तपाईं ध्यान गर्ने सोच्दै हुनुहुन्छ भने… « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

तपाईं ध्यान गर्ने सोच्दै हुनुहुन्छ भने…



धतुरे धुन्धुकारीहरूले धर्मको धज्जी उडाएर व्याख्या गर्दा कन्पारो रन्किनु इत्यादि अस्वाभाविक क्रिया हुन जाँदा धर्मको अधर्म हुँदो रहेछ । धार्मिक कार्यक्रम, धार्मिक व्यक्ति, धार्मिक संस्था इत्यादि कुरा छारस्ट भएर छापामा छापिएको हुन्छ । हुँदाहुँदा धार्मिकभन्दा अपमानित होइन्छ भनेर आफूलाई आध्यात्मिक भन्न रुचाउने जमात फेरि आफ्नै मनको जाँतो घुमाउँदै छन् ।

एउटा कुरा बुझ्न धेरै कुरा बुझ्नुपर्ने हुन्छ । सबैभन्दा पहिले बुझाइ के हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ, अनि कुरो के हो भन्ने अनि बल्ल गएर कुराको चुरो बुझिन्छ । वैदिक संस्कारअनुसार यो प्रक्रियालाई ‘साधना’ शब्दले विभूषित गरिएको छ । साधारणतया साधना माध्यमिक श्रेणीमा अभ्यास गरिन्छ । प्राथमिक अभ्यास ‘श्रवण’ बाट सुरु हुन्छ ।

श्रवण भनेको सुन्नु हो । बुद्ध धर्ममा ‘श्रावक’ को महिमा ठूलो छ । बुद्धधर्म अनुसार श्रावक, अर्हत र प्रत्येक बुद्ध गरेर तीन प्रकारको बुद्धत्व जागरण अर्थात् ‘इन्लाइटेन्मेन्ट’ हुन्छ । जसको बुद्धत्व भगवान बुद्धका कुरा सुन्नेबित्तिकै जागरण हुन्छ उनीहरू श्रावक हुन् । त्यसैले सुन्नु आफैँमा एउटा महत्वपूर्ण क्रिया र प्रक्रिया हो ।

सुन्नलाई सुन्ने अभ्यास गर्नुपर्छ । यो प्राथमिक अभ्यास हो । चर–अचर, जीव–अजीव आआफ्नो स्वाभाविक वर्तमान धर्ममा प्रस्तुत हुनु प्रकृति हो ।

बाल्यकालदेखि नै एउटा कुरो सधैँ खट्किरहन्थ्यो ‘रि’ र ‘ऋ’ मा के चाहिँ फरक होला त भन्ने ! आफ्नै गन्थन र मनगढन्ते अड्कल निक्कै लामो समय चल्यो । केही अवस्था बाहेक बाल्यकालको शिक्षा त्रासमै बित्यो । हाम्रो पम्परागत शिक्षामा प्रश्नको जवाफ लौरो ! प्रश्न सोध्ने हिम्मत उति नहुने ऊ बेलामा । ‘आउँदैन होला के सोध्नु’ भनेर शिक्षकभन्दा आफैँ जान्ने पनि भइटोपलिन्थ्यो ।

शिक्षाको पहिलो अवरोध सिकाइ हो, दोस्रो शिक्षा । अहिले हाम्रो शैक्षिक प्रणाली सिकाइ र शिक्षामा आधारित भएको हुनाले नै शिक्षा यति कठिन र अस्पष्ट भएको हो । सिकाइ के हो त ! तपाईंले जानेको कुरो मलाई सिकाउनु र मैले सिक्नु सिकाइ हो । यो त्रुटिपूर्ण अभ्यास हो । तपाईं तपाईंकै कुरो जान्नुहुन्न अनि मलाई के सिकाउनुहुन्छ !

यो प्रश्न तपाईंतिर र मतिर उत्तिकै तिखो भएर फर्किन्छ । नजानेका मान्छेले सिकाएको कुरो कसरी सिक्ने ? उदाहरणका लागि एउटा सर्वसुलभ दृष्टान्त प्रस्तुत गर्छु । धुमपान–मद्यपान गर्नु हुँदैन भनेर सिकाउने (पढाउने) शिक्षक साँझमा भट्टीमा नर्सिङ्ट्वाक धोकेर रनेरने हुँदै चुरोट उडाउँदै गरेको देख्दा सबैलाई उदेक लाग्ला !

यस्तै उदेक लाग्यो उस बेला मलाई पनि ! आनाकानी गर्दै सोधेँ, ‘सर तपाईंले त दिउँसो कक्षामा जाँडरक्सी र चुरोटबिँडी खानु हुँदैन भन्नुभएको थियो त !’

सर उवाच, ‘ए ! मैले त्यो पढाएको त तिमीहरूलाई पो हो त । मैले भनेजसो गर्ने हो तिमीहरूले, मैले गरेजसो गर्ने होइन ! अनि फेरि गुरुको नक्कल गर्न धेरै कठिन हुन्छ थाहा छ तँलाई ?’

‘थाहा छैन सर ।’

फेरि सर उवाच, ‘तँलाई थाहा छ, संसारको सबै भन्दा ठूलो गुरु को हो ? भगवान् शिव हो । अनि तँलाई थाहा छ ? शिव सधैँ नशामा चूर भएर बसेका हुन्छन्, भाङधतुरो खाएर बस्छन् ।’

मैले पनि सिकेँ हुँला, सरले पनि सिकाउनु भयो होला ! यो सिकाइ हो ।

अर्को कुरो शिक्षा । शिवपुरि बाबाको शिक्षासम्बन्धी कुरो मननयोग्य छ । अल्बर्ट आइन्स्टाइनसँग गणितको कुरो भयो रे ! बाबाले त्यसलाई यसरी त्रुटीपूर्ण प्राविधिक शिक्षा भन्नुभयो रे :

संसार सबै भगवानको विस्तार भएका हुनाले एउटा मात्रै ‘एक’ हुन्छ । दुई वटा अथवा ‘एक जोड एक बराबर दुई’ हुने सम्भावना हुँदैन । अनि अर्को पक्ष उत्तिकै संवेदनशील छ कि यो दुनियाँमा सबै चिज अद्वितीय भएको हुनाले दुई वटा अलग–अलग वस्तुको योग सम्भव हुँदैन ।

सांसारिक प्रयोजनका लागि प्राविधिक हिसाबले गरिने गणना गणित हो । यसैलाई अन्तिम शिक्षा भन्न सकिन्न । यो खोजीको सुरुआत मात्रै हो ।

यति कुरा भन्नुभएछ बाबाले ।

शिक्षा यस प्रकारले अघि बढ्छ । ‘दुई जोड दुई बराबर चार’ हुन्छ । यसमा तलमाथि गर्न मिल्दैन ।

वानेश्वर चोकमा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम हुँदै थियो । मसँग मोटरसाइकल चलाउने लाइसेन्स थिएन तर म सधैँ मोटरसाइकल चलाउँथेँ । क्रान्तिकारीको गीतजस्तै लयमा बनाइएको ‘ट्राफिक नियम पालना गरौँ’ भन्ने गीत गुनगुनाउँदै मोटरसाइकल चलाउँथेँ, ट्राफिक लाइट स्वाट्टै !

मजस्ता अरू धेरै हुँदा हुन् ! अनि अर्को कुरा, ‘दुई जोड दुई बराबर चार’ हिसाबमा भने मेरो केही आउँदो न जाँदो हुँदा पनि पौने चारसम्ममा पनि कुरो मिलाउन सक्दिनँ ! यसै कारणले शिक्षाको दोस्रो अवरोध शिक्षा हो । हामी शिक्षित भयौँ तर ज्ञानी भएनौँ ।

यहाँ कुरो फिलोसोफीले बिगार्छ । धुरन्धर व्याख्याकार ओशोले फिलोसोफीलाई यसरी परिभाषित गरेका छन् :

नजानेको कुरो नजानीकन नै जान्ने प्रक्रिया फिलोसोफी हो ।

सुन्नु कानको धर्म हो । सहमति र असहमतिको कुनै अर्थ छैन । सुनौँमात्र । यो सुन्ने अभ्यास मनन गरौँ । सबै ध्वनि हुन् । यिनमा स्तुति प्रिय लाग्नुपर्ने र गाली अप्रिय लाग्नुपर्ने कुनै कारण छैन । लागि हाले पनि त्यसको कुनै औचित्य छैन ।

यहाँ ओशोले भनेको कुरा नजानीकन जान्नु भनेको अड्कल गर्नु होइन । यो नजानीकनै जान्ने प्रक्रिया हो । अड्कलमा अनभिज्ञताको आभास हुन्छ । हाम्रो द्विविधा प्रष्ट देखिन्छ । नजानी जानेको व्यक्ति पूर्ण ज्ञानीसरह हुन्छ । उसमा र उसका कुरामा कुनै सन्देह गर्ने ठाउँ हुँदैन । कुनै अनुभवविना अनुभवजन्य कुरालाई, तर्कले तर्कलाई तार्किक तवरले प्रमाणित गर्नु नजानीकन जान्नु हो ।

धुले चिनी र धुले नुनको रङ र आकार उस्तै हुँदा कहिले चिनीलाई नुन त कहिले नुनलाई चिनी भनेर तर्कले प्रमाणित गर्न सकिन्छ । अब खतरा यो हुन्छ कि ऊ आफूले नजानी जानेको कुरो सिकाउन अहोरात्र खट्छ । उसलाई घामपानी, भोकप्यास केहीले पनि छेक्दैन । यो नजानीकन जान्ने प्रक्रिया नै शिक्षा हो ।

पहेँला अथवा गेरु वस्त्र लगाएर शास्त्रको व्याख्या गर्नु, भगवानको प्रतिनिधित्व गर्नु, रातो झन्डा बोकेर कार्ल मार्क्सको कम्युनिज्मको वकालत गर्नु इत्यादि नजानीकन जान्ने कुरा हुन् । यिनीहरूसँग भएको कुरा र नभएको कुराका बीचमा खास अन्तर हुँदैन । हेर्दा सबै छ जस्तो, छाम्दा नभेटिए जस्तो ! रङ्गिन छायाँ ! यसैलाई लोकभाकामा गीत बनाएर ‘दुई दिनको राम छायाँ’ भन्दै गाउँदै सुसेल्दै हिँड्ने चलन छ ।

कुरो बुझ्नलाई कुरो बुझ्नुपर्छ । कुरो बुझ्नलाई कुरो सुन्नुपर्छ । सुन्नलाई सुन्ने अभ्यास गर्नुपर्छ । यो प्राथमिक अभ्यास हो । चर–अचर, जीव–अजीव आआफ्नो स्वाभाविक वर्तमान धर्ममा प्रस्तुत हुनु प्रकृति हो । जस्तो जाडो–गर्मी, तातो–चिसो इत्यादि द्वन्द्वधर्मी प्रकृतिको प्राकृतिक परिवर्तनशील क्रिया र प्रक्रिया धर्म हो ।

धर्म अभ्यास हो । धर्मको अभ्यासले मानिसलाई धार्मिक बनाउँछ । धार्मिक हुनु नै सहस्रशास्त्र योग इत्यादि दर्शनले निर्दिष्ट गरेको गन्तव्य हो । धर्मले झिँगो, भुसुनो, मलमूत्र, पवित्र मन्दिर बीच कुनै भेद नगरी सबैलाई उत्तिकै प्रेमले धारण गरेको हुन्छ ।

धर्ममा भेद–विभेद हुँदैन । झिँगामा झिँगाको अनि ढुङ्गामा ढुङ्गाको धर्म हुनु वर्तमान धर्म हो । यो विविधता हो, विभेद होइन ।

पुनः उल्लेख गरौँ, धर्ममा विभेद हुँदैन । जाडोमा जाडो हुनु र गर्मीमा गर्मी हुनु ऋतु अथवा शीतोष्ण धर्म हो । चिसो तपाईं हामीलाई मन पर्नु वा नपर्नुसँग धर्मको कुनै सरोकार हुँदैन । दृष्टिकोण आफैँमा मानस धर्म हो । मानसका मानसिक धर्म हुन्छन् । शंका, सन्तुष्टि, तृप्ति, अतृप्ति, आलस्य, निद्रा, ज्ञान, अज्ञान इत्यादि मानसिक धर्म हुन् ।

बुद्धधर्म अनुसार हाम्रो मानसमा अथवा चित्तमा यस्ता चौरासी धर्म अथवा चैतिसिक हुन्छन् । गजब के छ भने यी कुनै पनि चैतिसिक अथवा धर्म आफैँमा असल अथवा खराब हुँदैनन् । न त यिनीहरूमा कुनै द्वन्द्व अथवा प्रतिस्पर्धा नै हुन्छ ।

मानसमा अर्को धर्म हुन्छ, सङ्कल्प र विकल्पको । मानसभन्दा अलिक पर बुद्धि हुन्छ । बुद्धिको बौद्धिक धर्म हुन्छ ।

विभेद बौद्धिक धर्म अथवा बुद्धिको धर्म हो । बुद्धिले असल–खराब, राम्रो–नराम्रो, योग्य–अयोग्य इत्यादि प्रक्रियाले विभेद गर्छ र त्यसै अनुरूप छनौट पनि गर्छ । यो बुद्धिको धर्म हो । आफैँमा बुद्धि राम्रो अथवा नराम्रो भन्ने हुँदैन ।

अब अहंको कुरो गरौँ । अहं भनेको ‘मेरो अस्तित्व’ वाचक धर्म हो । मान्छेमा मान्छे परिचायक र ढुङ्गामा ढुङ्गो परिचायक अहंको धर्म हुन्छ । जीवमा सूक्ष्म र निर्जीवमा सघन अहं हुन्छ । यो अहंको धर्म हो ।

यसरी, धर्मले सबैलाई धारण गरेर राखेको हुन्छ । मलाई मन पर्नु र मन नपर्नु अर्को विचित्रको धर्म हो । यहाँ सबैभन्दा ठूलो द्वन्द्व र प्रतिस्पर्धाको अवसर उत्पन्न हुन्छ ।

आवाजको धर्म आवाजमात्रै बनोस्, तपाईंहाम्रो योग्यता र प्रतिष्ठाको विषय नबनोस् ! यो दोहोर्‍याइरहने प्रक्रिया निदिध्यासन हो । अब बल्ल ‘साधना’ सुरु हुन्छ ।

भगवान बुद्धजस्तो अनीश्वरवादी (एथेइष्ट) अहिलेसम्म कोही उत्पन्न भएको प्रमाण फेला पर्दैन । चार्वाकको कुरो आउँछ । चार्वाक अनीश्वरवादी नभएर ईश्वरविरोधी मात्रै हुन् ।

अनात्म (अनिश्वर), धर्म नैरात्म्य र पुद्गल नैरात्म्य सबैभन्दा ठूला तीन देशना अर्थात् उपदेश हुन् भगवान बुद्धका । दर्शन अथवा नजानीकन जानेर त धेरैले प्रमाणित गर्छन् तर बुद्धमात्र यस्तो व्यक्ति हुनुहुन्छ जसले भगवानको अथवा ईश्वरको कुनै अस्तित्व छैन भनेर अनुभवले प्रमाणित गर्नुभयो ।

अब रमाइलो यस्तो छ कि बुद्धलाई हामीले भगवान बनायौँ । यो हो हाम्रो आस्तिक धर्म । धर्मको अथवा धारकको पनि केही समयपछि धर्म सकिन्छ, विराट शून्यमा सबै लय हुन्छ भन्नुहुन्छ भगवान बुद्ध । अब मजा यहाँ छ कि यो अनीश्वरता अथवा विराट शून्य अनुभव गर्न धर्म, ईश्वर इत्यादिको अभ्यास, उपासना, साधना इत्यादि आवश्यक पर्छ ।

अब कुरो सुनौँ, सुनौँमात्र । सुन्नु कानको धर्म हो । सहमति र असहमतिको कुनै अर्थ छैन । सुनौँमात्र । यो सुन्ने अभ्यास मनन गरौँ । सबै ध्वनि हुन् । यिनमा स्तुति प्रिय लाग्नुपर्ने र गाली अप्रिय लाग्नुपर्ने कुनै कारण छैन । लागि हाले पनि त्यसको कुनै औचित्य छैन ।

प्रिय–अप्रिय, मोद–विमोद, ग्राह्य–अग्राह्य बुद्धिको धर्म हो । बुद्धि आफ्नो धर्म निर्वाह गरोस् । उसलाई पनि अवरोध नगरौँ । बुद्धिको सल्लाह मानेर अहं रिसाउने, खुसाउने इत्यादि गर्छ भने त्यसमा पनि आपत्ति छैन । यो उसको धर्म हो । त्यसलाई पनि त्यसै गर्न दिऔँ । केही फरक पर्दैन । कुरो सुनौँमात्र । सुनेर मननमात्र गरौँ । आवाज कसरी कानमा पर्छ, कसरी श्रवणयन्त्र झङ्कारित हुन्छ, कहाँ कहाँ पुग्छ, मनन गरौँ । हेरौँ, अवलोकन गरौँ, अनुभव गरौँ ।

राम्रो आओस्, नराम्रो आओस, आओस्, नआओस् कुनै फरक पर्दैन । हेरौँ । र, यो प्रक्रिया दोहोर्‍याइरहौँ । तबसम्म दोहोर्‍याऔँ जबसम्म यिनीहरूको धर्मलाई यिनीहरूकै धर्ममात्र देख्न सकियोस् । आवाजको धर्म आवाजमात्रै बनोस्, तपाईंहाम्रो योग्यता र प्रतिष्ठाको विषय नबनोस् ! यो दोहोर्‍याइरहने प्रक्रिया निदिध्यासन हो । अब बल्ल ‘साधना’ सुरु हुन्छ ।

तपाईं हामीलाई अभ्यास गर्न केहीले पनि छेक्दैन, छेक्नु हुन्न । यो साधनाको प्रारम्भिक चरण हो । धर्मको अभ्यास गरेर साधक धार्मिक हुन्छ । सेतो, पहेँलो, गेरुवा अथवा कुनै रङको पहिरन लगाएर भगवानको प्रवचन गरेर होइन । भेद उत्पन्न गरेर राम्रो ग्राह्य र त्याज्यको अभ्यासले हामीलाई साम्प्रदायिक बनाउँछ, आध्यात्मिक बनाउँछ, दार्शनिक बनाउँछ तर आफैँसँग टाढा पुर्‍याउँछ । हामी आफ्नै अस्तित्व स्वीकार गर्न हिच्किचाउँछौँ ।

राम्रो मैले गर्दा, नराम्रो चाहिँ तैँले अथवा परिस्थितिले भन्ने भेद दृष्टि दर्शनको हो । आफैँले आफ्नो अस्तित्व स्वीकार गर्न राम्रो र नराम्रो दुवैको स्वामित्व ग्रहण गर्न सक्नुपर्छ । राम्रोमात्रै अथवा नराम्रोमात्रैको स्वामित्व ग्रहण नै भेद दृष्टि हो ।

कल्पना गरौँ, आफैँ आफ्नो अस्तित्व स्वीकार गर्न सकिन्न भने अरूले मेरो अस्तित्व स्वीकार गरून् भन्ने तर्क अथवा आकांक्षा कति युक्ति सङ्गत होला !

वस्तु मन पर्नु र नपर्नुले कुनै फरक पर्दैन । अन्तरविरोध ध्यान होइन । ध्यान अभ्यास हो । वस्तुलाई वास्तविक धर्ममा हेर्नु ध्यान हुन्छ ।

बुद्ध धर्मअनुसार कुशलको कुशल धर्म हुन्छ, अकुशलको अकुशल धर्म हुन्छ अनि कुशल–अकुशलको कुशल–अकुशल धर्म हुन्छ । धर्म यति नै हुन्छ । मन कुशल हुन्छ, अकुशल हुन्छ र कुशल–अकुशल हुन्छ ।

जब राम्रो–नराम्रो दुवैको स्वामित्व आफैँले ग्रहण गर्न सकिन्छ तब आफैँले आफूलाई स्वीकार गर्न सकिन्छ । यो स्वीकारोक्ति उत्पन्न भएको व्यक्तिलाई शास्त्र ‘द्विज’ अर्थात पुनः जन्मिएको भन्छ । यहाँसम्म पुग्ने सोपान चाहिँ अभ्यास नै हो । भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ :

असंशयं महाबाहो मनो दुर्निग्रहं चलं ।

अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।।

निश्चय नै मन नियन्त्रण गर्न अत्यन्तै कठिन हुन्छ तर अभ्यास र वैराग्यले मन वशमा आउँछ । शास्त्रको अर्थात भगवानको वाणी व्याख्याले विपरीतार्थी बनाइदिन्छ । भगवान अर्जुनलाई उपदेश गर्नुहुन्छ कि मन अभ्यास र वैराग्यले वशमा आउँछ । सोझो अर्थ यही हो ।

अभ्यास के गर्ने ? अनि कहिलेसम्ममा मन वशमा आउँछ होला त ?

रङ्गिन र रङ्गहीन दुवै भेषधारीहरू ‘भगवानको आराधना गर्ने अभ्यास’ गर्नुपर्छ भन्छन् । मानसिक धर्म बुझ अर्जुन, यो नै तिम्रो अभ्यास हो । वनको बाघलाई वनमै छाड्न के प्रयत्न गर्नु पर्छ र ! भगवान अर्जुनलाई ध्यान योग सिकाउँदै हुनुहुन्छ ।

ध्यानयोग भनेकै ध्यान र योग हो । वस्तु, प्रकृति अथवा धर्मलाई उसकै वास्तविक अवस्थामा बुझ्नु ध्यान हो । यो चित्तको एकाग्रता हो । जब जान्न योग्य वस्तुप्रति चित्तको एकाग्रता हुन्छ तब ध्यान स्वयं लाग्छ ।

वस्तु मन पर्नु र नपर्नुले कुनै फरक पर्दैन । अन्तरविरोध ध्यान होइन । ध्यान अभ्यास हो । वस्तुलाई वास्तविक धर्ममा हेर्नु ध्यान हुन्छ । यसरी ध्यान गर्दा समाधि लाग्छ । यो समाधिपछि असङ्ग ज्ञान उत्पन्न हुन्छ, फिलोसोफी होइन । यो ज्ञान ‘धी’ भनिन्छ ।


भर्खर

0