पाखण्डको दाइँ | Khabarhub Khabarhub

पाखण्डको दाइँ


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लटरम्म अम्बक पाकेका छन्, खाने मान्छे कोही छैन, यो एउटा विडम्बना ! मगजभरि ज्ञान लबालब छ, लिने पात्र भेटिँदैन ! यो झनै ठूलो विडम्बना !

सोध्नुस् न कसरी ?

अम्बक झरे फेरि अर्को अम्बकको बिरुवा उम्रेला, हुर्केला । अर्को साल झन् धेरै अम्बक फल्ला ! तर ज्ञानी एक बार पुक्लुक्क मरे’सी खेला खत्तम ! यस्तै भा’छ आजकाल ! ज्ञानी सबैतिर, ज्ञान त्यसै खेर गइरहेको छ ! चाणक्य भन्थे– ज्ञानम भार क्रियाविना !

बाटामा उभिएर हेरौँ न, को छैन नज्ञानी ? नज्ञानी, ज्ञानी र अज्ञानी दुवै होइन, नज्ञानी भनेको नज्ञानी नै हो र यसलाई नज्ञानी नै बुझ्नु पर्छ । अब देख्न थाल्नुभयो होला ज्ञानीको लक्षण ।

ज्ञानी हुनुको पहिलो लक्षण अरूको कुरालाई हलुकै उडाएर आफ्नो ज्ञानको धुलो छर्न सक्नु हो । कहिलेकाहीँ लाग्छ एउटा किताबै पो लेख्द्यूँ क्या हो ! भक्तलाई नि सजिलो हुने, आफूलाई पनि खिचिरपिचिर गरेर तिरिक्क तिरिक्क गर्दै तिक्र्यारहने झन्झट नहुने !

निक्कै बेर सोचेपछि एउटा कुराले अभर पारेर अठ्यायो । म त लेख्द्यूँला, तर भारतले लिपुलेकमा के गर्ला, चीनले सगरमाथामा के भन्ला, ओलीले प्रधानमन्त्री कहिले थन्क्याउने हुन् र अन्त्यमा भगवानले कोरोनाको करामत कसरी ठेगान लाउने हुन् यिनीहरूको टुङ्गो नभएरपछि मेरो किताबको टुङ्गो हरायो ! नत्र लेख्न आँटिसक्या !

ज्ञान बाँड्दै लैजाँदा अस्ति सूर्यदाइलाई नेपालको वर्तमान परिप्रेक्षको कुराकानी र कहानी पछाडिको ज्ञानदान सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेँ । कुरो ठाडै गरौँ ।

लेख्नेले लेखेर, देख्नेले देखेर, छोप्नेले छोपेर अथवा ढाक्नेले ढाकेर भ्रष्टाचार रोकिने वाला छैन भन्ने कुरा हुँदा रहस्यमयी ‘एउटा’ (एउटा राजा, एउटा नेता, एउटा राजनेता, एउटा सन्काहा, एउटा मुसोलिनी, एउटा हिटलराकान्तकारी अथवा एउटा जिम्मेवार आतंककारी इत्यादि) हुँदा पो रोकिन्थ्यो कि भन्ने परिकल्पनाको प्रस्तावना दाइले तयार पारे । मैले मेरो ज्ञानकीय सत्ता (झन्डै राजकीय भन्नै लागेको) प्रयोग गरेर दाइको कुरो ठाडै उल्टीपाउ लगाइदिएँ । विचार सबैको हुन्छ तर अलिअलि जान्ने मान्छेलाई मेरो विचार सबैभन्दा महत्वपूर्ण हुन्छ । मेरो विचारको कुरो यहाँ राख्न चाहन्छु ।

कुरा सुरु गरौँ एउटा लेखको प्रसङ्गबाट । कतै कुनै ढंगले कसैले रेडिट (वयस्कहरूको वेवसाइट) को कुरो निक्कै मन छुने तरिकाले उक्काएको थियो । लेखकको लेखकीय गाम्भीर्यले बलात्कार वैध हुनेतर्फ उन्मुख भएको दिशानिर्देश गर्छ । निक्कै अगाडि शिवानीसिंह थारु टेलिभिजनमा कार्यक्रम चलाउँथिन् । कुनै समयमा उनले एउटा लेख लेखिन ‘जोवन चल्ने, पानी नचल्ने !’

त्यो लेखको अवशेष र अहिलेको लेखको अस्थिपञ्जरमा एउटा समानता पाएँ : हेर्न मिल्ने, लेख्न नमिल्ने ! शिवानीको लेख धेरै धारिलो अहिलेको लेखको तुलनामा । यो हेर्न मिल्ने, लेख्न नमिल्ने अथवा जोवन चल्ने, पानी नचल्ने विषयलाई अलिक अगाडि बढाउने अनुमति चाहन्छु ।

पार्टी एकता भयो, राम्रै भयो । अब राजनीतिक शक्ति ध्रुवीकरण होला, स्थिरता आउला भन्ने आशा हामी सबैमा पलायो । काँचको गिलास फुट्दा र जोडिँदा हर्ष र बिस्मात गरेको भए पनि हुन्थ्यो । लेखैलेखको भुमरीमा अर्कै लेखमा एउटा अर्को प्रसङ्ग आएको थियो मासु र गुन्द्रुकको । मासु कुहिए कामै नलाग्ने हुन्छ, गुन्द्रुक कुहिए सुकाएर खान मिल्छ ।

अस्ति यही कोरानेश्वर महादेवको पदार्पण भए’सी अष्ट्रेलियाको न्यू साउथ वेल्सका एकजना मन्त्रीलाई लकडाउन उल्लङ्घन गरेको अभियोगमा प्रहरीले जरिवाना गरे । मन्त्रीले राजिनामा दिए । मासु कुहिएपछि कामै नलाग्ने !

शिक्षाको अभावले भ्रष्टाचार यसरी मौलाएको हो भन्ने तर्क मैले प्रस्तुत गर्दा दाइले मान्ने छाँटकाँट देखाएनन् । तपाईं पनि मान्नु हुन्न नि ! उस्तै पर्दा म पनि मान्दिनँ । अजासु (अति जान्ने सुन्ने) भएर आफैँले प्रस्ताव गरेको कुरो हुनाले आफूले त मान्नै पर्‍यो ।

हाम्रामा गुन्द्रुकको चलन छ ।साग कुहिएपछि मात्रै गुन्द्रुक बन्छ । नकुहिएको गुन्द्रुक खास गुन्द्रुक हुँदैन । जति राम्ररी कुहियो त्यति नै राम्रो गुन्द्रुक ! त्यो लकडाउन उल्लङ्घन कार्यक्रम नेपालमा भएको भए र मन्त्रीले त्यसो गरेको भए उनको मुख्यमन्त्री अथवा सङ्घीयमन्त्री र उस्तै काकताली परे प्रधानमन्त्री नै पड्काउनेसम्मको पृष्ठभूमि तयार हुन्थ्यो ।

नपत्याए इतिहास हेर्नुहोस् । हाम्रो भाषामा भएका केही शब्दको तालमेल हेर्नुहोला । इतिहास ! इतिहास ! इतिहास ! नभनेर गतहास भनेको भए के बिग्रन्थ्यो होला र ! पुरानो कुरो हेर्ने अनि पेट मिचीमिची हाँस्ने विषयलाई इतिहास भनिन्छ । शाब्दिक अर्थभन्दा व्यावहारिक अर्थ पक्का हुन्छ ।

यहाँसम्मको पृष्टभूमिले भ्रष्टाचार प्रकरणमा मैले मूलतः दुई वटा प्रसङ्ग प्रस्तुत गर्न खोजेको एक : शिक्षा, दुई : व्यवहार ।

पहिले शिक्षाको कुरा । शिक्षाको अभावले भ्रष्टाचार यसरी मौलाएको हो भन्ने तर्क मैले प्रस्तुत गर्दा दाइले मान्ने छाँटकाँट देखाएनन् । तपाईं पनि मान्नु हुन्न नि ! उस्तै पर्दा म पनि मान्दिनँ । अजासु (अति जान्ने सुन्ने) भएर आफैँले प्रस्ताव गरेको कुरो हुनाले आफूले त मान्नै पर्‍यो ।

अहिले एकछिनमा तपाईं पनि ‘ए हो त ! र’छ त !’ भनेर मान्नुहुन्छ । दाइले भने सबै भ्रष्टाचारी विद्वानमात्रै छन्, पढालेखामात्रै छन्, कसरी अशिक्षा भ्रष्टाचारको कारण हुन्छ ? नचाहिँदो कुरा !

हो त नि ! सबै शिक्षित । सबै भ्रष्ट शिक्षित छन् तर सबै शिक्षित भ्रष्टाचारी छैनन् ! यो चाहिँ फेदैमा बुझ्नु पर्ने कुरो ।

शिक्षा दुई वटा कारणले भ्रष्टाचारको कारण हो । हाम्रो पाठ्यक्रममा भ्रष्टाचारसम्बन्धी कुनै पाठ्यसामग्री छैन । भ्रष्टाचार के हो, कसरी हुन्छ, कस्तो कुरा, काम र चिन्तनलाई भ्रष्टाचार मान्ने ? भ्रष्टाचार खराब हो कि असल हो ? खराब हो भने खराब हुनुका कारण के होलान् ? इत्यादि ।

एउटा व्यवस्थित पाठ्यसामग्री अथवा भ्रष्टाचारको पाठ्यक्रम तयार पारेर कक्षा पाँचदेखि स्नातकोत्तरसम्म पढाउने हो भने अहिलेको भ्रष्टाचारमा ९५ प्रतिशत कमी आउनेछ । तपाईंले भन्नुहोला, अहिलेको पाठ्यक्रममा समावेश भएकै विषयमा भएका विकृति नियन्त्रण भै’हाल्थे नि पाठ्यक्रमले नियन्त्रण गर्ने भए !

अब कुरो उक्काइहालियो, अलिक मस्काऊँ न त !

हाम्रामा चोरी भनेको के हो भन्ने शिक्षा नभएर चोरी गर्दा के हविगत हुन्छ भन्ने परिणामको कुरो मात्रै छ । जुनसुकै विचलनको कुरो गरौँ, सबैको अवधारणा परिणाममुखी मात्रै छ, चेतनामुखी छैन । जसरी गणित के हो भन्ने कुरो गणितमुखी अथवा हिसाब गरेरै मात्रै थाहा पाउन सकिन्छ त्यसरी नै चोरी, डकैती, भ्रष्टाचार, बलात्कार, अपहरण इत्यादि कुराहरूको भने परिणाममात्रै थाहा हुन्छ ।

शिक्षा सुझावमूलक अथवा उत्तेजक नभएर शिक्षामूलक हुनुपर्छ जसले राम्रो र नराम्रोबारे छलफल गरेर स्वतन्त्र हिसाबले चुनाव गर्न सकिने वातावरण अथवा मनस्थिति सृजना गरोस् । मान्छे उत्पत्ति देखि नै ‘निषेध तोड्ने’ प्राणी हो । आज शिक्षाले निषेध गर्दैमा त्यो मानवीय प्रकृति नष्ट हुँदैन ।

यदि गणित २ र २ जोड्दा के हुन्छ भन्ने कुरामा आधारित भएर पढ्ने हो भने नजोड्दा के बिग्रेला र भनेर शिक्षण नै सम्पन्न हुँदैन । हाम्रो नैतिक र भौतिक शिक्षा यस्तै विवादमुखी र परिणाममुखी भएर त्यो खासमा शिक्षा हुन पाएन । नैतिक शिक्षा अथवा नैतिकवान बनाउने आदर्शले मर्यादा पुरुषोत्तम श्रीराम, आँधी खोलाको मुहान इत्यादि पाठ पढिए तर के पढिए के पढिए हुन्छ अहिले सम्झिएर ल्याउँदा ।

शिक्षाले बाल मनोविज्ञानमा यस्तो नकारात्मक असर गर्‍यो, त्यसको कुनै लेखाजोखा नै छैन । त्यो पाठ पढेर अहिले नीति तर्जुमा गर्ने अथवा पाठ्यक्रमको समीक्षा गर्ने ठाउँमा पुगेका व्यक्तित्वले आफ्नो नैतिकताको अपरिपक्व आवरणले यो कथा पल्टाएर हेर्ने हिम्मत गर्दैन ।

हामीलाई भुराभुरी छँदैदेखि ‘तिमी को जस्तो हुने ? के हुने ?’ इत्यादि विषाक्त तरिकाले शिक्षित भयौँ । अहिले हामी यस्तो ठाउँमा उभिएका छौँ कि पाखण्ड नगरे हाम्रो समाजमा कुनै अस्तित्व नै हुँदैन । पाखण्ड नगरौँ सामाजिक सङ्कट, गरौँ आत्मिक सङ्कट ! तपाईं, म र हामी सबै शतप्रतिशत पाखण्डी हौँ र छौँ नभन्नु र अरू थोक नै देखाउनु बेग्लै कुरो हो । दाइँ चाहिँ पाखण्डकै चलेको छ ।

यो पाखण्ड हाम्रै शिक्षाको देन हो । सबै कुराको छिनोफानो हुने किसिमको शिक्षा भएको भए पढी सकेर म के र कस्तो हुने भन्ने छनौट अथवा चुनावको अवसर सृजना हुने थियो । त्यहाँबाट गन्तव्य तय सरल हुन्थ्यो ।

मनभरि पैसाको तिर्सना बोकेर शहर पस्दा विद्यालयको नैतिक शिक्षाले तिमी श्रवणकुमार बन्नू, श्रीराम बन्नू इत्यादि भनेको कुराको तालमेल खुस्किन्छ, समन्वय बिग्रन्छ । यो असन्तुलित मानसिकताले निर्धारण गरेको व्यक्ति र व्यक्तित्व तपाईं र म !

छिनोफानो गरेर बलजफ्ती नगरी प्रष्ट कुरो सुरुमा नै बुझियो भने निर्णय गर्न सजिलो हुन्छ । यो धरातलमा भ्रष्टाचार यही हो र यस्तै हुन्छ भन्ने कुरो निष्पक्ष भएर पढाएको भए शायद आज भ्रष्टाचार हुँदैन थियो होला ! फेरि थोरै गणितकै कुरो गरौँ । हामीलाई पढाउँदा २ र २ जोड्दा के हुन्छ भनेर अथवा जोड्नु हुँदैन भनेर नैतिक शिक्षा दिएको भए के हुन्थ्यो होला ! २ के हो, २ र २ कसरी जोड्ने, कसरी घटाउने, कसरी गुणन गर्ने अथवा भाग गर्ने भन्ने सिकाइयो ।

भ्रष्टाचार गर्ने वा चोरी गर्ने व्यक्तिले स्रोत प्रमाणित गर्न नसक्ने हुँदा कानूनले उन्मुक्ति दिँदा पनि बस्ने समाज नहुने अवस्था सृजना हुन्थ्यो । अहिले उल्टो छ । हिजो टाउको काट्दै हिँड्दा हुने, आज नहुने ! यो व्यवहार भ्रष्टाचारको स्रोत हो ।

अहिले आवश्यकताअनुसार व्यवहारमा हामी आफैँ जोड्नु परे जोड्छौँ, घटाउनु परे घटाउँछौँ ! भ्रष्टाचार अथवा नैतिक चरित्र सम्बन्धी यस्तै पाठ्यसामग्री बनाएको भए धेरै हदसम्म प्रभावकारी हुन्थ्यो होला । सबै कुरा खोलेर पढौँ, अनि व्यवहार आवश्यकता बमोजिम न्युनाधिक तालमेल गर्दै लग्यौँ भने सिकाइ अथवा शिक्षा सार्थक हुन्थ्यो होला ।

शिक्षा सुझावमूलक अथवा उत्तेजक नभएर शिक्षामूलक हुनुपर्छ जसले राम्रो र नराम्रोबारे छलफल गरेर स्वतन्त्र हिसाबले चुनाव गर्न सकिने वातावरण अथवा मनस्थिति सृजना गरोस् । मान्छे उत्पत्ति देखि नै ‘निषेध तोड्ने’ प्राणी हो । आज शिक्षाले निषेध गर्दैमा त्यो मानवीय प्रकृति नष्ट हुँदैन ।

चुनाव अथवा आफूलाई राम्रो लागेको काम गर्न पाउनु मानवस्वभाव हो । त्यसैले त निर्देशात्मक शिक्षा कहिल्यै प्रभावकारी हुँदैन । अब त दाइ र तपाईं सबै मान्नुहुन्छ ? ‘ए हो त र’छ त ! ती कत्तिको त !’ भन्नु हुन्छ ?

अब दोस्रो खण्ड व्यवहार हेरौँ । अब हामी फेरि पृष्ठभूमिमा उल्लेख गरिएको रेडिट (वयस्कहरूको वेबसाइट) र जोवन चल्ने पानी नचल्ने ठाउँमा जाऊँ ।

हामीले राष्ट्रपति रामवरण यादवलाई देश बचाउने नाउँमा संविधान उल्लङ्घन गरेका कदमहरूलाई दण्डित गर्नुको सट्टा रक्षकको पदवी दियौँ । मिल्दै नमिल्ने कुरा । हामी कहिलेकाहीँ कुनै संवेदना अथवा भावनात्मक उत्तेजनाका आधारमा पनि नमिल्ने कुरालाई वैध बनाउने अभ्यासमा लागेका हुन्छौँ ।

अहिलेसम्मका कुनै पनि आन्दोलन यस्ता छैनन् जसको निष्पक्ष र स्वतन्त्र ढंगले मूल्याङ्कन गर्न सकियोस् ! माओवादीले टाउको काट्न मिल्ने, सेनाले दमन गर्न नमिल्ने ! गिरिजाले हवाईजहाज अपहरण गर्न हुने, माओवादीले बैंक लुट्न नहुने ! अब यसो भनौँ हेर्न मिल्ने, देख्न नमिल्ने, खान मिल्ने, निल्न नमिल्ने, छाम्न मिल्ने, छुन नमिल्ने !

अब जङ्गबहादुरले सुरेन्द्रलाई, मोहन समशेरले त्रिभुवनलाई, कांग्रेसले गिरिजालाई, नेकपाले आजका सबै नेतालाई भावनात्मक उन्मुक्ति दिएर वैधता प्रदान गरेजस्तो नगरी नयाँ सोच र ठोस कार्ययोजना कार्यान्वयन गर्न जरुरी छ ।

जसरी भने पनि भ्रष्टाचार गर्न मिल्ने, भन्न र लेख्न नमिल्ने ! वयस्कहरूले रेडिट हेर्न मिल्छ, त्यहाँ भएका कुरा गर्न मिल्दैन ! हाम्रो समाजमा पैसा र पैसाको शान देखाउन मिल्छ, कुनै आपत्ति हुँदैन तर त्यसको स्रोत चाहिँ देखाउन मिल्दैन । हाम्रो समाज यही हो ।

अझ एक कदम अगाडि बढेर भनौँ, हो ! त्यसले कमाएको जस्तै गरेर तैँले पनि पैसा कमाउँदा पो हुन्छ त ! भनेर आफ्नालाई स्रोत नखुल्ने आम्दानीतिर उत्साहित गर्नु हाम्रो व्यवहार हो । यो व्यवहारले हिजोदेखि नै भावनात्मक वैधता नदिएर स्रोतमाथि शंका गरेको भए व्यवस्था परिवर्तन गरेर अपराधबाट उन्मुक्ति खोज्ने जमात रहने थिएन ।

भ्रष्टाचार गर्ने वा चोरी गर्ने व्यक्तिले स्रोत प्रमाणित गर्न नसक्ने हुँदा कानूनले उन्मुक्ति दिँदा पनि बस्ने समाज नहुने अवस्था सृजना हुन्थ्यो । अहिले उल्टो छ । हिजो टाउको काट्दै हिँड्दा हुने, आज नहुने ! यो व्यवहार भ्रष्टाचारको स्रोत हो ।

कोरोनाको क्वारेन्टिन बस्न आफैँ आउने, प्रेरित गरेर पठाउनु पर्ने र बलजफ्ती लगार्नु पर्ने गरेर तीन किसिमका समूह भएजस्तै अहिले सरकारले भ्रष्टाचारको पाठ्यक्रम तर्जुमा गरेर भइसकेको भ्रष्टाचारमा स्वयम् भ्रष्टाचार घोषणा गरेर आउने, सूचनामूलक र चेतनामूलक प्रेरणाबाट भ्रष्टाचार स्वीकार गरेर आउने र लघारेर घोक्रेठ्याक लगाउँदै ल्याउनु पर्ने गरी तीन चरणका दीर्घकालीन अवधारणा ल्याउन सके कस्तो हुन्थ्यो होला !

अब जङ्गबहादुरले सुरेन्द्रलाई, मोहन समशेरले त्रिभुवनलाई, कांग्रेसले गिरिजालाई, नेकपाले आजका सबै नेतालाई भावनात्मक उन्मुक्ति दिएर वैधता प्रदान गरेजस्तो नगरी नयाँ सोच र ठोस कार्ययोजना कार्यान्वयन गर्न जरुरी छ ।

(अस्ट्रेलियाबाट)

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  ८ : ३४ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार