सडकमा कोरोनाको प्रभाव : ४० प्रतिशत सार्वजनिक सवारी घटे | Khabarhub Khabarhub

सडकमा कोरोनाको प्रभाव : ४० प्रतिशत सार्वजनिक सवारी घटे

कोरोनाविरुद्ध एक हुन यातायात व्यावसायीको माग



काठमाडौं– चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । अहिलेसम्म १ सय ६५ भन्दा बढी देशहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा समेत गरेको छ भने नेपाललाई पनि उच्च जोखिममा राखेको छ ।

नेपालका दुई छिमेकी मुलुक भारत र चीनमा कोरोनाको संक्रमण फैलिइरहँदा नेपाली जनता पनि यति बेला त्रासमा छन् ।

सरकारले विभिन्न सभासम्मेलन र भीडभाडमा नजान आम मानिसलाई आग्रह गरेको छ । साथै त्यस्ता स्थानमा जानु परेमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न सुझाव पनि दिइएको छ ।

बजारमा मास्क र सेनिटाइजरको चरम अभाव छ भने मानिसहरु बाध्यताले यात्रा गरिरहेका पनि छन् ।

त्रसित बन्दै गाडीमा यात्रा : यात्रु

त्यस्तै बाध्यताकारी यात्रा हो– ‘सार्वजनिक सवारी साधन ।’ यात्रुको ठूलो चाप हुने ठाउँका रुपमा पनि लिइन्छ सार्वजनिक यातायातलाई ।

निजी सवारी साधन नहुने जो कोही व्यक्तिले प्रयोग गर्ने भनेकै सार्वजनिक सवारी साधन हो । कार्यालय समयको अवधिमा सार्वजनिक सवारी साधनमा हुने खचाखचले मानिसहरुलाई पसिना नै निकाल्छ ।

अझ साँझको समयमा सवारी कुर्नकै लागि बस स्टपहरुमा यात्रुहको लर्को लाग्ने गर्छ ।

‘भीडभाडमा नजानु भनेर सरकारले आग्रह गरेको छ । तर के गर्नु गाडी पाउनै मुस्किल छ’ एनएसीमा बस कुरिरहेका राजु तामाङले भने, ‘यसरी भीडभाडमा नबसी गाडी पाउनै मुस्किल छ । आधाघण्टासम्म लाइन बस्नु पर्छ ।’

त्यस्तै बाहिर कोरोना संक्रमण बारे जे–जति कुरा सुनेपनि सार्वजनिक सवारीसाधनमा उभिएर यात्रा गर्नेहरुलाई कोरोनाको डरले छुन सकेको छैन ।

‘सवारी साधनमा उभिएर यात्रा गर्नुपर्दा गर्मीले मुखमा लगाएको मास्क सम्म फुकाल्नुपर्ने बाध्यता छ’ सार्वजनिक सवारी साधनमा यात्रा गरिरहेकी एक महिलाले भनिन्, ‘कोरोनाको त्रास मानेर के गर्नु ।’

सडकमा घट्यो सवारीको संख्या

बजारमा कोरोना संक्रमणको हल्ला फैलिएसँगै बजार सुनसान हुँदै गएको छ । त्यस्तै दिउँसोको समयमा सार्वजनिक सवारी साधनमा यात्रु नचढ्ने गरेको यातायात व्यवसायीहरु बताउँछन् ।

विभिन्न नाका हुँदै डिल्ली पुग्ने बसहरु अहिले रोकिएका छन् । अहिले राजधानीको हकमा पनि ४० प्रतिशतले सार्वजनिक सवारी साधन घटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

‘अहिले लामो र मध्यम दूरीका सवारी साधन ४० प्रतिशतले घटेका छन्’ उनले खबरहबसँगको कुराकानीमा भने, ‘अहिले यात्रुको चाप पनि घटेको छ त्यस्तै चालक तथा मजदुरहरु पनि त्रसित छन् ।’

तर यातायतका क्षेत्रमा सरोकार राख्ने सरोकारवाला निकायले चासो नदेखाएको व्यवासायीको भनाई छ । ‘यात्रुलाई सार्वजनिक यातायातमा यात्रा गराउन सहज हुने वातावरण सिर्जना गराउन सक्नुपर्छ’ सिटौलले भने, ‘त्यसका लागि मास्क, सेनिटाइजर लगायतका साधन उपलब्ध गराउन सक्नुपर्छ ।’

कोरोना संक्रमणको जोखिम कम गराउनका विशेषगरी सार्वजनिक यातायातका क्षेत्रमा के योजना ल्याउँदै छ त यातायात व्यवस्था विभागले ?

विभागका महानिर्देशक गोगनबहादुर हमालले भन्छन्, ‘हामी यसबारे छलफलको क्रममा छौं । बुधवार पनि सम्बन्धित निकायसँग हाम्रो छलफल हुनेछ त्यसपछि सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुको सुरक्षाका लागि केही योजना ल्याउनेछौं ।’

हेल्थ डेस्क राख्न अनुरोध

कलंकी, गोंगबु, पुरानो बसपार्क, एनएसी, कोटेश्वर, बल्खु, लगनखेल लगायत यात्रुको ठूलो चाप हुने स्थानमा हेल्थ डेस्क राख्न सम्बन्धित निकायलाई अनुरोध गरिरहेको उनले बताए ।

अन्य क्षेत्रमा भन्दा सार्वजनिक सवारी साधनका क्षेत्रमा उपलब्ध गराउन सकेमा यात्रुको स्वास्थ्य अवस्था राम्रो हुने उनको भनाई छ ।

सार्वजनिक सवारी सञ्चालन गर्नेहरुले यी कुरामा ध्यान दिऔं :

– ग्यारेज तथा सवारी चलाउन निस्कनुअघि सवारी साधन सफा गर्ने,
– ज्वरो आएको चालक र सहचालकलाई चलाउन रोक लगाउने वा तापक्रम नाप्ने,
– सवारी अन्तिम स्टेशनमा यात्रु ओर्लिएपछि नयाँ यात्रुलाई हाल्नुभन्दा पहिले सवारी सफा गर्ने ,
– संक्रमणबारे जनचेतनाका लागि अडियो, भिडियो र पर्चा समेत बनाएर वितरण गर्ने,
– यात्रुहरु कोचेर नराख्ने वा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने,
– सवारी साधन वा बस थप गर्ने, पर्याप्त सञ्चालन गर्ने,
– मास्क लगाउन अनुरोध गर्ने र चालक, सहचालकले पनि मास्क लगाउने ,
– यात्रुको सुरक्षामा ध्यान दिई स्यानिटाइजरको व्यवस्था गर्ने,
– सवारी साधनको सिट, डन्डी, यात्रुको हातले समाउने स्थानमा बारम्बार सफा गर्ने ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ३६ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश