भारतीय सेनाप्रमुखको नेपाल भ्रमणको तरङ्ग « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

भारतीय सेनाप्रमुखको नेपाल भ्रमणको तरङ्ग



काठमाडौं – दक्षिणी छिमेकी भारतका स्थलसेना प्रमुखलाई नेपाली सेनाको ‘मानार्थ प्रधान सेनापति’ पद्वीले सम्मानित गर्ने काम दशकौँ पुरानो परम्पराको निरन्तरता हो । नेपालका प्रधान सेनापति पनि यसैगरी भारतीय स्थलसेनाको मानार्थ सेनापति पद्वीले सम्मानित हुने गरेका छन् ।

परम्पराको निरन्तरतामात्रै भए पनि यस पटक भारतीय स्थलसेना प्रमुख एमएम नरवणेको नेपाल आग्रमन र मानार्थ सेनापति पद्वी अलिक बढी चासोको विषय बन्यो । परम्पराको यो पछिल्लो कडी विगत ८ महिनादेखि चिसिएको नेपाल–भारतको सम्बन्धको पृष्ठभूमिमा बढी चासोको विषय भएको हो ।

यो परम्पराप्रति विरोधको झिनो स्वर सुनिए पनि सेनापति नरवणेको नेपाल आगमन दुई देशबीच चिसिएको सम्बन्ध सहज बनाउन सहयोगी हुन सक्ने अपेक्षा नै बढी देखिएको छ । भारतका उच्च पदाधिकारीहरूको नेपाल भ्रमण हुनु र यसले निरन्तरता पाउनु खुसीको कुरा हो ।

यसले हाम्रो दुई पक्षीय सम्बन्ध बलियो बनाउन नै मद्दत गर्छ ।

कोरोना महामारीले उत्पन्न गरेका अनगन्ती समस्याहरूको चपेटामा नेपाल पनि परेको छ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक पनि विगत एक वर्षदेखि एकदरले अग्रगतिमा छ । सत्ताधारी दलभित्रको कलहका कारणले दुई तिहाई बहुमतका बाबजुद पनि कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले कतिपय विधेयकहरू फिर्ता लिनु पर्‍यो ।

दलभित्रको अन्तरकलहबाट प्रधानमन्त्री केपी शर्मा ओली यति बढी दुःखी र विचलित भए कि उनले एकपछि अर्को विवादास्पद निर्णय लिने काम पनि गरे । दल फुटाउन सजिलो हुने अध्यादेश एउटा उदाहरण हो । लगत्तै सत्ताधारी दलकै नेताको विरोधका कारणले फिर्ता लिनुप¥यो ।

कतिपय विवादास्पद निर्णयले उनलाई क्षणिक लाभ पुर्‍याएको भए पनि दीर्घकालीनरूपमा राष्ट्रहितमा सावित नहुने निश्चित नै छ । नेकपामा अहिले यस्तै कुराहरूको रडाको मच्चिएको छ ।

ओली सरकारले दक्षिण छिमेकी भारतसँगको सम्बन्धलाई निकै हलुकारूपमा लिने काम ग¥यो । पछिल्लो घटनाक्रममा भारतसितको खराब सम्बन्ध भारतका लागिभन्दा हाम्रा लागि बढी हानिकारक हुन्छ भन्ने कुराको अनुभूति गर्न नेपाल सरकारलाई पनि बढी समय लागेन ।

नेपालजस्तो प्रिय र अभिन्न छिमेकी राष्ट्रसित सुमधुर सम्बन्ध हुनु भारतको पनि हितमा हुन्छ भन्ने थाहा पाउन भारतलाई बढी समय लागेन ।

नेपाल र भारतबीचको सुमधुर सम्बन्ध दुवै दुई देशको हितमा हुन्छ । सदियौँदेखिको सम्बन्धले यो प्रमाणित गरिसकेको छ । भारतका सेना प्रमुख नरवणेको सफल नेपाल भ्रमणले दुई पक्षीय सम्बन्धलाई सकारात्मक र सुधारात्मक दिशामा अघि बढाउन मद्दत गर्नेछ ।

जुन देशका शासक र राजनीतिक दलसित देशको आर्थिक विकास र समृद्धिको निमित प्रष्ट दृष्टिकोण हुँदैन, ठोस नीति र कार्यक्रम कार्यान्वयन गर्ने मनसाय हुँदैन, त्यस्ता देशहरूको परराष्ट्र सम्बन्ध पनि प्रभावकारी हुँदैन ।

परराष्ट्र मामिलामा अति उत्साह र निराशा दुवै स्थिति जोखिमपूर्ण हुने गर्छ । शंकाको भरमा मित्रराष्ट्रसितको सम्बन्ध बिगार्नु बुद्धिमानी हुँदैन ।

कुनै एउटा राजनीतिक दलको सम्बन्ध विश्वका जुनसुकै देशको राजनीतिक दलसित हुन सक्छ । व्यक्तिगतरूपमा पनि बलियो सम्बन्ध हुन सक्छ तर निजी अथवा दलीय चाहनाको भरमा मात्रै परराष्ट्र नीति निर्धारण सञ्चालन हुन सक्दैन ।

देशको हितलाई सर्वोच्च प्राथमिकता राखेर नै परराष्ट्र सम्बन्ध सञ्चालन हुनुपर्छ । विश्वका जति पनि सम्पन्न र शक्तिशाली राष्ट्रहरू छन् तिनको परराष्ट्र सम्बन्ध व्यक्तिगत अथवा दलगत आधारमा निर्धारण भएको छैन । जुन देशका शासक र राजनीतिक दलसित देशको आर्थिक विकास र समृद्धिको निमित प्रष्ट दृष्टिकोण हुँदैन, ठोस नीति र कार्यक्रम कार्यान्वयन गर्ने मनसाय हुँदैन, त्यस्ता देशहरूको परराष्ट्र सम्बन्ध पनि प्रभावकारी हुँदैन ।

नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध कायम भएको सात दशकभन्दा लामो समय बितिसेकेको छ तर यस लामो अवधि हामीले हुनसक्ने जति उपलव्धिमूलक बनाउन सकेनौँ । यस अवधिमा संसारका धेरै देश विकसित भइसके तर विश्वमा कहिल्यै कसैको दासत्व नभोगेको देश नेपाल आज पनि पिछडिएको अवस्थामै किन छ ?

यसको जवाफ अहिलेसम्मका शासकहरूले दिन सक्नु पर्छ ।

अरू माथि दोषारोपण गर्ने अनि आफ्नो कमीकमजोरी र असफलता ढाकछोप गर्ने प्रवृति अन्त्य नहुन्जेलसम्म हाम्रो देशले आर्थिक प्रगति गर्न सक्दैन । नेपालमा राजनीतिक परिर्वतन त भयो तर शासक र नीतिनिर्माताहरूको मानसिकतामा परिर्वतन भएन । यसैको परिणाम हो देश आजसम्म अल्पविकसितकै लहरमा छ । उडन्ते राजनीतिक नाराका पछाडि लाग्ने प्रवृत्तिको अन्त्य पनि त्यतिकै आवश्यक छ ।

भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब पनि भएन र धेरै राम्रो पनि कहिल्यै भएन । नेपालका राजनीतिक दलहरूमा आफ्नो स्वार्थका लागि भारतलाई रिझाउने र सत्तामा गएपछि त्यही भारतलाई खलनायकको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति छ । यही प्रवृत्तिले जनमानसमा पनि भारतको बारेमा नकारात्मक धारणा बढी छ ।

समय समयमा नेपालमा भारत विरोधी जनमत निकै बलियो ढङ्गले सिर्जना हुने गर्छ । यसो हुुनुको मुख्य कारण देशका राजनीतिज्ञहरूको दोहोरो चरित्र पनि हो । नयाँ दिल्लीमा गएर एउटा कुरा गर्ने र काठमाडौँ आएर अर्को कुरा गर्ने प्रवृत्ति नेपालका धेरै नेताहरूमा छ । यसले नै नेपालको बढी अहित गरेको छ ।

एक वर्षयता नेपाल—भारत सम्बन्ध चिसिएको अवस्थामा रहे पनि जनस्तरको सम्बन्धमा धेरै कटुता छैन । छिमेकी फेर्न सकिँदैन । नेपाल र भारतको सम्बन्ध राजनीतिकमात्रै होइन, प्रकृतिको देन हो । दुई देशबीचको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध राज्यसत्ताहरूले मात्रै बनाएको होइन । राज्यसत्ताले बनाएका सीमित सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सङ्कुचित गर्न सक्दैन ।

कुनै एउटा छिमेकको पक्षमा खुलेर उभिने र अर्कोको विरोधमात्रै गर्ने मानसिकताले लाभ हासिल हुँदैन । भारतसँग पनि नेपालप्रति सन्तुलित दृष्टि हुनुपर्छ ।

निरन्तरको सम्पर्क, सहकार्य, सम्वाद, र सद्भावबाट नै सम्बन्ध बलियो हुन्छ । व्यङग्य, दोषारोपण र बेला न कुबेलाका दाबीजिकिर र टिप्पणीले कटुता बढाउनेमात्रै हो । भारतले पनि नेपालसँगको सम्बन्धमा यी पक्षहरूलाई ध्यानमा राख्न जरुरी छ । जति नै निकट छिमेकी र विस्तारित सम्बन्ध भए पनि देशको सीमानाको विषय संवेदनशील हुन्छ । यस्ता विषयष्मा सत्ताका पदाधिकारीको टिप्पणी परिपक्व हुनुपर्छ ।

नेपाल र भारतबीचको खुला सीमाना र खुला आवतजावत दुवै देशका लागि अवसर हो । खुला सीमा दुवै देशको हितमा व्यस्थित गर्नुपर्छ । लाखौं नेपालीहरू कामका लागि भारत जान्छन् । चाडपर्वमा स्वदेश फर्किन्छन् । कोरोना संक्रमणको त्रासले फर्केका हजारौँ नेपालीहरू फेरि भारत जान थालेका छन् । भारतीयहरू पनि नेपालमा श्रम र पेसाव्यवसाय गर्छन् ।

भारत र चीनजस्ता विश्वका दुई ठूला अर्थतन्त्रका बीच अवस्थित नेपालले कुशल ढङ्गले दुवै देशबाट लाभ हासिल गर्न सक्छ । यसो गर्न दूरदर्शी कूटनीतिक कौशल आवश्यक पर्छ । कुनै एउटा छिमेकको पक्षमा खुलेर उभिने र अर्कोको विरोधमात्रै गर्ने मानसिकताले लाभ हासिल हुँदैन । भारतसँग पनि नेपालप्रति सन्तुलित दृष्टि हुनुपर्छ ।

एक वर्षदेखि दुई देशबीच उत्पन्न कटुता न्युनीकरण गर्दै सम्बन्ध प्रगाढ बनाउन भारतीय सेना प्रमुख नरवणेको भ्रमण कोशेढुङ्गा सावित हुन सक्छ । विगतमा पनि सैन्य सम्बन्धले सकारात्मक परिस्थिति निर्माण गरेको अनुभव छ । नेपाल र भारतका बीचमा परम्परागत सम्बन्धले झन् बढी सकारात्मक परिणाम दिने गरेको छ ।


भर्खर

0