लकडाउनमा साढे ६ सय महिलाले गरे आत्महत्या, घरेलु हिंसा बढ्दो | Khabarhub Khabarhub

लकडाउनमा साढे ६ सय महिलाले गरे आत्महत्या, घरेलु हिंसा बढ्दो



काठमाडौँ । देश कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण गर्ने प्रयासमा रहेका वेला घरेलु तथा महिला हिंसाका घटना बढेको पाइएको छ ।

लकडाउनको अवधिमा देशभर महिलाको आत्महत्याका घटना बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महिलासम्बन्धी हिंसाका बढेको देखिएको नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीको भनाइ छ ।

लकडाउन भएदेखि ८३औँ दिनसम्ममा ६४८ जना महिलाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी महिलाको आत्महत्याको घटना प्रदेश २ मा भएको देखिएको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ११०, प्रदेश नम्बर २ मा १२१, बाग्मती प्रदेशमा ८८ जना महिलाले आत्महत्या गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा ७६, प्रदेश नम्बर ५ मा ११७, कर्णाली प्रदेशमा ३३, सुदूरपश्चिममा ७२ जना महिलाले आत्महत्या गरेका छन् ।

आत्महत्याको घटना काठमाडौँ उपत्यकाभित्र पनि बढेको छ । उपत्यकाका तीन जिल्लामा लकडाउन अवधिभर ३१ जना महिलाले आत्महत्या गरेको तथ्यांक छ ।

रिपोर्ट प्राप्त भए पनि के कारण ती महिलाले आत्महत्या गरे भन्ने अहिले खुलाउन नमिल्ने प्रवक्ता जोशीले बताए । ‘हामीलाई अंकमात्र प्राप्त हुन्छ,’ जोशीले भने, ‘मुद्दा दर्ता भएपछि अनुसन्धान हुन्छ, अनिमात्र आत्महत्याको कारण थाहा हुन्छ ।’

बढ्दै महिला हिंसाका घटना

प्रहरी प्रवक्ता जोशीले दिएको जानकारी अनुसार लकडाउन अवधिमा देशभरका १ हजार ६८४ महिलालमाथि हिंसाका घटना भएको रिपोर्ट प्राप्त भएको छ ।

जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बहुविवाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, बालयौन दुराचार, अप्राकृतिक मैथुन लगायतका घटना भएका छन् । अनुसार उल्लिखित घटनामध्ये ५२० जना महिलाले उजुरी दर्ता गराएका छन् ।

जोशीका अनुसार लकडाउनको हालसम्मको अवधिमा सबैभन्दा बढी महिला हिंसाका घटना प्रदेश २ मा भएको रिपोर्ट प्राप्त भएको छ । सबैभन्दा कम घटना भएको प्रदेश कर्णाली रहेको छ ।

प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा २५७, प्रदेश २ मा ३०४ र बाग्मती प्रदेशमा २५० वटा महिला हिंसाका घटनाको रिपोर्ट प्राप्त भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा १७१, प्रदेश ५ मा २७६, कर्णाली प्रदेशमा ९१ र सुदूरपश्चिम प्रदेशमा २१६ वटा महिला हिंसाका घटना भएका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुर तीन जिल्लामा लकडाउनको समयमा घरेलु हिंसा तथा महिला हिंसा बढेको देखिन्छ । लकडाउनको ८३औँ दिनसम्ममा उपत्यकाभित्र १२२ वटा घटना भएको रिपोर्ट छ ।

घरबाट निस्किन नपाउँदा झन् बढी घटना

हिंसाका कतिपय सार्वजनिक जानकारीमा नआई सामसुम हुन्छन् । मुख्य गरी गरिबी, अशिक्षा, परम्परावादी सोच र बेरोजगारीका कारण घरेलु हिंसा हुने गरेको महिला अधिकारकर्मीहरू बताउँछन् ।

देश लकडाउनमा हुँदा आइपरेको आर्थिक संकटले पनि महिलामाथि हिंसा बढेको बताउँछिन् सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत । ‘लकडाउन सुरु हुँदा केही दिन परिवारका सदस्यसँग रमाएरै बिताए पनि बिस्तारै घरेलु हिंसा हुन थाल्यो’ उनले ‘हाम्रा भान्साहरूमा महिलामाथि हुने घरेलु हिंसा बढेको छ, घरेलु हिंसा धेरैजसो अशिक्षित समाजमा मौलाएको छ ।’

सामाजिक सञ्जाल तथा इन्टरनेटका कारण पनि हिंसा बढेको बताउँछिन् बस्नेत । भन्छिन्, ‘सामाजिक सञ्जालले एकअर्कामा जसरी नजिक गरायो, त्यसरी नै मानिसहरूले व्यक्तिगत स्पेस प्नि खोज्न थाले र कहीँ जान नपाएपछि घरमा हिंसा बढ्यो ।’

लकडाउनमा बलात्कारका घटना पनि बढेको प्रहरी रिपोर्टमा देखिएको उनले बताइन् । लकडाउनको अवधिमा धेरै महिलाहरू घरबाट बाहिर निस्कन नपाएर उजुरी कम भएको र लकडाउन खुलेपछि घटनाको डरलाग्दो रूपमा देखिने बस्नेतको भनाइ छ ।

लकडाउनमा यसरी गर्नुहोस् उजुरी

राष्ट्रिय महिला आयोगले लकडाउनका वेला हुने महिला हिंसा सम्बन्धी उजुरीका लागि काम गर्दै आएको छ । आयोगले महिलाका समस्या हल गर्ने प्रयास गरेको आयोगका प्रवक्ता धुव्रराज क्षेत्री बताउँछन् ।

आयोगले उजुरीका लागि हटलाइन ११४५ नम्बर चालु राखेको छ । आयोगले लकडाउनमा कानुनी परामर्शका लागि पनि अधिवक्ताको नम्बर समेत उपलब्ध गराएको छ ।

आयोगले आफ्नो वेबसाइटमा मनोसामाजिक परामर्श, आश्रय स्थल र बालबालिका सम्बन्धी विषयमा सोधपुछ गर्न पनि नम्बर उपलब्ध गराएको छ ।

विश्वभर उस्तै

युएन वुमनका अनुसार लकडाउनको अवधिमा घरेलु हिंसाका घटनामा फ्रान्समा ३० प्रतिशत, साइप्रसमा ३० प्रतिशत, अर्जेन्टिनामा २५ प्रतिशत र सिङ्गापुरमा ३३ प्रतिशतले घरेलु वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार क्यानडा, जर्मनी, स्पेन, बेलायत र अमेरिकामा पनि महिलामाथि हिंसाका घटना बढेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ४६ बजे

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका