नम्बर प्लेटविनै गुड्छन् मध्य भोटेकोशी आयोजनाका गाडी (भिडियोसहित) | Khabarhub Khabarhub

नम्बर प्लेटविनै गुड्छन् मध्य भोटेकोशी आयोजनाका गाडी (भिडियोसहित)

स्थानीय प्रहरी भन्छ : प्रभावित क्षेत्रमा मात्र चलाएको हो, यातायात व्यवस्था विभाग भन्छ : घरभित्रै पनि चलाउन पाइँदैन



काठमाडौँ– सिन्धुपाल्चोकको तातोपानीबाट मोटरसाइकलमा फर्कंदै गरेका कलंकी, काठमाडौँका मोहन रोकालाई जम्बोस्थित सडकमा विपरीत दिशाबाट धुलो उडाउँदै हुइँकिएर आएको टिपरले झण्डै सडकमुनि खसाल्यो ।

टिपरको गति देखेर अत्तालिएका उनले बल्लतल्ल सडक छेउमा साइड लगाएर मोटरसाइकल रोके र टिपरतर्फ हेरे । उनले टिपरमा नम्बर प्लेट देखेनन् । उनी आत्तिए ।

उनले खबरहबसँग प्रश्न गरे, ‘नम्बर प्लेट नभएका टिपर र लोडर सडकमा खुलेआमरूपमा गुडेको देखियो, यो त कानूनको उपहास भएन र ? केही गरी दुर्घटना भएको भए जिम्मा कसले लिन्थ्यो ?’

त्यही रूट भएर परिवारसहित आफ्नो प्राइवेट सवारी साधनमा काठमाडौँ आउँदै गरेका सिन्धुपाल्चोकका रिञ्जी शेर्पाको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘चाकु, जम्बोलगायत स्थानका बाटोमा बेतोडले कुदिरहेका धेरै मालबाहक टिपरमा नम्बर प्लेट देखिएन, आफूखुसी कुदिरहेका छन्, कारबाही कसले गर्ने ?’ नम्बरप्लेटविना मनोमानी दौडिएका टिपरबाट आफू आतंकित भएको शेर्पाले बताए ।

रोका र शेर्पाको भन्दा चर्को गुनासो स्थानीयबासी आङ ङिमा लामाको छ । उनी भन्छन्, ‘दैनिकजसो धुलो उडाउँदै मनलागी रूपमा नम्बरप्लेट नै नभएका टिपर, लोडर र ठूला सवारी दौडिरहेका छन् । यसले हामीलाई आतंकित बनाएको छ, दैनिक कामकाजमा समेत समस्या बनाएको छ ।’

भिडियो हेर्नुहोस्

नम्बरप्लेट नभएका गाडी खुलेआम सडकमा कुदेको देख्दा पनि आफूहरू टुलुटुलु हेरेर बस्नेबाहेक केही गर्न नसकेको लामाको गुनासो छ ।

बाह्रबिसे–तातोपानी सडक खण्डबाट यात्रा गर्ने व्यक्ति र स्थानीयबासी जो कोही पनि नम्बर प्लेटविनै सडकमा कुद्ने गाडी देखेर त्रस्त हुन्छन् ।

नम्बर प्लेट नभएका तीन दर्जनभन्दा बढी चिनियाँ गाडी गुड्छन् दैनिक

स्थानीयबासीका अनुसार अहिले बाह्रबिसे नजिकै जम्बोदेखि लार्चासम्मको सडक खण्डमा दैनिक तीन दर्जनभन्दा बढी चिनियाँ टिपर र लोडर नम्बरप्लेटविनै केही वर्षदेखि गुडिरहेका छन् ।

यो कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव निरीक्षक (सई) राजेशकुमार दाहाल पनि स्वीकार गर्छन् । उनी भन्छन्, ‘स्थानीय मध्य भोटेकोशी जलविद्युत आयोजनाका नाममा चिनियाँ कम्पनीका सवारीहरू नम्बरप्लेटविना कुद्ने गरेका छन् ।’

अहिले नम्बरप्लेट विना कुदेका टिपर र लोडर चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिकका हुन् । जलविद्युत आयोजनाकै नाममा चिनियाँ गाडी नम्बर प्लेट नराखी खुलेआम कुद्ने गरे पनि तिनलाई कारबाही हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले केही महिनाअघि नै बाह्रबिसेदेखि तातोपानीसम्म नम्बर प्लेटविनाका गाडी गुड्ने गरेको सूचना आएको र तत्काल अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।

खबरहबसँग कुरा गर्दै खनालले भने, ‘केही महिनाअघि नै निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको कामका लागि नम्बर प्लेटविना सवारी प्रयोग गरिएको सूचना आएको थियो, लगत्तै हामीले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि निर्देशन दिएका थियौँ ।’

प्रहरीलाई निर्देशन दिएपछि कुनै पनि गुनासो नआएको खनालले बताए । उनले भने, ‘हामीले निर्देशन दिएयता विना नम्बर प्लेट सवारी चलाएको कुनै पनि सूचना तथा गुनासो आएको थिएन । अहिले जनाकारी पायौँ । हामी तत्काल अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्देशन दिन्छौँ ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले पनि जलविद्युत आयोजनाले नम्बर प्लेटविना गाडी चलाएको भन्ने सूचना आएपछि कारबाहीका लागि ट्राफिक प्रहरीलाई जानकारी गराएको बताए ।

उनले भने, ‘केही समयअघि नम्बर प्लेट निकालेर सवारी चलाएको सूचना आएको थियो, हामीले तत्काल ट्राफिक प्रहरीलाई कारबाहीका लागि निर्देशन दिएका थियौँ । अहिले अवस्था के छ बुझ्नुपर्छ ।’

अब तत्काल बुझेर कारबाही गर्ने एसपी अधिकारीले बताए ।

प्रत्यक्ष क्षेत्राधिकार रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवेन्द्रबहादुर शाह पनि चिनियाँ ठेकेदार कम्पनीले जलविद्युत आयोजनाको नाममा विना नम्बर प्लेट टिपर र लोडर चलाएको स्वीकार गर्छन् ।

उनी भन्छन्, ‘उनीहरूले सीमित क्षेत्रका लागि सुरुमै स्वीकृति लिएर चलाएको हुन्छ । त्यहीँ मात्र चलाएको हो । उनीहरू तोकिएको स्थानभन्दा अन्यत्र जान मिल्दैन ।’ जलविद्युत आयोजनाले यस्तो स्वीकृति लिएको छ कि छैन भन्ने विषयमा भने उनले अनभिज्ञता प्रकट गरे ।

सवारी सम्बन्धी अनुगमन तथा नियमनको जिम्मेवार निकाय यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल विकास निर्माण, आयोजनाको काम या कुनै पनि बहानामा नम्बर प्लेटविनाका सवारी चलाउन नपाउने बताउँछन् ।

खबरहबसँग कुरा गर्दै हमालले भने, ‘विना दर्ता वा विना नम्बर प्लेट प्रभावित क्षेत्र त परको कुरा, घरभित्र पनि चलाउन पाइँदैन । आफ्नै निजी होटलभित्र या घरको छतमै चलाउँछु भने पनि नम्बर प्लेट र दर्ता चाहिन्छ ।’

यो विषयमा बुझ्न खोज्न मध्य भोटेकोशी जलविद्युत आयोजनका कुनै पनि अधिकारी सम्पर्कमा आएनन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार कुनै सवारी साधन नम्बर प्लेट नराखी चलाएमा यातायात निरीक्षक वा प्रहरीले तत्काल नै ५०० देखि एक हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

महानिर्देशक हमाल नम्बर प्लेट नराखी चलाएमा सवारी नै जफत गर्न सकिने बताउँछन् ।

कानून, नियम सबैका लागि बराबर हो । जलविद्युत आयोजनाको नाममा मनपरी गर्ने अधिकार कसैलाई छैन । कानून मिचेर सडकमा मनपरी गर्ने चिनियाँ कम्पनीका गाडीलाई कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

चिनियाँ कम्पनीको लापरबाही : मध्य भोटेकोशी आयोजना अलपत्र

 

 

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ४ : ३९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०