नेपाली खेलकुदमा लकडाउनको प्रभाव | Khabarhub Khabarhub

नेपाली खेलकुदमा लकडाउनको प्रभाव

खेलाडीको प्रदर्शन खस्किने चिन्ता


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि नेपाल लकडाउन भएको तीन साता भएको छ । अर्को करिब दुई साता थपिएको छ । अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले नागरिकसँग आह्वान गरेको छ । सबैसरह खेल गतिविधि पनि ठप्प छ ।

युरोप तथा अमेरिकका ठूला क्लब र खेल संस्थाहरूले कोरोना भाइरसका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै खेलाडी र कर्मचारीको तलबसमेत कटौति गर्ने निर्णय गरेका छन् ।

नेपालको खेल क्षेत्रमा कोरोना भाइरसबाट उत्पन्न परिस्थितिको कस्तो प्रभाव पर्ला ?

नेपाली खेलकुद क्षेत्रले बजेट व्यवस्थापन कसरी गर्न सक्ला ? खेलका कुन कुन कुरामा बढी असर पर्ला ? खेलाडीहरूमा आर्थिक, सामाजिक र मनोवैज्ञानिकरूपमा कस्तो असर गर्ला ?

प्रस्तुत छ, यस्तै जिज्ञासाहरूको सेरोफेरोमा खेलअधिकारी र खेलाडी प्रतिनिधि विचार ।

रमेश कुमार सिलवाल
सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् (राखेप)

खेलकुद क्षेत्रमा कोरोना भाइरसको असरलाई दुई कोणबाट हेर्नुपर्छ । पहिलो, विश्वव्यापीरूपमा हेर्दा खेल क्षेत्रमा धेरै घाटा व्यहोर्नु परेको छ । लिग प्रतियोगिताहरूदेखि ओलम्पिकसम्म सरेका छन् । खेल व्यावसायिकतामा अगाडि रहेका देशमा बढी असर परेको छ ।

दोस्रो, नेपालजस्तो देशमा यसले युरोप-अमेरिकामा जस्तो असर गरेको छैन । युरोप-अमेरिकातिर खेलाडीहरूको तबल कटौति गर्ने कुरा पनि उठेको छ । अर्थतन्त्रमा असर गर्ने वित्तिकै प्रायोजनमा पनि असर पर्छ ।

नेपालको कुा गर्दा, दक्षिण एसियाली खेलकुद (साग) पछाडिको ‘प्राइम कन्डिसन’ खेलकुद क्षेत्र थियो । विभिन्न प्रतियोगिताहरू भइरहेका थिए ।

फुटबलका मात्रै ५० हाराहारी प्रतियोगिताहरू थिए । फागुनमा केही प्रतियोगिता सम्पन्न भए पनि बाँकीमा असर पुग्यो । क्रिकेटमा पनि एभरेष्ट प्रिमियर लिग (ईपीएल) लगायतका प्रतियोगिता रोकिए । भलिबलका धेरै प्रतियोगिताहरू हुन सकेनन् ।

युरोप-अमेरिका जस्तो नभए पनि हामीलाई ‘फिजिकल्ली र मेन्टल्ली’ समस्या पारेको छ । खेलाडीहरू घरमा आफ्नै तरिकारले अभ्यास गरिरहेका छन् ।

त्यसले पुग्छ भन्ने होइन । एकपटक भारी बिसाएपछि फेरि उठाएर हिँड्न गाह्रो हुन्छ कि भन्ने हो । हामी सामान्यरूपमा फर्किन केही समय लाग्छ ।

अहिले केही समय रोकिए पनि खेलका भौतिक पूर्वाधार निर्माणमा यसको दीर्घकालीन असर हुँदैन । अहिले बनिरहेका ९७ वटा र ८४ वटा भर्खर सुरु हुन लागेका प्रोजेक्ट थिए । त्यसमा केही असर गरेको छ । सरकारले ठूला राष्ट्रिय गौरवका आयोजना सुरु गर्ने भनेको छ । यसो भए समस्या हुँदैन ।

यो बीचको समयमा काम हुन सकेन । यतिबेला घर पुगिसकेका मजदुरलाई फर्काउन केही समय लाग्छ । हामीले पहिलेदेखि भन्दै आएका पनि छौँ, मान्छेको जीवनभन्दा महत्वपूर्ण अरू कुरा हुँदैन । शारीरिक र मानसिकरूपमा फिट राख्ने कुरा दोस्रो हो ।

केशवकुमार बिष्ट
पूर्वसदस्य सचिव, राखेप

कोरोना भाइरसले नेपालमा हरेक क्षेत्रमा पर्छ । नेपाली खेलकुदमा पनि यसले असर गर्छ । नियमित अभ्यासमा रहनुपर्ने र खेलिराख्नुपर्ने खेलाडीको प्रदर्शनमा असर पर्ने भइगयो ।

खेलाडीको प्रदर्शनसँगै उनीहरूमा सामाजिक, मनोवैज्ञानिक असर पनि पर्ने नै भयो । यसको सामना हामीले गर्नै पर्छ । अहिले त सबै जना आफू सुरक्षित भएर बस्नु नै ठूलो कुरा हो । खेलाडीहरूको हकमा घरमै अभ्यास गर्ने हो । ओलम्पिक पनि सरेको छ । घरमा काम सिक्ने पनि यो राम्रो समय हो ।

पूर्वाधार निर्माणमा यो एक डेढ महिनाले धेरै असर पर्दैन । हाम्रो काम गराइमा अरू बेला पनि ढिलासुस्ती नै भइरहेको छ नि ! अहिले काम गर्न सकिएन भने कोरोना भाइरसले बन्द भयो भन्ने एउटा बहाना हुनसक्छ । अवस्था सामान्य भएपछि ओभर टाइम गरेरपनि काम गर्न सकिन्छ ।

खेलकुदमा यसअघि पनि बजेट फ्रिज हुने गरेको छ । अझै पनि समय छ । पूर्वाधारमा समस्या छैन । नवौँ राष्ट्रिय खेलकुद फागुनमा हुने भनिएको छ । त्यहाँ ठूला प्रोजेक्ट बाँकी छैनन् । साना केही स्टेडियम बनाउने हो । बाँकी समयमा तयार गर्न सकिन्छ । यो (लकडाउन) वैशाखभन्दा उता जाँदैन जस्तो मलाई लाग्छ । उता गयो भने चाहिँ सोच्नु पर्ने हुनसक्छ ।

अहिले पनि खेलकुदमा काम भइरहेको छ । काम गर्ने इच्छाशक्ति हुनुपर्छ । कोरोनालाई बहाना बनायो भने समस्या हुने हो । अहिले पनि काम त भइरहेको होला ! कम्प्युटरमा एक्लैले गर्ने काम पनि धेरै हुन्छ राखेपमा । आत्तिनु पर्ने अवस्था छैन ।

कर्मा छिरिङ शेर्पा
अध्यक्ष, अखिल नेपाल फुटबल संघ (एन्फा)

नेपालमा कोरोना भाइरसले सबै क्षेत्रमा असर पारेको छ । फूटबलका नियमित कार्यक्रम असर परेको छ । शहीद स्मारक ‘बी’ डिभिजन लिग बीचैमा स्थगित भयो । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को बन्द प्रशिक्षण स्थगित भयो ।

सि डिभिजनलाई प्रभावित बनाइसक्यो । राष्ट्रिय लिग पनि स्थगित भयो । अहिले हुने तय भएका धेरै नकआउट प्रतियोगिता स्थगित भए । ग्रासरूट कार्यक्रम स्थगित भएको छ ।

यसरी सबै बन्द हुँदा ठूलो आर्थिक क्षति भएको छ । अर्थिक कुरामा पनि समस्या परेको छ । एएफसीदेखि फिफासम्म सबै प्रभावित छन् ।

अहिलेसम्म दशरथ रंगशालामा प्रतियोगिता गर्न सकेका छैनौँ । यसअघि रंगशाला नहुँदा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिएन । रंगशाला बन्यो, तैपनि पनि सबै गतिविधि बन्द गरेर बस्नु परेको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तर्गत संयुक्त छनोटको चाइनिज ताइपेई र अष्ट्रेलियासँगको खेल स्थगित हुँदा समस्या भयो ।

अहिलेका लागि सबै सुरक्षित भएर घरमा बस्नुबाहेक केही गर्न सकिँदैन । राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकसँग नियमित कुराकानी भइरहेको छ ।

दीपक श्रेष्ठ
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कराते प्रशिक्षक

लामो समय लकडाउन कुरा खेलाडीको प्रदर्शनमा असर पर्छ । जति लकडाउन बढ्दै गएको छ त्यति नै खेलाडीमा मानसिकरूपमा पनि असर गरेको हो कि भन्ने लागेको छ ।

म खेलाडीहरूसँग नियमित कुराकानीमा छु । केही दिन त परिवारसँग बस्न पाइयो भनेर खुसी पनि थिए । लामो समय भएपछि मासिक असर गर्न थालेको छ ।

यस्तो बेलामा खेलाडीले हरेक दिनको आफ्नो तालिका बनाउनुपर्छ । बिहान कति बजे उठ्नेदेखि सुत्नेसम्म दैनिक कामको तालिका तयार पार्नुपर्छ । खेल अभ्यास र अन्य कामको तालिका बनाएर आफूलाई व्यस्त र सक्रिय राख्नुपर्छ ।

म चाहिँ खेलाडीहरूलाई पनि खेलाडीको जीवनीमा आधारित फिल्म हेर्नुहोस् भन्छु । भाग मिल्का भाग, पंगा, एमएस धोनी, मेरी कोम आदि थुप्रै फिल्म खेलाडीका लागि मोटिभेसनल खालमा छन् ।

हलिउड फिल्महरू पनि छन् । आफूलाई मन पर्ने र प्रेरणा मिल्ने खालका फिल्म हेर्दा राम्रो हुन्छ । मेडिटेसन गर्न सके पनि आफूलाई शान्त पार्न सकिन्छ ।

ज्ञानेन्द्र मल्ल
राष्ट्रिय क्रिकेट टीम कप्तान

लामो समय खेलबाट टाढा रहँदा पक्कै पनि असर गर्छ । वर्षभरि खेल्दा खेलाडी एक लयमा हुन्छ । एउटै फम्र्याटमा हिँडिरहेको हुन्छ । यसरी लामो समय बाहिर रहेर मैदानमा उत्रिँदा त फेरि नयाँ सुरु गरेको जस्तो हुन्छ । फिटनेस किट र व्याट-बल नसमातेर बस्दा असर त परिहाल्छ ।

ब्रेक लागेपछि पुरानो लयमा आउन त केही समय लागिहाल्छ ।

अहिलेको समयमा खेलाडीहरू र अरूले पनि आफूलाई कुनै काममा व्यस्त राख्दा राम्रो हुन्छ । भर्चुअल कुरामा भन्दा पनि घरमै केही काम गरेर समय बिताउन सके नयाँ कुरा सिक्न पनि सकिन्छ ।

क्रिकेटरको हकमा आफ्नो खेलको विश्लेषण गर्ने समय पनि हो यो । यसअघिको आफ्नो खेल हेर्दा त्यसमा देखिएको कमजोरी सुधार्न सजिलो हुन्छ । आफ्ना समकालीनको खेल हेरे पनि हुन्छ । उसले कसरी खेल्छ र आफूले कसरी राम्रो गर्न सकिन्छ भन्नेमा ध्यान दिँदा व्यस्त पनि भइन्छ । ब्याट-बलमा नखेल्दा समस्या त आउँछ तर फिजिकल्ली व्यस्त रहनुपर्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ८ : ४९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०