दशैँ शुरु भए पनि छैन यात्रुको चाप, बसपार्क सुनसान | Khabarhub Khabarhub

दशैँ शुरु भए पनि छैन यात्रुको चाप, बसपार्क सुनसान


२ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् ।

विगतका वर्षमा दशैँको समयमा गोँगबुस्थित नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खुलगायत क्षेत्रमा टिकट नपाएर यात्रुहरु घण्टौँ बस कुरेर गन्तव्यस्थलसम्म पुग्ने गरे पनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान बनेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले कोभिड–१९को समयलाई सदुपयोग गर्दै नयाँ बसपार्कमा कम्प्युटर प्रणालीमार्फत टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रुहरु छैनन् ।

ल्होत्से बहुउदेश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कोरोना सङ्क्रमण फैलन नदिन सामाजिक दूरी कायम गरेर प्रविधिको प्रयोगमार्फत टिकट बुकिङ गर्ने व्यवस्था गरेको थियो ।

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह नभएको बताउँछन् ।

‘विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन्’, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश यात्रु बन्दाबन्दी शुरु हुनुभन्दा पहिले नै घर गएका कारण दशैँको समयमा बसपार्क क्षेत्रमा यात्रुको चहलपहमा कमी आएको बताउँछन् ।

‘एक हप्तादेखि उपत्यका बाहिरिने यात्रुको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै गएको छ’, उनले भने । विगतका वर्षहरुमा घटस्थापनादेखि फूलपातीको दिनसम्म दैनिक सरदर ८० हजारदेखि एक लाख यात्रु उपत्यका बाहिरिने गरे पनि यस वर्ष भने दैनिक १० देखि २० हजार यात्रु बाहिरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यकरूपमा दुःख दिने बस चालकको कारवाहीका लागि सादा पोशाकमा आठ वटा टोली प्रहरी खटाएको छ । यस्तै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवसायीहरु बन्दाबन्दीका कारण छ महिना थन्किएका सार्वजनिक सवारी साधन मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला अधिकांश यात्रुहरु साना सवारी साधन रिजर्भ गरेर गन्तव्यस्थलसम्म गएका कारण पनि बसपार्कमा यात्रुको चहलपहल नभएको बताउँछन् ।

‘अधिकांश यात्रु बन्दाबन्दी हुनुभन्दा अगाडि नै घर गएका छन्, बाँकी रहेका यात्रुलाई सरकारले जहाँ हुनुहुन्छ त्यहीँ दशैँ मनाउनुहोस् भनेका कारण पनि बसपार्क क्षेत्र सुनसान छ’, उनले भने ।

सरकारी तथ्याङ्कअनुसार बन्दाबन्दी पहिले नै झण्डै सात लाख यात्रुले उपत्यका छोडिसकेका छन् ।

यस्तै पर्यटक बसमा पनि कोभिड–१९ र बन्दाबन्दीको असर परेको छ । दशैँको समयमा दैनिक दुईदेखि तीन हजार यात्रु बोकेर पोखरा, चितवन, लुम्बिनी र जनकपुर जाने गरेको पर्यटक बसमा यतिबेला यात्रु छैनन् ।

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का महासचिव दीपेन्द्र अधिकारी दशैँको समयमा समेत यात्रु नभएको गुनासो गर्छन् ।

‘विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म दैनिक दुई/तीन हजार पर्यटक बसमा उपत्यकाबाट बाहिरिने गरे पनि यो वर्ष  दैनिक २० देखि ५० यात्रुमात्र बाहिरिएका छन्’, उनले भने । – रासस

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : ०७ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले