काठमाडौँ उपत्यकामा १३२ आइसियु र ६५ भेन्टिलेटर खाली « Khabarhub
Logo
५ कार्तिक २०७७, बुधबार

काठमाडौँ उपत्यकामा १३२ आइसियु र ६५ भेन्टिलेटर खाली

कोरोना संक्रमितले कतै पनि पाउँदैनन्



फाइल तस्वीर

काठमाडौँ— ‘म होम आइसोलेसनमा बसिरहेको कोरोना संक्रमित । डाक्टर साब ! मलाई कोरोनाको लक्षण देखिन थाल्यो । सास फर्ने पनि निकै गाह्रो भइरहेको छ । अस्पतालमा आइसियु छ ?’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. अनुप बास्तोलालाई यस्तो फोन दैनिक आउँछ ।

होम आइसोलेसनमा बसेका संक्रमतिले मात्र होइन अन्य अस्पताल र स्वास्थ्य संस्थाबाट पनि गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई राख्न आइसियु बेड मिलाइदिन उनलाई फोन आउँछ ।

कोरोनाबारे जानकारी लिने तथा अस्पतालमा बेड खोज्ने धेरै बिरामीको फोन डा. अनुपलाई आउँछ । तीमध्ये दैनिक १० देखि १५ जनाले कोरोना संक्रमणबाट आफू सिकिस्त भएको भन्दै आइसियु बेड खोजी गर्छन् ।

शुक्रराज अस्पतालमा कोरोना संक्रमिका लागि २० शय्या आइसिसीयु छन् । हाल १८ वटा आइसीयु बेड सञ्चालित छन् । ती सबैमा गम्भिर प्रकृतिका कोरोना संक्रमति उपचारत छन् । श्वासप्रश्वासको समस्या भएका कतिपय बिरामीलाई आइसोलेसन वार्डमै पनि अक्सिजन सपोर्ट दिइएको छ ।

नयाँ थपिने र होम आइसोलेसनबाट आइसीयु बेडबारे सोध्ने संक्रमितलाई डा. अनुपले अन्य अस्पतालमा सम्पर्क गर्नू भन्ने सुझाव दिनबाहेक अको कुनै विकल्प छैन ।

‘सिकिस्त भइसकेपछि अस्पतमा आउने संक्रमतिको संख्या बढेको छ । सास फेर्न गाह्रो भयो, आइसियु बेड छैन भन्दै दैनिक १०—१५ जनाले फोन गर्नुहुन्छ । होम आइसोलेसनमै बसेर सिकिस्त भएपछि आउनेहरू पनि धेरै हुनुहुन्छ, उहाँहरूको व्यवस्थापन गर्न चुनौती छ ।’

उनका अनुसार शुक्रराज अस्पताल, टेकुमा आइसियु बेड भरिभराउ छ । कोभिड वार्डमा भएका सात-आठ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ । सात वटा भेन्टिलेटर छ, त्यसमा पनि संक्रमित भरिएका छन् ।

सास फेर्न गाह्रो भयो भनेर फोन गर्ने कतिपय संक्रमितलाई डा. अनुपले घरमै अक्सिजनको मात्रा परीक्षण गर्न सुझाब दिन्छन् । अक्सिजनको मात्र कम भएकालाई सम्भव भएसम्म घरमै अक्सिजन सिलिन्डर राख्न सुझाव दिने गरेका छन् ।

डा. अनुपलाई जस्तै आइसियु बेड खोजी गर्दै त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कोभिड–१९ फोकल पर्सन, अस्पतालका प्रमुख र कोभिडमा काम गर्ने अन्य चिकित्सकलाई पनि कोरोना संक्रमितको फोन आउँछ ।

समस्या त्यहाँ पनि उस्तै छ । अस्पतालमा कोरोना संक्रमतिको लागि छुट्याइएका एक सय बेड भरिभराउ छन् । कोरोना आशंका गरिएका व्यक्तिलाई राख्ने भनिएका बेडमा समेत संक्रमित नै राखिएका छन् ।

त्रिवि शिक्षण अस्पतालले पनि आइसोलेन, आइसियु र भेन्टिलेटर खोज्न फोन गर्नेलाई पालो कुर्न वा अर्को अस्पतालमा सम्पर्क गर्न सुझाव दिनुबाहेक अर्को विकल्प छैन ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरूको व्यवस्थापन गर्न चुनौती पनि बढेको छ । उनका अनुसार दश वटा आइसियु बेडमध्ये पाँच वटामा भेन्टिलेटर छ । आकस्मिक कक्षमा १५ वटा बेड छन् । कोरोनाको आशंका गरिएका गम्भीर बिरामीका लागि पाँच बेडको छुट्टै आइसियु व्यवस्थापन गरिएकोमा त्यसमा पनि अहिले संक्रमण पुष्टि भएका बिरामी राखिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा आउने संक्रमितका लागि छुट्याइएका १५ बेडमा पनि कहिलेकाहीँ चाप बढी हुन्छ । केही दिन अघि आकस्मिक सेवा लिन आएका सात—आठ जना संक्रमतिलाई कुर्सीमै राखेर उपचार गर्नुपरेको डा. थपलियाले बताए ।

डा. थपलिया भन्छन्, ‘अस्पतालहरूको पनि आआफ्नो लिमिटेसन हुन्छ, अस्पतामा बेड मात्र थपेर हुँदैन, त्यही अनुसारको स्वास्थ्य सामग्री र जनशक्ति पनि चाहिन्छ । अहिले नयाँ बिरामीले आउनुअघि फोन गर्नुहुन्छ तर सबैलाई सेवा दिन सक्ने अवस्था छैन ।’

स्वास्थ्य अवस्थामा सुधार हुँदै गएका संक्रमितलाई होम आइसोलेसनमा बस्न आग्रह गर्दै नयाँ बिरामीका लागि बेड खाली गर्ने प्रयास गरिरहेको उनले बताए ।

कोरोना संक्रमितको उपचार हुने पाटन र वीर लगायतका सबै सरकारी अस्पतालमा पनि संक्रमितको चाप उस्तै छ । विशेष गरी सरकारी अस्पतालहरूमा गम्भीर प्रकृतिका कोरोना संक्रमितले आइसियु र भेन्टिलेटर भरिएका छन् ।

कोरोना संक्रमणको दर बढ्दै जाँदा गम्भीर अवस्थाका संक्रमितको संख्या पनि बढेको चिकित्सकहरू बताउँछन् । गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको डा. बास्तोलाको भनाइ छ ।

उनले भने, ‘हाम्रा जति पनि स्वास्थ्यसंस्था छन्, तिनका संरचना र क्षमताले धान्न गाह्रो हुन थालिसकेको छ, संक्रमणको दर यसरी बढ्दै गए व्यवस्थापन गर्न नसकिने अवस्था आउन सक्छ ।’

चिकित्सकहरूले अस्पतालहरूमा आइसियु बेड पाउन मुस्किल हुन थालेको भने पनि स्वास्थ्य मन्त्रालयले उपत्यकामा भएका सबै आइसियु बेड नभरिएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सरकारी र निजी अस्पतालमा गरी २४१ आइसियु र १०७ भेन्टिलेटर उपलब्ध छन्, जसमा सरकारी अस्पतालहरूमा १२४ आइसियु र ६७ भेन्टिलेटर छन् । सरकारीमा शनिबारसम्ममा ६६ वटा आइसियु र २० वटा भेन्टिलेटरमा कोरोना संक्रमित उपचारत छन् ।

निजी अस्पतालहरूमा ११७ वटा आइसियु र ४० वटा भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । जसमध्ये ४३ जना आइसियुमा र २२ जना भेन्टिलेटरमा छन् ।

यस हिसाबले उपत्यकामा दुवैतर्फ गरेर करिब १३२ आइसियु र ६५ भेन्टिलेटर खाली छन् । अर्थात्, ५४ प्रतिशत आइसियु र ६० प्रतिशत भेन्टिलेटर खाली छन् ।

अस्पताल आउन डर, भिडमा निश्चिन्त

दशैँ नजिकिएसँगै बजार र पसलमा मानिसहरूको चहलपहल बढेको छ । स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको भए पनि धेरैलाई वास्ता छैन ।

‘दशैँमा राजधानीबाट घर जानेहरू बढ्न थालेका छन् यसले अब गाउँगाउँमा संक्रमण पुग्ने देखिन्छ,’ डा. बास्तोला भन्छन्, ‘तिनै मानिस शहर फर्किंदा फेरि संक्रमणको अर्को चरण आउन सक्छ ।’

कोरोना संक्रमण बढ्दै गए पनि मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना गर्न बेबास्ता गरेको डा. सविन थपलिया बताउछन् ।

उनका अनुसार फलोअपमा आउनुपर्ने बिरामीहरू फोनबाटै सल्लाह माग्छन्, अस्पताल आउँदा कोरोना सर्ने डर छ तर अव्यवस्थित बजारको भिडभाडमा किनमेल गर्न भने निर्धक्क गएका छन् । उनी भन्छन्, ‘अस्पतालमा भन्दा बजारको भिडमा संक्रमणको जोखिम बढी छ भन्ने कुरामा मानिसहरू अझै सचेत छैनन् ।’

कोरोनाका कारण धेरैको ज्यान गएको र धेरै संक्रमति भएको विषम परिस्थितिमा हाँसीखुसी दशैँ मनाउने समय नभएको पनि उनको भनाइ छ ।


भर्खर

0