चिकित्सककै परामर्शमा प्रधानमन्त्री ओली भेटघाट र कन्फरेन्समा | Khabarhub Khabarhub

चिकित्सककै परामर्शमा प्रधानमन्त्री ओली भेटघाट र कन्फरेन्समा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मिर्गौला प्रत्यारोपण पछि औषधिको डोजहरु बढी भएकोले उहाँलाई संक्रमणको डर रहन्छ । अहिले भिडभाडमा जान हामी सल्लाह दिदैनौं । प्रधानमन्त्रीज्यूले सचिवालयबाटै आफ्नो कामहरु भने गर्न सक्नुहुन्छ । खास गरेर रुघाखोकी लागेका र अन्य संक्रमण भएका मानिससँग जोगिनुपर्ने अवस्था हुन्छ । उहाँले ६ महिना वर्ष दिनपछि मात्र साधारण मान्छेले जसरी जीवन बिताउन सक्नुहुन्छ ।’

यो भनाइ प्रधानमन्त्री ओलीका निजी चिकित्सक डाक्टर दिव्या सिंह शाहको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको एक सातापछि डा दिव्याले प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरेपछि पनि केही समय संक्रमणको जोखिम रहने बताएकी थिइन् । फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली

प्रत्यारोपणको १० दिनपछि फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भए ।

डिस्चार्ज गरेकै दिन प्रत्यारोपणमा संलग्न चिकित्सक प्राध्यापक डाक्टर उत्तमकुमार शर्माले पनि प्रधानमन्त्री ओलीको नयाँ मिर्गौलाले काम गर्न थालेको भए पनि संक्रमणको जोखिम हुनसक्ने बताएका थिए ।

‘औषधिहरु खाइरहनुभएको छ, शरीर कमजोर छ, किटाणुहरुको संक्रमणबाट जोगिनका लागि बालुवाटारमा हाइजिनिक तरिकाको कोठा बनाइएको छ,’ प्राडा शर्माले भने, ‘कम्तिमा पनि तीन महिना त उहाँलाई धेरै एक्स्पोज भएर काम गर्दा संक्रमणको खतरा रहन सक्छ ।’

चिकित्सकहरुले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आराम गर्न तथा भेटघाट र छलफलमा सहभागी नहुन सुझाए पनि प्रधानमन्त्री ओली भने सरकारी निवास बालुवाटार फर्किएदेखि नै भेटघाटमा लागे ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सार्वजनिक गरेका तस्वीरहरुमा बालुवाटार पुग्नेहरुले मास्क प्रयोग गरेको देखिन्छ । मिर्गौला प्रत्यारोपण गर्दाको घाउ पूर्ण रुपमा ठिक नभएको र ‘हाइ डोज’ को औषधिका कारण पनि संक्रमणको जोखिम रहेको चिकित्सकले भनिरहँदा प्रधानमन्त्री ओली आइतबार दिउँसो सार्कको भिडियो कन्फ्रेन्समा सहभागी हुन सिंहदरबार पुगे ।

प्रत्यारोपणको घाउसमेत निको नहुँदै कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री ओलीले चिकित्सकहरुले दिएको सुझाव नमानेको टिप्पणी पनि भयो । प्रधानमन्त्री ओलीलाई अहिले आरामको जरुरत रहेको धेरैको मत छ ।

के प्रधानमन्त्री ओली चिकित्सकको स्वास्थ्य सल्लाह नमानेरै कन्फ्रेन्समा सहभागी भएका हुन् त ? उनका निजी चिकित्सक दिव्या सिंह शाहले चिकित्सकको सल्लाह अनुरुप नै सहभागी भएको बताइन् ।

‘मैले पहिला पनि भनेको थिए, सतर्कता अपनाएर उहाँले आफ्नो महत्वपूर्ण कामहरु गर्न सक्नुहुन्छ । हिजोको कन्फ्रेन्स हरेक किसिमबाट महत्वपूर्ण भएको हुँदा उहाँ सिंहदरबार जानुभएको हो,’ डा शाहले भनिन्, ‘हामीसँग सल्लाह गरेर त्यहाँ स्वास्थ्य सुरक्षाको व्यवस्थापन गरेर नै उहाँलाई सिंहदरबार पठाइएको हो ।’

मिर्गौला प्रत्यारोपण गर्दाको घाउँ निको नभइसकेकाले हिड्न साहरा चाहिने भए पनि बोल्नलाई कुनै समस्या नहुने डा शाहले बताइन् ।

‘उहाँलाई बोल्न कुनै समस्या छैन, प्रधानमन्त्रीलाई मात्र होइन, मिर्गौला प्रत्यारोपण गरेका सबै बिरामीलाई हामी एकसातापछि सकेसम्म संक्रमणबाट जोगिएर सक्रिय रहनुस्, आफ्नो काम गर्नुस् भन्छौं,’ डा शाहले भनिन्, ‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दाको घाउ ठिक नभएकोले हिड्न मात्र साहरा चाहिन्छ, लड्नुभयो भने घाउँमा समस्या हुन सक्छ, बोल्नलाई कुनै समस्या हुँदैन ।’

सार्वजनिक कार्यक्रम तथा भिडभाडमा संक्रमणको जोखिम हुने भए पनि प्रधानमन्त्री निवासकै भेटघाटले भने संक्रमण हुने सम्भावना न्यून रहेको डा शाहले बताइन् ।

‘प्रधानमन्त्रीज्यूको रुममा सरसफाइ बढी गरिएको छ, उहाँको कोठामा धेरै जनालाई आउन–जान दिइएको छैन । उहाँलाई भिडभाडमा जाँदा संक्रमण हुने हो, बालुवाटारमा हुने भेटघाट त भिडभाड होइन,’ डा शाहले भनिन्, ‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा गर्ने भेटघाटमा दुरी कायम गरेका छौं, अहिले कोरोनाको पनि जोखिम भएकाले हात नमिलाउन, नजिक नबस्न भनेका छौं, सामान्य भेटघाट गफगाफ गर्न मिल्छ ।’
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर पवन चालिसेले पनि सतर्कता अपनाएर सामान्य भेटघाट गर्दा धेरै जोखिम नहुने बताए ।

‘मिर्गौला प्रत्यारोपण गरेको एक साता निकै क्रिटिकल हुन्छ, त्यसैले हामीले १० दिनसम्म अस्पतालमै राखेका थियौं,’ डा चालिसेले खबरहबसँग भने, ‘सधैँ आइसीयुमा राखेर त हुँदैन, मिर्गौला प्रत्यारोपणपछि सबै बिरामीलाई विस्तारै उनीहरुको दैनिकीमा फर्काउने नै हो तर एकैपटक हुँदैन । प्रधानमन्त्रीज्यू डिस्चार्ज हुने बित्तिकै उहाँको सक्रियाता बढ्छ भनेर नै हामीले डिस्चार्ज नै केही दिन ढिला गरेका थियौ । भेट्दा दुरीमा रहनुपर्छ । बोल्न हिड्नै नसक्ने भए त अस्पतालले डिस्चार्ज नै गर्दैनथ्यो ।’

डा चालिसेले प्रधानमन्त्रीले भेटघाटलाई नियमितता दिन भने अझै केही समय पर्खिदा उपयुक्त हुने बताए ।

‘रेगुलर त उहाँलाई भेटघाटमा व्यस्त बनाउनु हुँदैन,’ डा चालिसेले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था र जोखिमबारे हेरेर नै उहाँका चिकित्सकले भेटघाट गर्न दिने वा नदिने सल्लाह गर्नुहुन्छ, जोखिम भयो भने त चिकित्सकहरुले नै भेट्न दिनुहुँदैन ।’

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ५ : ३० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न