लकडाउन खुकुलो हुनु भनेको कोभिड–१९ संकट सकिएको होइन : डा. जोस भ्यानडिलियर (अन्तर्वार्ता) « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

लकडाउन खुकुलो हुनु भनेको कोभिड–१९ संकट सकिएको होइन : डा. जोस भ्यानडिलियर (अन्तर्वार्ता)



काठमाडौँविश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलियर नेपालमा लकडाउन खुकुलो गरिएसँगै स्वास्थ्य सेवामा थप चुनौती निम्तिएकाले हरेकको जिम्मेवारी र स्वअनुशासन पालना अझ आवश्यक भएको ठान्छन् ।

कोरोना भाइरस महामारीको परिप्रेक्ष्यमा भौतिक दूरी कायम गर्ने, नियमितरूपमा हात धुने, भिडभाड हुने क्षेत्रमा जाँदा वा रहँदा पुनः प्रयोग गर्न मिल्ने मास्क प्रयोग गर्ने, अनुहार अनावश्यकरूपमा नछुनेजस्ता सावधानी निरन्तररूपमा अपनाउन उनको आग्रह छ ।

डा. भ्यानडिलियर कोरोना भाइरससम्बन्धी थुप्रै अफबाह फैलिरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, डब्लुएचओ, संयुक्त राष्ट्र संघका आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अनधिकृत कुराका पछाडि नलाग्न आग्रह गर्छन् ।

प्रस्तुत छ, डा. भ्यानडिलियरसँग खबरहबका लागि सम्पादक ईश्वरदेव खनालले वर्तमान कोरोना भाइरस महामारीमा केन्द्रित भएर लिएको अन्तर्वार्ताको सम्पादित मुख्यांश –

नेपालमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणका केसहरू बढ्दै गएको देखिन्छ, १९ जनाको ज्यान गइसेकको छ । अबका दिनमा यसको अवस्था कस्तो होला जस्तो लाग्छ ?

नेपालको सन्दर्भमा अधिकांश कोरोना संक्रमणको केस विदेशबाट फर्किएर आएका व्यक्तिहरूमा देखिएको छ । केही केसहरूमा ट्राभल हिस्ट्री भएनभएको वा तिनीहरू ट्राभल गरेनगरेको पत्ता लगाउन जटिल भए पनि अधिकांश केस विदेशयात्रा गरेका व्यक्तिमा देखिएका छन् ।

हालसम्म समुदायमा व्यापक संक्रमणको अवस्था छैन, यद्यपि भारतबाट नेपाल छिर्नेको संख्या ठूलो भएकोले कोरोना भाइरस संक्रमितको संख्या आगामी दिनमा अझ बढ्न सक्ने देखिन्छ ।

अहिले योभन्दा बढी अनुमान गर्न सकिने अवस्था छैन । हाल लकडाउन अलिक खुकुलो गराइएको अवस्थामा हाम्रो ध्यान व्यक्तिगत जिम्मेवारीमा केन्द्रित हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा व्यक्तिगत अनुशासन अति महत्वपूर्ण हुन्छ ।

हामी कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक सावधानीहरू, जस्तै : नियमितरूपमा हात धुने, सामाजिक दूरी कायम गर्ने (कम्तीमा १ मिटर), भिडभाडमा जाँदा वा काम गर्दा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने । हात नधोई अनावश्यकरूपमा नाक, आँखा र मुख नछुने । श्वासप्रश्वास स्वास्थ्यप्रति सचेत रहने र कोभिड१९ को लक्षण देखिएमा उपयुक्त स्वास्थ्य सल्लाह लिने । हामी विशेषज्ञको निर्देशनको पालना गर्ने कुरामा जोड दिन्छौँ ।

यस्तै गरी, विश्वसनीय स्रोत, जस्तै : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) संयुक्त राष्ट्रसंघ आदिबाट आएको जानकारीलाई मात्र आधिकारिकरूपमा लिनु पर्छ । यससँगै परीक्षण जारी राख्दै कोभिड१९ पोजिटिभ देखिएका र उनीहरूको सम्पर्कमा आएकालाई आइसोलेसनमा राख्ने कार्यलाई निरन्तरता दिनुपर्छ ।

कोरोना भाइरस नियन्त्रणमा नेपाल सरकारको प्रयासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

कोभिड१९ ले विश्वभरको स्वास्थ्य व्यवस्थाको क्षमता परीक्षण गरेको छ । नेपाल, जो सन् २०१५ को महाभूकम्पबाट सिर्जित प्रतिकूल परिस्थितिविरुद्ध पुनर्निर्माणमा जुटिरहेको छ, यसको अपवाद हुन सक्दैन ।

यो महामारी त्यस्तो बेलामा आएको छ, जतिबेला नेपाल संघीयताको अवसर र चुनौती एकसाथ सम्बोधन गरेर हिँडिरहेको छ ।

यो महामारी नयाँ परिस्थितिमा देखिएको नयाँ रोग हो । हरेक देशले यसको सामना गरिरहेका छन् । यसविरुद्धको पूर्वतयारी योजना कहीँ पनि थिएन, किनकि यो नयाँ रोग हो ।

यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको छ । पीपीई र अन्य स्वास्थ्य सामग्रीको विश्वव्यापी अभावको बाबजुद मन्त्रालयले यस्ता सामग्रीको उपलब्धताका निम्ति गरेका प्रयास, जनस्वास्थ्य सुधारमा आवश्यक हस्तक्षेप, संक्रमण रोक्ने पूर्वतयारी, महामारीको सामना आदिमा गरेका प्रयासहरू उल्लेखनीय छन् ।

लकडाउनको अवधिमा सरकारले कोभिड१९ को विरुद्धमा थुप्रै उल्लेख्य कार्य गरेको छ । अस्पतालहरूलाई कोभिड१९ को उपचार गर्ने अस्पतालको रूपमा परिणत गरिएको छ ।

कोभिड१९ को परीक्षण गर्ने प्रयोगशाला एकबाट २१ मा विस्तार भएको छ । पीपीईदेखि आरटी पीसीआर परीक्षणलगायतका विभिन्न सामग्री किनिएका छन् । विभिन्न दाताहरूले आर्थिक सहायता र अन्य सामग्री उपलब्ध गराएका छन् ।

सूचना र सञ्चारसम्बन्धी गतिविधिले जनचेतना अभिवृद्धिमा अति महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले विस्तारित गरिएको छ । अनुसन्धान प्रभावकारी बनाउन निगरानी संयन्त्रमा सुधार तथा परीक्षण, केस पहिचान र सम्पर्कमा आएकाहरू पत्ता लगाउने कार्यले पनि प्राथमिकता पाउनुपर्छ ।

यस्तो अवस्थामा सरकारले कस्तो कदम चाल्नु पर्छ ?

कोरोना भाइरसबाट मुक्ति पाउने रामवाण मार्गचित्र अहिलेसम्म छैन । हरेक देशमा फरक फरक अवस्था देखापरेको छ । अहिलेसम्मको अनुभवले के सिकाउँछ भने यस्तो बेलामा सबै सरकार र सबै समुदायको सामूहिक प्रयास आवश्यक हुन्छ ।

भन्नुको तात्पर्य, कोभिड१९ को सामना गर्न हरेक व्यक्तिको दायित्व हुन्छ । लक्षित मात्रामा परीक्षण, संक्रमण समुदायमा फैलिन नदिन संक्रमित र तिनको सम्पर्कमा आएकाको पहिचान र आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने व्यवस्थाको सुनिश्चितता सरकारले गर्न सक्छ ।

कोभिड१९ का गम्भीर केसहरूलाई थप व्यवस्थित किसिमले सम्बोधन गर्न थप तीब्र र राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ । भाइरस संक्रमणको थप जोखिम देखिएमा सरकारले लकडाउनजस्ता निर्णय लिन सक्छ । यस्ता कार्यको लागि विभिन्न मन्त्रालयहरू, संघ, प्रदेश र स्थानीय सरकारबीच नजिकको सहकार्य आवश्यक हुन्छ ।

यस अतिरिक्त समाजको रूपमा सबै व्यक्तिको सहयोग र सहकार्य आवश्यक हुन्छ । सामाजिक दूरी कायम गर्न हरेक व्यक्तिको सहयोग, सहकार्य, समन्वय आवश्यक हुन्छ । सामाजिक दूरी कायम राख्न कठिन हुने ठाउँमा अनिवार्यरूपमा मास्क प्रयोगमा पनि सबैको सहयोग र सहभागिता आवश्यक हुन्छ ।

हातमा भाइरस भएको अवस्थामा पनि नियमित हात धुने, मुख, नाक, आँखा नछुनेजस्ता सावधानीले संक्रमण हुनबाट रोक्न सकिन्छ । अन्य व्यक्तितर्फ फर्केर खोक्नु हुँदैन ।

कोही व्यक्ति बिरामी परेमा निज वा निजको नातेदारले स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउनुपर्छ । यी सावधानीहरू लकडाउन नभएको समयमा समेत कडाइका साथ पालना गर्नुपर्छ ।

धेरै क्षेत्र तथा तहबाट लकडाउन खुकुलो बनाउन सरकारलाई दबाब आएको थियो । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

तपाईंले भनेजस्तै, लकडाउन सबै देशको लागि नयाँ प्रयोग थियो । लकडाउनमा सबै देशले एउटै प्रक्रिया अनुशरण गर्दैनन् । लकडाउनले सामूहिक संक्रमण रोक्न र संक्रमण फैलिनबाट जोगिन ठूलो भूमिका खेलेको छ । लकडाउनले नेपाललाई कोरोना भाइरस संक्रमितलाई सुरक्षित राख्न राम्रो तयारीको अवसर प्रदान गरेको छ ।

महामारीको अवस्थाबाट हेर्दा लकडाउन एकदमै प्रभावकारी देखिन्छ । लकडाउनको प्रभाव सामाजिकआर्थिक क्षेत्रमा पनि पर्ने भएकाले यसलाई सन्तुलनमा राख्न गाह्रो भएको छ ।

लकडाउनले मानिसको जीवनको विभिन्न पक्षमा असर पारेको छ । लकडाउन खुकुलो पार्ने निर्णय गर्दा रोगको स्थितिमात्र नहेरी अन्य प्रभावहरूलाई पनि विश्लेषण गर्नु आवश्यक हुन्छ ।

सरकारले लकडाउन हटाउने निर्णय गर्छ भने प्रत्येक व्यक्ति सावधान रहनु महत्वपूर्ण हुन्छ । लकडाउन खुकुलो बनाए पनि सरकारले प्रत्येक संक्रमितको खोजी गर्नु, एकान्तबासमा राख्नु, परीक्षण गर्नु र प्रत्येक संक्रमितको उपचार तथा हेरचाहमा निरन्तरता दिनुपर्छ । यसको साथै सबैको ट्रेस गर्ने र क्वारेन्टिनमा राख्ने काम पनि गर्नुपर्छ ।

लकडाउन नै प्रत्येक देशको लागि कोभिड१९ बाट बच्ने सबैभन्दा राम्रो उपाय हो ।

सबैले शारीरिक दूरी कायम राख्नुपर्छ । लक्षणहरू देखापर्ने बित्तिकै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ । मास्क लगाउनाले कोभिड१९ को संक्रमणबाट बच्न मद्दत गर्छ तर माथि उल्लेख गरेका कुनै पनि कार्यहरूको लागि मास्कले प्रतिस्थापन गर्न सक्दैन ।

पछिल्लो समय नेपालमा भारत र तेस्रो मुलुकबाट ठूलो संख्यामा नेपालीहरू आइरहेका छन् । यस्तो अवस्थामा नेपालले कोरोना भाइरस परीक्षणको लागि प्रयोग गरेका पीसीआर र आरडीटी विधि कति विश्वसनीय छन् जस्तो लाग्छ ?

यी दुई परीक्षणका आआफ्नो विशेषताहरू छन् । परीक्षणको विधि पनि धेरै फरक छ । आरडीटी परीक्षण मूलतः एण्टिबडीमा देखिन्छ जुन संक्रमित भएको १० देखि १४ दिनपछि देखापर्छ ।

एण्टिबडी परीक्षणले कुनै व्यक्ति संक्रमित व्यक्तिको सम्पर्कमा रहेनरहेको बताउँछ तर व्यक्ति संक्रमित भएको बेला यसले नतिजा देखाउँदैन । व्यक्तिमा कोरोना भाइरसको संक्रमण रहेको पत्ता लगाउन पीसीआर परीक्षण नै गर्नुपर्छ । पीसीआरले भाइरस वा भाइरसका कणहरू देखाउँदछ ।

यस्तै, आरडीटी वा एण्टिबडी परीक्षणले व्यक्तिमा भाइरस भएको वा नभएको पत्ता लगाउँदैन । पीसीआर परीक्षण मान्यता प्राप्त प्रयोगशालामा गरिन्छ भने आरडीटी परीक्षण जो कोहीले पनि गर्न सक्छ । बजारमा उपलब्ध आरडीटी किटको गुणस्तरमा भने ठूलै फरक हुन सक्छ ।

देशभरमा स्थापना भएका क्वारेन्टिनको अवस्था कस्तो पाउनुभएको छ ?

क्वारेन्टिनको मुख्य उद्देश्य संक्रमित मानिसबाट अरू व्यक्तिलाई जोगाउनु हो । क्वारेन्टिनमा बसेर एकबाट अर्कोमा संक्रमण फैलनबाट रोक्नु हो ।

नेपाल सरकारले नेपाल भित्रिने जो कोहीलाई पनि १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । यसरी बस्दा संक्रमण फैलनबाट रोकिन्छ । व्यक्तिमा भाइरस संक्रमण भए पनि १४ दिनपछि अर्कोमा सर्ने सम्भावना एकदमै न्यून हुन्छ । व्यक्ति १४ दिन क्वारेन्टिनमा बस्दा भाइरस आफैँ निष्क्रिय हुन्छ ।

क्वारेन्टिनको व्यवस्था विभिन्न तरिकाले गर्न सकिन्छ । क्वारेन्टिनमा बस्नुपर्ने समूहलाई स्कूल, होटेल, शिविरजस्ता बन्द हुने स्थानमा राख्न सकिन्छ । होम क्वारेन्टिनको पनि व्यवस्था गर्न सकिन्छ ।

प्रत्येक क्वारेन्टिन विधिमा केही आधारभूत उपायहरू अपनाउनु पर्छ । होम क्वारेन्टिनमा बसेको व्यक्तिको लागि छुट्टै कोठा तथा छुट्टै बाथरूम हुनुपर्छ । खाने भाँडा छुट्टै हुनुपर्छ, एक्लै खानुपर्छ । घरका सदस्यसँग सम्पर्कमा आउनु हुँदैन ।

नेपालमा धेरैलाई होम क्वारेन्टिन बस्न त्यति सहज नहुन सक्छ । अधिकांश नेपालीहरू साना घरमा र संयुक्त परिवारमा बस्छन् ।

क्वारेन्टिन केन्द्रमा एकअर्काको ओछ्यानको बीचमा पर्याप्त दूरी हुनुपर्छ । राम्रो सरसफाइ र स्वस्थ खानापिनको व्यवस्था हुनुपर्छ । विभिन्न समुदाय वा समूहलाई एउटै सेन्टरमा मिसाउनु हुँदैन ।

यस अतिरिक्त क्वारेन्टिन यस्तै हुनुपर्छ भन्ने कुनै प्रावधान छैन । नेपालको सन्दर्भमा पछिल्ला हप्ताहरूमा ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्केकाले सरकारले सबैलाई क्वारेन्टिनको उचित व्यवस्था गर्न कठिन भइरहेको छ ।

यसकारण पनि कतिपय क्वारेन्टिनको अवस्था दयनीय देखिएको छ ।

लकडाउनले कतिपय नेपालीलाई दैनिक गुजारा चलाउन गाह्रो बनाइरहेको छ भने उनीहरू अन्य रोगको विषयमा पनि संवेदनशील भइरहेका छन् । यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

लकडाउनले कोभिड१९ को संक्रमण रोकथाममा मात्र प्रभाव पार्दैन । यसले आर्थिक क्षेत्रमा पनि असर पार्छ । लकडाउनकै कारण अधिकांश व्यक्ति काममा जान सकेका छैनन् । उनीहरूको आम्दानी घटेको छ ।

लकडाउनले नियमित स्वास्थ्य सेवाहरू जारी राख्न कठिन बनाउँछ । व्यक्तिहरूलाई स्वास्थ्य सुविधा लिन कठिनाइ हुन सक्छ । उनीहरू स्वास्थ्य सेवा केन्द्रहरूमा जान डराउँछन् । धेरै स्वास्थ्यकर्मीहरू कोभिड१९ तयारी र रोकथामकै लागि खटिरहेका हुन सक्छन् । यसले गर्दा नियमित हेरचाह चाहिने बिरामीले नपाउने अवस्था हुन्छ ।

गर्भवती महिलाहरू, उच्च रक्तचाप वा क्षयरोगका मानिस जसलाई नियमित उपचार चाहिन्छ, यस्ता बिरामीहरूले उपचार र हेरचाह पाउन सक्दैनन् । यस्तो हुनु हुँदैन तर हामीलाई थाहा छ कि लकडाउनका कारण नेपालभर नियमित स्वास्थ्यमा कमी आएको छ ।

प्रतिरोधात्मक सेवाहरू, जस्तै : खोप वा जन्मपूर्वको हेरचाह तथा उपचारमा पनि कमी आएको छ । धेरै क्षेत्रहरूमा स्वास्थ्यकर्मीहरूले यस्ता प्रकारका आवश्यक सेवाहरू लकडाउनको बाबजुद पनि जारी राखेका छन् । लकडाउनका कारण यी सेवाहरू प्रदान गर्न कठिन भएको छ ।

हामी सबैलाई यो आग्रह गर्न चाहन्छौँ कि जसलाई रोगको रोकथाम वा उपचारको लागि स्वास्थ्य केन्द्रमा जानु आवश्यक छ, उनीहरू जान ढिलो गर्नु हुँदैन । यस्तो उपचार र हेरचाह समयमा हुन सकेन भने कालान्तरमा यसको नकारात्मक असर पर्न सक्छ ।

लकडाउनकै कारण लामो समयसम्म खोप कार्यक्रमहरू रोकिएका छन्, यसले बच्चाहरूमा कस्तो असर पर्न सक्छ ?

सामान्य समयमा, ९० प्रतिशतभन्दा बढी नेपाली बच्चाहरूलाई नेपालमा उपलब्ध विभिन्न खोपहरू लगाइएको छ । खोप कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन हुने विश्वका शीर्ष देशहरूमध्ये नेपाल पनि एक हो ।

कोभिड१९ को कारण खोप सेवाहरू रोकिएका छन् वा कमी आएको छ । दादुरारुबेला खोप अभियान पनि रोकिएको छ । केही स्थानहरूमा खोप कार्यक्रम पुनः सुरु भएका छन् तर पनि खोपसेवा बन्द हुँदा अधिकांश आमाबाबु चिन्तामा छन् ।

स्थानीय अधिकारीहरूले पनि खोप सेवा पुनः चालु गर्न प्रमुख भूमिका निर्वाह गर्न सक्छन् । नेपालमा खोप कार्यक्रम प्रभावकारी भएकाले केही हप्ता बन्द हुँदा पनि महामारी फैलने सम्भावना निकै कम छ ।

यसो भए पनि खोप सेवा धेरै लामो समय अवरोध भयो भने खोप नलिएका बच्चाहरूको संख्या बढ्नेछ । यी बच्चाहरू खोपबाट बचाउन सकिने रोगहरूमा संवेदनशील हुन सक्छन् । यसकारण खोप सेवामात्र नभई आवश्यक सेवा, आवश्यक औषधिको प्रावधान र स्वास्थ्य सेवा सकेसम्म चाँडो चालु हुनेछन् ।

अन्त्यमा, वर्तमान परिस्थितिबारेमा केही थप केही भन्न चाहनुहुन्छ कि ?

लकडाउन खुकुलो बनाउनु भनेको कोभिड१९ संकटको अन्त्य होइन । कोभिड१९ बाट सुरक्षित रहन सबैजना अझ सर्तक हुन आवश्यक छ । प्रत्येक व्यक्तिले सुरक्षाको उपायलाई व्यक्तिगत अनुशासन बनाएर अपनाउन आवश्यक छ ।


भर्खर

0