हाम्रो प्राथमिकता प्रधानमन्त्रीको पूर्ण स्वास्थ्यलाभ | Khabarhub Khabarhub

हाम्रो प्राथमिकता प्रधानमन्त्रीको पूर्ण स्वास्थ्यलाभ



दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते सोमबार अस्पताल भर्ना हुँदा प्रधानमन्त्री केपी शर्मा ओली १५ दिनमा मन्त्रिपरिषद बैठक सञ्चालन गर्छु भन्दै चिकित्सहरुसँग मुस्कुराए । चिकित्सकहरुले दह्रो आत्मबल भएका प्रधानमन्त्री भनेर तारिफ गरे ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबैलाई चासो हुने नै भयो । उनको अवस्था कस्तो छ, बालुवाटार कहिले फर्किन्छन् भन्ने जिज्ञासामा प्रत्यारोपणमा संलग्न चिकित्सकहरु उत्साहित थिए । चासोको अर्को मुख्य पक्ष थियो– प्रधानमन्त्री कहिलेसम्ममा काममा सक्रिय होलान् ।

प्रधानमन्त्री ओली अस्पतालमै रहँदा निजी चिकित्सक दिव्या सिंह शाहले पूर्ण सक्रिय हुन ६ महिनासम्म लाग्ने बताइन् । उनका अनुसार प्रधानमन्त्री ओलीले करिब एक महिनादेखि निवासबाटै काम गर्न सक्नेछन् ।

चिकित्सकहरु उनलाई अझै केही दिन अस्पतालमै राखेर स्वास्थ्य अवस्थाको निगरानी गर्न र आराम गराउन चाहन्थे । बालुवाटार फर्केपछि भेटघाट र काम बढ्न सक्ने र यसले प्रधानमन्त्रीलाई धपेडी हुनसक्ने चिकित्सकहरुको शंका थियो । नभन्दै भोलिपल्टै उनलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेटे । यसपछि प्रधानमन्त्रीले सल्लाहकार र निकटका मन्त्रीहरुलाई भेटे ।

चिकित्सकहरुको अर्को भय हो संक्रमण । यसै पनि मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुमा संक्रमणको जोखिम धेरै हुन्छ । तत्कालीन नेकपा एमालेको नवौँ महाधिवेशनको समयमा उनलाई संक्रमण भएको थियो । त्यसपछि पनि फाटफुट संक्रमण भएको हो ।

संक्रमणको जोखिम हुने भएकैले प्रधानमन्त्री निवासमा सुरक्षित वातावरण तयार गरेरमात्रै डिस्चार्ज गर्ने चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्रीले चाँडो डिस्चार्ज हुन चाहेपछि निवास सुरक्षित भएको पक्का गरेर उनलाई शल्यक्रियाको दशौँ दिनमा पठाइएको थियो ।

प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यकक्षबाट सार्क राष्ट्राध्यक्षको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै ।

पन्ध्र दिनमा मन्त्रिपरिषद बैठक चलाउँछु भनेका प्रधानमन्त्री ओली शल्यक्रियाको बाह्रौँ दिनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेताहरुको भिडियो कन्फरेन्समा उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दायाँ–बायाँ राखेर सहभागी भए ।

प्रधानमन्त्रीले उनीहरुसँग नजिकबाट कुरा गरे । पछाडिपट्टि स्वास्थ्य मन्त्री र सल्लाहकारहरु लस्करमा थिए ।

प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समा सहभागी सदस्य राष्ट्रका नेताहरुको कुरा सुने । टेलिभिजनमा उनको अनुहार मलिन देखिन्थ्यो ।

अनौठो के भयो भने ओली आफ्नो पालोमा बोल्दै गर्दा बीचैमा मुख्य सल्लाहकार विष्णु रिमालले रोक्न खोजेको दृश्य देखियो । प्रधानमन्त्री ओली केही अलमलिएजस्ता देखिए । उनले आफ्नो मन्तव्य रोकिएकोमा ‘किन’ भनेर सोधेको जस्तो देखिन्छ । प्रधानमन्त्रीको मन्तव्य पूरा हुन नपाई रोकिएको जस्तो दृश्य देखिन्छ ।

सबैभन्दा छोटो मन्तव्य उनकै थियो ।

प्रधानमन्त्री ओलीको स्वरमा पनि मलिनता झल्किन्थ्यो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार त्यो सामान्य अवस्था हो । प्रधानमन्त्रीलाई कुनै कठिनाइ परेर रोकिएको होइन ।

मिर्गौला प्रत्यारोपणजस्तो जटिल शल्यक्रियाको १५ दिन पनि नपुग्दै प्रधानमन्त्रीको यति सक्रियता स्वास्थ्य लाभको दृष्टिले उचित होइन भनेर जसले पनि भन्न सक्छ ।

भिडियो कन्फरेन्समा सहभागी हुन प्रधानमन्त्री ओली सिंहदरबार पुगे । प्रधानमन्त्री निवास संक्रमणका दृष्टिले जोखिममुक्त भएको पक्का गरेर मात्रै डिस्चार्ज दिएका चिकित्सकहरुले लगत्तै दुई दिनपछि बाक्लो सार्वजनिक आवत–जावत हुने सिंहदरबार प्रधानमन्त्रीका लागि सुरक्षित रहेको पक्का गरे कि गरेनन् भन्ने प्रश्न स्वाभाविक हुन्छ ।

प्रधानमन्त्री ओलीले बालुवाटार–सिंहदरबार आवत–जावतबाहेक भिडियो कन्फरेन्सका लागि करिब डेढ घण्टा एउटै कुर्सीमा बिताए । मिर्गौला प्रत्यारोपणजस्तो जटिल शल्यक्रियाको १५ दिन पनि नपुग्दै प्रधानमन्त्रीको यति सक्रियता स्वास्थ्य लाभको दृष्टिले उचित होइन भनेर जसले पनि भन्न सक्छ ।

प्रधानमन्त्री ओलीको आत्मबल अनुपम, अतुलनीय र प्रेरणादायी छ । दह्रो आत्मबल र दृढ इच्छाशक्तिकै कारण झण्डै १३ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका ओली सुविधाजनक एकल बहुमतका साथ मुलुकको कार्यकारी प्रमुख छन् ।

दह्रो आत्मबलले प्रधानमन्त्री ओलीलाई चाँडो सक्रियताका लागि अवश्य मद्दत गर्ने छ तर सम्भावित संक्रमणको जोखिम रोक्न सक्दैन ।

भिडियो कन्फरेन्समा प्रधानमन्त्रीको प्रतिनिधित्व उपप्रधानमन्त्री वा अर्को वरिष्ठ मन्त्रीबाट पनि हुनसक्थ्यो । चार वर्षदेखि करिब निष्क्रय रहेको सार्क सक्रिय हुनसक्ने अवसर ठानिएको भिडियो कन्फरेन्समा अध्यक्ष राष्ट्र नेपालका सरकार प्रमुख आफैँ सहभागी हुनु निश्चय नै सकारात्मक हो तर नेपालीका लागि भरखरै जटिल शल्यक्रिया गराएका प्रधानमन्त्रीको स्वास्थ्यलाभ प्राथमिकता हो । भिडियो कन्फरेन्समा त प्रधानमन्त्रीको प्रतिनिधित्व पनि हुन सक्थ्यो ।

भिडियो कन्फरेन्समा सहभागिता महत्वपूर्ण अवसर अवश्य हो । अझ महत्वपूर्ण त अध्यक्ष राष्ट्रका कार्यकारी प्रमुखको कूटनीतिक पहल नै हुनेछ ।

प्रधानमन्त्री ओलीले पर्याप्त आराम गरून् । सम्भावित सबै प्रकारको संक्रमणको जोखिमबाट सुरक्षित रहून् र पूर्ण स्वास्थ्यलाभका साथ काममा सक्रिय होऊन् । त्यतिन्जेल निवासबाट काम चलाऊन् ।

हाम्रो चाहना यति हो ।

प्रधानमन्त्री अब ठीक भइसके, काममा फर्किसके भन्ने सन्देश दिनु पनि राजनीतिक दृष्टिले महत्वपूर्ण होला । तर, थोरै सचेत व्यक्ति मिगौैला प्रत्यारोपण गराएको ६९ वर्षे एउटा व्यक्तिलाई कति आराम आवश्यक पर्छ भन्ने विवेक राख्न सक्छ ।

प्रधानमन्त्री ओली स्वयम्ले पनि यति ख्याल राखे हुन्थ्यो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  २ : ०६ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द