एसियाका कपडा उत्पादक भन्छन्- कामदार महामारीले नमरे भोकमरीबाट ज्यान गुमाउँछन् | Khabarhub Khabarhub

एसियाका कपडा उत्पादक भन्छन्- कामदार महामारीले नमरे भोकमरीबाट ज्यान गुमाउँछन्


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाका कपडा उत्पादकहरुले कोरोनाको कहरभन्दा पछि भोकमरी ठूलो समस्या देखिने बताएका छन् । उनीहरुले आफ्ना कामदार पनि कोरोनाबाट बचे भोकमरीबाट ज्यान गुमाउने बताएका छन् ।

म्बात्तुर फेशन इन्डियाका सञ्चालक विजय माहतानीले पनि यो विषम परिस्थिति कामदारका लागि घातक हुने बताएका छन् । उनले भनेका छन्, ‘यदि हाम्रा कामदारहरू कोरोनाभाइरसका कारण मरेनन् भने उनीहरू भोकमरीबाट मर्नेछन्।’

कोरोनाभाइरस महामारीले कपडा उत्पादकदेखि गार्मेन्ट उद्योगका सञ्चाकहरूलाई कसरी असर पारिरहेको छ भन्ने आसय यसबाट बुझ्न सकिन्छ ।

अरू सामान्य बेलामा विजय माहतानी, उनका साझेदारहरू अमित माहतानी र शावन इस्लामले बंगलादेश, भारत र जोर्डनमा गरी १८ हजार कामदारबाट काम गराउने गरेको बीबीसीले उल्लेख गरेको छ ।

तर कोरोनाभाइरस महामारीका कारण उनीहरूले अधिकांश काम बन्द गर्न बाध्य भएका छन्। अहिले ढाकास्थित एउटा उद्योग मात्र सञ्चालनमा छ, त्यो पनि पूर्ण रूपमा नभई आंशिक रूपमा सञ्चालन भइरहेको छ।

कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले गरिएका लकडाउनका कारणले मात्रै कामदारलाई पैसा तिर्न उनीहरूलाई गाह्रो भएको होइन। उनीहरूका अनुसार खासगरी संयुक्त राज्य र अमेरिकाका आफ्ना प्रमुख ग्राहकबाट आएका अव्यावहारिक माग प्रमुख कारण हो।

टस्कर अपारल जोर्डनका प्रमुख कार्यकारी अमित माहतानीले भने,‘कम्तीमा कामदारहरूलाई पैसा तिर्न सक्ने कुराको सुनिश्चितता गर्न केही ब्रान्डहरूले साझेदारी र उच्च तहको नैतिकता प्रदर्शन गरिरहेका छन्।’

‘तर तयार भइसकेका अथवा हुँदै गरेका सामानको माग फिर्ता लिने, जाँदै गरेका सामानको हकमा अथवा फर्स्यौट हुन बाँकी भुक्तानीमा छुट माग्ने अवस्थाको पनि हामीले सामना गरिरहेका छौँ,’ उनले थपे।

पछिल्ला हप्तामा चिनियाँ कपडा उद्योगहरू पुनः सञ्चालनमा आएपछि गार्मेन्ट उद्योगहरूलाई फेरि पुरानो लयमा फर्किन सक्ने आस त पलायो। तर विश्वभरि देशहरू लकडाउनमा परेपछि खुद्रा विक्रेताहरूबाट हुने माग भएन।

चीन विश्वको उद्योगको रूपमा चिनिन सक्छ, तर कपडाको सन्दर्भमा बंगलादेश, इन्डोनेशिया, कम्बोडिया, भियतनाम र म्यान्मारको भूमिका बढ्दो छ। ह्युगो बोस, थिओरी, र कोचसहितका ब्रान्ड आपूर्तिकर्ता लिभर स्टाइलका स्टान्ली जिटोका अनुसार चीनको उच्च मूल्यका कारण करिब १० वर्षयता कपडा उत्पादन त्यहाँबाट अन्यत्र विस्तार हुँदैछ।

यसको अर्थ एसियाका विकासशील अर्थतन्त्रका लागि कपडा उत्पादन एउटा महत्त्वपूर्ण उद्योग रहेछ। विश्व व्यापार सङ्गठनका अनुसार बंगलादेश र भियतनाम विश्वका चार ठूला कपडा निर्यातकर्ता देशभित्र पर्छन्। विश्व बजारमा अहिले बंगलादेशले ६/७ प्रतिशत हिस्सा ओगटेको छ भने भियतनामको ५/७ प्रतिशत हिस्सा रहेको छ।

बंगलादेशमा ४० लाखभन्दा बढी गार्मेन्ट कामदार छन्। र, गत वर्ष देशको कुल निर्यातमध्ये कपडा तथा पोसाकको हिस्सा ९० प्रतिशतभन्दा बढी थियो। डेलवेअर विश्वविद्यालयको फेशन अध्ययनसम्बन्धी विभागका सहप्राध्यापक शेङ लुका अनुसार कम्बोडिया र श्रीलङ्का पनि आफ्नो निर्यातमध्ये ६० प्रतिशतभन्दा बढी कपडा उद्योगमा निर्भर छन्।

बं‌गलादेशमा उत्पादन क्षेत्रको आधाभन्दा बढी र कम्बोडियामा ६० प्रतिशत जागिर कपडा उद्योगले दिएका छन्। ती उद्योगका महत्त्वपूर्ण कामदार भनेका महिला हुन्। लुका अनुसार कोरोनाभाइरस महामारीका कारण बंगलादेश, भियतनाम, कम्बोडिया र भारतजस्ता देशले कपडा उद्योगका चारदेखि नौ प्रतिशतसम्म कामदार कटौती गर्न सक्छन्।

बंगलादेशले देशका कपडा उद्योगहरूलाई सघाउन खोज्नुको आंशिक कारण यो पनि हुन सक्छ। स्प्यारो अपारल बंगलादेशका प्रबन्ध निर्देशक शाव्न इस्लामले भने, ‘बंगलादेश सरकारले उदार खालको राहत कार्यक्रम प्रस्ताव गरेको छ, ऋणलाई लामो समयावधिको कर्जामा परिणत गर्ने र तर्कसङ्गत दरको ब्याज प्रस्ताव गरेको छ।’

‘यसले जारी सङ्कटबाट पूर्ण रूपमा पार त लगाउँदैन तर केही सहयोग चाहिँ गर्छ।’ कम्बोडिया सरकारले पनि कर मिनाहा गर्ने घोषणा गरेको छ भने कपडा उद्योगका कामदारको ज्यालाका लागि अनुदान दिने प्रस्ताव अघि सारेको छ।

सहप्राध्यापक शेङ लुका अनुसार श्रमिक अभाव, कच्चा पदार्थरूको मूल्यवृद्धि र उत्पादन क्षमतामा कमी आउने जस्ता कोरोनाभाइरस महामारीको दीर्घकालीन असरलाई ध्यानमा राखेर सरकारहरूले सघाउन खोजिरहेका छन्।

बढ्दो आलोचना र दबावपछि एच एन्ड एम र जाराका सञ्चालकले लगायत कपडा उद्योगहरूबाट गरिएको अहिलेको मागका लागि पूरै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।

उद्योगी अमित माहतानी भन्छन्, ‘थोक विक्रेता कम्पनीहरूले सघाउनुपर्छ। धनी सरकारहरूले उद्योगहरूलाई गर्ने आर्थिक सहयोग पनि महत्त्वपूर्ण हुन्छ।’ त्यसो नगरिए उद्योगहरू पूर्ण रूपमा निमिट्यान्न हुने उनको दाबी छ। बीबीसी

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १६ बजे

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि