सिँगारिँदैछ सरदार भक्ति थापाको जन्मथलो « Khabarhub
Logo
५ कार्तिक २०७७, बुधबार

सिँगारिँदैछ सरदार भक्ति थापाको जन्मथलो



लमजुङ— नेपाल एकीकरण बेला युद्ध लडेका नेपालका सच्चा सिपाही हुन् भक्ति थापा । वीर भक्ति थापाको जन्म थलो हो हालको मर्स्याङ्दी गाउँपालिका । वीरताको गाथा जोडिएको भूमिलाई मलजल गरिरहेका छन्, यहाँका जनप्रतिनिधिहरू ।

साविकको खुदीबाट माथितिर पर्ने ढुङ्गै गाउँ हालको मर्स्याङ्दी गाउँपालिका–३ ढुङ्गै बेँसीमा जन्मिएका थिए भक्ति थापा । लमजुङबाट गोरखा हुँदै अंग्रेज सेनासँग युद्ध लडेका भक्ति थापा जन्मिएको भूमिमा टेक्दा गौरवान्वित नहुने कोही हुँदैन ।

तत्कालीन लमजुङका राजा वीरमर्दन शाहका सरदार भक्ति थापा नेपाल एकीकरणको समयमा गोरखाली सेनासँगको अन्तिम युद्धमा पराजित भएपछि नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा सामेल भएका थिए ।

भक्ति थापाले ७३ वर्षको उमेरमा नेपाल–अंग्रेज युद्ध हुँदा देउथलको किल्लामा नेतृत्व गरेका थिए । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सैनिक लिएर युद्धको अगुवाइ गरेका भक्ति थापाले १८७८ मा अंग्रेज सेनाको गोली लागेर शहादत प्राप्त गरेका थिए ।

तिनै वीर नेपाली सैनिक भक्ति थापाको जन्मिएको गाउँलाई संसारभर चिनाउन जनप्रतिनिधिहरू कस्सिएका छन् । ऐतिहासिक वीरताको गाथा रहेका एक महान व्यक्तित्व भक्ति थापाको जन्मथलोमा उनको अर्धकदको शालिक छ ।

शालिक रहेको ढुङ्गैबेँसीमा शहीद पार्क बनाइएको छ । पार्कले पूर्णता भने पाएको छैन । सम्भवतः गणतान्त्रिक मुलुकको प्रदेशदेखि केन्द्र सरकारको नजर नपुग्दा गौरवको यो थलोको खासै विकास भएको देखिँदैन ।

भक्ति थापा स्मृति केन्द्र गठन गरी ऐतिहासिक वीरगाथा जोडिएको मस्र्याङ्दीमा पर्यटन पर्यवद्र्धन गरी विश्वभर चिनाउन सकिने स्थानीय जनप्रतिनिधिहरूको बुझाइ छ ।

साथै, भक्ति थापा जन्मस्थल संरक्षण, सम्वर्द्धन तथा विकास समिति भक्ति थापासँग जोडिएका वीरताका गाथा झल्काउने सामग्रीहरूको संग्रहालय निर्माण गर्ने योजनामा छ ।

मर्स्याङ्दीले वीर भक्ति थापालाई मात्र जन्माएन, भूगोलविद् डा. हर्क गुरुङदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि यही सेरोफेरोमा जन्म लिए ।

साविकको घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानीलाई गाँसेर बनाइएको मर्स्याङ्दी गाउँपालिकाका बासिन्दा आफूलाई ऐतिहासिक व्यक्तित्वले सिँगारिएको भूमिका बासिन्दा भन्न पाउँदै गौरव लाग्ने बताउँछन् ।

उत्तरी लमजुङको साविक बाहुनडाँडा गाविसको नाइँचेस्थित मामाघरमा जन्मिएका हर्क गुरुङ भूगोलविद् मात्र थिएनन्, चित्रकार, फोटोग्राफर, खेलाडी, लेखक, योजनाविद्समेत थिए । लामो समयसम्म भूगोल विषयको अध्यापन गरेका गुरुङ नेपाल भौगोलिक समाजमा स्थापनादेखि नै सक्रिय थिए ।

गुरुङले राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि राज्यमन्त्रीसमेत समेतको जिम्मेवारी सह्मालेका थिए । ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्न विश्व वन्यजन्तु कोष, नेपालले आयोजना गरेको कार्यक्रममा कार्यक्रममा सहभागी भएर फर्किने क्रममा २०६३ असोज ७ गते घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको थियो ।

डा. हर्क गुरुङको जन्मथलोमा पनि प्रतिष्ठान दर्ता गरेर समाधि स्थल निर्माणको काम भइरहेको छ । पर्यटन तथा डा. गुरुङसँग जोडेर वृत्तचित्रहरू निर्माण गर्ने काम पनि भएका छन् ।

पर्यटकीय महत्वको क्षेत्र भएकाले पर्यटन विकासमा जोड दिएको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए । ठूलो भूगोल रहेको लम्जुङको एक तिहाइ क्षेत्रफल ओगटेको मस्र्याङ्दी गाउँपालिकामा सामाजिक तथा राजनीतिक हिसाबले काम गर्न पनि सहज रहेको उनको भनाइ छ ।

राष्ट्रका अर्का महान व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि यही ठाउँमा जन्मिएका हुन् । मर्स्याङ्दी गाउँपालिकाकै बाहुनडाँडामा जन्मिएका राष्ट्रकविको एक सय एक वर्षको उमेरमा गत भदौ २ गते काठमाडौँमा निधन भयो ।

अस्ट्रेलियामा बसेर धनी व्यक्तिको सूचीमा दर्ज भएका गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले पनि लमजुङका चिनारी हुन् ।

क्वहोलासोथर गाउँपालिका–१ घनपोखराका बासिन्दा घलेले स्थानीय विकास निर्माणमा पनि उत्तिकै सहयोग पुर्‍याउँदै आएका छन् । विशेष गरी आफू जन्मिएको ठाउँका विद्यालय क्षेत्रमा घलेले सहयोग गरेका छन् । विद्यालयको भवन निर्माण र शैक्षिक सामग्रीमा उनको सहयोग छ । जिल्लाको विकास निर्माणमा पनि उनको सहयोग छ ।

पुरानो ठाडो भाखाको शिरोमणि भेडिखर्के साइँला पनि लमजुङकै हुन् । उनैले लमजुङको ठाडो भाका जोगाएका छन् ।

खेलको क्षेत्रमा राष्ट्रिय भलिबल टिमका चर्चित खेलाडी दीपक थापा, रेस्लिङ खेलमा हिमालयन टाइगर नामले नेपालको प्रतिनिधित्व गर्ने खेलाडी भरतबहादुर बिसुराल, राष्ट्रिय कलाकारहरू बीमाकुमारी दुरा, राजु परियारलगायत कलाकारहरू पनि लमजुङकै पहिचान हुन् ।


भर्खर

0