महामारीकाबीच तिहारको रौनक, छैन व्यापार | Khabarhub Khabarhub

महामारीकाबीच तिहारको रौनक, छैन व्यापार

९० करोडले घट्यो भाइमसलाको आयात


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीकाबीच तिहारको रौनक छाएको छ ।

दशैँको तुलनामा गाउँघरमा चहलपहल देखिएको छ । दिनमा रंगचंगी फूल र रातमा अनेकौँ बत्तीले गाउँशहर झिलिमिली भएका छन् ।

कोरोनाको त्रासले सुनसान हुने अपेक्षाविपरित बजारमा तिहारको सरसामान किन्नेको भीडभाड लगभग विगतझैँ छ ।

सोमबार तिहारको अन्तिम दिन भएकालेसमेत बजारमा मानिसको चहलपहल ब्यापक देखिएको छ ।

काठमाडौँका असन, न्युरोड लगायतका क्षेत्रको भीड व्यवस्थापनमा मात्रै ५५ भन्दा बढी ट्राफिक प्रहरी खटाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिएका छन् । बजारको अस्तव्यस्त भीडले ब्यापार चम्किएको सहझैँ आकलन गर्न सकिन्छ । तर, व्यापारीहरू भने अझै पनि विगतजस्तो व्यापार नभएको बताउँछन् ।

गोंगबुमा पसल गर्दै आएका झापाका दया अधिकारीका अनुसार दशैँको तुलनामा ब्यापार भए पनि उत्साहित हुने अवस्था छैन ।

‘दशैँको अवस्था हेर्दा पसल बन्द गरौँझैँ लागेको थियो, तर तिहारले निराश हुन दिएन  उत्साहित हुने अवस्था पनि छैन,’ अधिकारीले भने, ‘भीड देखिए पनि अघिल्लो तिहारको तुलनामा ५० प्रतिशत ब्यापार कम छ ।’

भाइटीकामा दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका लगाएर दिइने उपहारमध्येको एक ‘भाइमसला’को ब्यापार मात्र हैन आयात नै घटेको छ ।

काजु, बदाम, पिस्ता, किसमिस, ओखर लगायतका सामग्रीसहितको भाइमसला अघिल्लो वर्षको तुलनामा ९० करोड रूपैयाँ कमको आयात भएको भन्सार विभागले जनाएको छ ।

नेपालका केही स्थानमा उत्पादन हुने बदाम र ओखरसहितका सामग्री पनि आयातमै भर पर्ने अवस्था छ । भाइमसला (नरिवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदामर ओखर)यो वर्ष करिव डेढ अर्बको आयात भएको छ ।

नरिवल, काजु, पिस्ता, किसमिस, छोकडा, बदाम, ओखर लगायतका सामान १ अर्ब ३८ करोड ५० लाख रुपैयाँको आयात भएको विभागको तथ्यांकले देखाउँछ ।

गत वर्ष तिनै सामग्री १ अर्ब ९९ करोड २७ लाख रुपैयाँको आयात भएको थियो ।

नरिवल

नरिवल हरेक वर्ष भारतबाट आयात हुने गर्छ । गत वर्ष तिहारका लागि २६ करोड ८४ लाख ३३ हजार रुपैयाँको नरीवल आयात भएको थियो ।

यस वर्षको तिहारका लागि २६ करोड ५६ लाख ९८ हजार रुपैयाँको नरिवल आयात भएको विभागले जनाएको छ ।

काजु

काजु भारत र भियतनामबाट आयात हुने गर्दछ । तिहारमा धेरै खपत हुने काजुको आयात यस वर्ष झनै बढेको छ ।

यो वर्ष ३७ करोड ७६ लाख ७९ हजार रुपैयाँको काजु आयात भएको छ । गत वर्षको तिहारमा ३४ करोड ८२ लाख ८० हजार रुपैयाँ बराबरको काजु आयात भएको थियो ।

बदाम

गत वर्ष तिहारमा २१ करोड १८ लाख ३१ हजार रुपैयाँको आयात भएको बदाम यसपाली १६ करोड ७८ लाख १३ हजार रुपैयाँको मात्र आयात भएको छ।

गत वर्षको तुलनामा बदामको आयात घटेको देखिन्छ । बदामको आयात अमेरिका र भारतबाट हुने गरेको विभागले जनाएको छ ।

ओखर

चीनबाट आयात हुने गरेको ओखर यस वर्ष घटेको छ ।

विभागकाअनुसार यो तिहारका लागि १६ करोड ७८ लाख १३ हजार रुपैयाँको ओखर आयत भएको छ । गत वर्ष २२ करोड ३१ लाख रुपैयाँको ओखर आयात भएको थियो ।

पेस्ता

पेस्ता गत वर्षको तिहारका लागि ११ लाख ९९ हजार रुपैयाँको आयात भएको थियो । यो वर्ष भने पेस्ताको आयात घटेको छ । तिहारका लागि ६८ हजार रुपैयाँको पेस्ता आयात भएको छ ।

छोकडा

छोकडाको आयात पनि यो वर्ष घटेको छ । गत वर्षको तिहारमा ७७ करोड ४९ लाख रुपैयाँको आयात भएकोमा यो वर्ष ३३ करोड ११ लाख रुपैयाँको छोकडा आयात भएको छ ।

िसमि

किसमिसको आयात पनि गत वर्षको तुलनामा घटेको छ । गत वर्ष ६६ करोड १४ लाख २५ हजार रुपैयाँको आयात भएको थियो ।

यो तिहारका लागि भारतबाट ५१ करोड ३७ लाख ८५ हजार रुपैयाँको किसमीस आयात भएको भन्सार विभागले जनाएको छ ।

सरकारले फलफूल तथा कृषिमा आफैँ आत्मनिर्भर हुने वर्षेनी घोषणा गरे पनि तद्अनुरूपका योजना कार्यान्वयन नहुँदा स्वदेशी उत्पादनले थेग्ने अवस्था छैन ।

पौने ३ अर्बको फलफूल आयात

दशैं, तिहार र छठका लागि मात्रै पौने ३ अर्बको फलफूल आयात भएको छ ।

नेपालमा चाडबाड सुरू भएपछि साउनदेखि असोज-कात्तिकसम्म नै ठूलो परिमाणमा फलफूल आयात हुँदै आएको नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

यस वर्ष चाडपर्वलाई केन्द्रित गर्दै ब्यापारीहरूले साउनदेखि असोजसम्म मात्रै पौने ३ अर्ब मुल्यको फलफुल (केरा, स्याउ, अनार र आँप) आयात गरेको भन्सार विभागले जनाएको छ ।

फूलमा आत्मनिर्भर उन्मुख

तिहारका लागि चाहिने फूलमा भने नेपाल आत्मनिर्भर उन्मुख हुँदै गएको छ ।

यद्यपि यस वर्ष भने कोभिड-१९ का कारण बजारमा फूलको माग कम भएको छ । तर, माग नै भए पनि यो वर्ष पर्याप्त मात्रमा फूल उपलब्ध गराउन सकिने अवस्था रहेको फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान)ले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक २० हजार माला खपत हुने नेपाली बजारमा तिहारमा २५ लाख मालाको माग हुने गरेको फ्यानका अध्यक्ष कुमार कसजुले खबरहबलाई बताए । तर, यो वर्ष कोरोनाका कारणले १५ लाख हाराहारी मात्रै मालाको माग रहेको कसजुले जनाए ।

‘१२  लाख सयपत्री, ३ लाख मखमली र गोदावरी गरी १५ लाख मालाको माग छ’ उनले भने, ‘यती माला स्वदेशभित्रै उत्पादन छन् आयात गर्नुपर्दैन ।’

१८ करोडको झिलिमिली बत्ती

तिहारमा सबैभन्दा बढी विद्युतीय बत्तीको प्रयोग हुन थालेको छ । यद्यपि यसपटक कोरोना कहरले झिलिमिली बत्तीको आयातमा पनि कमी आएको छ ।

यसवर्षका लागि झण्डै १५ देखि १८ करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

गत वर्ष तिहारकै लागि ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ७ : ४८ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका