अनि याक चिच्यायो : तिमी मेरो छोरा ? ओः माइ गड ! « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

अनि याक चिच्यायो : तिमी मेरो छोरा ? ओः माइ गड !



कहिलेकाहीँ आफूले सानो ठानेको कुराले पनि अनायासै ध्यान तान्दोरहेछ । केही वर्षअघिको कुरा हो, आत्मकथाको एउटा पुस्तक बजारमा आयो । चर्चा पनि भयो तर उसले त्यसलाई सामान्य ठान्यो । पठनको सूचीमा राखेन ।

ऊ एक दिन सानो कामले राजधानी काठमाडौंको भूगोलपार्कस्थित नेपाल बैंकको कार्यालय गएको थियो । केही बेर कुर्नुपर्ने भएपछि बाहिर निस्क्यो । धेरैलाई थाहा छ, जुद्ध शालिकको पछाडि, नेपाल बैंक छिर्ने बाटोमा एउटा पुस्तक पसल हुन्छ, भुइँमै ।

करिब एक घण्टा समय कटाउन ऊ त्यही पसलमा गयो । जुन आत्मकथाको पुस्तकलाई उसले सामान्य ठानेको थियो, त्यही उठाएर केही बेर पढ्यो । पुस्तकले उसको धारणाविपरीत अनायासै ध्यान तान्यो, निकै गहिरो गरी । उसले त्यहीँ त्यो एउटा र आत्मकथासँग मिल्दोजुल्दो गरी लेखिएको अर्को एउटा जीवनी किन्यो । जीवनी चाहिँ पठनको सूचीमा परेको थियो किनकि त्यो राज्यका एक उच्च पदाधिकारीका बारे थियो ।

उसले पठनको सूचीमा नराखेको आत्मकथा एघार भाषामा छापिएर नेपाली भाषा चाहिँ बाह्रौँ रहेछ । ऊ अनौठोसँग चित खायो । उसले दोहोर्‍याएर पढ्यो र अरू धेरैलाई सिफारिस गर्‍यो ।

नपत्याउँदो खोलाले बगाउँन बेर लाउँदैन भनेर बूढापाकाले त्यसै किन भन्थे र !

हालै फेरि त्यस्तै मिल्दोजुज्दो एउटा संयोग पर्न गयो ।

एक दिन गफको सिलसिलामा अनायासै एउटा पुस्तक हात पर्‍यो । उपन्यास, नाम : सेतो याक । पुस्तक देख्नासाथ उसले डायमनशमशेरको ‘सेतो बाघ’ सम्झ्यो ।

ऊ ओछ्यानमा पल्टेरै सेतो याकबाट दुर्गम रसुवाका खैँदी, टिमुरे र स्याफ्रु बेँसी पुग्यो । खैँदी र टिमुरेका तामाङ बस्ती घुम्यो । रोटेपिङ जसरी घुमिरहने त्यहाँको जनजीवनका सीमित आयामहरू विस्तृतमा नियाल्यो ।

खोइ ! किन हो, अनायासै उसको मन खिन्न भयो ! लेखकको नाम पनि पहिलोपटक सुनेको ।

सेतो याक साता–दश दिन टेलिभिजनको टेबलमा यसै लडिरह्यो । किताब प्राप्तिमा पढ्ने वचनबद्धता जनाएको थियो, जो पूरा गर्नै थियो । उसले सुत्नुअघि निद्राको औषधिको रूपमा प्रयोग गर्ने विचार गर्‍यो । पहिलो रात औषधिको काम गर्‍यो । दोस्रो रात गरेन । अर्को रात पनि गरेन । यसै सकियो ।

ऊ फेरि एक पटक चित खायो ।

ऊ ओछ्यानमा पल्टेरै सेतो याकबाट दुर्गम रसुवाका खैँदी, टिमुरे र स्याफ्रु बेँसी पुग्यो । खैँदी र टिमुरेका तामाङ बस्ती घुम्यो । रोटेपिङ जसरी घुमिरहने त्यहाँको जनजीवनका सीमित आयामहरू विस्तृतमा नियाल्यो ।

पाँच वर्षअघिको विनाशकारी भुइँचालोपछिको खैँदी र टिमुरे देख्यो । त्यहाँका प्रतिनिधिपात्रहरूका भुक्तमानहरू थाहा पायो । साँच्चै ! त्यो भुइँचालोले रसुवाका भिराला पाहाडहरू चाल्नोले झैँ चालेको थियो । भुइँचालोले ल्याएको पहिरोमा पुरिएका कति ज्यानहरू त्यहीँ विलीन भए !

भुइँचालोले ल्याएको मात्रै होइन, पहिरो त भिराला पाहाडहरूको नियति नै हो । कम्प्युटरको की बोर्डमा यी अक्षर लेख्न औँला चलाइरहँदा सिन्धुपाल्चोकको जुगलमा एउटै पहिरोमा ३८ जना पुरिएको खबर छ्याप्छ्याप्ति छ । खबरकर्मी भएकाले बिहानैदेखि उसको चासो छ ।

उसले ओछ्यानमा पल्टेरै भेटेका रसुवालीहरू धेरै जना पहिरोमै पुरिए । निमाकी आमालाई ओखती गराउन हिँडेका थिए निमाका बा । दुवैजना फर्केनन्, पहिरोमै हराए । दोर्जेकी आमा पनि पहिरोमै पुरिई ।

हिमाल हेर्न स्वीट्जरल्याण्डबाट आएको एउटा कुइरेको प्रेममा परेर गर्भवती भएकी निमालाई पेमाले बाँच्न प्रेरित गरेकी थिई । आफ्नो नाम पिटर हो भन्थ्यो त्यो कुइरे ।

कुइरेबाट जन्माएको छोरो फुर्वालाई सात वर्षको उमेरमा छाडेर मरी निमा । घाँसको भारी बोकेर भिरको बाटो उकालो हिँडिरहेकी निमा लडेकी थिई, सधैँलाई बिदा भई । फुर्वालाई पेमाले हुर्काएकी थिई । फुर्वाकी कर्मआमा पेमा पनि भुइँचालोको पहिरोमा हराई ।

फुर्वाको साथी नाम्चेका श्रीमती र छोरी पहिरोमै पुरिए । पहिरोले धेरै गाउँलेलाई आफ्नो पुर्ख्यौली थातथलोबाट बसाइँ हिँडायो । फुर्वा पनि खैँदी छाडेर टिमुरेतिर बसाइँ सर्‍यो ।

त्यो दुर्गमको दुःख पहिरोमात्रै कहाँ हो र !

बिरामी पर्दा डाक्टरको ओखतीमुलो पाउनु त आकाशको तारा नै थियो । भर थियो त त्यही धामी र झाँक्रीको ।

एउटा स्वास्थ्य चौकीमात्रै भएको भए जण्डिसले सात दिन थलिएर किन मथ्र्यो दोर्जे ! तेन्जीकी बुहारी सुत्केरी हुन नसकेर किन गर्भसँगै मर्थी होला र ! ओखतीकै लागि निमाका बाआमा किन पहिरोको गर्तमा विलीन हुन्थे होला र ! आफ्नै अनुभवका भरमा पेमा किन गाउँभरिकी सुँडेनी बन्नु पथ्र्यो होला र !

फुर्वाको मित मामा थियो दोर्जे । कुइरेले दोजिया बनाएर छाडेकी निमालाई दोर्जेले बचाएको थियो । दोर्जेले नभेटेको भए कुइरेको उपहारसँगै भोटेकोशीमा विलीन हुन्थी निमा ।

निमालाई आफ्नै बहिनी ठानेर दोर्जेले गाउँमा आश्रय दियो । गाउँलेका लागि निमाको गर्भ बेठेगानको थियो । यस्तो सन्तान जन्माउने साहस मित दाजु दोर्जेले नै जगाइदिएको थियो ।

एउटा स्वास्थ्य चौकीमात्रै भएको भए जण्डिसले सात दिन थलिएर किन मथ्र्यो दोर्जे ! तेन्जीकी बुहारी सुत्केरी हुन नसकेर किन गर्भसँगै मर्थी होला र ! ओखतीकै लागि निमाका बाआमा किन पहिरोको गर्तमा विलीन हुन्थे होला र ! आफ्नै अनुभवका भरमा पेमा किन गाउँभरिकी सुँडेनी बन्नु पथ्र्यो होला र !

लाङटाङको पदयात्रामा भरिया पेमा र दुर्बिनले अघाउँजी हिमाल हेर्ने कुइरेको मायाप्रीति बैँसको भेलमात्रै होइन । दिल्लीको होटलमा दोर्जे र सङ्गिताको मायाप्रीतिको संयोग ख्यालख्यालको कसरी मानूँ !

सौतेलो बाबुको यातना छल्न आमाले नभगाएकी भए दोर्जे र रिक्सावालाकी छोरी सङ्गिता दिल्लीको धुपमा भेटिने नै थिएनन् ।

दाजुभाउजुले हेला नगरेका भए कल्कलाउँदी निमा कुइरेको भरिया हुने नै थिइन ।

प्रकृतिले मायाप्रीति पनि त्यसै किन दिएको हुन्थ्यो ! कसै न कसैसँग त बस्नलाई नै हो नि ! नत्र त्यो कुइरेको मायाजालमा किन पर्थी निमा । दोर्जेले सङ्गितालाई किन हुरुक्कै गरेर मन पराउँथ्यो !

कथा पढ्दा पढ्दै उसमा पनि अनायासै प्रीतिको कोपिला लागेर फक्रिन नपाएका उहिलेका केही धुमिल स्मरणहरू ताजा भएर आए ।

पर्यटकको भरिया हुनु त नियति नै भयो । कमाइ हुन्थ्यो, कुइरेसँग सङ्गत पनि । आफ्नो दाजु पाल्देनले भाउजुको कुरा सुनेर आफू अपहेलित भएपछि दाजुको घर छाडेर निमा पर्यटकको भरिया भएकी थिई ।

संयोग र वियोगका शृङ्खलाहरू सुरुदेखि अन्त्यसम्मै एकनासले भेटिरह्यो उसले । अरुणा लामाले गाएको ‘भेटिनु छुटिनु यो त के हो र ! ससारको रीत हो’ गीत जस्तो ।

निमा र कुइरेको माया बस्यो । मायामात्रै बसेन । निमासँग कुइरेको मायाको चिनो पनि बस्यो । कुइरेले अनायासै छाडेर हिँडे पनि विधिको विधानले छाडेन । फुर्वा जन्म्यो ।

फुर्वा सात वर्षको हुँदा निमा भिरबाट लडेर मरी । फुर्वा गाउँलेको मायामा हुक्र्यो । गाउँमै फुर्वाले डोल्मासँग घरजम गर्‍यो ।

दिल्लीमा दोजिया सङ्गिता अस्पतालमै मरी ।

डिकीले रिठ्ठेलाई छाडी । नाम्चेका पनि श्रमिती र छोरी पहिरोले पुरेको थियो । डिकी र नाम्चेले बिहे गरे ।

संयोग र वियोगका शृङ्खलाहरू सुरुदेखि अन्त्यसम्मै एकनासले भेटिरह्यो उसले । अरुणा लामाले गाएको ‘भेटिनु छुटिनु यो त के हो र ! संसारको रीत हो’ गीत जस्तो ।

नाम्चेले दिएको बारी निखन्ने सुरले पर्यटकको भरिया हुन हिँडेको फुर्वाको गर्भ लिएर उडी जर्मनेली युवती सिर्ली । डोल्मालाई ढाँटढुँट पारेर फुर्वा सिर्लीसँग काठमाण्डु गयो ।

सौतेलो रिस कति चर्को ! सिर्लीले मायाले पठाइदिएका सबै लुगा भोटेकोशीमा बगाइदिई डोल्माले । छोरो पढाऊ है भनेर दिएको रुपियाँ समेत जोगाउन सकेन निरीह फुर्वाले ।

भट्टी पसल्नी डिकी हाकाहाकी भन्छे– जिउको पनि मुख हुन्छ, त्यसले पनि मिठोमसिनो खोज्छ वेलावेला, भोकै राख्नु हुँदैन, मनलागे जति खानुपर्छ बैँसको वेलामा ।

आहा कति उन्मुक्त !

चार वर्षको प्रेममा प्रेमीले धोका दिएपछि आजीवन अविवाहिता बस्ने निर्णय गरेकी सिर्ली आफ्नो भरिया फुर्वाको गर्भ लिएर जर्मनी उडी । फुर्वाजस्तो सुगठित र सुन्दर युवकबाट ऋतुदान लिएर सन्तान जन्माउनुलाई सिर्लीले अवसर ठानी । अवसर खेर फाल्नु त मुर्ख्याइँ हो । सिर्ली किन त्यति मुर्ख्याइँ गरोस् ।

‘छैनन् मनुवा ! सन्तान जन्माउन बिहे गर्नै पर्ने भए सिर्लीले किन फुर्वासँग ऋतुदान लिन्थी ! सन्तान जन्माउने क्रिया मैले सिर्जना गरेको, बिहेको बन्धन तिमीले सिर्जेको हो मनुवा !’

प्रकृतिलाई सोधौँ त !

‘हे प्रकृति ! बिहे गर्नु र सन्तान जन्माउनु परस्परमा अभिन्न छन् ?’

‘छैनन् मनुवा ! सन्तान जन्माउन बिहे गर्नै पर्ने भए सिर्लीले किन फुर्वासँग ऋतुदान लिन्थी ! सन्तान जन्माउने क्रिया मैले सिर्जना गरेको, बिहेको बन्धन तिमीले सिर्जेको हो मनुवा !’

‘हे प्रकृति ! अनि डिकीले भनेको जिउको मुख नि ?’

‘त्यो पनि मेरै सिर्जना हो मनुवा ! बन्धन अस्वीकार्य छ ।’

त्यसैले होला, रसुवा गढी पार गरेर केरुङ पुग्नेहरू जिउका भोका मुखको लोभमा पर्दा हुन् । अथवा, जिउका भोका मुखको लोभमा केरुङ पुग्दा हुन् ।

काठमाडौंको एउटा स्कूलमा छात्रवृत्तिमा पढाउन छोरो दावालाई पुर्‍याउन हिँडेको फुर्वाले एउटा कुइरे भेट्यो अनायासै । भेटको कुनै सूची थिएन ।

दिउँसो स्वयम्भूमा अनायासै भएको देखादेख बेलुका ठमेलमा अनायासै भेटमा परिणत भयो । धेरै पटक नेपाल आएको त्यो कुइरे र फुर्वाको कुरा हुँदै गयो ।

‘मेरो नाम याक हो । म स्वीट्जरल्याण्डको हुँ । तिम्रो आँखा मेरोजस्तै छ । तिमी स्विसहरूजस्तै छौ फुर्वा !’
‘मेरो आप्पा स्वीस हो ।’
‘अहिले कता छ तिम्रो पिता ?’
‘खोइ कता छ, केही थाहा छैन ।’
‘आमालाई सोधेनौ ?’
‘म सात वर्षको हुँदा मेरी आमा भिरबाट खसेर बित्नुभयो ।’
‘ओ, फुर्वा ! दुःखको कुरा रहेछ तिम्रो, सरी फुर्वा !’

फुर्वा र याकको यो संवादमा ऊ किञ्चित भावुक भयो । उसको सिङ्गै शरीर झननन्न गर्‍यो ।

आमाले फुर्वालाई तेरो आप्पाको नाम पिटर हो भनेकी थिई । फुर्वालाई कत्रो आश ! कतै यो याकले मेरो आप्पा पिटरलाई चिन्छ कि ! तर सोधेन ।

फुर्वाकी आमाले धोका पाएकोमा याक किञ्चित दुःखी भयो ।

रसिलो र सुन्दर रसुवाली युवक फुर्वालाई आफ्नो अन्तिम लाङ्टाङ यात्राको पथ प्रदर्शक बनायो याकले । यही यात्राको सिलसिलाले याक र फुर्वालाई रगतसँग जोड्यो ।

याक त्यही पिटर थियो जसले धेरै वर्षअघिको लाङटाङ यात्रामा आफ्नी भरिया निमासँग प्रकृतिको विधि बमोजिम प्रीति गाँसेर सन्तानको विउ रोपिदिएको थियो ।

र, पिटर त्यही याक थियो जसलाई निमाले पर चर्दै गरेको सेतो याक देखाएर उन्मुक्त प्राकृतिक भावमा ‘तिमी उः त्यो याक जस्तै छौ, तिम्रो नाम सेतो याक भयो’ भनेकी थिई ।

अनि पिटर चिच्यायो– तिमी मेरो छोरा ? ओः माइ गड !

साथीहरूसँग खेल्दै गरेको बेला बाघ आएका दिनदेखि खोजेको आप्पा भेट्यो युवा फुर्वाले ।

निमालाई खोज्न गइस् भने गाउँलेले तँलाई मार्छन् भनिदिएका भरमा खैँदीको भुइँ टेक्न आँट नगरेको वृद्ध पिटरले आफ्नी पे्रमिकासँग जन्माएको छोरो भेट्यो ।

आखिर आफैँले खिचेको निमाको फोटो मुनि फुर्वाको घरमा पिटरले प्राण त्याग गर्‍यो ।

यति कथा पढेपछि सेतो बाघ सम्झेर उसको मनमा उत्पन्न भ्रमको खिन्नता स्वाट्टै हरायो । एकाएक चमक फैलियो ।

केदार पनेरूकृत ‘सेतो याक’ ले निद्राको औषधिको काम नगरेपछि उसलाई एक दशकभन्दा अघिको त्यो आत्मकथा स्मरण भएको हो ।

पढ्दै जाँदा कतै कतै उसले फिल्मी शैलीका कल्पनाहरू नभेटको होइन । फेरि उसले लेखकका कुरा पढ्यो । केदार पनेरू सरकारी जागिरको सिलसिलामा रसुवा पुगेका रहेछन् । त्यही खैँदी र टिमुरेजस्ता ठिङ्ग उभिएका दुःखका पाहाड देखेछन् ।

त्यहाँको प्राकृतिक र सामाजिक परिवेश राम्ररी नियालेपछि त्यसैमा केही काल्पनिकताहरू मिसामास गरेर तयार गरेछन् सेतो याक ।

गद्य कविता पढेको जस्तो लाग्ने लयबद्ध र सरल तरिकाले सुगठित वाक्यहरू पढ्न पाएर उसले कति कुरा सिक्यो भित्रभित्रै । ठान्यो, कति प्रतिभाहरू अदृश्य छन्, अवसर र प्रोत्साहन पाए कति गर्दा हुन् !

उसलाई फिल्मी लागेका थोरै केही कल्पनाहरू पनि अनायासै विलीन भए ।

खड्किने ठाउँ कतै पनि नभएको त होइन तर ज्या है भन्नु परेन । कतै कतै पदसङ्गतिमा असङ्गति फेला परे पनि उसले गनिरहन आवश्यक ठानेन । दुःखका ती अनकण्टार पाहाड एकसरो डुल्न पाएर उसले आफूलाई धन्य ठान्यो । किञ्चित विस्मित पनि भयो ।

गद्य कविता पढेको जस्तो लाग्ने लयबद्ध र सरल तरिकाले सुगठित वाक्यहरू पढ्न पाएर उसले कति कुरा सिक्यो भित्रभित्रै । ठान्यो, कति प्रतिभाहरू अदृश्य छन्, अवसर र प्रोत्साहन पाए कति गर्दा हुन् !

नपत्याएको खोलाले यसपालि पनि बगायो ।

सरकारी कर्मचारीहरू कामको सिलसिलामा देशका दुःखी कुनाकाप्चाहरूमा पुग्छन् । केदार पनेरूले झैँ धेरैले त्यहाँको समाज अक्षरमा उतार्दा हुन् त हाम्रो साहित्यक समाज कति समृद्ध हुँदो हो !

केदार पनेरू डेढ–दुई वर्षमा सरकारी सेवाबाट निवृत्त हुँदैछन् क्यारे ! कतै ठूलो अन्तर्राष्ट्रिय संस्थातिर लोभिने हुन् कि ! अनुभवले खारिएर अर्को सशक्त आख्यान दिने हुन् ! ऊ दोस्रो मार्गमा शान्ति र समृद्धि दुवै एकसाथ देख्दैछ ।

हार्दिक शुभकामना केदार पनेरू सर !


भर्खर

0