‘नाइट क्लब’ प्रकरणपछि फुटबलमा जम्न खोज्दै सन्तोष « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

‘नाइट क्लब’ प्रकरणपछि फुटबलमा जम्न खोज्दै सन्तोष



काठमाडौं –  ‘मेरा ती दिन पीडादायी थिए । र ती दिनहरु कसरी कटे भनेर म सायद बयान गर्न सक्दिन । तर, अब उप्रान्त त्यस्तो घटना नदोहोरियोस् भन्नेमा सचेत बनेको छु,’ फुटबलर सन्तोष तामाङ केही मन्द स्वरमा भन्छन्,‘अब म फेरि शून्यबाट अगाडि बढ्ने लक्ष्यसहित मैदान फर्किएको छु ।’

विश्वकप छनोट २०२२ तथा एसियान कप २०२३ को छनोट अन्तरगत कुवेतविरुद्धको ‘होम गेम’ नेपालले कात्तिक ३ गते तटस्थ भूमिमा खेल्दै थियो । ३ गते हुने खेलका लागि नेपाली टोली असोज ३० गते भुटान जाने तालिका थियो ।

त्यसको अघिल्लो रात चार जना खेलाडी आफूहरु बसेको होटल बाहिर निस्किए । उनीहरु खेलको अघिल्लो रात अन्य खेलाडीसँगै होटलमा हुनु पर्थ्यो । तर, उल्टो बाटो लागे, र पुगे ‘नाइट क्लब’ । कसैको कल्पना विपरीत नाइट क्लब जानेमा फरवार्ड विमल घर्ती मगर, अञ्जन विष्ट, दिनेश राजवंशी र यी नै सन्तोष थिए ।

उक्त घटनामा दोषी करार गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसन्धान समितिले उनीहरुलाई कारबाही गर्यो । विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध र अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्धसहित चारैजनाले नगद ५० हजार जरिवाना तिर्नुपर्ने एन्फाले निर्णय गर्‍यो ।

४५ दिनको प्रतिबन्ध सकिएपछि सन्तोष र अञ्जन अहिले सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका छन् । सन्तोषले पुस १६ गते थ्री स्टार क्लबविरुद्ध विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट पुनरागमन गरे । उक्त खेलमा उनले उत्कृष्ट पुनरागन गरेका थिए । जसमा सन्तोषले ७९ औं मिनेटमा गोलसामेत गरे ।

आर्मी तथा नेपाली राष्ट्रिय टोलीका ‘प्ले मेकर’ सन्तोष यसअघिको आफू र अहिलेकोमा फरक भइसकेको बताउँछन् । अघिल्लो मागमा राष्ट्रिय टोलीमा स्थान पाएका उनलाई उम्दा खेलाडीका रुपमा हेरिएको थियो ।

तर, राष्ट्रिय टोलीमा स्थान बनाएको १ वर्षसमेत नहुँदै एन्फाको कारबाही भोग्नु पर्दा करियरमा ‘धक्का’ पुगेको उनले महसुस गरेका छन् । जसलाई उनी अब कहिलै सम्झन चाहँदैनन् । भन्छन्,‘म त्यो दिन सम्झन चहान्न । बरु त्यसबाट पाठ सिकेको छु । त्यसैबाट आफूलाई बलियो बनाउँदै अगाडि बढ्छु ।’

सन्तोषको रोजाई नाइट क्लब थिएन । तर, भोग्नु पर्यो । अब आफ्नो लक्ष्यलाई अर्जुन दृष्टिकै रुपमा हेरेका छन् । भन्छन्,‘मेरो अर्जुन दृष्टि नेपाली फुटबल टोलीको स्थायी सदस्य बन्दै नेपालका लागि खेल्ने हो । म त्यहाँसम्म पुग्न जति मेहनत गर्नु पर्छ गर्न तयार छु ।’

नेपाली जर्सीबाट खेल्नका लागि आफू शून्यबाट शुरु हुन तयार रहेको उनी बताउँछन्

सन्तोषलाई राष्ट्रिय टोलीमा फर्किन प्रदर्शनका हिसाबले त धेरै चुनौती नरहला तर, राष्ट्रिय टोलीबाट डेब्यु गर्ने अवसर दिएका प्रशिक्षक (योहान कालिन) को विश्वास जित्नु उनका लागि ठूलो चुनौती छ ।

घटना भएको बिहान सन्तोषसहितका खेलाडीले प्रशिक्षक कालिनलाई भेटेका थिए । उक्त भेटका प्रशिक्षक कालिन निकै आक्रोशित भएको उनी बताउँछन् । ‘प्रशिक्षकलाई फेस गर्नै सकेनौं । त्यहिँ प्रशिक्षकले अवसर दिनुभयो । दुःखद् कुरा यस्तो हुन गयो । तर, अब प्रशिक्षकले अवसर दिनु भयो भने अझै राम्रो गरेर यो खेलाडी यस्तो होइन रहेछ, अञ्जानमा भएको गल्ती हो भन्ने प्रमाणित गर्नेछु,’ सन्तोषले भने । नेपाली जर्सीबाट खेल्नका लागि आफू शून्यबाट शुरु हुन तयार रहेको उनी बताउँछन् ।

प्रतिबन्धको समयमा सबैभन्दा धेरै परिवारले सान्त्वना दिएको उनी बताउँछन् । ‘परिवारले सान्त्वना नदिएको भए म अहिले यो ठाउँमा फर्किएको हुन्नथें । त्यो समयमा धेरै नकारात्मक कुराहरु मनमा खेल्थे,’ उनले भने,‘सबैभन्दा बढी मेरो दाइले मलाई साथ दिनु भयो ।’ दाइ ‘राजु तामाङ’ पूर्व राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् ।

दाजुको प्रेरणाले बनेको फुटबलर

नेपाली फुटबलमा स्थापित खेलाडीको नाम हो, मिडफिल्डर राजु तामाङ । उनैलाई पछ्याउँदै नेपाली फुटबलमा लागेका थिए, सन्तोष तामाङ ।

कुपण्डोलमा रहेको तामाङ परिवारबाट नेपाली खेलकुदले एकै पोजिसनमा दुई फुटबलर पायो । राजु र सन्तोष । तर, पुस्ता फरक । धेरै कम समयमात्रै दाजु भाइलेसँगै खेल्न पाए ।

मध्यम बर्गीय परिवारमा हुर्किएका यी दाजुभाइको सपना राष्ट्रिय टोलीबाट सँगै खेल्ने थियो । तर, जेठा दाजु राष्ट्रिय टोलीमा खेलिरहँदा भाइ सन्तोष भने उनको खेल टिभीमा हेर्थे ।

कतिपटक सन्ताष राजुसँग फुटबल हेर्न सँगै जान खोज्थे । तर, राजुले उनलाई त्यति नै रोक्थे । तर, राजुले भाइलाई फुटबलबाट टाढा गर्न सकेनन् । विस्तारै सन्तोषलाई आफुसँगै लौजान थाले ।

नभन्दै सन्तोष फुबटलर बन्ने सपना देख्न थाले । आफ्नो उमेरको ११ बर्षमै उनी च्यासल युवा क्लबमा आवद्ध भए । त्यतिबेला च्यासल ‘सि’ डिभिजन फुटबल खेलिरहेको थियो ।

च्यासलको टिममा पर्दा खुसी भएका सन्तोष भन्छन्,‘मैले फुटबल बुझेकै थिइन । तर, टिममा परे । मैदान उत्रिन पाएन ।’
त्यसपछि सन्तोष कुपण्डोलमै रहेको ‘ए’ डिभिजन लिग क्लब फ्रेन्ड्समा आवद्ध भए । फ्रेन्ड्समा आएपछि आफ्नो फुटबल करियरले गति लिएको उनी बताउँछन् । क्लबबाट उमेरसमूहका प्रतियोगिता खेलेका उनले १० बर्ष अगाडि फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिगमा डेब्यु गर्ने अवसर पाए ।

राष्ट्रिय टोली र आर्मीको टिममा जमेका दाजुलाई हेर्दै फुटबलमा लागेका सन्तोषको सपना नेपालका लागि खेल्ने हुनु ठूलो कुरा नहुन सक्छ । तर, उनी सधै नेपालका लागि खेल्ने ठाउँसम्म पुग्न संघर्ष गरिरहे । ५ बर्ष फ्रेन्ड्स क्लबबाट खेलेका उनको व्यसायीक फुटबलको जग त्यहिँ त्यहिँ हो ।

नेपाली फुटबलमा राष्ट्रिय टोलीसम्म पर्न घरेलु लिगमा ठूलो क्लबाट खेलेको हुनु पर्ने एक अघोषित मान्यता नै बनेको छ । यसमा सन्तोष पनि सहमत छन् । साना क्लबहरुमा जति राम्रो खेले पनि राष्ट्रिय टिममा पर्न कठिन भएको उनी आफ्नै अनुभव छ ।

‘मेरो सपना राष्ट्रिय टिममा पर्ने थियो । म फ्रेन्ड्स क्लबमा खेलिरहेको थिए । त्यहाँ हुँदा नेपालका लागि खेल्न ‘कल’ पनि भएको थियो । तर, खेल्न पाइएन,’ सन्तोषले खबरहबसँग भने ।

२०७० सालको ए डिभिजन लिग फ्रेन्ड्सबाट खेलेका सन्तोषका लागि नेपालका शीर्ष क्लब मनाङ मस्र्याङ्दी, थ्रीस्टार, विभागीय टोलीहरुबाट अफर आएको थियो । तर, उनले विभागीय टोली आर्मीलाई रोजे ।

आफुले आर्मी रोज्नुको कारणबारे सन्तोष भन्छन्,‘राष्ट्रिय टिमबाट खेल्ने सपना हुँदा ठूलो क्लबबाट खेल्नै पर्छ । त्यसमा पनि राम्रो गर्नु पर्छ । मलाई अधिकाशं ठूला क्लबहरुले बोलाएको थियो । तर, मैले आर्मी रोजे । त्यसमा दाई खेल्ने भएकाले पनि होला, मन पथ्र्यो ।’

सन्तोषले आर्मीमा जाने वा अरु क्लब रोज्ने भन्ने विषयमा पनि धेरै सोचविचार गरेका थिए । तर, दाइ आर्मीमा भएकाले खेलाडी जीन पछिको सुरक्षा लगायत कुराहरुले आफू विभागीय क्लबमा आवद्ध भएको बताउँछन् ।

दाजुको स्थानमा मैदान पस्दा

राजु तामाङलाई आफ्नो आदर्श व्यक्ति र फुटबलर मान्ने सन्तोष आर्मीमा आएपछि उनै दाजुको स्थानमा मैदान प्रवेश गर्नु पर्ने अवस्था आयो । दुवै दाजु भाइको पोजिसन एउटै ।

विश्व फुटबलमा केही समय अगाडि बार्सिलोनाबाट बार्यन म्युनिख पुगेका ब्राजिलियन फिलिपे कौटिन्होका प्रशंसक सन्तोष नेपाली फुटबलमा निराजन खड्का र आफ्नै दाजु राजुलाई आदर्श मान्दछन् ।

यस्तो समय आयो जतिबेला उनी आर्मीको प्लेइङ सेटमा हुँदैन थिए । उनका दाजु पहिलो रोजाइमा खेल्थे । त्यतिबेला उनी सब्स्टीच्युड खेलाडीको सूचिमा हुन्थे ।

सुरु सुरुमा त उनले आफ्नै दाजुलाई विस्थापित गर्नु पर्यो । दाइसँग खेल्ने लक्ष्य बनाएका उनी दाइको स्थानमा मैदान छिर्दा केही नर्भस हुने गरेको अनुभव सुनाउँछन् । तर, आफ्नो फुटबल करियर अगाडि बढाउन राम्रो प्रदर्शन गर्नु पर्ने चुनौति पनि उनीसामू थियो ।

‘दाइको स्थानमा मैदान प्रवेश गर्दा ‘नर्भस’ हुन्थे । कतिसमय राम्रो गर्न सक्दैन कि भन्ने डर पनि हुन्थ्यो,’ सन्तोषले भने,‘पछि विस्तारै म सेटमा जम्न थाले । दाइसँगै पनि टिममा एक–दुई खेल खेले ।’

आर्मीलाई लिग जिताउने पहिलो लक्ष्य

लामो समयको प्रतिबन्ध खेप्दै विभागीय टोलीबाट फुटबलमा पुनरागमन गरेका उनी आफ्नो पहिलो लक्ष्य आर्मीलाई लिग च्याम्पियन बनाउने रहेको बताउँछन् ।

क्लबले अहिलेसम्म लिग च्याम्पियन हुन सकेको छैन । तर, यो संस्करणमा छैठौं चरणका खेल सकिँदा शीर्ष स्थानको मछिन्द्रकै बराबरी १३ अंकसहित गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

आर्मीले खेलेको ६ खेलमा ३ मा जीत हात पार्दा १ मा बराबरी र १ मा हार व्यहोरेको छ । ‘यो संस्करणमा लिग च्याम्पियन बनाउने लक्ष्य छ । सबै जना त्यसैलाई लक्ष्य बनाएर लागेका छौं,’ सन्तोषले भने ।


भर्खर

0