बिग्रिए सिसी क्यामरा : थपिए सुरक्षा चुनौती « Khabarhub

बिग्रिए सिसी क्यामरा : थपिए सुरक्षा चुनौती


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् ।

पूर्वी नाका काँकडभिट्टासमेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका हुन् । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका ठाउँमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास अहिलेसम्म हुनसकेको छैन ।

काँकडभिट्टा क्षेत्रमा दुई वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ सिसी क्यामेरा जडान गरिएको थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘हङकङ मार्केट’का रुपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । दुई वर्षअघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयवासीको स्वेच्छिक सहयोगमा मुख्यचोकमा चार सिसी क्यामेरा जडान गरेका थिए । ती क्यामेरा अहिले बिग्रिएका अवस्थामा झुण्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टिभी स्क्रिन मात्र रहेको छ ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रवीन बस्नेतले थोत्रिएका सिसी क्यामेरामर्मत गर्नुभन्दा नयाँ सिसी क्यामेरा जडान गरिनुपर्ने आवश्यकता औल्याए । उनले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसी क्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताए ।

अन्तरराष्ट्रिय नाकाका रुपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सिसी क्यामेराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ ।

सिसी क्यामेराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरुको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । काँकडभिट्टा नाकाबाट सुरक्षा निकायको आँखा छलेर मानव तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ ।

सिसी क्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने स्रोतको अभावमा मर्मत सम्भार हुन नसकेको हो ।
अर्कातिर समुदायले स्रोत जुटाएर जडान गरेका ती क्यामेराको सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयले चासो दिएका छैनन् ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामेरा महत्वपूर्ण भएको हुँदा हाल समिति नै बनाएर मेचीनगर–१० को खयरडाँगीदेखि वडा नं ९ को खुट्टेडाँगीचोकसम्म ५० वटा क्यामेरा जडान गर्न रकम सङ्कलन गरिरहेको बताए । उनले चोकमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुभन्दा राम्रो क्वालिटीको क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ समिति लागिपरेको बताए ।

समितिले रु दुई लाख, मेचीनगर नगरपालिकाले रु पाँच लाख, वडा नं १० ले रु तीन लाख र मेची चेम्बर अफ कमर्सले रु ५० हजार क्यामेरा जडानका लागि उपलब्ध गराइसकेका छन् । ‘‘यो नै पर्याप्त बजेट होइन’’, उनले भने, ‘‘५० वटा क्यामेरा खरिद र जडानका लागि रु २० लाख खर्च लाग्छ । स्थानीयवासी, व्यापारी र व्यवसायीसँग समन्वय गरेर काम गर्ने सोच छ । हामी सफल हुन्छौं ।’’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक पोखरेलले अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएको हुँदा चोकचोकमा जडानका लागि सबैले तदारुकता देखाउनुपर्ने बताए । केही दिनअघि मेचीनगरका उपप्रमुख मीना उप्रेती सवार गाडीमा आक्रमण गर्न खोज्नेलाई सो स्थानमा सिसी क्यामेरा नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको उनले बताए ।

मेचीनगरका काँकडभिट्टादेखि चारआलीसम्म राजमार्ग क्षेत्रमा र बाहुनडाँगी बजार, भृकुटीलगायत नगरका विभिन्न बजारमा सिसी क्यामेरा आवश्यक रहेको उनको भनाइ छ । ‘‘क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन’’, उनले भने,‘‘जडानसँगै मर्मतसम्भारका लागि समेत स्रोत चाहिन्छ । त्यसको समेत जोहो हुनुपर्छ ।’’

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १२ : ५० बजे

अष्ट्रेलियाले श्रीलङ्कालाई थप दुई करोड ५० लाख डलर सहयोग गर्ने

काठमाडौँ– अस्ट्रेलियाले श्रीलङ्कालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा

लमजुङमा रोपाइँजात्रा सम्पन्न

लमजुङ– सदरमुकाम बेसीसहरमा शुक्रबार नेवार समुदायमा प्रचलित रोपाइँजात्रा निकालिएको छ

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर

काठमाडौं– आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर

बाढीका कारण मेलम्ची–हेलम्बु सडक अवरुद्ध

मेलम्ची- निरन्तरको वर्षापछि आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा

गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : ओली

झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले