भीआईपीहरु पनि कोरोना भाइरसको संक्रमणमा : नेता, सेलिब्रेटीदेखि सेनापतिसम्म संक्रमित ! | Khabarhub Khabarhub

भीआईपीहरु पनि कोरोना भाइरसको संक्रमणमा : नेता, सेलिब्रेटीदेखि सेनापतिसम्म संक्रमित !



काठमाडौं- तीन महिनाअघि चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरसका कारण हालसम्म ७ हजार १ सय ६४ जनाको ज्यान गइसकेको छ । यसबाट संक्रमित १ लाख ८२ हजार ६ सयमध्ये करिब ७९ हजार निको भइसकेका छन् ।

कोरोना भाइरसकै कारण अमेरिका, स्पेन, इटाली लगायतका मुलुकमा संकटकाल घोषणा गरिएको छ । कोरोना भाइरसबाट आम सर्वसाधारणसहित नेता, सेलिब्रेटी र उच्च पदस्थ व्यक्ति पनि संक्रमित भएका छन् ।

आज हामी कोरोना भाइरसबाट प्रभावित सेलिब्रेटी र उच्च पदस्थ व्यक्तिहरुको चर्चा गर्दैछौं ।

मृतकहरु

१. इटालीको चियेने नगरका मेयर गियोर्गियो भलोटी

इटालीको चियेने नगरको मेयर गियोर्गियो भलोटीले कोरोना भाइरसका कारण ज्यानै गुमाए । उनमा गत मार्च ७ बाट कोरोना भाइरसको लक्षण देखा परेको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

७० वर्ष उमेर रहेका उनले गत शुक्रबार ज्यान गुमाएका थिए । चियेने नगर इटालीको सबैभन्दा बढी प्रभावित उत्तरी भेगमा पर्छ । कोरोना भाइरसका कारण उनको फोक्समा संक्रमण भएको र निमोनिया भएपछि शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् ।

२. फातेमाह रहबर इरानी सांसद

इरानी सांसद फातेमाह रहबरको कोरोना भाइरसकै कारण अघिल्लो साताको शुक्रबार मृत्यु भएको थियो ।

इरानको अर्ध सरकारी समाचार संस्था तस्नीमले उनको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । उनी गत फेब्रुअरी २१ मा भएको आम निर्वाचनमा तेहरानबाट निर्वाचित भएकी थिइन् ।

संक्रमितहरु

१. क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी

लण्डन भ्रमण गरी स्वदेश फर्केपछि सोफी ट्रुडोमा कोरोना भाइरसको लक्षण देखिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको गत बिहीबार क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको थियो ।

उनी हाल आइसोलेसनमा छिन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री जस्टिन ट्रुडो पनि १४ दिने आइसोलेसनमा बसिरहेका छन् ।

यद्यपि ट्रुडोले कोरोना भाइरसको परीक्षण भने नगरिने क्यानाडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यससँगै यसअघि तय भएका कुनै पनि कार्यक्रममा प्रधानमन्त्री ट्रुडोको उपस्थिति रहने छैन ।

क्यानाडामा हालसम्म ४४१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ जनाको मृत्यु भइसकेको छ भने २७ जना निको भइसकेका छन् ।

२. बेलायती स्वास्थ्यमन्त्री नदिन डोरिज

बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्री एवं कन्जरभेटिभ पार्टीकी सांसद् नदिन डोरिजमा गत बिहीबार नै कोरोना भाइरसको लक्षण देखा परेको थियो ।

६२ वर्षे डोरिजलाई कोरोनाको संक्रमण देखिएकै दिन उनी प्रधानमन्त्री बोरिस जोनसन उपस्थित रहेको कार्यक्रममा सहभागी थिइन् । उनीसँगै उनकी आमामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

८४ वर्षे उनकी आमाले पनि कोरोना भाइरसको लक्षण देखाएकी थिइन् । आमासँगै डोरिज यतिबेला सेल्फ आइसोलेसनमा छिन् ।

बेलायतमा कोरोना भाइरसका कारण हालसम्म १ हजार ५ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ५५ जनाको ज्यान गइसकेको छ । ५२ जना भने कोरोनालाई जितेर निको हुन सफल भएका छन् ।

३. अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन

उनीहरुलाई गत बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु अष्टे«लिया भ्रमणमा रहेका बेला कोरोनाबाट संक्रमित भएका थिए ।

उनीहरुले सामाजिक सञ्जालमार्फत् आफूहरुमा शुरुमा यसको सामान्य लक्षण देखा परेको र परीक्षण गराउँदा संक्रमण पुष्टि भएको बताएका छन् । एल्भिस प्रेस्लीको बायोपिक शुटिङका क्रममा अष्टे«लियामा रहँदा उनीहरुमा कोरोनाको लक्षण देखा परेको थियो ।

उनीहरु दुबैले स्वास्थ्य अधिकारीको सल्लाहबमोजिम निश्चित स्वास्थ्य सतर्कता अपनाएको बताएका छन् ।

अस्ट्रेलियामा हालसम्म ४ सय ०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन् ।

४. ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेन

ब्राजिलका राष्ट्रपति जेइर बोल्सोनारोका प्रेस सचिव फाबियो वज्नगार्टेनलाई गत बिहीबार कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पुष्टि भएको थियो ।

उनले अघिल्लो साता राष्ट्रपति बोल्सोनारोसँगै अमेरिका भ्रमणमा गएको थिए । अमेरिका भ्रमणका क्रममा उनी त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागि कार्यक्रममासँगै देखिएका थिए ।

प्रेस सचिवमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ब्राजिलका राष्ट्रपतिले पनि कोरोना भाइरसको परीक्षण गराएका थिए । शुरुमा बोल्सोनारोलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएपनि पछि सामाजिक सञ्जालमार्फत् उनले यस्तो समाचारको खण्डन गरेका थिए ।

ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण २ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ कोरोना कै कारण भने कसैको पनि ज्यान गएको छैन । कोरोनाबाट संक्रमितमध्ये त्यहाँ केबल २ जनामात्र निको भएका छन् ।

५. इटालीका सेनापति साल्भाटोर फरिना

इटालियन सेनाका सेनापति साल्भाटोर फरिनालाई गत सोमबार कोरोना भाइरस लागेको पुष्टि भएको थियो । उनलाई आइसोलेसनमा राखिएको छ भने उनको स्थानमा फेडेरिको बोनाटोलाई सेनापतिको जिम्मेवारी दिइएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको केन्द्रविन्दु तोकेको युरोपेली मुलुक इटाली कोरोना भाइरसबाट चीनपछि सबैभन्दा धेरै प्रभावित मुलुक हो ।

त्यहाँ हालसम्म २७ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । तीमध्ये २ हजार १ सय ५८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन् । संक्रमितमध्ये २ हजार ७ सय ४९ जना निको भइसकेका छन् ।

६. अस्ट्रेलियन गृहमन्त्री पटर डटन

अस्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डटनले शुक्रबार सबेरै ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए ।

उनले चिकित्सकको परामर्श अनुसार आफू अस्पतालमा उपचार गराइरहेको र अरुबाट अलग्गै बसिरहेको समेत जनाएका छन् । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अस्ट्रेलियामा मानिसहरुलाई भेला नहुन भनिएको छ ।

७. फ्लोरिडाको मियामी शहरका मेयर फ्रान्सिस सुआरेज

मियामी शहरका मेयर फ्रान्सिस सुआरेजलाई गत शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

ब्राजिलियन राष्ट्रपति तथा उनका प्रेस सचिवसहितको टोलीसँग एउटा कार्यक्रममा सहभागी भएको चार दिनपछि उनले स्वास्थ्य परीक्षण गरेको र त्यसपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यद्यपि उनले कोरोना भाइरसको लक्षण भने नदेखाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले आफूलाई कोरोना भाइरस लागेकोबारे ब्राजिलका राष्ट्रपतिलाई जानकारी गराइएको बताएका थिए ।

मियामी डाडे काउन्टीमा कोरोना भाइरसबाट संक्रमित हुने उनी दोश्रा व्यक्ति बनेका थिए । अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ३ हजार ८ सय २ जना संक्रमित भएका छन् ।

अमेरिकामा यसका कारण ६९ जनाको मृत्यु भइसकेको छ भने ७३ जना निको भएका छन् ।

८. इरानी सर्वोच्च नेताका सल्लाहकार अली अकबर बेलायती

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीलाई गत बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

इरानी सञ्चारमाध्यमले जनाए अनुसार उनको स्वास्थयमा सुधार आइरहेको छ । उनले कोरोना भाइरसको सामान्य लक्षण देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बालरोग विशेषज्ञ समेत रहेका उनी खामेनीको निकटस्थ मानिन्छन् । इरानमा हालसम्म १३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ७२४ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ५ सय ९० जना निको भइसकेका छन् ।

९. इरानी उपराष्ट्रपति मासुमेह एब्टेकार

इरानी उपराष्ट्रपति मासुमेह एब्टेकारमा दुई साता अघि नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । महिला एवं बालबालिका मामिलाका लागि उपराष्ट्रपति मासुमेह इरान सरकारको सबैभन्दा वरिष्ठ पदमा रहकी महिला हुन् ।

उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा आइसकेपछि पनि उनले राष्ट्रपति हसन रौहानीसँग भेटवार्ता गरेकी थिइन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले उपराष्ट्रपतिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको थियो । उनको घरमै उपचार भइरहेको जनाइएको छ ।

१०. स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोनिया गोमेज फर्नाण्डेज

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती मारिया बेगोनिया गोमेजलाई कोरोना भाइरसको पुष्टि भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले शनिबारमात्र जनाएको थियो । हाल उनी आइसोलेसनमा बसिरहेकी छिन् ।

त्यसबाहेक प्रधानमन्त्री पेद्रो सान्चेज पनि आइसोलेसनमा छन् । स्पेनमा कोरोना भाइरसलाई मध्यनजर गरी आपतकालको घोषणा गरिसकिएको छ ।

स्पेनमा हालसम्म ९ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ३ सय ४२ जनाको मृत्यु भइसकेको छ भने ५ सय ३० जना निको भइसकेका छन् ।

११. स्पेनी समानता मन्त्री आइरेने मोन्तेरो

स्पेनकी समानता मन्त्री आइरेने मोन्तेरो पनि कोरोना भाइरसबाट संक्रमित छिन् । उनमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पतीसँगै क्वारेन्टाइनमा राखिएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । उनको स्वास्थ्य स्थीर रहेको जनाइएको छ ।

१२. आर्सनलका म्यानेजर मिकेल आर्टेटा

राजनीतिज्ञबाहेक खेलाडी तथा खेलकुदमा संलग्न मानिसहरुलाई पनि यतिबेला कोरोना भाइरसले सताएको छ । कोरोना भाइरसले सताउनेमा परेका छन्, आर्सनलका म्यानेजर मिकेल आर्टेटा ।

उनलाई अघिल्लो साता नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी हाल आइसोलेसनमा छन् । उनलाई कोरोना भाइरसको संक्रमण देखा परेपछि शुक्रबार ब्राइटनविरुद्धको खेल नै रद्द गरिएको थियो । आर्सनलले आफ्ना सबै खेलाडी तथा कोचिङ स्टाफलाई उच्च निगरानीमा राखेको छ ।

१३. चेल्सीका खेलाडी कलम हडसन अडोये

चेल्सीका उदयीमान खेलाडी कलम हडसन अडोयेमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै हडसन अडोयेले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका थिए ।

उनले सन्देशमा चिकित्सकहरुको परामर्श अनुसार सतर्कता अपनाएको जनाएका थिए । हडसन अडोयेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चेल्सी क्लबले पनि आफ्ना सबै खेलाडी एवं कोचिङ स्टाफहरुलाई उच्च निगरानीमा राखेको छ ।

१४. एनबीए खेलाडी रुडी गोबर्ट

अमेरिकाको राष्ट्रिय बास्केटबल प्रतियोगिता नेशनल बास्केटबल एसोसिएसन अन्तर्गत युटा जाज क्लबका खेलाडी रुडी गोबर्टमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

उनले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनबीएले सम्पूर्ण खेलहरु स्थगित गर्ने घोषणा गरिसकेको छ ।

१५. युटा जाजका खेलाडी डोनोभान मिचेल

युटा जाज कै अर्का खेलाडी डोनोभान मिचेलमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्पोट्र्स साइट ईएसपीएनले जनाएको छ ।

ओक्लाहोमा सिटीमा गत बुधबार युटा जाजका सबै खेलाडीहरुको परीक्षण गरिएकोमा मिचेलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । खेलाडीहरुमा कोरोना भाइरस पुष्टि भएसँगै एनबीएले ओक्लाहोमा सिटी थण्डर्सविरुद्ध जाजको खेल नै रद्द गरेको थियो ।

१६. एनबीए खेलाडी क्रिस्टियन उड

एनबीएमा डेट्रोइट पिस्टन्सका फरवार्ड क्रिस्टियन उडमा गत शनिबार कोरोना भाइरस पुष्टि भएको समाचार सार्वजनिक भएको थियो । उनीनिकट मानिसहरुलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले उनमा कोरोना भाइरस पुष्टि भएको जनाएका थिए ।

एनबीएमा कोरोना भाइरसको संक्रमण देखिने उनी तेस्रा खेलाडी हुन् । यससँगै एनबीएले प्रतियोगिताका सबै खेलहरु स्थगित गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ४३ बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि