सुनबजारमा कोरोना प्रभाव, अमेरिकी डलर र विश्वअर्थतन्त्र « Khabarhub
Logo
१५ जेठ २०७७, बिहीबार

सुनबजारमा कोरोना प्रभाव, अमेरिकी डलर र विश्वअर्थतन्त्र



विश्व बजारमा सुनको भाउ यसै पनि निरन्तररूपमा बढ्दो क्रममा थियो । कोरोना भाइरसको महामारी फैलिएपछि विश्वमा सुनको भाउ फेरि बिस्तारै उकालो लाग्न थालेको छ ।

नेपालको सुन बजारमा २०६९ सालमा सबैभन्दा महँगो प्रतितोला ७३ हजार ५०० रूपैयाँमा कारोबार भई रिकर्ड कायम भएको थियो । यसपछि २०७६ सालको फागुन २७ गते ८२ हजार ७०० रूपैयाँको नयाँ रिकर्ड कायम भयो ।

गत चैत ११ गतेबाट नेपाल लकडाउनमा छ । यही समयमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेर प्रतिआउन्स १ हजार ७५४ डलर पुगेको छ । डलरको नेपाली मुद्राको विनिमय दर पनि १२० रूपैयाँभन्दा माथि पुगेर नेपाली बजारमा सुनको भाउ प्रतितोला ९० हजार रूपैयाँ नाघेको छ । नेपालमा सुनको यो भाउ इतिहासकै सबैभन्दा बढी हो ।

यस्तो किन भइरहेको छ ? किन सुनको भाउमा रिकर्डमाथि रिकर्ड बन्ने शृंखला चल्दै छ ? यहाँ यसका मुख्य कारण, यसले विश्वको अर्थतन्त्रमा पारेको असर र नेपाली अर्थतन्त्रमा पार्ने असरका बारेमा चर्चा गरिएको छ ।

सुनको परिदृश्य

विश्वको अर्थतन्त्रमा सुन हजारौँ वर्षदेखि नै सम्पत्तिका रूपमा प्रचलनमा छ । मुद्रा आविस्कार भएपछि सबैभन्दा पहिले मुद्रा निस्काशन गर्ने देश चीन हो ।

युरोपमा पनि विभिन्न किसिमका मुद्राको प्रचलन रहेको कुरा युरोपका विभिन्न मुद्रा संग्रहालयहरूबाट थाहा हुन्छ । त्यो समयमा सबैभन्दा बढी रुचाइएको धनको स्वरूप भन्नु नै सुन थियो । कहिल्यै पनि ननासिने, चमकदार, पवित्र र मूल्यवान धातुका रूपमा अधिकांश सभ्यतामा सुन संग्रह हुने गरेको छ । जुन शासक वा सभ्यतासँग सुन संग्रह धेरै भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो ।

आधुनिक समयमा धनको अर्थशास्त्रका विद्वानहरूमध्ये एडम स्मिथले ‘वेल्थ अफ नेशन्स’ मा र जर्मनीका कार्ल माक्र्साले ‘दास क्यापिटल’ मा देश तथा राज्यहरूको अर्थतन्त्र निर्माण गर्ने विभिन्न विधिहरूसहित आआफ्ना सिद्धान्तअनुसार धनको परिभाषा गरेका छन् । जुनसुकै सिद्धान्तअनुसार अर्थशास्त्रको अध्ययन गर्दा पनि धनको विशेष महत्व बयान गरिएको हुन्छ । धनको वितरण प्रणालीमात्र फरक फरक पाइन्छ ।

सिद्धान्तमा समाजवादी वा पुँजीवादी जे भने पनि धन र अर्थको महत्व संसारभरि एकै छ । अहिलेको विश्वमा पनि सम्पत्ति र धनका रूपमा सुनको स्थान उच्च छ । सुनले संसारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान लिएको छ ।

सुनको आर्थिक प्रभाव

पहिलो विश्वयुद्धको बेलासम्म संसारको बढीजसो अर्थ व्यवस्था बेलायतको मातहतमा थियो । धेरै उपनिवेशहरूमार्फत संसार नै बेलायतको जस्तो भएको थियो ।

विभिन्न देशहरूको सम्पत्ति लन्डनमा थुप्रिएको थियो । बेलायती पाउण्ड सबैभन्दा बलियो मुद्राको रूपमा प्रचलनमा थियो । दोस्रो विश्वयुद्धमा बेलायत लगायत युरोपमा हिटलरको आक्रमण भएपछि पूरै युरोप हिटलरको कब्जामा गयो ।

सम्पत्तिहरू कब्जा गर्दै दोस्रो विश्वयुद्धमा जर्मनी मुख्य लडाकु देश भएको थियो ।

दोस्रो विश्वयुद्धमा हिटलर पराजित भएपछि पूरै युरोपको सुन अमेरिका पुग्यो । जर्मनी, फ्रान्स, बेलायत लगायतका देशहरूले आआफ्नो सुन अमेरिकाको ‘फोर्ट नोक्स’ भन्ने स्थानमा भण्डारण गर्ने र अमेरिकी डलरलाई सर्वस्वीकार्य मुद्राको रूपमा प्रचलनमा ल्याउने सम्झौता गरेका थिए । अहिले विश्वको अर्थतन्त्रमा अमेरिकी डलर नै सर्वस्वीकार्य मुद्राको रूपमा छ ।

इतिहासमा विश्व अर्थतन्त्र

सन् १९१३ मा फेडरल रिजर्भ बैंक अफ अमेरिका स्थापना भएको थियो । यसको प्रमुख उद्देश्य रोजगारी वृद्धि गर्ने, मूल्य स्थायित्व कायम गर्ने र दीर्घकालीनरूपमा ब्याजदर नियन्त्रणमा राख्ने थियो । त्यसपछि बैंकहरूको सुपरीवेक्षण गर्ने, नियमन गर्ने, संस्थागत डिपोजिट लिने र अर्थव्यवस्थालाई स्थायित्व दिने थप अधिकार पनि यसले पायो ।

फेडरल रिजर्भ बैंक स्थापनापछि अमेरिका विश्व अर्थतन्त्रको नेताको रूपमा उदाएको हो । आधुनिक विश्व अर्थतन्त्रमा सुनको प्रयोग पनि अमेरिकी डलरको प्रयोगसँगै हुँदै आएको हो । सन् १९७१ सम्म अमेरिकामा डलरको नोटमा लेखिएजति रकमको भुक्तानी सुनबाट गरिनेछ भन्ने नोट प्रचलनमा थियो । डलरलाई सुनको बराबर मान्यता दिई चलनचल्तीमा ल्याई त्यसलाई ‘गोल्ड स्ट्याण्डर्ड’ का रूपमा विश्वले मान्यता दिएको थियो ।

धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक व्यवहारलगायत अहिले नयाँ नयाँ ग्याजेटहरू बनाउने औद्योगिक उत्पादनमा पनि सुनको प्रयोग बढेको छ । मोबाइल तथा कम्प्युटर बनाउने कम्पनीहरूले वार्षिक सयौँ टन सुन प्रयोग गर्न थालेका छन् । विश्वको अर्थ व्यवस्थामा अहिले क्रिप्टोकरेन्सीको पनि प्रयोग बढ्दै छ ।

त्यति बेलासम्म सुनको मूल्य ३५ डलर प्रतिआउन्स थियो । सन् १९३३ मा फ्रायन्कलिन डी रुजवेल्टले सुनसँग डलरको सम्बन्ध कम गर्न र सुनको मौज्दात बढाउन अमेरिकी जनतासँग भएभरको ढिका सुन, गहना, असर्फी मूल्यमा खरिद गरे अनि जनताले सुन राख्नै नपाउने कानुन बनाए । त्यसको दुई वर्षपछि ‘ब्रेटन उड’ सम्झौता गरी विश्वका प्रमुख राष्ट्रहरूसँग विश्वको आर्थिक प्रणालीको जग राखे ।

