सरकारी कार्यालयमा सेवाग्राहीको चहलपहल | Khabarhub Khabarhub

सरकारी कार्यालयमा सेवाग्राहीको चहलपहल

कार्यालयमा यसरी सुरक्षित रहनुहोस्



काठमाडौं– सरकारले सोमबारबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अहिले शहरका अधिकांश कार्यालयहरुमा सेवाग्राहीको चहलपहल बढेको छ ।

साढे दुई महिना लामो लकडाउन पछि कार्यालय खोल्दा चहलपहल बढेपछि कोरोना संक्रमणको जोखिम कम छैन ।

सोमबार अध्यागमन विभागको कार्यालय कालिकास्थानमा सेवाग्राहीहरुको लाइन देखिन्थ्यो । दिउँसो भएको वर्षाका कारण उनीहरु सामाजिक दुरी कायम नगरी कार्यालय भवन बाहिर लस्करै उभिएका थिए ।

अध्यागमन विभागले लकडाउनका बेला अनलाईनबाट टोकन लिई समय लिन सुचना निकालेको थियो । तर केही व्यक्तिहरु समय लिएर आएपनि जेष्ठ नागरिक वा अनलाइनमा टोकन लिन नजान्नेहरु समय नलिईकन आएकाले भीड लागेको विभागका सुचना अधिकारी रामचन्द्र तिवारीले बताए ।

‘कार्यालयभित्र २ मिटरसम्म दूरी कायम गराएका छौं’ उनले भने, ‘कार्यालयका विभिन्न शाखामा १०÷१२ जनासम्मलाई सेवा दिइरहेका छौं ।’

कार्यालयमा पासपोर्टको मिति थप्ने, भिषाको मिति म्याद सकिएर नेपालमै रोकिएका र अन्य विभिन्न कामले नेपाल आएर तर लकडाउनले नपाएकाको भीड बढेको उनले जानकारी दिए ।

‘सेवाग्राहीलाई अनिवार्य मास्कको प्रयोग गर्न लगाएका छौं । त्यस्तै दूरी कायम गरी कार्यालय प्रवेश र स्यानिटाइजरको व्यवस्था गरेका छौं’ उनले खबरहबसँग भने, ‘बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कार्यालय खुलाइ काम भइरहेको छ ।’

सरकारले सोमबारबाट सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय (प्रशासनिक काम मात्र हुने तर पठनपाठन नहुने), गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयहरु खुलाउने निर्णय गरेको थियो ।

यससँगै उपत्यकाभित्रका स्थानीय तहहरु काठमाडौं, ललितपुर महानगरपालिका, विभिन्न नगरपालिका र वडा कार्यालयहरुमा पनि सेवाग्राहीको भीड लागेको छ । सरकारको निर्णयअनुसार दुई सिफ्टमा कर्मचारीहरु आएर सेवा दिइरहेको ललितपुर महानगरले जनाएको छ ।

महानगरमा अहिले विभिन्न काममा आउने सेवाग्राही आफै सजक भएर दूरी कायम गर्ने गरेको र कार्यालय प्रवेश गर्नुअघि ज्वरो मापन, साबुनपानीले हात धुने र स्यानीटाइजरको प्रयोगगरि प्रवेश गराइरहेका महानगरका एक कर्मचारीले खबरहबलाई बताए ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनको समयमा पनि उजुरी दर्ता गर्ने र त्यसको सुनुवाइ गर्दै आइरहेको थियो ।

सो अवधिमा केही कर्मचारी मात्र कार्यालयमा उपस्थित भई काम गर्दै आइरहेका थिए भने सोमबारबाट सबै कर्मचारीहरु दुई सिफ्टमा कार्यालय आउन थालेको र काम निरन्तर भइरहेको आयोगले जनाएको छ ।

सवारीसाधनहरु जोर—बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारीहरु ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको व्यवस्था मिलाउने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने निर्णय सरकारले गरेको थियो ।

यससँगै अहिले सडकमा सवारीसाधनको चाप देखिन थालेको छ ।

त्यस्तै सिंहदरवारमा पनि चहलपहल सुरु भएको छ । कार्यालय समयमा विभिन्न निकायका कर्मचारीहरु बिहानैदेखि उपस्थित हुन थालेका छन् भने अन्य नागरिकहरु १० बजेपछि दिनभर नै सिंहदरबार प्रवेश गरिरहेका छन् ।

सिंहदरबारको दक्षिणगतर्फको प्रवेशद्धारमा स्वास्थ्य जनसख्या मन्त्रालयका टोलीले परीक्षण गराएर मात्रै सेवाग्राही प्रवेश गराएका छन् ।

कार्यालय स्थलमा यसरी सुरक्षित रहनुस् : जनस्वास्थ्य विज्ञ

लकडाउन केही खुकुलो भएसँगै देशभरका सरकारी तथा गैरसरकारी संस्थाहरु सोमबारबाट खुले । साढे २ महिनाभन्दा बढी समय घरभित्र क्वारेन्टिनमा बसेकाहरु कार्यालय जान थालेका छन् ।

घरदेखि कार्यालय स्थलसम्म कसरी सुरक्षित रुपमा पुग्ने र कार्यालय स्थलमा रहुन्जेल कसरी सावधानी अपाउने भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् ।

‘कोरोना भाइरसबाट सुरक्षित रहन ३ उपायहरु सधै अपनाउनुपर्छ। घरबाट निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने । मास्कको प्रयोगबाट नै ७५ प्रतिशत संक्रमणको दर कम हुन्छ’ जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले भने, ‘एन नाइटी फाइभ मास्क नै प्रयोग गर्नुपर्छ भन्ने होइन, मेडिकलमा पाइने सर्जिकल, कटन मास्कको पनि प्रयोग गर्न सक्छौं ।’

मास्क फुकाल्दा कानमा रहेको डोरीमा समाएर निकाल्ने र सुरक्षित स्थानमा राख्नुपर्ने र त्यसलाई व्यवस्थापनमा पनि उचित ध्यान दिनुपर्ने उनको सुझाव छ ।

दोस्रो भनेको सामाजिक दूरी । बाटोमा हिड्दा होस्, सामान किन्दा होस् वा कार्यालय जाँदा होस् मनमनै ६ फिटको दुरी नापेर हिड्न उनी आग्रह गर्छन् ।

‘कहिँकतै भीडभाड हुन्छ र बाटो पनि साँघुरो सक्छ’ उनी भन्छन्, ‘त्यस्तो ठाउँमा छिटो हिडेर दुरी पार गरेमा समय छोटो हुन्छ र भाइरस सर्न पाउँदैन ।’

‘कार्यालयमा दैनिक प्रयोग गरिने कम्प्युटर, ल्यापटप, कुर्ची लगायतका साधन दिनमा २ पटक ०.५ प्रतिशत सोडियम हाइपो क्लोराइडले सफा गर्नुपर्छ’ उनले खबरहबसँग भने, ‘क्लोरिन पानी वा ७५ प्रतिशत भन्दा बढी अल्कोहल भएको स्यानिटाइजरले सफा गर्दा पनि हुन्छ ।’

कार्यालय समय वा घरभित्र काम गर्दा हातको प्रयोग बढी हुने हुँदा साबुन पानीले बारम्बार हात धोइरहनुपर्ने उनको सुझाव छ । भन्छन्, ‘यदी साबुन पानी सम्भव नभएको खण्डमा स्यानिटाइजर बोकेर हिडौं ।’

जसरी साबुनले विभिन्न प्रक्रिया पुर्याएर हात धुने गरिन्छ त्यसरी नै स्यानिटाइजर लगाउनु पर्ने बताउँछन् डा.पाण्डे ।

‘यसरी मास्कको प्रयोग, सामाजिक दुरी कायम र साबुनपानीले हात बारम्बार धुने हो भने कोरोना भाइरसको संक्रमण हुँदैन’ उनले भने, ‘कोरोना भाइरस त्यति घातक होइन त्यसकारण मानिसको मनमा डर उत्पन्न हुनु भएन ।’

‘९० प्रतिशत मानिसलाई कोरोना भयो कि भएन भन्ने थाहा नपाई नै निको भइसक्छ । बाँकी ५ प्रतिशतलाई सामान्य उपचार गरेपछि ठीक हुन्छ भने ५ प्रतिशत मानिसलाई हो आइसियु र भेन्टिलटर चाहिने त्यसमा पनि २ देखि ३ प्रतिशत मृत्यु रहेको छ’ भाइरसबारे जानकारी ददैं उनले भने, ‘तर नेपालमा हेर्ने हो भने अहिलेसम्म ०.३ प्रतिशत मृत्युदर रहेको छ ।’

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ११ : ४५ बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार