चलचित्र संघको आन्दोलन : १० गतेदेखि देशभर सिनेमा हल खुल्दै | Khabarhub Khabarhub

चलचित्र संघको आन्दोलन : १० गतेदेखि देशभर सिनेमा हल खुल्दै



झापा— गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल अहिले सरसफाइको क्रममा छन् । अधिकांश क्षेत्र खुला भए पनि सिनेमा हलबारे सरकार मौन छ ।

हल सञ्चालकहरूले आन्दोलनका रूपमा पुस १० गतेदेखि सिनेमा खुला गर्ने भएका छन् । पूर्वी नेपालका सिनेमा हलका सञ्चालकहरूले केन्द्रले निर्णय गर्नुअघि नै हल सञ्चालनको औपचारिक निर्णय गरेका छन् ।

हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले मंसिर २७ निर्णय गरी त्यसको व्यहोरा केन्द्रीय समितिमा पठाएको थियो । केन्द्रीय समितिले पनि निर्णयमा समर्थन जनाउँदै पुस १० गतेदेखि हल खुला गर्ने निर्णय गरेको छ ।

जुलुस र आमसभा खुला, हल बन्द !

चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिए । नेपाल चलचित्र संघ पूर्वाञ्चलका सभापति चैतन्य बरालका अनुसार सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।

अहिले सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएको छ ।

बरालले भने, ‘सयौँको संख्यामा भेला भएर आमसभा गर्दा कोरोना नसर्ने, खुलमखुला जुलुस र भेला गर्दा कोरोना नसर्ने अनि सुरक्षाका सबै विधि अपनाएर हल खुलाउँछौ भन्दा कोरोना सर्ने ? यो त भएन नि ।’

गत भदौमा अन्य क्षेत्र खुला हुन हुन सुरु गरेसँगै सिनेमा हल पनि चलाउन पाउनु पर्छ भनेर आवाज उठाएको नेपाल चलचित्र संघको भनाइ छ ।

संघका महासचिव अशोक शर्माले भने, ‘हामीले हल खुलाउनु पर्‍यो भनेर सबै निकायमा हारगुहार गरिसक्यौँ । सीसीएमसीमा भनियो, सञ्चारमन्त्रीलाई भेटियो, अर्थमन्त्रीलाई भनियो । हामी अब हल खुलाउने अवस्थामा पुग्यौँ, सरकारले अपराधी करार गरेर गिरफ्तार गर्छ भने हामी तयार छौँ ।’

हल सञ्चालकहरूले लामो समय धैर्य गरेर महामारी नियन्त्रणमा सघाएको भए पनि अरू सबै क्षेत्र खुलाएर सिनेमा हल बन्द राख्नु आश्चर्यजनक भएको शर्माको भनाइ छ ।

सहुलित चाहियो

लामो समय बन्द भएका सिनेमा हल तत्काल सञ्चालनमा आए पनि यो क्षेत्र थला परेकाले केही निश्चित सहुलियत र सुविधाहरू आवश्यक रहेको व्यवसायीको भनाइ छ ।

नेपाल चलचित्र संघका द्वितीय उपाध्यक्ष कुवेर शर्माको प्रश्न छ, ‘हामी १० गतेदेखि ढोका खोलेर बस्छौँ, दर्शक आइहाल्छन् भन्ने पनि छैन तर यो अनिर्णयको बन्दी कति दिन बनिरहने ?’ यस क्षेत्रलाई निश्चित सुविधाहरूको खाँचो रहेको उनले बताए ।

दुई वर्षसम्म सबै प्रकारका करहरू छुट गर्नु पर्ने, बन्द अवधिको विद्युत महसुल छुट गर्नु पर्ने र सरकारले घोषणा गरेका सुविधाहरू उपलव्ध गराउनु पर्ने संघका पूर्वाञ्चल सभापति बरालको भनाइ छ ।

उनले भने, ‘मौद्रिक नीतिमा अतिप्रभावित क्षेत्रको रूपमा चलचित्र क्षेत्रलाई पनि राखिएको छ । सरकारले सस्तो दरमा ऋण उपलव्ध गराउने भनेको छ । अहिलेसम्म कुनै पनि बैंकले त्यस्तो ऋण दिएका छैनन् ।’

अधिकांश चलचित्र हलहरू बैंकको ऋण लिएर स्थापना भएको र लामो समय बन्द हुँदा व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको उनले बताए ।

अत्याधुनिक सिनेमा हल

नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल सञ्चालनमा छन् । लामो समय बन्द भएपछि अहिले धेरै हल मर्मत गर्नु पर्ने अवस्थामा छन् ।

पूर्वी नेपाल नेपाली चलचित्रका लागि उर्वर बजार हो । प्रदेश १ मा २९ ओटा सिनेमा हल छन् । तीमध्ये विर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा गरी ९ ओटा अत्याधुनिक ‘डबल पर्दा’ का भवन छन् ।

अर्थतन्त्र र रोजगारी

नेपाल चलचित्र संघका अनुसार देश भरका चलचित्र भवनमा ३० हजार परिवार आश्रित छन् । दश महिनादेखि हल बन्द हुँदा उनीहरूको गुजरामा संकट निम्तिएको छ ।

यीबाहेक प्रत्येक चलचित्र भवनमा रहने खुद्रा बिक्रेता, पार्किङ सञ्चालक, सुरक्षा गार्ड जस्ता व्यक्तिका परिवार पनि गुजराको समस्यामा छन् ।

कोरोना भाइरसको महामारीअघि देशभरिका चलचित्र भवनमा दैनिक डेढ करोडदेखि दुई करोड रुपैयाँसम्मको कारोबार हुने गरेको थियो । त्यसबाट राज्यले १३ प्रतिशत भ्याट प्राप्त गर्थ्यो । विदेशी चलचित्रबाट थप १५ प्रतिशत विकास शुल्क उठ्थ्यो ।

प्रदेश स्तरमा समेत नेपाली चलचित्रले १.५ प्रतिशत र विदेशी चलचित्रले ३ प्रतिशत राजस्वको बुझाउने गरेका थिए । स्थानीय तहहरूले पनि मनोरञ्जन, सरसफाइ, सम्पत्ति लगायतका शीर्षकमा राजस्व पाउँदै आएका थिए ।

हल बन्दको शृङ्खला

बहुदलीय व्यवस्था प्रारम्भसँगै विभिन्न कालखण्डमा विभिन्न कारणले चलचित्र हलहरू बन्द भए । छिटफुट रूपमा एकाध हल निजी कारणले पनि बेलाबेला बन्द भए । कहिलेकाहीँ संस्थागतरूपमा पनि बन्द गर्नु परेको थियो । लगातार १० महिना हल बन्द गर्नु परेको भने यो पहिलो पटक हो ।

नेपाल चलचित्र संघ पूर्वाञ्चलका सभापति चैतन्य बरालका अनुसार नेपाली चलचित्रमाथि विकास शुल्क लगाउने तत्कालीन सरकारको निर्णयका विरुद्ध आन्दोलन गर्दा दुई साता चलचित्र हल बन्द गरिएका थिए ।

यस्तै २०५८ सालमा दरबार हत्याकाण्ड भएपछि देशभरका हल सात दिन बन्द गरिए । दोस्रो जनआन्दोलन २०६२/६३ को समयमा पनि करिब ३ साता हल बन्द भए । त्यसपछि २०७२ सालको महाभूकम्पमा पनि सिनेमा हलहरू दुई साता बन्द भएका थिए ।

 

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १० : ५२ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा