‘भेटघाटलाई मात्र लामो दूरीको यात्रा नगर्नुस्’ « Khabarhub
Logo
५ कार्तिक २०७७, बुधबार

‘भेटघाटलाई मात्र लामो दूरीको यात्रा नगर्नुस्’

होटल खुल्यो भन्दैमा साथीभाइ जमघट गर्ने बेला छैन



काठमाडौँ– कोरोना रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउन र निषेधाज्ञा क्रमशः अन्त्य भएसँगै लामो दूरीका सवारी पनि असोज १ गते बाट सञ्चालनमा आएका छन् ।

लामो दूरीका सवारीसँगै आन्तरिक उडान र होटल व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयसँगै राजधानी काठमाडौंसँगै देशभर चहलपहल शुरु भएको छ ।

चैत ११ गतेदेखि बन्द भएको लामो दूरीका यातायातहरुले बिहीबारदेखि लामो दूरीका यातायात सञ्चालन गरेका छन् । लामो समय बन्द भएको यातायात व्यवसाय तथा होटल सञ्चालन गर्न पाउँदा व्यवसायी खुसी छन् ।

तर नेपालमा कोरोना संक्रमण कम भएर लामो दूरीका यातायात तथा होटल व्यवसाय सञ्चालन भएको भने होइन । पछिल्लो समय नेपालमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिरहेको छ । देशभर १ हजारदेखि १५ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ सयभन्दा बढी कोरोना संक्रमित देखिने गरेका छन् । कोरोना संक्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणबिहीन संक्रमितलाई होम आइसोलेसनमै बस्नुपर्ने नियम बनाएको छ ।

यस्तै कोरोना संक्रमित बढ्दै जाँदा लक्षणसहितका संक्रमित र गम्भिर प्रकृतिका संक्रमितहरु पनि बढ्दै गइरहेका छन् । यस्तै कोरोना संक्रमित भएका र पहिलादेखि नै दीर्घ रोग भएका तथा ज्येष्ठ नागरिकहरुको मृत्युदर पनि बढिरहेको छ ।

नेपालमा कोरोना संक्रमण बढिरहेको समयमा खुल्ला भएको लामो दूरीका सवारीसाधन तथा होटल व्यवसाय सञ्चालन गर्दा कस्ता सावधानी अपनाउने ? आगामी दिनमा सरकारले कोरोना नियन्त्रण तथा रोकथामा गर्न के काम गर्नुपर्छ भन्ने विषयमा हामीले जनस्वास्थ्य विज्ञसँग कुराकानी गरेका छौं ।

के भन्छन् जनस्वास्थ्य विज्ञ ?

डा. रविन्द्र पाण्डे / जनस्वास्थ्य विज्ञ

अहिले देशभर दैनिक ९ देखि ११ हजार व्यक्तिको कोरोना परीक्षण भइरहेको छ ।

कोरोना परीक्षण गरिएको मध्ये १२ सयदेखि १५ सय जनामा कोरोना पोजेटिभ भइरहेको छ । यो भनेको परीक्षण गरिएकामध्ये करिब १५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाडौंको कुरा गर्ने हो भने दैनिक १५ सय देखि २ हजारको हाराहारीमा कोरोना परीक्षण भइरहेको छ । त्यसमा ५ देखि ७ सय जनामा कोरोना देखिएको छ । यो भनेको ३० देखि ४० प्रतिशत हो ।

यस्तै कोरोना परीक्षण हुनुपर्ने तर नभएको धेरै ठूलो समुह छ । अहिले सरकारले कम्युनिटीमा परीक्षण गरेको अवस्था छैन । अहिले त कन्ट्याक ट्रेसिङ पनि खासै गरिएको छैन । यसले गर्दा के बुझिन्छ भने कोरोना संक्रमण व्यापक रुपमा फैलिएको छ ।

समुदायमा फैलिएको छ भन्ने कुरा बुझिन्छ । यो अवस्थामा मानिसहरु असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा जाने मानवीय स्वाभाव हुन्छ । त्यसले गर्दा काठमाडौंमा बेरोजगार भएर बसेका मानिसहरु अब काठमाडौं बाहिर गएर सुरक्षित हुन चाहन्छन् ।

अहिले कोरोनाबाट सबैभन्दा सुरक्षित ठाउँ पनि गाउँ नै हो । अहिले कोठा लिएर सानातिना व्यवसाय गरेर बसेकाहरु मजदुरी गरेर बसेकाहरु अहिले कोठा भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यसैले उनीहरु आफ्नो ठाउँ जान चाहिरहेका छन् ।

सरकारले उनीहरुलाई अब विशेष ध्यान दिएर गाउँमा नै खेतीपाती गरेर बस्ने वातावरण बनाउन जरुरी छ । उनीहरुलाई घर फर्काउदा जनस्वास्थ्यको मापदण्ड अपनाएर एकै परिवारका सदस्य छन् भने सोही अनुसार र होइनन् भने सामाजिक दूरी कायम हुने गरी बसमा घर जान दिनुपर्छ ।

बन्द ठाउँबाट संक्रमण सर्ने जोखिम हुने भएकाले बसहरुमा झ्याल तथा ढोका खुल्ला राखेर बस चालाउनु पर्छ । त्यो भयो भने हावाको माध्ययमबाट सर्ने सम्भावना कम हुन्छ ।

यस्तै लामो दूरीको यात्रामा निस्किएको व्यक्तिले हातमा पञ्जा लगाउने, राम्रो क्वालिटिको मास्क लगाउने, चस्मा लगाउने गर्नुपर्छ । लामो दूरीको यात्रा तय गर्दा अब कोरोना संक्रमण अघिको जस्तो अवस्था छैन ।

पहिला पहिला बसहरुले रोकेको होटलहरुमा खाना तथा खाजा खान झर्ने गरिन्थ्यो । तर अहिले होटलहरु मापदण्डमा सञ्चालन छ वा छैन थाहा छैन । त्यसैले सकेसम्म यात्रामा निस्किँदा आफुलाई चाहिने खानेकुरा पानी आफैले बोकेर लादा उपयुक्त हुन्छ ।

यस्तै यातायातहरुले बाटोमा यात्रु थप्ने सम्भावना हुनसक्छ । यस्तो जनस्वास्थ्यको मापदण्ड अनपाउन पनि सक्छन् । त्यसैले सम्भव भएसम्म एउटा सवारी साधनमा एकजना सुरक्षाकर्मी वा हरेक चेकपोष्टहरुमा कडाइका साथ चेकजाँच गरिनुपर्छ ।

पहिला पहिला जस्तो प्रहरीको चेकपोष्ट अगाडी नै यात्रु झार्ने र फेरि पर पुगेर यात्रु चढाउने कार्य यो माहामारीमा गर्नु हुँदैन ।

यस्तै यात्रागरेर गाउँ पुगेका वा शहर आएका व्यक्तिहरुलाई समाज वा घरबेटीले नराम्रो व्यवहार गर्न सक्छन् । कोरोना लिएर आयो कि भन्ने आशंका गर्न सक्छन् ।

घरमै वा कोठामा सुरक्षित भएर बसेको व्यक्ति यात्राको क्रममा वा कुनै वेला संक्रमति भएको हुनसक्छ । त्यसैले आफ्नो परिवार र समाजलाई सर्न नदिन यात्राबाट घर मा वा कार्यस्थलमा पुगेपछि १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नै पर्छ । यस्तो समयमा लक्षण देखियो भने वडा वा गाउँपालिकामा समन्वय गरेर कोरोना परीक्षणको व्यवस्था गर्नुपर्छ ।

हरेक गाउँपालिक र वडामा क्वारेन्टिन स्थल बनाउनुपर्छ । कुनै पनि व्यक्ति छोटो समयलाई गाउँ जाने सम्भावना हुन्छ । जस्तो दशैँमा टिका लगाएर मात्र फर्किने वा तिहारमा टिका लगाउन जाने, आफन्त भेट्न जाने कार्य भने यो समयमा उपयुक्त हुँदैन ।

त्यसैले लामो समय नै गाउँमा बस्ने योजना छ भने मात्र यो समयमा गाउँ जाँदा उपयुक्त हुन्छ । किनकी काठमाडौंमा संक्रमण फैलिएको अवस्था छ शहरबाट गाउँमा जाँदा व्यक्तिमा संक्रमण रहेछ भने गाउँमा भएका बुबाआमा, ज्येष्ठ नागरिकहरु म संक्रमण फैलिने जोखिम हुन्छ ।

लामो दूरीका सवारीसाधान सञ्चालन भएपनि कोरोना संक्रमण घटिरहेको छैन । त्यसैले अबका दिनमा सरकार र सरकारी निकायहरुले स्थानीय तह, प्रदेश र संघ सबै मिलेर यो माहामारीको समयम आर्थिक तथा दैनिक गतिविधि कसरी सुरक्षित बनाउने र कोरोना संक्रमण कम गराउन पनि लाग्नुपर्छ ।

अहिले उपत्यकामै पनि जोरविजोर प्रणालीमा सवारी साधन सञ्चालन भएपछि कतिपय ठाउँहरुमा अहिले पनि धेरे यात्रु राखेको पनि पाइन्छ । त्यसैले अब यात्रुको संख्याहरुमा बसको संख्या थप गर्ने, ५० प्रतिशत बढी भाडा लिने नियम बनाइएको छ ।

त्यो भन्दा पनि बढी लिने गरेको पनि हुनसक्छ त्यसैले सरकारले निगरानी गर्नुपर्छ । व्यक्ति आफैँ, सरकार र सरोकारवाला निकाय सबै सचेत हुनुपर्ने देखिन्छ ।

यो पटक व्यवासायीहरुले पनि व्यापार मात्र होइन मानवीय सेवाको भावनाले पनि हेर्न जरुरी छ ।

डा. अनुप बास्तोला/सरुवा रोग विशेषज्ञ

सरकारले एक्लैले कोरोना संक्रमण रोक्न सक्दैन । त्यसैले कोरोना संक्रमण न्युनीकरण गर्न हरेक व्यक्तिले पनि विशेष सावधानी अपनाउनुपर्छ । सर्वसाधारण पनि अनुशासित हुनुपर्छ ।

सरकारले लकडाउन गरेर मात्र कोरोनालाई जित्न सक्ने अवस्था हुँदैन । देश र व्यक्तिहरुको आर्थिक समस्याको कुरा छ । अहिले निम्न र मध्य आयश्रोत भएकाहरुले रोजगारी गुमाए ।

त्यसैले लकडाउन खुलाउनुको विकल्प थिए । अब लकडाउन खुलाएको समयमा जनताले पनि सरकारलाई साथ दिनुपर्छ । मुख्य कुरा चाँही स्वास्थ्य मापदण्ड र सावधानीका कुराहरु पुरा भएको छ वा छैन अब सरकारले मात्र होइन व्यक्ति आफैँ र सचेत युवाहरुले पनि हेर्नुपर्छ ।

लकडाउन खुल्ने वित्तिकै होट व्यवसाय खुल्ने बित्तिकै अब साथीभाइहरु भेला हुने, जमघट गर्ने गर्नु हुँदैन । कोरोना त हामीसँग छ, अबका दिनमा झनै बिरामी बढ्न सक्ने सम्भावना छ । त्यसैले हामीले कोरोना न्युनीकरण गर्न विशेष सावधानी अपनाउनु पर्छ ।

अहिले कोरोनाबाट बच्ने उपाय सबैलाई थाहा छ । कोरोनाबाट बच्न सरकारले बनाएको मापदण्ड पुरा गर्न र गराउन अब युवाहरुको भूमिका महत्वपूर्ण हुन्छ । अहिले होटल व्यवसाय, कार्यालयहरुमा स्वास्थ्यका मापदण्ड पुरा भएको छैन, मास्क प्रयोग गरिएको छैन, व्यक्तिगत दूरी कायम गरिएको छैन भने कोरोनाको जोखिम हुन्छ ।

त्यसैले यसमा सबैले सावधानी अपनाउनु पर्छ । यस्तै अब यातायात सञ्चालन भएपछि अस्पतालहरुमा बिरामीहरु बढी आउनसक्ने सम्भावन छ । तर अझै पनि कोरोना संक्रमण कम भएको छैन ।

त्यसैले सामान्य समस्या वा केही पनि नहुँदा स्वास्थ्य जाँच गर्न भनेर अस्पताल आउने समय अझै भएको छैन ।

अत्यावश्यक स्वास्थ्य सेवा आवश्यक पर्ने भएमात्र अस्पताल आउनुपर्छ । सामान्य समस्यामा चिकित्सकहरुसँग फोनमै परामर्श लिन सकिन्छ ।

सामान्य समस्यामा अस्पताल जाँदा कोरोना संक्रमणको जोखिम बढी छ । अन्य समस्या लिएर आउनेहरुमा पनि कोरोना संक्रमण हुनसक्छ । त्यसैले अस्पतालहरुमा पनि स्वास्थ्यकर्मी र चिकित्सकले हरेक बिरामी संक्रमित हुनसक्छन् भनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिरामीको परीक्षण गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई पीपीईलगायतका सुरक्षा सामग्री उपलब्ध गराउनुपर्छ ।

अब कोरोना संक्रमण रोक्न जनताले मनदेखि नै जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । अब जनता सावधान भएमात्र कोरोना माहामारी कम गर्न सकिन्छ । कोरोना संक्रमण हुँदैमा सबै व्यक्ति सिकिस्त हुँदैनन् ।

एकैपटक धेरै जनामा संक्रमण फैलियो भने हाम्रा स्वास्थ्यसंस्थाले थेक्न सक्ने अवस्था हुँदैन । त्यो हिसाबले पनि सबै सचेत हुन जरुरी छ । बाहिर हिड्ने व्यक्तिहरु सावधान भएमा संक्रमण घरघरमा पुग्न पाउँदैन । घरमा भएका बाबाआमा तथा दीर्घरोगीमा संक्रमण सर्ने र जटिला आउँदैन । कोरोना संक्रमण रोक्न सबै सचेत हुन जरुरी छ ।


भर्खर

0