एन्फामा अध्यक्ष-वरिष्ठ उपाध्यक्ष चरम टकराव | Khabarhub Khabarhub

एन्फामा अध्यक्ष-वरिष्ठ उपाध्यक्ष चरम टकराव



काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को १६औं साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुँदै गर्दा कर्माछिरिङ शेर्पाले घोषणा गरेका थिए– फुटबललाई माया गर्ने सबैसँग मिलेर अगाडि बढ्छौं ।

आफ्नो नेतृत्वमा अहिलेसम्मकै सक्षम टिम निर्वाचित भएको दाबी गरेका शेर्पाले फुटबलको विकासमा दिनरात खटेर लाग्ने प्रतिवद्धता जनाएका थिए ।

निर्वाचित भएको २ वर्ष नपुग्दै उनको प्रतिबद्धताविपरीत एन्फा कार्यसमिति अनेक आन्तरिक विवादमा फस्न थालेको छ ।

आफूलाई एन्फाको नेतृत्वमा पुर्‍याउन सहयोग गरेको गुणको बदलामा शेर्पाले नवीन पाँडेलाई विदेश विभाग प्रमुखमा नियुक्त गरेका थिए । पाँडे यसअघि शेर्पा नै सञ्चालक रहेको हिमालयन शेर्पा क्लबका व्यवस्थापक थिए । लामो समयसम्म शेर्पाको ‘सहयोगी’ रहेका पाँडे गत जेठमा विदेश विभाग प्रमुखको जिम्मेवारी परित्याग गर्दै एन्फाबाट बाहिरिए ।

एन्फा अपारदर्शी भएको, मनोमानी ढंगले निर्णय हुन थालेको र नेतृत्वबाटै पद्धति कुल्चिने काम भएको आरोप लगाउँदै उनलेएन्फाबाट राजीनामा दिए।

एक वर्ष हुनै लाग्दा समेत पाँडेको राजीनामा स्वीकृत भएको छैन । कसैलाई जिम्मेवारी दिइएको पनि छैन । पाँडेले एन्फाभित्र आफ्नो अलग्गै ‘गुट’ खडा गरेका छन् ।

एन्फामा ‘पाँडे गुट’ यति बलियो बनिसकेको छ कि अध्यक्ष शेर्पाले उनीहरूलाई ‘फुटबल सिध्याउने तत्व’को संज्ञा दिन थालेका छन् ।

एन्फामा ‘पाँडे गुट’ र अध्यक्ष शेर्पाबीचको द्वन्द्व चर्किंदै जान थालेको छ । जसको पछिल्लो प्रमाणका रुपमा अगाडि आएका छन् वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा

गत माघ २६ गते भएको एन्फा कार्य समिति बैठकले विभिन्न ३१ बुँदे प्रस्तावमाथि निर्णय गरेको थियो । वैठक बसेको झन्डै ४० दिनपछि उपाध्यक्ष नेम्वाङले निर्णयमाथि असहमति जनाउँदै आफ्नो ‘असन्तुष्टि’सार्वजनिक गरेका छन् ।

नेम्वाङले एन्फा कार्यसमितिले गरेका ३१ वटा निर्णयमध्ये ९ वटामा असहमति जनाउँदै विज्ञप्ती नै जारी गरेका छन् ।

कार्यसमिति बैठकमा असहमति जनाउन खोज्दा अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधरले लिखित असहमतिराख्न चुनौती दिएपछि आफूले विज्ञप्ती नै निकालेको नेम्वाङको भनाइ छ ।

नेम्वाङले शहीद स्मारक ए डिभिजन लिगको प्रायोजक र भिडियो राइट्स दिँदाको विषय, रौतहटमा निर्माणाधीन महिला एकेडेमीका ठेक्का विवादको विषय, युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युइएफए)बाट लिने सहयोग, एएफसी क्लब लाइसेन्सिङमा एएफसीले लगाएको जरिवाना तथा जरिवानाको कारण जस्ता विषयप्रति आफ्नो असहमति सार्वजनिक गरेका छन् ।

यस्तै, भक्तपुर जिल्ला एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय, एन्फाका पदाधिकारीदेखिखेलाडीको स्वास्थ्योपचार खर्चकोअस्पष्ट मापदण्ड, एन्फा फाइनान्स डाइरेक्टरको नियुक्ति, कर्मचारीको तलब वृद्धि तथा सञ्चार सेट (वकिटकी) खरिदको प्रक्रियाप्रति पनि नेम्वाङले प्रश्न उठाएका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर भने नेम्वाङले उठाएका प्रश्नलाई ‘स्वाभाविक अहसमति’ मान्छन् । ‘कुनै पनि संस्थामा असहमति हुनु स्वाभाविक हो,’ तुलाधर भन्छन्, ‘यस्ता असहमतिका विषय समाधान गरेर अघि बढ्नु पर्छ ।’

२ वर्ष पनि नटिक्ने दोस्ती !

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध ‘अभियान’ चलाउँदा हालका अध्यक्ष शेर्पा र नेम्वाङ ‘अभिन्न मित्र’ थिए । अनेक प्रकरणका कारण थापा एन्फाबाट बाहिरिएपछि कालान्तरमा दुवै जना एन्फाको महत्वपूर्ण जिम्मेवारीमा पुगे । तर, नेतृत्वमा पुगेपछि ‘खटपट’ शुरु भयो ।

एन्फाका एक पदाधिकारी अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङबीच ‘स्वार्थको टकराव’ चलेको बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा ती जानकारले खबरहबसँग भने, ‘नेतृत्वमा नआउँदासम्म दुवै जनाबीच राम्रै सम्बन्ध थियो तर नेतृत्वमा आएको २ वर्ष पनि नपुग्दै खटपट शुरु भयो । वास्तवममा यस्तो खटपट व्यक्तिगत स्वार्थको टकरावको परिणाम हो ।’

नेम्वाङ अध्यक्ष शेर्पाकै विशेष जोडबलमा वरिष्ठ उपाध्यक्ष बनेका थिए । उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने निर्णयमा अर्का उपाध्यक्ष वीरबहादुर खड्काले आपत्ति जनाएका थिए । तर, कार्यसमिति सदस्यहरूले खड्काको विरोध नसुनेर शेर्पाकै प्रस्तावमा सहमति जनाए । बहुमतका आधारमा नेम्वाङ वरिष्ठ उपाध्यक्ष चयन भएका थिए ।

अध्यक्ष शेर्पानिकट एन्फाका एक पदाधिकारीका अनुसार नेम्वाङ अहिले ‘पाँडेको गुटमा लागेर नेतृत्वलाई असफल बनाउने डिजाइन’मा छन् । ती पदाधिकारी नेम्वाङलाई ‘एक चतुर र स्वार्थी खेलाडी’ भन्छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ

नेपालले २०७५ फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरमा महिला साफ च्याम्पियनसिप आयोजना गरेको थियो । उक्त प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष नेम्वाङ थिए । उक्त प्रतियोगितामा एन्फाले ८० लाख हाराहारी खर्चको अनुमानसहित बजेट विनियोजन गरेको थियो । तर, खर्च आयो डेढ करोड भन्दा धेरै । उक्त प्रकरणमा नेम्वाङमाथि आर्थिक चलखेलको आरोप पनि लागे पनि अनुसन्धान भने भएन ।

‘नेम्वाङले अहिले उठाएका कुरा सही छन् । तर, उनी आफू संलग्न भएका प्रकरणबारे चाहिँ स्पष्ट पार्नु पर्दैन ?’ शेर्पानिकट एक एन्फा पदाधिकारी प्रश्न गर्छन्, ‘होइन, एएफसी यू–१६ च्याम्पियनसिप खेल्न गएका नेम्वाङका छोरा पृथ्थुहाङ अहिले कहाँ छन् ? कसरी टोलीमा परे ? त्यो स्पष्ट पार्नु पर्दैन ?’

उपाध्यक्ष नेम्वाङ भने आफुलाई कमजोर पार्ने गरि आरोप लगाइएको बताउँछन् । उनले सागमा भएको खर्चको सबै विवरण ७ महिना अघि नै एन्फामा बुझाइसकेको र आफ्नो छोरो पृथ्थुहाङका विषय उठाएर आफूलाई विवादित बनाउन खोजेको आरोप लगाए ।


प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ३२ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो