काठमाडौं महानगरको नीति तथा कार्यक्रम : ‘मेड इन काठमाडौं’देखि शैक्षिक सुधारसम्म | Khabarhub Khabarhub

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : ‘मेड इन काठमाडौं’देखि शैक्षिक सुधारसम्म

प्रत्येक वडामा तरकारी तथा घरेलु उत्पादन बजारको व्यवस्था गरिने



काठमाडौँ- काठमाडौं महानगरपालिकाले महानगरभित्र सुविधा सम्पन्न कम्तीमा ५० शय्याको अस्पताल स्थापना गर्ने भएको छ ।

महानगरक्षेत्रभित्र सञ्चालन भइरहेका सम्भाव्य सामुदायिक अस्पतालहरुलाई महानगरको अस्पतालका रुपमा समेत सञ्चालन गर्ने योजना ल्याएको छ ।

बिहीबार कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

२५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित छ।

काठमाडौँ महानगरपालिकाले नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ।

यस्ता छन् आगामी वर्षका लागि कार्यक्रमहरु :

व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति लिएको छ ।

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत

महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने महानगरपालिकाको नीति छ ।

फुटपाथ व्यवस्थित गर्ने

महानगरले यसअघि गर्दै आइरहेको मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ व्यवस्थित तथा चौडा गर्ने कामलाई निरन्तरता दिइने भएको छ ।

त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ उल्लेख छ ।

‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साईकल भएको हुँदा महानगरवासीलाई साईकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ ।

रानीपोखरी र खुलामञ्च बीच तथा तिलगङ्गाबाट पशुपति क्षेत्र जोड्ने अण्डरपास, सोह्रखुट्टे-खुशिंबुँ–नयाँबजार चोक, मित्रपार्क चोक, चाबहिल बौद्ध खण्डमा आकाशेपुल, त्रिपुरेश्वरबाट सानेपा जोड्ने नयाँपुलदेखि टेकु कालिमाटीसम्म बागमती किनारामा फ्लाईओभर तथा अन्य सम्भाव्य स्थानहरुमा फ्लाईओभर, अण्डरपास तथा पूर्वाधारको संभाव्यता अध्ययन, डिजाइन तथा निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय तथा सहकार्य गर्ने कुरालाई पनि महानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ उल्लेख गरेको छ ।

उपत्यका एकीकृत विकास कार्यक्रममा जोड

शहरी फलफूल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति पनि महानगरपालिकाले लिएको छ ।

‘उत्पादित तरकारी, फुल बिरुवा महानगरले खरिद तथा बिक्री वितरणमा सहजीकरण गर्ने ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘व्यक्ति, समूह तथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति व्यवस्था सहजताको लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको व्यवस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्नेछन् ।’

समृद्धिको लागि सहकारी अभियान

महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’ लाई सफल पार्न साना तथा मझौला व्यवसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति लिएको छ ।

‘अनौपचारिक क्षेत्रमा संलग्न महिला, दैनिक ज्यालादारीमा कार्य गर्ने मजदूरहरुलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रमको ब्यबस्था गरिनेछ,’नीति तथा कार्यक्रममै भनिएको छ,’ ‘तरकारी, फलफूल, घरेलु खाद्य उद्योग, सरसफाई क्याफे तथा रेष्टुरेण्ट, मनोरञ्जन, प्राविधिक, पेशागत शिल्पी, स्वास्थ्य क्षेत्र समेतमा आधारित उपभोक्ता, श्रमिक र उत्पादक सहकारी संस्था प्रबद्र्धनमा जोड दिइनेछ ।’

विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘कोभिड–१९ महामारीले लघु, घरेलु तथा साना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ । महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।’

शिक्षा सुधारलाई प्राथमिकता

‘महानगरभित्रका विद्यालयहरुको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद्हरू सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गरिनेछ ।

बाल शिक्षा, प्राथमिक तहको शिक्षा, आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षालाई विशिष्टिकृत गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम सावजनिक गर्दै प्रमुख शाक्यले भने, ‘विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ । यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदा लगायत नैतिक शिक्षालाई समेत समेटिने छ ।’

हरेक वडामा २ वटा सार्वजनिक शौचालय

सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा ब्यबस्थापन निर्देशिका कार्यान्वयनमा ल्याउने र हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने उल्लेख गरिएको छ ।

यसै आर्थिक वर्षभित्र निजी क्षेत्र समेतको सहभागितामा प्रत्येक वडामा कम्तिमा दुई वटा सार्वजनिक शौचालय वडा कार्यालय मार्पmत निर्माण तथा सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्पदाको संरक्षणमा जोड

महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ।

महानगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल बही, चुक/ननी, लाछी जस्ता मूर्त तथा रितीरिवाज, भाषा, लिपी, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति लिएको छ ।

त्यस्तै ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाः बही लगायतका साँस्कृतिक सम्पदा क्षेत्र तथा सम्पदा विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन, हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गर्ने, काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गर्ने जस्ता नीति पनि लिएको छ ।

महानगरभित्रका सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान गरेका परम्परागत बाजाहरु सिकाउने गुरुहरुको योगदानको कदर गर्दै विशेष सुविधा सहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

महिला सचेतना तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखी सञ्चालन गर्न महानगरीय महिला सहजीकरण केन्द्र स्थापना गर्ने समुदायमा आधारित सामाजिक गुम्बाको सञ्चालन गरी सत्मार्गमा लाग्न जनमानसलाई प्रेरित गर्ने प्रमुख लामाहरुलाई सम्मान गर्ने जस्ता नीतिलाई पनि प्राथमिकतामा राखेको छ ।

युवाको जाँगर, समृद्ध महानगर

युवाको जाँगर, समृद्ध महानगर’ अभियान अनुरुप युवाशक्ति परिचालनको नीति अबलम्बन गर्ने र यसको लागि युवासँग अर्थपूर्ण सहभागिता र सहकार्यमा जोड दिने नीति महानगरपालिकाले लिएको छ ।

खेलकूदको माध्यमद्वारा युवाहरुको व्यक्तित्व विकास गर्न महानगर क्षेत्रमा शारीरिक व्यायामशाला, हेल्थ क्लब, रंगशाला÷कबर्डहल तथा बहुउद्देश्यीय खेल मैदानको विकास र विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’‘युवाहरुलाई कुलत तथा दुव्र्यसनबाट बचाउन सचेतनामूलक, रोकथाममूलक तथा उपचारात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

युवाहरुको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।

मेड इन काठमाडौं अभियान सञ्चालन

महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली वस्तुहरुको बजार कोशेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने नीति लिएको छ ।

मरुटोलमा रहेको सिंहसत्तललाई गैर सरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबद्र्धन केन्द्रको रुपमा विकास गरिनुका साथै मेड इन काठमाडौं अभियान सञ्चालन गर्ने पनि महानगरपालिकाको नीति छ ।

वरिष्ठ जेष्ठ नागरिकलाई महानगर बिशेष भत्ता

काठमाडौं महानगरपालिकाभित्रका ७५ र ८० वर्ष उमेर पुगेका महिला र पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई बार्षिक रुपमा दिने रु। १२ हजार महानगर बिशेष भत्ता निरन्तरता दिएको छ ।

खुला क्षेत्रको संरक्षण

महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति लिएको छ ।

त्यस्ता सार्वजनिक जग्गाहरुमा बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्ने भएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमा आवश्यकता अनुसार मानिसहरु आवत जावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा काठमाडौं महानगर क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टिभि, ईन्टरनेट लगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिने कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

महानगरपालिकाको आफ्नै भवन

काठमाडौँ महानगरको स्वामित्वमा रहेको टेकुस्थित जग्गामा महानगरपालिकाको कार्यालय भवन यसै आर्थिक बर्षमा निर्माण कार्य शुरु गर्ने भएको छ ।

त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार समेतको सहयोग एवं समन्वयमा बहुउद्देश्यीय अत्याधुनिक मेगा हल सभागृह निर्माण गर्न यसै वर्ष डिपिआर तयार गर्ने पनि महानगरपालिकाले लक्ष्य लिएको छ ।

उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि उपत्यका छिर्ने नाकाहरुमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लीनिङ सेन्टर निर्माण गर्न विस्तृत अध्ययन गर्ने भएको छ ।

एकीकृत वस्ती विकासको नीति

त्यसैगरी महानगर क्षेत्रभित्रका भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भबन निर्माण सम्वन्धी मापदण्डमा समयानुकुल संशोधन गरि कार्यान्वयनमा ल्याउने भएको छ ।

‘हाल सञ्चालनमा रहेको मनोहरा जग्गा एकीकरण आयोजना अन्तर्गतको काठमाडौं महानगरपालिका क्षेत्रमा हुने भवन निर्माणलाई व्यवस्थित गर्न विशेष नीति र मापदण्ड जारी गरी सो क्षेत्रलाई नमुना वस्तीको रुपमा विकास गरिनेछ,’।

वातावरण तथा फोहोरमैला व्यबस्थापन

नीति तथा कार्यक्रममा ‘स्वच्छ हावा, स्वस्थ जीवन’ लाई साकार पार्न वायु प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, फोहरमैला व्यवस्थापन, फोहोरमैलाको अन्तिम ब्यबस्थापनमा प्रभावकारिता हासिल गर्न तथा आधुनिक प्रविधिको उपयोग गर्नका लागि निजी क्षेत्रसँग सहकार्य उल्लेख गरिएको छ ।

ब्रुमरले उठाएको धुलोलाई प्रशोधन गरी निर्माण कार्यमा उपयोग गर्ने, पुराना सार्वजनिक सवारी साधनबाट बढ्दो प्रदुषणलाई न्यूनीकरण गर्नका लागि २० बर्ष भन्दा पुराना त्यस्ता सवारी साधनलाई काठमाडौं महानगरपालिका क्षेत्रबाट क्रमशः विस्थापन गर्ने नीति लिएको छ ।

त्यस्तै यसअघि सडक, विद्यालय, सार्वजनिक जग्गामा विरुवा रोपी ग्रिन सिटी बनाउने कामलाई निरन्तरता दिइने छ । त्यस्तै महिनाको एक दिन रिङ्गरोडभित्र निजी सवारी साधनको प्रयोगलाई न्यूनीकरण गरिनेछ । यस दिनमा केवल पैदलयात्रा, साइकल लगायतका सवारीलाई प्रोत्साहन गरिनेछ ।

३ स्थानमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने

महानगरपालिकाको चारै दिशाहरुमा अग्नि नियन्त्रण एकाईको स्थापना गरिने नीति अनुरुप यस आर्थिक बर्षमा कोटेश्वर, कलंकी र महाराजगञ्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने लक्ष्य लिएको छ ।

सेवा प्रवाहलाई चुस्त–दुरुस्त राख्ने

सबै वडा कार्यालयहरुमा गुनासो सुन्ने अधिकारी, हेल्प डेस्क र विद्युतीय नागरिक वडापत्रको व्यवस्था थप प्रभावकारी बनाउने भएको छ ।

महानगरले न्याय प्रणालीलाई स्वतन्त्र, निष्पक्ष, पहुँचयोग्य, सक्षम एवं विश्वसनीय बनाउने, सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तरमै निरुपण गर्ने कानूनी व्यवस्थालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै शहरी सुब्यबस्था कायम गर्न तथा प्रदुषण नियन्त्रणलाई टेवा पुर्‍याउन काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रभित्र रहेका निर्माण सामग्रीको डिपो र सवारीसाधन मर्मत वर्कशपहरुलाई क्रमिकरुपमा हटाउने नीति पनि महानगरपालिकाले लिएको छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ३ : ५५ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन