ब्रुनाईका लाहुरेबालाई गाउँको माटो प्यारो « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

ब्रुनाईका लाहुरेबालाई गाउँको माटो प्यारो



बडहरभञ्ज्याङ (तनहुँ)- तनहुँ भीमादका निर्मलकुमार थापाका दुई छोरा अमेरिकामा छन् । परिवारका अन्य सदस्य काठमाडौँमा बस्छन् ।

निर्मल इच्छाअनुसार कहिले अमेरिका त कहिले काठमाडौँ बसेर जीवन बिताउन सक्छन् । उनलाई शहरी जीवनको साटो आफ्नै गाउँठाउँको माटो प्यारो लाग्छ । त्यसैले त भीमाद नगरपालिका-२, बडहरभञ्ज्याङका ७४ वर्षीय निर्मल दिनरात कृषि कर्ममा छन् । आफ्नो गाउँठाउँमा विकास देख्न चाहन्छन् ।

निर्मल सिङ्गापुरे लाहुरे थिए । तीन वर्ष सिङ्गापुरमा बसेका उनले १२ वर्ष ब्रुनाईमा बिताए । लाहुरे जीवनपछि २४ वर्ष अमेरिका बसे तर उनलाई शहरको बिलासी जीवनप्रति अलिकति पनि मोह छैन ।

उनी भन्छन्, ‘दुई भाइ छोरा अमेरिकामा छन्, अरू परिवार सबै काठमाडौँमा बस्छन्, अरूलाई शहरबजारमा बस्न पुग्दा मलाई पनि नपुग्ने के नै थियो र !’

बैँसालु उमेर बम, बारुद र गोलासँग खेलेका निर्मलले जीवनको उत्तरार्धमा गाउँ बिर्सन सकेनन् । उनी झण्डै १० वर्षअघि गाउँ फर्किएर कृषि कर्ममा लागे ।

अहिले उनको २९ रोपनी पाखोबारीमा हरियाली छाएको छ । उनले व्यावसायिकरूपमा आम्दानी हुने रुखबिरुवा लगाएका छन् । लोकल कुखुरा र टर्कीको व्यावसायिक पालन गरेका छन् । अहिले बाख्रापालनका लागि खोर बनाउन थालेका छन् ।

उनले दुई वर्षअघि ५ सय बोट पाउलोनिया रोपेका थिए तर त्यति राम्रो फस्टाउन सकेन । अहिले सोना कागती र म्याकाडोनिया कटुस रोपेका छन् । लामो समय विदेश बसेका निर्मलले जीवनको उत्तरार्धमा गाउँ फर्किएर गाउँलेलाई पनि गुन लगाएका छन् ।

सपिकोटा गुफाको उत्खनन् र प्रचारप्रसार

निर्मल गाउँ फर्किएर पाखाबारीको माटो खोर्सने काममा मात्रै छैनन् । अहिले सत्यवती गुफाको उत्खनन् र प्रचारप्रसारमा तल्लीन छन् । उनैको सक्रियतामा प्रथम सपिकोट गुफा महोत्सव भयो । आफ्नो सक्रियतामा सपिकोट गुफाका लागि ३८ लाख रुपैयाँ सरकारी अनुदान दिलाए ।

गुफा संरक्षणका लागि एउटा ट्रष्ट गठन भएको छ । ट्रष्टले काम अघि बढाउन नसकेकोमा र जनतालाई हिसाब नदेखाएकोमा भने उनको चित्त दुखेको छ ।

पर्यटन गाउँ बनाउने सपना

कृषि कर्म गरेर आफ्नो ठाउँमा ग्रामीण पर्यटन विकास गर्ने निर्मलको योजना छ । उनी लमजुङको घलेगाउँबाट प्रभावित छन् । घलेगाउँमा झैँ होम स्टे विकास गर्ने उनको सोचाइ छ । भीमाद नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले साथ दिएमा होम स्टे बनाउन र पर्यटन गाउँका रूपमा विकास गर्न सकिने उनको धारणा छ ।

निर्मल भन्छन्, ‘लमजुङको घलेगाउँमा जम्मा २९ घर छन्, तिनै घरका मान्छेले पराहर साल कोदोको रोटी, ढिडो र सिस्नु बेचेर २ करोड २८ लाख कमाए ।’ आफ्नो गाउँमा पनि घलेगाउँको जस्तै उन्नति हुन सक्ने उनको विश्वास छ ।

कोतबाराहीमा पानीको लिफ्टिङ गर्ने योजनासहित उनले भीमाद नगरपालिकाका मेयर मेखबहादुर थापासँग केही समयअघि सल्लाह गरे । कोरोना भाइरस सन्त्रासले गर्दा उनका सपनाहरू अलपत्र परेका छन् । उनले आफूले अघि सारेको योजनामा मेयर सकारात्मक रहेको बताए ।

कृषिकर्ममा सफलता

रोजगारी छैन भनेर कामविहीन बसेका युवाहरूलाई देखाउन आफू कृषि पेशामा लागेको निर्मलको भनाइ छ । स्वदेशमा काम पाइएन, सफल भइएन भनेर विदेश जाने युवाहरूलाई कृषिकर्ममा लाग्न उनको सुझाब छ ।

उनले भने, ‘रोजगारी नपाएर विदेश गएका युवाहरूले मलाई हेरेर काम गर्ने हो भने सबै पाखापखेरामा हरियाली छाउँछ । सबै युवाहरू रोजगार हुन्छन् र आफ्नै देशमा राम्रो आर्जन गर्न सक्छन् ।’

कहिलेकाहीँ दशा लागेरमात्रै असफल भइएला, नत्र सफल नै भइन्छ भन्ने उनको विश्वास छ । भन्छन्, ‘आँटेर गरेको काममा शत प्रतिशत सफलता मिल्छ ।’


भर्खर

0