लकडाउन खुकुलो भएसँगै अस्पतालमा बढ्दैछ चाप | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएसँगै अस्पतालमा बढ्दैछ चाप

अत्यावश्यक अवस्थामा मात्र अस्पताल जान र सावधानी अपनाउन विज्ञको सुझाब


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको छ । निजी सवारीसाधन जोर–बिजोर प्रणालीमा चल्न पाएका छन् । बजार खुलेको छ । मानिसहरूको चलहलपहल बढ्दै गएको छ ।

अस्पतालहरूमा पनि स्वास्थ्य सेवा लिन आउनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका बनाएर सेवा चालु राख्न सबै अस्पतालहरूलाई निर्देशन दिएको छ । लकडाउनका कारण काठमाडौँमा जनसंख्याको चाप घटेको र बाहिरबाट पनि बिरामी नआउने भएपछि अस्पतालहरूमा बिरामीको संख्या भने पातलो नै देखिन्छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बिस्तारै बढ्न थालेको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माले लकडाउन खुकुलो भएसँगै अस्पतालमा बिरामी आउने क्रम बढ्न थालेको बताए ।

लकडाउन हुनुअघि बिहान ८ बजे ओपीडी टिकट खुल्ने गरेकोमा भिड हुन नदिन अहिले ७ बजे नै टिकट खुला गरिएको डा. शर्माले बताए । ओपीडीमा आउने बिरामीहरूले बिहान ८ देखि अपराह्न ४ बजेसम्म सेवा पाउने व्यवस्था गरिएको छ ।

पाटन अस्पतालमा कोरोना संक्रमितको पनि उपचार हुन्छ । अस्पतालले कोरोना संक्रमणको शंका गरिएका, संक्रमित र अन्य बिरामीलाई गेटबाटै छुट्याएर सोहीअनुसार व्यवस्थापन गर्ने गरेको डा. शर्माले बताए ।

‘हामीले सुरुदेखि नै ओपीडी सोवा सुचारु गरेका थियौँ, लकडाउन खुकुलो भएपछि बिरामीको फ्लो (आउने क्रम) बढेको छ,’ डा. शर्माले भने, ‘हामीले अस्पताल आउने बिरामीहरूलाई गेटमा र भित्र पनि सेवा लिन जाने ठाउँहरूमा स्क्रिनिङ गर्ने व्यवस्था गरेका छौँ । बिरामीहरूलाई दूरी कायम गरेर बस्न पनि आग्रह गरेका छौँ ।’

चिकित्सकहरूलाई समेत दूरी कायम राख्दै सेवामा खटाएको डा. शर्माले बताए । ‘पहिला धेरै संख्यामा बिरामी आउने ओपीडी सेवाहरूमा १०–१२ जना डाक्टर एकै ठाउँमा पनि राख्ने गरेका थियौँ,’ डा. शर्माले खबरहबसँग भने, ‘अहिले ६ जना राखेका छौँ ।’

डा. शर्माका अनुसार पाटन अस्पतालमा हाल कोरोना संक्रमित ९ जना र संक्रमणको शंका गरिएका एक जना उपचारमा छन् ।

काठमाडौँको मीनभवनस्थित सिभिल अस्पतालमा पनि बिरामीको आउने क्रम बढेको छ । अस्पतालका निर्देशक डा. दीर्घराज आरसीका अनुसार लकडाउनको समयमा दैनिक डेढ सयजति बिरामी आउने गरेकोमा झण्डै त्यति नै संख्या बढेको छ ।

सिभिल अस्पतालमा धेरैजसो काठमाडौँ उपत्यका बाहिरबाट बिरामीहरू आउने गर्छन् । जिल्लाभित्रको चलहपहल बढे पनि सार्वजनिक सवारीसाधन बन्द नै छन् ।

‘हाम्रो अस्पतालमा ५० प्रतिशत बिरामी काठमाडौँ बाहिरबाट आउने हुन् । लकडाउन खुकुलो भएपछि बिरामीको संख्या केही बढेको छ, सार्वजनिक सवारी चलेपछि अझै बढ्छ,’ डा. आरसीले भने, ‘बिरामीको चापअनुसार सावधानी अपनाएर उपचार गर्छौं ।’

सिभिल अस्पताल कोरोना संक्रमितको उपचारका लागि तोकिएको छैन तर कोरोना संक्रमणको शंका गरिएका बिरामीहरू पनि रहेको डा. आरसीले बताए ।

उनका अनुसार अस्पतालमा आएकामध्ये शंका लागेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने गरिएको छ । त्यस्ता बिरामीलाई अब्जर्भेसन वार्डमा राख्ने र कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा पठाउने गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गए सिभिल अस्पतालले पनि उपचार गर्ने गरी व्यवस्थापन गरिएको डा. आरसीले बताए । ‘हाम्रो अस्पताललाई कोरोना विशेष अस्पताल भनेर तोकिएको छैन तर हामीले २ वटा कोठामा २२ बेडकोे आइसोलेसन वार्ड बनाएका छौँ,’ उनले भने, ‘अहिले कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोभिड अस्पतालमा रेफर गर्ने गरेका छौँ, आवश्यक परे हाम्रै अस्पतालमा उपचार गर्नेछौँ ।’

महाराजगञ्जस्थित कान्ति बाल अस्पताल बालबालिकाको उपचार हुने एकमात्र सरकारी अस्पताल हो । यहाँ देशभरबाट बिरामी बालबालिकाहरू ल्याइन्छन् तर लकडाउनका कारण यहाँ पनि बिरामीको चाप निकै कम छ । लकडाउन खुकुलो भए पनि चाप खासै नबढेको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए ।

उनका अनुसार ओपीडी र आकस्मिक सेवामा गरी दैनिक सय जनाजति बिरामी आउने गरेका छन् । कान्ति बाल अस्पतालमा आउने बिरामीमध्ये दैनिक ५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाउने गरेको डा. पौडेलले बताए । अस्पतालले कोरोना संक्रमित बालबालिकाका लागि आइसोलेसनको व्यवस्था गरेको छ ।

उनका अनुसार अस्पतालले संक्रमणको शंका गरिएका बिरामीलाई छुट्टै वार्डमा राख्ने गरेको छ । स्वास्थ्य अवस्था स्थिर रहेका र अक्सिजन नचाहिने, अक्सिजन चाहिने, आइसियु वा भेन्टिलेटर चाहिने गरी तीन अवस्थाका बिरामी छुट्याएर उपचार हुने गरेको छ ।

काठमाडौंको वीर अस्पतालमा पनि लकडाउन खुकुलो भएसँगै बिरामीको संख्या ओपीडी र आकस्मिक सेवा दुवै तर्फ बढेको छ । वीर अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीका अनुसार लकडाउनमा कडाइ गरिएको समयमा दैनिक मुस्किलले ३ सय बिरामी आउने गरेका थिए । तर लकडाउन खुकुलो भएसँगै ओपीडीमा दैनिक ५ सयभन्दा बढी बिरामी आउन थालेका छन् । यस्तै आकस्मिका सेवामा पनि ६० भन्दा बढी बिरामी दैनिक आउन थालेका छन् ।

‘हाम्रो अस्पतालमा अत्याधिक भिड त बढेको छैन, मानिसहरु अझै पनि त्रासमा दनै छन्,तर लकडाउन खुकुलो भएपछि बिरामीको संख्या भने बढ्न थालेको छ,’ डा सेञ्चुरीले खबरहबसँग भने, ‘हामीले गेटमा नै ज्वरो जाँच गरेर सोही अनुसार व्यवस्थापन गर्ने गरेका छौं ।’

वीर अस्पताल देशकै पुरानो र ठूलो सरकारी अस्पताल हो । वीर अस्पतालमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन समेत जडान गरीएको छ । तर अस्पतालले ठाउँ अभाव भएको भन्दै आइसोलेसन वेड व्यवस्थापनमा भने खासै ध्यान दिएको देखिदैन । अस्पतालका निर्देशक डा सेञ्चुरीका अनुसार वीर अस्पतालमा जम्मा २० वेडको आइसोलेसन वार्ड रहेको छ ।

‘हाम्रो अस्पतालमा २० वेडको आइसोलेसन मात्र छ, ठाउँ अभाव भएकाले आइसोलेसन वेड धेरै बनाउन सकेका छैनौं,’ डा सेञ्चुरीले भने, ‘बिरामीको संख्या बढ्दै गयो र कोरोना पोजेटिभहरुलाई भर्ना गरीरहनुपर्ने भयो भने हामीलाई गाह्रो छ ।छुट्दै भवनमा कोरोना उपचार गर्ने ठाउँ पनि छैन ।’

स्वास्थ्य मन्त्रालयले अति आवश्यक परेको समयमा पिपिइ लगायतका स्वास्थ्य सामाग्रि केही मात्रामा दिने गरेको छ । तर पनि आफुहरुसँग पर्याप्त मात्रामा स्वास्थ्यकर्मीका लागि पिपिइ लगायतका स्वास्थ्य सामाग्रि मौज्दात नभएको डा सेञ्चुरीले बताए ।

विगत वर्षभन्दा कम बिरामी

विगत वर्षहरूको तुलनामा अस्पतालहरूमा बिरामीको संख्या निकै कम रहेको अस्पताल प्रमुखहरूले बताएका छन् ।

राजधानीका सिभिल, पाटन, कान्ति बाल, वीर लगायत राजधानीका अघिकांश ठूला अस्पतालहरूमा दैनिक एक हजारसम्म बिरामीहरू आउने गरेका थिए ।

कोरोना संक्रमणपछि अत्यावश्यक सेवा लिनु परेमात्र अस्पताल जान सन्देश दिइएको छ । यसले पनि अस्पतालहरूमा बिरामीको संख्या कम भएको अधिकारीहरू बताउँछन् ।

अत्यावश्यक भएमात्र अस्पताल आउन आग्रह

अस्पतालहरूले स्वास्थ्य सेवा लिनै पर्ने गरी समस्या देखिएमात्र आउन सर्वसाधारणलाई आग्रह गरेका छन् । सिभिल अस्पतालका निर्देशक डा. आरसीका अनुसार सामान्य स्वास्थ्य परीक्षण गर्ने भनेर आउने मान्छे छैनन् ।

शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न डा. अनुप बास्तोला तल्कालै उपचार गराउनु परेको अवस्थामा मात्र अस्पताल आउन र सामान्य स्वास्थ्य परीक्षणका लागि नआउन सुझाब दिन्छन् ।

अस्पताल जाँदा सामाजिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, साबुनपानीले हात धुन र काम सकिएपछि फर्किहाल्न डा. बास्तोलाको सुझाब छ । अस्पताल जाने दीर्घ रोगीहरू बढी सचेत हुनुपर्ने उनले बताए ।

अस्पताल प्रशासनले बिरामीहरूका लागि दूरी कायम गर्ने र सावधानीका अन्य उपाय अपनाउन सचेत गराउनुपर्ने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १२ : ४५ बजे

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)