डलरलाई विश्वको मुख्य मुद्राको रूपमा चलाउन डलर छाप्दा त्यसको मूल्य बराबरको सुन रिजर्भमा राखी सुनको ग्यारेन्टी भएको सुरक्षित मुद्राको रूपमा निष्कासन गरिन्थ्यो । सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले मुद्रास्फिति नियन्त्रणमा राख्न र मुद्राप्रदाय बढाउन चलनचल्तीको ‘गोल्ड स्ट्याण्डर्ड’ हटाई ‘फिअट करेन्सी सिस्टम’ लागु गरे । त्यसपछि डलर छाप्दा त्यसलाई ‘ब्याक अप’ गर्न सुन ढुकुटीमा राख्न छोडेको हो । यहीबाट विश्वको बजारमा सुनको मूल्य क्रमशः बढ्न थालेको हो ।

बासेल ३ को प्रभाव

आधुनिक बैंकिङको नियमन र विश्वको मौद्रिक प्रणाली व्यवस्थित गर्न प्रमुख २८ वटा देशहरूको अगुवाइमा बासेल समिति गठन गरी स्वीट्जरल्याण्डमा मुख्य कार्यालयको स्थापना भयो । यसले विभिन्न समयमा संसारका सबै रिजर्भ बैंकहरूका लागि नयाँ बैंकिङ सिद्धान्त प्रतिपादन गरी प्रयोगमा ल्याउँछ र विश्व अर्थ व्यवस्था अझ बढी सुरक्षित, भरपर्दो बनाउने प्रयास गर्छ । सन् २०१५ मा यस संस्थाले ‘बासेल ३’ सिद्धान्त स्वेच्छिकरूपमा लागु गर्न निर्देशन गरेको छ ।

बासेल ३ अनुसार ढुकुटीमा टिअ १, टिअ २, टिअ ३ खण्ड गरी विभिन्न विदेशी मुद्रा, बण्ड, सेक्युरिटी, सुन लगायतका सम्पत्ति राख्नुपर्ने व्यवस्था भएकोमा रिजर्भ बैंकहरूले डलर र अमेरिकी बण्डलाई पहिलो खण्डमा अनि सुनलाई तेस्रो खण्डमा स्थान दिए ।

टिअ २ मा अमेरिकी डलर, बण्ड लगायतका सम्पत्ति रहेकोमा अमेरिकाको ऋण २३ ट्रिलियन डलरभन्दा बढी भइसकेको र फिअट करेन्सीको रूपमा अमेरिकी डलरको अत्यधिक छपाइ भएकोले विश्वसनीयता घट्दै गयो ।

बासेल समितिले सन् २०२० को सेप्टेम्बरदेखि डलर र बण्डलाई तेस्रो खण्डमा लगी पहिलो खण्डमा सुन नै राख्नु पर्नेव्ब्यवस्था लागु गरेको छ । यसलाई सन् २०२२ को जनवरी १ सम्ममा सबै देशका रिजर्भ बैंकहरूले अनिवार्य लागु गर्नेपर्नेछ ।

यसपछि हामी विभिन्न देशका रिजर्भ बैंकहरूले धमाधम सुन खरिद गरी ढुकुटीमा सुनको मौज्दात बढाउँदै लगेको देख्नेछौँ । युरोपका धेरै देशहरूले सुन खरिद गरेका छन् । एसियाका पनि रुस, चीन, भारत, इरान लगायतका देशका रिजर्भ बैंकले सुनको मौज्दात बढाएका छन् ।

सुनको औद्योगिक प्रयोग

धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक व्यवहारलगायत अहिले नयाँ नयाँ ग्याजेटहरू बनाउने औद्योगिक उत्पादनमा पनि सुनको प्रयोग बढेको छ । मोबाइल तथा कम्प्युटर बनाउने कम्पनीहरूले वार्षिक सयौँ टन सुन प्रयोग गर्न थालेका छन् । विश्वको अर्थ व्यवस्थामा अहिले क्रिप्टोकरेन्सीको पनि प्रयोग बढ्दै छ ।

इरान, चीन, रुस लगायतले नयाँ क्रिप्टोकरेन्सीको सुरु गर्दैछन् । यसमा सुनको ग्यारेन्टी दिने उद्देश्यले धमाधम सुनको भण्डारण बढाउँदैछन् ।

सुनको भण्डारण

नेपालको मुद्रा भारतीय रूपैयाँसँग गाँसिएको छ र स्थिर विनिमय दर छ । भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर हुन्छ । यसैकारण नेपालमा ऐतिहासिकरूपमा अमेरिकी डलरको भाउ १२३ रूपैयाँ कायम भएको छ । यता विश्व सुन बाजरमा भाउ वृद्धि हुनु अनि नेपाली रुपैयाँ कमजोर हुँदै जानुले नेपाली सुन बजारमा दबाब परेको छ ।

कुनै व्यक्ति वा संस्थाले कारोबार गर्दा केही किलो सुनको कारोबार हुन्छ । देश र रिजर्भ बैंकहरूले नै कारोबार गर्दा सयौँ टन सुनको कारोबार हुन्छ । सुनको उत्पादन र आपूर्ति भने सीमित छ । वल्र्ड गोल्ड काउन्सिलको रिपोर्टअनुसार रिजर्भ बैंकहरूले सन् २०१९ मा ६५० दशमलव ३ टन सुन मौज्दात बढाए । यो थप मौज्दात विगत ५० वर्षमा सबैभन्दा बढी हो ।

विश्वको अर्थतन्त्रमा यस वर्ष अर्थिक मन्दी हुने र शेयर बजारहरू ध्वस्त भई लगानीमा धेरै ठूलो नोक्सानी बेहोर्नु पर्ने संकेत देखिएपछि लगानी सुरक्षाका लागि पनि सुनमा लगानी बढेको छ । यसकारण गत वर्ष प्रतिआउन्स औसत १ हजार ४०० डलर रहेको सुनको भाउ अहिले १७०० डलरभन्दा बढी पुगेको छ ।

डलरको मूल्य वृद्धि

भारतमा डा. मनमोहन सिंह अर्थमन्त्री भएको बेला वैदेशिक लगानी खुला गरिएकोले ठूलो मात्रामा वैदेशिक लगानी भएको छ । अहिलेको महामारीले शेयरबजारमा घाटा हुनाले धेरै वैदेशिक लगानी फिर्ता हुन थालेको छ । त्यसैले, भारतमा अमेरिकी डलरको माग ह्वात्तै बढेको छ । यसले भारतीय रुपैयाँको अवमूल्यन भई डलरको मूल्य बढेको छ ।

नेपालको मुद्रा भारतीय रूपैयाँसँग गाँसिएको छ र स्थिर विनिमय दर छ । भारतीय मुद्रा कमजोर हुँदा नेपाली मुद्रा पनि कमजोर हुन्छ । यसैकारण नेपालमा ऐतिहासिकरूपमा अमेरिकी डलरको भाउ १२३ रूपैयाँ कायम भएको छ । यता विश्व सुन बाजरमा भाउ वृद्धि हुनु अनि नेपाली रुपैयाँ कमजोर हुँदै जानुले नेपाली सुन बजारमा दबाब परेको छ । अहिले नेपाली बजारमा सुनको भाउ क्रमशः उकालो लाग्नुको कारण यही हो ।

अन्तमा,

दिनदिनै नयाँ रिकर्ड बनाउँदै वृद्धि भइरहेको सुनको भाउ अब कतिसम्म पुग्ला ! माथि उल्लेख गरिएका सबै कारणहरू मसिनो गरी विश्लेषण गर्दा आगामी दिनमा नेपालीहरू सुनको भाउ सुनेर तर्सिनु पर्नेछ । सन् २०११ को मन्दीमा सुनको भाउ प्रतिआउन्स १ हजार ९०० डलरभन्दा माथि पुगेको थियो ।

अहिले भर्खर १ हजार ७३५ डलर नाघेको छ । यता हाम्रो बजारमा सुन प्रतितोला ८६ हजार रूपैयाँ नाघेको छ । बढ्दै १ हजार ९०० डलर वा २ हजार डलर भयो भने नेपालमा सुनको भाउ कति पुग्ला ?

अर्थशास्त्रीहरूले सुनको भाउ अझै बढ्दै जाने अनुमान गर्दैछन् । आगामी दिनमा हेर्न पाउने नै छौँ । भाउ घटेर सुन सस्तो हुने सम्भावना भने निकै कम छ ।
(लेखक नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष हुन्)


भर्खर

0