पोस्टमार्टम गरेर २८ वर्ष बिताएका डा.वस्ती भन्छन्- गलत रिपोर्ट बनाउन दबाब र धम्की आउँछ « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

पोस्टमार्टम गरेर २८ वर्ष बिताएका डा.वस्ती भन्छन्- गलत रिपोर्ट बनाउन दबाब र धम्की आउँछ



काठमाडौं–वीर अस्पतालमा एक महिलाको शव पोस्टमार्टमका लागि ल्याइयो । फरेन्सिक सेवा विभागमा खटिएका डाक्टर हरिहर वस्तीको टिमले ती महिलाको शव पोस्टमार्टम गरे । पोस्टमार्टमका क्रममा ती महिलालाई ‘घाँटीमा कसेर मारिएको’ भेटियो ।

डा.वस्तीको टिमले शव परीक्षणमा जस्तो कुरा देखे त्यस्तै रिपोर्ट बनाइदिए । सो रिपोर्टपछि केही उच्च पदस्थ व्यक्तिले नै रिपोर्ट परिवर्तन गरी ‘झुण्डिएको हो’ भनेर लेख्न दवाब दिए ।

तर डा.वस्तीले निडर भएर दवाब दिने व्यक्तिलाई भने, ‘शव परीक्षणमा जे देखिएको छ, मैले त्यहि मात्र लेख्न पाउँछु, रिपोर्ट परिवर्तन गर्न मिल्दैन ।’

डा.वस्तीलाई एकसाता सम्म उनीहरुले रिपोर्ट परिवर्तन गर्न दवाब र प्रभाव देखाए । तर उनले आफ्नो नैतिकतालाई कसैको दवाव र प्रभावमा बेचेनन् ।

यो घटना २०५० सालको हो । जतिबेला वीर अस्पतालमा मृतकहरुको पोस्टमार्टम गरिन्थ्यो ।

डा.वस्तीले २०४८ सालदेखि वीर अस्पतालमा पोष्टमार्टमको काम गर्न शुरु गरेका थिए । डा.वस्तीले २०५६ सलामा (फरेन्सीक मेडिसिन) मा श्रीलंकामा एमडी अध्ययन पुरा गरेका हुन् ।

२०५६ सालमा फरेन्सिक मेडिसिन अध्ययन गरेर नेपाल फर्किएपछि डा.वस्तीकै पहलमा वीर अस्पतालको अव्यवस्थित फरेन्सिक सेवा टिचिङ अस्पतालमा सारियो । त्यसयता डा.वस्ती चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को फरेन्सिक सेवा विभागमा कार्यरत छन् । डा.वस्तीले यस्तै खालको दवाबहरु सहदै निरन्तर यसक्षेत्रमा काम गरिरहेका छन् ।

स्कुल पढ्दा सँधै प्रथम

वस्ती धनकुटाको चुङवाङ भन्ने गाउँमा २०१७ सालमा जन्मिएका हुन् । उनले कक्षा ७ सम्म घर नजिकैको भारती निमावि (हाल मावि भइसकेको छ) स्कुलमा पढे । उनले ८ देखि १० कक्षासम्म भने मामाघरमा बसेर जनता माविमा पढे । वस्तीले सोही विद्यालयबाट २०३३ सालमा प्रथम श्रेणाीमा एसएलसी उत्र्तीण गरे ।

२००८ सालमा स्थापना भएको जनता माविबाट पहिलोपटक प्रथम श्रेणीमा एसएलसी पास गर्ने विद्यार्थी वस्ती नै थिए । वस्ती २०३३ सालको एसएलसी व्याचमा जिल्लामा प्रथम श्रेणीमा पास हुने एकमात्र विद्यार्थी थिए ।

स्कुल पढ्दा सधै प्रथम हुने उनले आफुभन्दा कमजोर साथीहरुलाई सधै थप्पड हान्नुपरेको वस्ती सुनाउँछन् ।

‘म स्कुल जीवनमा कहिल्यै दोस्रो भइन सधै प्रथम हुन्थ्यें, स्कुलमा शिक्षकको एउटा नियम थियो, प्रश्न सोध्ने र उत्तर दिन नसक्नेलाई उत्तर दिन सक्नेले गालामा थप्पड हान्नुपर्ने,’ वस्तीले बाल्यकाल सम्झिए, ‘त्यो थप्पड पनि सबैले सुन्ने गरी हान्नुपर्ने, त्यतिबेला मैले धेरै साथीहरुलाई नचाहँदा नचाहँदै पनि गालामा थप्पड हान्नुपर्‍यो, मलाई साथीहरुले पहिला नै विस्तारै हान है भन्थें ।’

कृषि प्राविधिक बन्ने सपना काठमाडौं आएर परिवर्तन भयो

गाउँमा खेतीकिसानीमा आमाबुबालाई सघाउँदै एसएलसीसम्मको अध्ययन पुरा गरेका वस्तीको सपना कृषि प्राविधिक बन्ने थियो । उनले कृषि प्राविधिक पढ्न सपना लिएर २०३४ सालमा धरान आए ।

जनकपुरमा कृषि प्राविधिक पढाइ हुने थाहा पाएपछि धरानबाट जनकपुर गए । जनकपुरमा पुगेपछि पढ्नका लागि एसएलसी पास भएको मार्कसिट चाहिने भयो । तर त्यतिबेला स्कुलमा मार्कसिट पुग्न नै महिनौ लाग्थ्यों । वस्तीले परीक्षा नियन्त्रण कार्यलयमै गएर मार्कसिट लिन भनेर जनकपुरबाट धरान गए । धरानबाट रातारात सामान बोक्ने ट्रक चढेर काठमाडौं आए ।

पहिलोपटक काठमाडौं आएका वस्तीको काठाडौंमा कोही आफन्त थिएनन् । नत अहिलेको जस्तो फोन नै थियो । बाबुले भनेअनुसार उनी न्युरोडमा रहेको माड्वारी सेवा समितिमा बसे । त्यहाँ उनको कृषि प्राविधिक बन्ने लक्ष्य परिवर्तन भयो ।

‘काठमाडौंमा पहिलो पटक आएको थिए, बुबाले सस्तो र सुरक्षित छ भनेर न्युरोडको माड्वारी सेवा समितिमा बस्नु भन्नुभएको थियो । त्यहि बसे,’ डा वस्तीले विगत संम्झिए, ‘त्यहाँ पुगेपछि एकजना नयाँ साथी गोविन्द्र पौडेलसँग भेट भयो । उहाँ अहिले तिलगंगामा आँखाको डाक्टर हुनुहुन्छ । उहाँसँग संगत भएपछि के पढ्ने भनेर छलफल भयो । मैले एग्रिकल्चर पढ्ने भनेपछि उहाँले कहाँ एग्रिकल्चर पढ्नु, यहाँ त अस्कल र महाराजगञ्ज कलेज छ, पुलचोक इन्जिनियरिङ छन् । यहाँ पढ्नुपर्छ ।’

पढाइको विषयमा काठमाडौंमा भेटिएका नयाँ साथीसँग छलफल गरेपछि वस्तीको कृषि प्राविधिक बन्ने सपना ‘गायब’ भयो ।

त्यसपछि वस्ती र उनका नयाँ साथीले महाराजगञ्जको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), पुलचोकको इन्जिनियरिङ क्याम्पस र अस्कल क्याम्पसमा एकैपटक फर्म भरे र सबै कलेजमा प्रवेश परीक्षा दिए ।

मामाको त्यो पत्र जसले मेडिसिन पढ्न प्रेरित गर्‍यो

वस्ती कहाँ पढ्ने ? कुन विषय पढ्ने भनेर अझै अन्यौलमै थिए । उनले आफ्नो अन्यौलता आफ्नो भारतमा रहेका मामासँग पत्रमार्फत सेयर गरे ।
प्रवेश परीक्षाको नतिजा आउनु अघि नै मामाको पत्र आयो, ‘भान्जा ! मेडिसिन नछोड्नु ।’

मामाको त्यो चिठ्ठी पढेपछि उनले आइओएममै पढ्ने निर्णय लिए ।

‘सबैठाउँमा प्रवेश परीक्षा दिएपनि कुन पढ्ने भनेर अन्यौलता नै थियो । मैले मामालाई चिठ्ठी लेखेको थिए । त्यो समयमा प्रवेश परीक्षाको रिजल्ट अघि नै मामाको पत्र आइपुग्यो,’ वस्तीले भने, ‘लखनउमा मेडिकल टेक्नोलोजिस्टको रुपमा आर्मीमा हुनुहुन्थ्यो । मामाको पत्रमा भान्जा ! मेडिसिन नछोड्नु भनेर लेख्नुभएको थियो । मामाको त्यो पत्रले नै मलाई हेल्थ साइन्स पढ्न प्रेरणा मिल्यो ।’

प्रवेश परीक्षा दिएका वस्तीको तीनै ठाउँमा नाम निस्किएपनि वस्तीले मामाको सल्लाह अनुसार आइओएममा हेल्थ असिस्टेन्ट कोर्ष पढ्न भर्ना भए ।

उनले २०३४ सालदेखि ३७ सालमा हेल्थ असिस्टेन्ट कोष पुरा गरे । उनले हेल्थ असिस्टेन्ट कोष पुरा गरेर स्वास्थ्य मन्त्रालयबाट करार पत्र लिएर पहिलोपटक तेह्रथुममा बिरामीको उपचार गर्न खटिए । उनले २०४९ सालमा कोशी अञ्चल अस्पतालमा हेल्थ असिस्टेन्टको लागि खुलेको लोकसेवा परीक्षा दिए ।

त्यसपछि उनी सरकारी सेवाका हेल्थ असिस्टेन्ट बने । वस्तीले २०४० सालमा शिक्षा मन्त्रालयबाट एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति र स्वास्थ्य मन्त्रालयबाट अध्ययन विदा पनि पाए । उनले बंगलादेशमा ७ वर्ष बसेर एमबीबीएस अध्ययन पुरा गरे ।

एमबीबीएस पुरा गरी डाक्टर बनेपछि वस्तीले संखुवासभाको खादवारी जिल्ला अस्पतालमा मेडिकल अफिसर भएर एकवर्ष ८ महिना काम गरे ।

अहिले मात्र होइन, त्यतिबेला पनि चिकित्सकहरु दुर्गम क्षेत्रमा सेवा गर्न जान रुचाउँदैन थिए । तर डा वस्तीले भने आफैले दुर्गम क्षेत्र रोजे ।

संखुवासभामै कार्यरत रहदा मेडिकल अफिसरमा लोकसेवा खुलेपछि उनले मेडिकल अफिसरको सरकारी सेवामा पनि नाम निकाले । सरकारकै मेडिकल अफिसर भएपछि डा.वस्ती काठमाडौंको केन्द्रीय कारागारमा रहेको कारागार अस्पतालमा पोष्टिङ भयो । तर उनलाई २०४८ सालमा वीर अस्पतालमा काजमा राखियो ।

वीर अस्पतालमा जुनियर मेडिकल अफिसर भएकाले उनलाई सबैले हेला गरेको वीर अस्पतालको फरेन्सिक सेवा विभागमा खटाइयो ।

२० वर्षअघि वीरको भद्रगोल फरेन्सिक सेवा विभाग

२०५२ सालसम्म वीर अस्पतालमा मेडिकल अफिसरकै रुपमा पोष्ट मार्टममा खटिएका वस्तीले वीर अस्पतालको भद्रगोल पोस्टमार्टम कक्ष देखे । त्यसपछि उनले पोस्मार्टम गर्ने (फेरेन्सिक मेडिसिन) मै विशेषज्ञता हासिल गरेर सो क्षेत्रको सुधार गर्ने अठोट लिए । उनले सरकारसँग आग्रह गरेर छात्रवृत्तिमा श्रीलंका गएर फरेन्सिक मेडिसिनमा एमडि अध्ययन गरे ।

फरेन्सिक मेडिकल अध्ययनको क्रममा उनले वीर अस्पतालमा भइरहेको पोस्टमार्टको सेवा अवैज्ञानिक भएको थाहा पाए । उनले नेपाल फकिएपछि पोस्टमार्टमको सेवालाई व्यवस्थित बनाउन सरकारसँग आग्रह गरे ।

‘मैले फरेन्सिक मेडिसिन पढेपछि थाहा पाए, वीर अस्पतालमा गरिएको पोस्टमार्टम कति अवैज्ञानिक, अमानविय र गर्न नहुनेगरी गरिएको भन्ने थाहा भयो,’ डा वस्तीले भने, ‘वीर अस्पतालमा त्यतिबेला एउटा कोठा थियो । दिनमा ५ देखि ७ वटा शवहरु आउथें । शवलाई सुरक्षित राख्ने प्रविधिहरु थिएन । शवहरु कुहिएर किरा परेका हुन्थ्यें । त्यहि किरामाथि बुट लगाएर पोस्टमार्टम गर्नुपर्ने हुन्थ्यो ।’

डा.वस्तीले वीर अस्पतालको पोस्टमार्टम सेवा विभागको अवस्था भद्रगोल देखेपछि पोस्टमार्टम कक्षलाई व्यवस्थित गराउन सरकारलाई आग्रह गरे । डा वस्तीले पोस्टमार्टम कक्षमा हुनुपर्ने प्रविधि र मापदण्डको अवधारण सहितको प्रपोजल सरकारलाई बुझाए । तर सरकारको डा.वस्तीको कुरालाई वेवास्ता गर्‍यो । उनले पनि फरेन्सीक सेवा सुधार नहुने भए सरकारी सेवा छाड्ने भनेर राजीनामा पत्र लिएर स्वास्थ्य मन्त्रालय पुगे । त्यसपछि भने २०५६ सालमा वीर अस्पतालको पोस्टमार्टम सेवा बन्द भयो ।

टिचिङ अस्पतालमा विद्यार्थीलाई अध्ययनको लागि जापान सरकारको सहयोगमा बनाइएको फरेन्सिक विभागमा वीर अस्पतालको पोस्टमार्टमको सेवा सारियो ।

‘त्यतिबेला पढेर आएपछि फरेन्सीक विभागलाई व्यवस्थित बनाउनुपर्छ नत्र राजीनामा दिन्छु भनेर पत्र नै बोकेर गए । त्यसपछि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालयका सचिवहरुले छलफल गरे । तत्काल नयाँ बनाउन सकिदैन भने,’ डा वस्तीले भने, ‘टिचिङ अस्पतालमा जापनिजले विद्यार्थीलाई पढ्नका लागि बनाइएको फरेन्सिक सेवा विभागमा ‘हाललाई काम चलाउनको लागि’ भनेर डा.वस्ती सहित वीरको फरेन्सीक विभाग टिचिङमा सर्‍यो ।’

त्यसपछि भने डा वस्तीले २०५७ सालदेखि आफुजस्तै फरेन्सिक मेडिसिन पढेका दुईजना विशेषज्ञ डाक्टरसँग पनि काम गर्न थाले ।

मन्त्री अधिकारीको पोष्टमार्टमको क्रममा आएको त्यो दवाब

डा.वस्तीले लामो समय फरेन्सिक विभागमा काम गर्दा धेरैको दवाबहरु खेप्नु परेको छ ।

गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भयो । फागुन १६ गते दिउँसो २ बजे मन्त्री अधिकारी सहित ७ जनाको शब पोष्ट मार्टमको लागि त्रिवि शिक्षण अस्पताल (चिटिङ) मा लगियो ।

हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएका मन्त्री अधिकारी सहित ७ जनाकै शब नचिनिने अवस्थामा थियो ।

चिकित्सकहरुले सबै शबको पोष्टमार्टमको काम पुरा हुँदा १० देखि १५ घण्टा लाग्ने जानकारी गराए ।

तर सरकारको उच्च पदस्थ व्यक्तिहरुले मन्त्री अधिकारीलाई विशेष सम्मान गरिने भएकाले उनको मात्र शब छिट्टै पोष्टमार्टम गर्न चिकित्सकलाई दवाव दिए ।

अस्पतालमा सरकारबाटै मन्त्री अधिकारीको शव मात्र छिटो पोष्टमार्टम गर्न दवावआएपछि पोस्मार्टममा खटिएका डाक्टर हरिहर वस्तीले मन्त्री अधिकारीको शब मात्र छिटो पोष्टमार्टम गर्न नसकिने जावफ दिए ।

‘एकवर्ष अघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीको शब छिटो पोस्टमार्टम गरिरिनुस् भनेर उच्च पदस्थ व्यक्तिबाटै दवाव आयो। ७ वटा शवमध्ये मन्त्रीज्युको श्रद्धाञ्जलीका लागि राख्नुभन्ने भनेर छिटो गरिदिनुस् भन्नुभएको थियो,’ डा वस्तीले खबरहबसँग भने, ‘हामीले एउटा स्ट्यान्डर प्रोटोकर निर्धारण गरेका छौं । ७ जनाकै सनाखत र जाँच्ने काम सकिनुपर्छ, अनि जसको पहिला सनाखत हुन्छ उसको दिने हो भनेर कन्भिन्स गरे ।’

देशका उच्च पदस्थ व्यक्तिहरुले पोष्ट मार्टमको काममा समेत छिटो गर्नु भनेर दवाव दिएपछि डा वस्तीले दवाव दिनेलाई नै सम्झाउनु पर्‍यो ।

‘बिहान ४ बजे श्रद्धाञ्जली सभा छ भनेर कसरी छिटो गर्न सकिन्थ्यो र ? घटनाको भोलीपल्ट २ बजे शब पोस्मार्टमा लागि आएको थियो, शब आगोले पोलेर ठुटामुढा जस्तो अवस्थामा छ। कुन को हो भनेर चिन्नै मुस्किल छ,’ वा वस्तीले भने, ‘उस्तै डीएनए परीक्षण गर्नुपरे डेढ महिना लाग्नसक्छ । छिटो त हुँदैन भनेर पठाएँ । पछि सबैको पहिचान भएपछि एकैपटक पठाए ।’

दिउँसो २ बजेदेखि रातिको २ बजेसम्म निरन्तर खटिएपछि डा.वस्ती सहितको चिकित्सकको टिमले ७ वटै शव सनाखत गरेको थियो ।

मन्त्री अधिकारीको केशमा मात्र होइन, त्रिवि शिक्षण अस्पतालमा पोस्मार्टमका लागि आउने अधिकांशले पोष्टमार्टम छिटो गरिदिनुस् भन्ने गर्छन् ।

मृतकका आफन्तले पोष्टमार्टमको काम छिटो गर्नुस् भन्नु त स्वभाविक नै हो । तर कहिलेकाँही गैरकानूनी काम गर्न समेत दवाव आउने तथा सहि तरीकाले गरेको पोस्टमार्टमलाई पनि गलत भएको भनेर समेत आरोप खेप्नुपर्छ ।

‘मृत्युका विभिन्न थरीका केशहरु आउँछ । यसमा ठाउँ र व्यक्ति अनुसार दवाब प्रभावहरु आउँछ,’ डा वस्तीले भने, ‘हामीले जे देखेका हुन्छौं त्यहि लेख्दा पनि कहिलेकाँही पैसा खाएर गलत रिपोट बनायो भनेर झुटो आरोपहरु लगाउँछन् । यस्तो गलत आरोप पनि खेप्नुपर्ने हुन्छ ।’

डा.वस्तीले यस्तै प्रकृतिको घटना यसरी सुनाए

पोस्टमार्टममा काम गर्न सहज छैन । हामीले शव परीक्षणमा जे सत्य देख्छौं त्यहि रिपोर्ट बनाउने हो । तर एकपटक फोनमै धम्की आयो, ‘कतिपैसा खाइस भनेर धम्काए । यस्तो घटना बेला बेलामा आइरहन्छ । केहीवर्ष अघि एकजना भर्खरै विवाह गरेकी महिला झुण्डिएकी रहिछन् । पोस्टमार्टम गर्दा झुण्डिएको नै देखिएको । तर, खुट्टामा फोका देखिएको थियो ।

गाउँमा बिहान झुण्डिएको महिला बेलुका भेटिदासम्म घामको किरणले रगत खुट्टामा जम्मा भएर फोका उठेको थियो । तर महिलाको माइतिपक्षले तातोपानी खनाएर मारेको आरोप लगाएका रहेछन् । हामीले शव परीक्षण गर्दा तातोपानी खनाएर आएको फोका भेटेनौं । घाटीमा लगाएको पासोमा अरुको संलग्नता नै देखिएको थिएन ।

शरीरमा अरु चोटपटक थिएन । झुण्डिएको बाहेक मृत्युको अरु कारण थिएन । तर मृतक महिलाका माइति पक्षले हामीलाई पैसा खाए भनेर आरोप लगाए, धम्क्याए । ४ महिनासम्म ती महिलाको शव लान मानेनन् । यस्तो गलत धारणको हामीले सामना गर्नुपर्छ ।

एकपटक त महिलाको झुन्डिएकै केशमा मृतकका माइति पक्षले मारेर झुण्डाएको भनेर लेख्न दवाब दिए । तर हामीले पोस्टमार्टममा जे पत्ता लगायौं त्यहि नै लेख्यौ । ती महिलाको माइतिपक्षले ‘हामी ४ बस मान्छे आएर तिमीहरुको टिचिङ अस्पताल नै जलाइदिन्छौं’ भनेर धम्की दिएका थिए । यस्तो धम्कीहरु आइरहन्छ ।

डा.वस्ती आजभोली यस्तो दावब र प्रभाबको सामना आफुले मात्र गर्नुपर्दैन । फरेन्सीक मेडिसिन पढ्ने आफ्नो विद्यार्थीलाई पनि त्यसको सामना गरी सही तरिकाले कसरी अघि बढ्ने भन्ने तरिका पनि सिकाउँछन् ।

‘फरेन्सीक विभागमा आउने केशहरु अपराधसँग जोखिएका केशहरु आउँछन्, यस्तो अवस्थामा चिकित्सकलाई दवाब प्रभावमा पार्ने कोशिस गर्छन्,’ डा वस्तीले भने, ‘ हामीले हाम्रा विद्यार्थीलाई यस्तो अवस्थामा कसरी सावधान रहेन र त्यस्तो घटनालाई कसरी व्यवस्थापन गर्ने भनेर सिकाउँछौं ।’

फरेन्सिक सेवा विभागमा समस्या नै समस्या

२०५६ सालमा वीर अस्पतालमा रहेको पोस्टमार्टम सेवा काम चलाउने भनेर टिचिङ सारिएको थियो । विद्यार्थीको अध्ययनका लागि बनाइएको सो विभागले हाल देशमा हुने ठूला दुर्घटनाका मृतकदेखि विभिन्न हिंसा तथा अपराधिक घटनाका मृतकको पोस्टमार्टम गर्दै आएको छ । यस्तै प्रहरीले अस्पतालमा छाड्ने वेवारिसे शवको जवरजस्र्ती व्यवस्थापन गर्नुपर्ने बाध्यता पनि यहि विभागको छ ।

शुरुवाती अवस्थामा महिनाको ६० वटा शव पोस्टमार्टमका लागि आउने फरेन्सीक सेवा विभागमा हाल एक सय ८० वटा सम्म शवहरु आउँछन् ।

२० वर्ष अघि वीर अस्पतालबाट काम चलाउन सारिएको फरेन्सीक विभागमा विशेषज्ञहरुको संख्या बढेपछि संरचना भने अझै कामचलाउ मात्र भएको डा वस्ती बताउँछन् ।

‘शुरुको अवस्थामा भन्दा अहिले हामीले आइओएमबाटै फरेन्सीक मेडिसिन पढाउने गरेको छौं, त्यसैले विशेषज्ञहरु बढेका छन्, तर अन्य संरचना र व्यवस्थापन २०५६ सालमा ‘हाललाई काम चलाउ’ भनेको अझैसम्म काम चलाउन चलिरहेको छ,’ डा वस्तीले भने, ‘शुरुवातको भन्दा अहिले ३ गुणा बढी शव आउँछ, ठाउँ अभाव छ, मृतकको पोस्टमार्टम गर्दा आउने आफन्तहरु बस्ने ठाउँ छैन, यही पढाइ हुन्छ, अहिलेकाही होहल्ला हुँदा विद्यार्थीलाई पठाउन असहज हुन्छ ।’


भर्खर

0