३३ समूहले फरक–फरक विषयमा अनुसन्धान गरिरहेका छन् ।

हामी पुग्दा सामाजिक अभियन्ता महावीरले दक्षिण कोरियाबाट रकम उठाएर सहयोग हस्तान्तरण गर्न आएको एउटा टिमलाई आविष्कार केन्द्रका बारेमा जानकारी गराउँदै थिए ।

त्यतिबेला उनको शरीरमा पुरानो तर न्यानो ज्याकेट थियो । खुट्टामा चप्पल । देख्दा अति सामान्य, नपत्याउँदा ।

उनको हुलिया यस्तै थियो । डोरी लगाएको पावरवाला चश्मा झुण्डाइरहेका महावीर बेलाबेला चश्मा लगाउँथे ।

अरू बेला पुन चश्मा घाँटीमै खुला छोडिदिन्थे । उनी ‘ओपन’ बनेर काम गरिरहेका छन् । अनि भन्छन्, ‘म यस्तै छु, यसरी काम गर्दा रमाइलो लाग्छ ।’

उनलाई सिर्जनात्मक काममा रमाइलो लाग्दैनथ्यो भने उनी कतै जागीर गरिरहेका हुन्थे शायद ।

‘जागीरका लागि अफर नआएको हो र ! एउटा अफिसमा त मासिक ६ लाख दिन्छु भन्दैथे, उनले त्यत्रो तलब त्यसै दिने होइनन्, त्यहाँ पनि काम गर्नुपर्छ,’ महावीर भन्छन्, ‘म त्यसरी एक ठाउँमा गुम्सेर काम गर्न सक्दिनँ, केही नयाँ गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।’

अहिले उनको दिनचर्या आविष्कार केन्द्रकै वरिपरि हुन्छ । उनीसँग ब्याट्री टिकाउने एउटा सामान्य मोबाइल छ ।

काममा हुँदा पनि मोबाइलको रिङटोन बजिरहन्छ । फुर्सद हुँदा सकभर सबैको फोन उठाउँछन् ।

झट्ट हेर्दा लाग्छ, उनी थाकिरहेका छन् । महावीर भने थप जोशका साथ भन्छन्, ‘थाकेको छैन, बरु थप ऊर्जाका साथ काम गरिरहेको छु ।’

कन्सेप्ट हुने तर अवसर नहुनेका लागि ‘प्लेटफर्म’ बनाउनमा व्यस्त छन् महावीर ।

महावीरको आह्वान छ– आइडिया ल्याउनुस् । काम गर्नुस् । यो मेरो होइन, तपाईंको आफ्नै आविष्कार केन्द्र हो । सबै नेपालीको आविष्कार केन्द्र हो ।

भिडियो:

लामो समयको परिकल्पना र कसरतपछि उनको भिजन ‘राष्ट्रिय आविष्कार केन्द्र’ का रूपमा उदाएको छ । केही दशकभित्र यो आविष्कार केन्द्र राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय केन्द्रकै रूपमा स्थापित हुनेमा महावीर विश्वस्त छन् ।

‘यो दीर्घकालीन प्रोजेक्ट हो, आजको आजै हुन्छ भनेर थालेका पनि होइनौं, स्थापना गरेको १४ महिनामा भएको छ, जति काम भएको छ, त्यो राम्रो हो,’ महावीर भन्छन् ।

सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने ‘म्यागेसेसे पुरस्कार’ पाएपछि महावीर पुनको चर्चा थप चुलियो ।

वायरलेस टेक्नोलोजीमार्फत नेपालका कतिपय दुर्गम गाउँमा वायरलेस इन्टरनेट विस्तार गरेर लोकप्रिय भएका महावीर यतिबेला राष्ट्रिय आविष्कार केन्द्रमार्फत नयाँ आविष्कारको यात्रामा जोडिएका छन् ।

यो आविष्कार केन्द्रका लागि सरकारले खर्च गरेको छैन । स्वेदश तथा विदेशमा भएका नेपालीले आर्थिक सहयोग गरेका छन् । महावीरका अनुसार अहिलेसम्म यो केन्द्रका लागि ९ करोड रूपैयाँभन्दा बढी उठेको छ ।

‘नेपाली दाजुभाइ दिदीबहिनीहरूले आर्थिक सहयोग गरिरहनुभएको छ, कतिले आइडियाहरू शेयर गरिरहनुभएको छ, भोलि यो आविष्कार केन्द्र नेपालकै गौरव बन्नेछ,’ महावीर आफ्नो सपना सुनाउँछन् ।

जीवनको लामो समय सामाजिक कार्यमा बिताएका महावीर केही नयाँ कसरी गर्न सकिन्छ भन्नेमा सधैँ लागिपरेको बताउँछन् ।

उनी बिहान ५ बजेतिर उठ्छन् । परिवारका साथ एकछिन समय बिताउँछन् । दिनभरि राष्ट्रिय अनुसन्धान केन्द्रमा हुन्छन् । भेट्नुपर्नेलाई भेट्छन् । दिन यसरी बित्छ ।

फेरि भोलि यही तालिका शुरु हुन्छ ।

महावीरलाई भेट्न नयाँ धारणा लिएर थुप्रै नेपाली आउँछन् । कहिले विदेशी आउँछन् र आविष्कार केन्द्र घुम्छन् । सल्लाह र आइडिया पनि दिन्छन् उनलाई ।

‘सहयोग त जुटेको छ नै, हामीलाई नयाँ आइडिया पनि आइरहेका छन्, यहाँ आएर भेट्न सम्भव नहुनेले फोन, म्यासेज र इमेल गरेर आइडिया शेयर गर्नुहुन्छ,’ महावीर भन्छन्, ‘हामीलाई ती आइडिया राम्रो लाग्यो भने उहाँहरूलाई अनुसन्धान गर्ने वातावरण बनाइदिन्छौं तर आइडिया मात्र भएर पनि भएन ।’

काम गर्ने टिमसँग आइडियाका साथै इच्छाशक्ति पनि हुनुपर्ने महावीरको शर्त छ ।

‘यदि कसैसँग इच्छाशक्ति छैन तर आइडिया मात्र छ भने पनि काम छैन, यहाँ त हामीले स्थान उपलब्ध गराउने हो, चाहिएको सामग्री ल्याइदिने हो, अरु काम त सबै आफैँले गर्ने हो,’ महावीर भन्छन् ।

नयाँ अपडेट के भइरहेको छ भन्ने महावीरले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराइरहेका हुन्छन् । सामाजिक सञ्जालमा उनले प्रयोग गर्ने फेसबूक मात्र हो । फेसबूकमा आएका कतिपय प्रश्नको उत्तर दिन पनि उनले भ्याएका हुन्छन् ।

‘मलाई आविष्कार केन्द्रका बारेमा कसैले बुझ्न सोधिरहेको रहेछ भने एउटा पनि नछोडी उत्तर दिने गर्छु,’ महावीर भन्छन् ।

त्यसो त उनलाई कतिले सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी पनि गर्ने गर्छन् । ती नकारात्मक टिप्पणीले आफूलाई केही प्रभाव नपार्ने उनको भनाइ छ ।

‘नराम्रो कमेन्ट गर्नेलाई त के भन्नु छ र ? इग्नोर गर्दिने हो, खासै फरक पर्दैन,’ उनी भन्छन् ।

कतिले यो केन्द्र महावीरको मात्र भएको आरोप लगाउने गरेका छन् ।

‘यो मेरो आविष्कार केन्द्र होइन, यो त सबै नेपालीको साझा केन्द्र हो,’ महावीर स्पष्ट पार्छन् ।

यहाँ अनुसन्धान गर्दा कुनै कार्यालयमा बसेजस्तो दैनिक कति घण्टा गर्ने भन्ने हुँदैन । जसलाई जसरी मेसो पर्छ, त्यही बेला आएर आफ्नो काम गर्दा हुन्छ । जसलाई जे विषयमा खोज गर्न मन लाग्छ, त्यही गर्छ ।

‘कसैले राम्रोसँग काम गरिरहेको छैन भने उहाँलाई बिदाइ गर्ने हो, राम्रो गर्नेलाई प्रोत्साहन दिँदै जाने हो,’ महावीर अगाडि थप्छन्, ‘यो कारखाना होइन, अनुसन्धान गर्ने ठाउँ हो ।’

महावीरका अनुसार कुनै आइडियाले मूर्तरूप पायो र व्यापार गर्न सक्ने अवस्था आयो भने मात्र उक्त उपलब्धि व्यापारिक प्रयोजनका लागि प्रयोग हुनेछ । कन्सेप्टमाथि काम गर्ने काम भने यहीँ हुन्छ ।

भविष्यमा आविष्कार गरिएका उपकरणलाई व्यापारिक प्रयोजनमा विकास गर्ने महावीरको योजना छ ।

‘अनुसन्धानका लागि आइरहेका छन्, पहिले यस्तो किसिमको वातावरण नै थिएन, इच्छा हुनेलाई कहाँ गएर सहयोग गर्ने भन्ने नै थिएन, हामी सबैका लागि त्यो स्थान तयार पारिदिने मात्र हो,’ महावीर थप्छन् ।

उनका अनुसार व्यवसाय गर्ने मनसायले लगानीकर्ता पनि आइरहेका छन् ।

‘नेपालमा पनि के हुन्छ र भन्ने सोच भएका बहुसङ्ख्यक छन्, तर हामीले केही त गर्नैपर्छ,’ महावीर भन्छन्, ‘कतिपय आइडिया भने हामीले तत्काल गर्न नसक्ने खालका छन्, जस्तो कि कोरोना भाइरसको औषधि पत्ता लगाउने भनेर कोही आयो भने तत्काल हामीले सक्दैनौं ।’

‘काम गर्दै जाने हो, सिक्दै जाने हो,’ महावीर हौसला थप्छन् ।

आविष्कार केन्द्रमा जोडिन शैक्षिक योग्यता पनि चाहिँदैन । केवल नयाँ धारणा र काम गर्ने इच्छाशक्ति भए पुग्छ । आविष्कारको क्षेत्र विश्व आधुनिकताको उत्कर्षमा पुगिसकेको छ । यता नेपालमा महावीर भने बल्ल खाका बनाएर अगाडि बढ्दैछन् ।

कुनै न कुनै दिन नेपालले पनि विश्वमाझ आफूलाई आविष्कारको क्षेत्रमा परिचित गराउने छ भन्ने महावीरको विश्वास छ ।

यो राष्ट्रिय आविष्कार केन्द्र कुनै दिन अमेरिकाको कुनै विश्वविद्यालयझैँ हुनेछ र यहाँ हजारौंले विद्यार्थीहरूले अनुसन्धान गरिरहेका हुनेछन् भन्ने सपना उनको छ ।

‘अमेरिकाको हावर्ड विश्वविद्यालयलाई आजको अवस्थामा आउन ३ सय ८४ वर्ष लाग्यो, तर हामीलाई त्यो अवस्थामा पुग्न सय वर्षभन्दा बढी लाग्ने छैन,’ उनी विश्वास दिलाउँछन् ।

अहिले पनि राष्ट्रिय आविष्कार केन्द्रको प्लेटफर्ममा केही टिमले मेडिकल ड्रोन, बेबी वार्मर, सेलरोटी बनाउने मेसिन, सोलार वाटर हिटर, भुइँ सफा गर्ने रोबोट लगायतका प्रोजेक्ट तयार गरिसकेका छन् । केही प्रोजेक्ट तयार हुने अवस्थामा छन् ।

महावीर भन्छन्, ‘हामीले त भर्खरै शुरु गरेका छौं, भोलिको सपनाले धेरै आशा जगाएको छ, अझ नेपालीको साथ र आविष्कार गर्न भाइबहिनीले देखाएको जोशले झन् खुशी थप्छ ।’


भर्खर

0