अब पालो हामी नागरिकको « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

अब पालो हामी नागरिकको



कोरोना भाइरस संक्रमणको त्रासकै बीच सरकारले शिक्षण संस्था, सिनेमा हल, सभा-सम्मेलन लगायतका केही क्षेत्र छाडेर जनजीवन चलायमान बनाउने बाटो समातेको छ । यसो गर्नुको विकल्प पनि थिएन । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने झैँ ‘अनन्तकालसम्म’ लकडाउन सम्भव पनि थिएन ।

सरकारले सडक र हवाई दुवै यातायात असोज पाँच गतेदेखि चलाउन अनुमति दिएको भन्ने खबर सार्वजनिक भएको भोलिपल्टै प्रवक्ता मन्त्रीले असोज एक गते नै चलाउने निर्णय भएको जानकारी गराए । यसरी २४ घण्टाभित्रै सूचनामा फरक पर्नुले जनजीवन सहज बनाउन सरकार कति दबाबमा छ भन्ने संकेत गरेको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण, परीक्षण र उपचारका विषयमा सरकार चर्कोरूपमा आलोचित छ । माघ १० गते पहिलो संक्रमण पुष्टि भएको एक महिनापछि अर्को एक संक्रमण पुष्टि भएको थियो । भोलिपल्टै सरकारले लकडाउन सुरु गर्‍यो र चार महिना कायम राख्यो । यही अवधिको कामलाई लिएर सरकार सर्वाधिक आलोचित छ ।

केही पनि काम नभएको होइन । पहिलो संक्रमण पुष्टि गर्न स्वाबको नमूना विदेश पठाउनुपरेको थियो । बितेका करिब सात महिनामा दैनिक ११-१२ हजार नमूनाको पिसिआर परीक्षण गर्ने क्षमता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त दैनिक २२-२३ हजारको परीक्षण हुन्छ भनेका छन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न दुनियाँमा कसैले पनि पूर्वतयारी गरेको थिएन । नयाँ किसिमको संक्रमण भएको शंका भएपछि पुष्टि हुँदै गयो । परीक्षण र उपचार बढ्दै गयो । तैपनि, संसारका अधिकतम विकसित भनिएका अमेरिका र बेलायतजस्ता मुलुकहरू पनि आजसम्म हैरान छन् । नेपालजस्तो अविकसित देशको त कुरै भएन ।

संक्रमण देखापर्न थालेको प्रारम्भिक दिनदेखि लकडाउनका चार महिनामा सरकारले कति काम गर्न सक्थ्यो तर कति गर्‍यो, समान्यतः सक्नेभन्दा धेरै नै गर्‍यो कि थोरै, आरडिटी आवश्यक थियो कि थिएन इत्यादि बहस त लामो समय चलिरहने छ । चार महिनाको लकडाउनले संक्रमणको शृङ्खला तोड्न कति मद्दत गर्‍यो, सुरुमा लकडाउन गर्न सरकारले हतार गर्‍यो कि ठिकै गर्‍यो भन्ने विषय पनि अनन्तसम्मै बहसमा रहला ।

नागरिकहरूको स्मरणमा ताजै छ, एउटा समय थियो प्रधानमन्त्री ओली मुखमा मास्क लगाएर सडकमा हिँड्नेलाई सरकारविरोधी देख्थे । वर्षदिनमै समय उल्टो भएको छ, आज मास्क नलगाई हिँड्ने मान्छे सरकारविरोधी देखिने भएको छ । मास्क अनिवार्य गरिएको छ, नलगाई हिँड्ने कारबाहीमा पर्छ ।

लकडाउन हुनासाथ भारतसँगको सीमानाकामा जम्मा भएका नेपालीहरूलाई क्वारेन्टिनका नाममा त्यही कोचाकोच राख्नुपर्थ्यो कि, आउन दिएर व्यवस्थित गर्नुपर्थ्यो भन्ने बहसको अर्को विषय झन् बढी संवेगात्मक छ । त्यही समयमा लुकीछिपी कति आए र कता बसे भन्ने लेखा त कहिल्यै फेला पर्नेछैन ।

समीक्षा हुँदै जाला तर यसमा जतिसुकै तर्क गरे पनि निरपेक्ष सत्य केही पनि ठहरिने छैन । प्रधानमन्त्री ओली आफ्नो पक्षमा तर्क गर्छन्- लकडाउन गर्दा किन गरेको भन्छन्, नगर्दा किन नगरेको भन्छन् ।

साँच्चै यो भनाइमा प्रधानमन्त्री निरपेक्ष गलत छैनन् ।

नागरिकहरूको स्मरणमा ताजै छ, एउटा समय थियो प्रधानमन्त्री ओली मुखमा मास्क लगाएर सडकमा हिँड्नेलाई सरकारविरोधी देख्थे । वर्षदिनमै समय उल्टो भएको छ, आज मास्क नलगाई हिँड्ने मान्छे सरकारविरोधी देखिने भएको छ । मास्क अनिवार्य गरिएको छ, नलगाई हिँड्ने कारबाहीमा पर्छ ।

राहत, क्वारेन्टिन इत्यादिको खर्चको कुरा एकपटक चर्केर साम्य भएको छ तर गर्तमा गइसकेको छैन । उपचार सामग्री खरिदमा ठूलो भ्रष्टाचार भएको भनेर सार्वजनिक बहसमा आएको कुरामा प्रधानमन्त्री जतिसुकै उदासीन भए पनि समयको एउटा अन्तरालमा सरकार प्रमुखका रूपमा प्रधानमन्त्री ओली जवाफदेही हुनै पर्नेछ । उनको दल पनि उम्किन पाउने छैन ।

एक महिनाको अन्तरालमा एक जनामा संक्रमण हुँदा देशभर चार महिना लकडाउन भयो । आज दैनिक हजार-पन्ध्र सय जना संक्रमित भेटिँदैछन् र बढ्दो क्रममा छ । यसमध्ये ४० प्रतिशत त काठमाडौँ उपत्यकाकै हुन्छन् । यो परिस्थितिमा सरकारले केही सीमित प्रतिबन्धबाहेक सबै क्षेत्र खुला गरेको छ । यसले कोरोना संक्रमणको जोखिम झन् बढाउने छ ।

भदौ ३१ गतेको कोभिड तथ्यांकअनुसार ८ लाख ७२ हजार २७४ जनाको पिसिआर परीक्षण हुँदा ५८ हजार ३७२ जनामा संक्रमण भएको छ । यसमा ६.६८ प्रतिशतमा संक्रमण देखिएको छ । नेपालबाहिर रहेको नेपालीको संख्या अनुमान गरेर घटाउँदा कुल जनसंख्याको कम्तीमा ३ प्रतिशतमा परीक्षण भएको छ । सरकारले दायरा बढाएन भन्दाभन्दै पनि यो परीक्षण धेरै निराशाजनक होइन ।

कुल संक्रमितमध्ये ४१ हजार ७०६ जना निको भएका छन् । यो ७१.५० प्रतिशत हो । कुल संक्रमितमध्ये ३७९ जनाको मृत्यु भएको छ । यो ०.६४ प्रतिशत हो । यो दुवै तथ्यांक आतेसलाग्दो छैन, यद्यपि जसको घरमा मृत्यु भयो त्यो शतप्रतिशत नै हो ।

चिकित्सकहरूका अनुसार कोरोना भाइरस संक्रमण मृत्युको प्रथम कारण होइन, यो निको हुन्छ । नेपालकै तथ्यांकले पनि मृत्युदर १ प्रतिशतभन्दा निकै कम देखाउँछ । कुनै दीर्घरोगले र उमेर लगायत अन्य कुनै कारणले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा मृत्युको जोखिम निकै बढी हुने देखिएको छ । लक्षण नदेखिएका र संक्रमण भएको थाहा नभएका संक्रमितहरूले मृत्युको जोखिम बढी भएका पारिवारिक र सामुदायिक सदस्यमा सार्ने सम्भावना अधिक हुने भयो ।

हाम्रो नेपाली समाजमा रुघा कहिल्यै पनि रोग मानिएन । हामी धेरै नेपाली खुला हावामा हाच्छ्युँ गरेर ‘लक्ष्मीनारायण’ भन्ने सामाजमा हुर्केका हौँ, रुमाल न पाखुरो ! यस्तो स्वभावका हामीलाई आधा अनुहार ढाक्ने मास्क मन नपर्नु अस्वाभाविक होइन तर बानी बदल्नै पर्ने भएको छ । घाँटीको पल्लै छेउबाट ठूलो आवाजमा ख्वाक्क गरेर घरको झ्याल, कौसी वा पेटीबाट थुक्ने बानी सडकपेटीमा पनि उत्तिकै छ । मुखभरि थुक जम्मा गरेर दाँतका चेपबाट पिच्च पारेर टाढा पुर्‍याउनुलाई सिप ठान्नेहरू पनि हामीमाझ नै भेटिन्छन् ।

विज्ञहरूका अनुसार संक्रमण समुदायमा पुगिसकेको छ । अब लकडाउनले संक्रमण नियन्त्रण गर्दैन । समुदायका मानिसहरूले आफू परिपरिकालाई सार्दै जान्छन् । यसले मृत्युको जोखिम पनि बढाउँदै जान्छ । सधैँको लकडाउन र निषेधाज्ञाले त मानवजीवन चल्दैन, हामीले देखिसक्यौँ ।

सिँगान पुछेर अगाडि जे छ त्यसैमा हात दल्ने, एउटाले माडेको खैनी वरिपरिका सबैलाई बाँड्ने र एउटै चुरोट चार जनाले तान्ने हार्दिकता पनि हाम्रै हो । ‘आफ्ना हात जगन्नाथ’ भन्दै नधोएरै काम चलाउनु पनि हाम्रालागि सामान्य हो, साबुन त अलिक परकै कुरा भयो । बोल्दाबोल्दै मुखबाट थुकको छिटो उछिट्टिएर साथीको ओठैमा परे पनि हामीले ‘सरी’ भनिरहनु पर्दैन ।

कान्छी औँलाको नङले अनायासै दाँत कोट्याउनु, चोरऔला र बुढीऔँला एकै पटक तेर्स्याएर आँखाका चिप्रा पुछ्नु, जुनसुकै वेला नाकमा चोरऔँलो छिराएर पाप्रा कोट्याउनु पनि हामीलाई सामान्य नै लाग्छ । पन्ध्र-बिस मिनेटको पैदल बाटोमा १० मिनेट कुरेर कोच्चिदै अर्को दश मिनट नगरबस चढ्नुमा हामीलाई आनन्द छ ।

दुनियाँमा कसैले नगरेको पौरख गरेजस्तो, संसारै आफ्नो मुठ्ठीमा बन्द भएजस्तो गर्दै मुश्किलले चार फिटको सडकपेटीमा फङफङ चुरोटको धुवाँ उडाउँदै हिँड्नेलाई कसले सक्ने ! ‘सार्वजनिक स्थानमा धुमपान नगरौँ’ भनेर एफएम रेडियोले जति फुके पनि पार लागेको होइन । आखिर त्यसरी चुरोटको धुँवा उडाएवापत के नै गुमाउनु परेको छ र उसले !

यति निष्फिक्री हामी नेपालीलाई हाछ्युँ गर्न, सिँगान पुछ्न र हात धुन सिकाएको मन पर्ने कुरै भएन । हाम्रा सामुन्नेको समयले भने हामीलाई यति निष्फिक्री हुन दिएको छैन । हामीले हाम्रो आनीबानीमा फरक ल्याउनै पर्ने भएको छ । अब सरकारमाथि आक्रोश पोखेर हामी कोरोना भाइरसको संक्रमणबाट बच्ने छैनौँ ।

विज्ञहरूका अनुसार संक्रमण समुदायमा पुगिसकेको छ । अब लकडाउनले संक्रमण नियन्त्रण गर्दैन । समुदायका मानिसहरूले आफू वरिपरिकालाई सार्दै जान्छन् । यसले मृत्युको जोखिम पनि बढाउँदै जान्छ । सधैँको लकडाउन र निषेधाज्ञाले त मानवजीवन चल्दैन, हामीले देखिसक्यौँ । खुला हुनै पर्थ्यो, सरकारले गर्‍यो । अब हामी नगरिकहरूको जिम्मेवारी बढेको छ । आफूलाई, आफ्ना परिवारिक र सामुदायिक सदस्यहरूलाई संक्रमण हुनबाट जोगाउने जिम्मेवारी हामी नागरिकहरूमा आएको छ ।

हाम्रो आनीबानी र दिनचर्यामा समयानुकूल परिमार्जन र परिष्कार गर्न आवश्यक भएको छ । मास्क, स्यानिटाइजर, साबुनपानी हाम्रा दिनचर्याका अभिन्न सहयोगी भएका छन् । आपसमा भौतिक दूरी हाम्रो दैनिक व्यवहार भएको छ । हात मिलाउने र आँगालो हालेर आत्मीयता देखाउने मौलाउँदो संस्कृति समयले त्याज्य बनाएको छ ।

केही मान्छेहरूले युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिएजस्तो सजिलो देखिएन कोरोना भाइरस । यो भाइरस के हो, के होइन, कसरी सर्छ, यसबाट जोगिन के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने कुरा बुद्धि विलास र तर्कको खेल होइन । अनुसन्धानका तथ्यहरूले बोल्नुपर्छ । यस्तोमा विश्वास गर्ने सम्बद्ध विज्ञहरूकै हो । तर्कको काम छैन, त्यो मिथ्या हो । तर्क पनि तथ्यमै आधारित हुनुपर्छ । कसैले अति प्रचार गरेर लाभ लिन खोजेको छ भने पहिचान गरेर ठिँगुर्‍याउने काम सरकारको हो ।

सरकारी प्रक्षेपणअनुसार आगामी माघ १२ गते कोरोना भाइरस संक्रमणको सबभन्दा उच्च बिन्दु हुनेछ, एक दिनमा संक्रमितको संख्या ५ हजार हुनेछ ।

हो, हामी नेपालीको भान्साकोठा आफैँमा एउटा सानो अस्पताल हो । हाम्रो खाद्यपरम्परामा अनेक वस्तुहरू छन्, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउने र खासखास रोगहरू रोकथाम गर्ने विश्वास गर्छौं । हाम्रो औषधीय परम्परा हाम्रै वरिपरि पाइने जडिबुटीमा आधारित छ । हाम्रा अग्रजहरूले त्यो परम्परा र सिप हामीलाई हस्तान्तरण गरेका छन् । अदुवा, लसुन, प्याज, बेसार, तुलसीपत्ती, निमपत्ती, कागती, अनेक प्रकारका फलफूल, गुर्जो इत्यादि अनेक छन् । घरमा बनाएको स्वस्थकर खाना हाम्रो अनुपम परम्परा हो । रेष्टुँरा संस्कृति त आयातित हो ।

कोरोना भाइरस संक्रमणबाट बच्न, बचाउन र हाम्रो सामाजिक-आर्थिक जीवन चलायमान बनाउन हाम्रो जीवनशैलीमा सुधार आवश्यक छ । अन्तिम विकल्प यही हो । हामी नागरिकहरू तदनुकूल सजग भयौँ भने बल्ल सरकारलाई भन्नसम्म भनौँला । कोरोना भाइरस रोकथाम नियन्त्रणमा केही तातोपानी नलगाएको भनेर ताछ्नसम्म ताछौँला ।

सरकारले नागरिकले दिएको हाँक स्वीकार गरोस् र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि अधिकतम स्रोतसाधन जुटाओस् । आगामी दिनको सम्भाव्य संकट प्रक्षेपण गरेर तनदनुकूल तयार बसोस् । कोरोनाका नाममा गर्भवती र अन्य बिरामी अस्पताल चहार्दा चहार्दै मर्नु नपरोस् ।

सरकारी प्रक्षेपणअनुसार आगामी माघ १२ गते कोरोना भाइरस संक्रमणको सबभन्दा उच्च बिन्दु हुनेछ, एक दिनमा संक्रमितको संख्या ५ हजार हुनेछ ।

प्रक्षेपण अनुसारै यसो नहुन पनि सक्छ तर तयारी चाहिँ यसो हुनेछ भनेरै गर्नुपर्नेछ । प्रक्षेपण गर्नुको अर्थ पनि यही हो । आममानिसलाई दोष दिएर उम्किने छुट जनताको सरकारलाई हुँदैन किनभने दोषीलाई कारबाही गर्ने कानुन बनाउने र कार्यान्वयन गर्ने अधिकार र कर्तव्य सरकारको हो, राज्यको हो ।


भर्खर

0