कोभिड-१९ मा ज्येष्ठ नागरिकको सुरक्षा | Khabarhub Khabarhub

कोभिड-१९ मा ज्येष्ठ नागरिकको सुरक्षा



जुन १५ लाई ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवसका रूपमा विश्वभर मनाइन्छ । संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘लिफ्टिङ अप भ्वाइस’ तय गरेको छ ।

यसलाई नेपाली परिवेशमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ‘ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध आवाज बुलन्द गरौँ’ भन्ने नारा तय गरेको छ । यस वर्ष ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध १५औँ विश्व चेतना दिवस मनाइँदै छ ।

यो एक दिनमा होइन ३६५ दिन नै कसैले पनि कुनै ज्येष्ठ नागरिकप्रति कुनै पनि प्रकारले दुर्व्यवहार नगर्ने र ज्येष्ठ नागरिकको सम्मान गर्ने प्रण गर्न जरुरी छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणले त्रास बढाएको यस अवस्थामा ज्येष्ठ नागरिकको संरक्षणका लागि उपलव्ध सबै विकल्पको उपयोग गरौँ भन्ने आह्वानसहित यस क्षेत्रमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले गरेका कामको जानकारी दिने ध्येयले यो आलेख तय गरेको छु ।

सन् २०१९ डिसेम्बरमा चीनको वुहान प्रान्तबाट देखिएको कोरोना भाइरस हाल विश्वभर महामारीको रूपमा फैलिएको छ । त्यसको असरले नेपाल पनि करिब तीन महिनादेखि मुलुक लकडाउनको अवस्थामा गुज्रिँदै छ ।

कोभिड–१९ साठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र मधुमेह, उच्च रक्तचाप, मुटुका रोगी, क्यान्सर रोगी लगायत विभिन्न दीर्घ रोगबाट पीडित व्यक्तिलाई अझ बढी खतरनाक हुने अध्ययनले पुष्टि गरेको छ ।

यसर्थ, कोभिड–१९ संक्रमणबाट ज्येष्ठ नागरिकलाई जोगाउन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले विभिन्न पहल गर्दै आएको छ । यसमा नेपाल सरकारबाट भएका प्रयास पनि मननीय छन् । महासंघले अतिरिक्त कार्यका लागि सरकारलाई निरन्तर घच्घच्याइरहेको छ ।

महासंघले कोभिड–१९ को समयमा ज्येष्ठ नागरिकले अपनाउनुपर्ने सतर्कताका लागि १० बुँदे सार्वजनिक अपिल जारी गरेको छ । अपिलमा जिम्मेवार व्यक्ति, परिवार, पदाधिकारी र निकायले ज्येष्ठ नागरिकहरूलाई उपलव्ध गराउनु पर्ने सेवासुविधा प्रवाह गर्न आग्रह गरिएको छ ।

महासंघले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोरोना भाइरस संक्रमणका कारण उत्पन्न संकटमा ज्येष्ठ नागरिकलाई सहयोग र सहायता गर्न सरोकारवालाका लागि तयार गरिएको मार्गदर्शन, २०७७ को मस्यौदा तयार गरी सुझाबका रूपमा पेश गरेको थियो । हाल यो लागू भएको छ ।

साथै, महासंघले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न संकटमा बढी जोखिममा परेका ज्येष्ठ नागरिकलाई नेपाल सरकारबाट सहयोग र सहायता प्रदान गर्न सरकारले घोषणा गर्नुपर्ने राहतका कार्यक्रमहरू र लिनुपर्ने नीतिबारे पनि सुझाब दिएको छ ।

महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ को सम्बन्धमा गत मे १८ मा सम्पन्न विश्व स्वास्थ्य संगठनको सम्मेलनमा ज्येष्ठ नागरिकको विषय र उनीहरूमा परेको प्रभावको बारेमा नेपालको तर्फबाट राख्नुपर्ने विषयहरूमा सुझाब प्रस्तुत गरेको थियो ।

महासंघले ज्येष्ठ नागरिकको सुरक्षालाई उच्च सतर्कतामा राखी मुलुकभर सञ्चालित वृद्धाश्रम तथा दिवा सेवा केन्द्रहरूलाई आफ्ना सेवालाई निरन्तरता दिन आग्रह गरेको छ ।

सबैजना भेला भएर प्रवचन सुन्ने, भजनकीर्तन गर्ने, योग र ध्यान गर्ने लगायतका काम भने स्थगित गर्न आग्रह गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जारी गरेको कोरोना भाइरस संक्रमणका कारण उत्पन्न संकटमा ज्येष्ठ नागरिकलाई सहयोग र सहायता गर्न सरोकारवालाका लागि तयार गरिएको मार्गदर्शन, २०७७ को बुँदा ९ मा महासंघको भूमिकासमेत उल्लेख गरिअनुसार महासंघले आफ्नो क्रियाशीलता बढाएको छ ।

काठमाडौँमा सञ्चालित केही वृद्धाश्रमले महासंघमा सहयोगको आग्रह गरेअनुसार मन्त्रालयबाट सहयोग हासिल भएको छ । यसरी मन्त्रालयबाट प्राप्त सहयोगका आधारमा मातातीर्थ वृद्धाश्रम, महादेव स्थान मातातीर्थ, दिव्यसेवा निकेतन, बूढानीलकण्ठ, हिमालयन वृद्धाश्रम गोँगबु र निःसहाय सेवा सदन वृद्धाश्रमहरूमा सहयोग प्रदान गर्न महासंघ सफल भएको छ । यस्तो सहयोगमा खाद्यान्न, पञ्जा, मास्क र स्यानिटाइजर रहेको छ ।

यस अतिरिक्त महासंघले कोभिड–१९ बाट ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न तयार गरेको सार्वजनिक सूचना राष्ट्रिय सञ्चारका माध्यबाट प्रचारप्रसार गर्नुपर्ने आवश्यकता बोध गरेको छ ।

यस अतिरिक्त हाल नेपालभर सञ्चालित करिब सय वटा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न मास्क, पञ्जा, स्यानिटाइजर, सेन्सर थर्मोमिटर, डेटोल, साबुन, प्यारा सिटामोल, डिकोल्ड र भिटामिन बि कम्प्लेक्सजस्ता औषधिको आपूर्ति गर्नुपर्ने देखिएको छ ।

साथै, वृद्धाश्रमका स्याहारकर्ताहरूले प्रयोग गर्ने पीपीई लगायतका सामग्रीहरू स्थानीय सरकारबाट निःशुल्क उपलब्ध गराउने व्यवस्थाका लागि महासंघले मन्त्रालयलाई आग्रह गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा ज्येष्ठ नागरिकको जीवनयापन सहज र सुरक्षित राख्न महासंघले ज्येष्ठ नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएको छ । मासिक भत्ता पाइरहेका ज्येष्ठ नागरिकलाई कम्तिमा एक महिनाको अतिरिक्त भत्ता दिनु पर्छ ।

यसैगरी मासिक भत्ता नपाउने ६० देखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई एकमुष्ठ पाँच हजार दिनुपर्ने महासंघको आग्रह छ । यस अतिरिक्त नेपालभर वृद्धाश्रममा आश्रित करिब २ हजार ज्येष्ठ नागरिकलाई एकमुष्ठ १५ हजार रुपैयाँको राहत दिन महासंघले सरकारसँग पहल गरिरहेको छ ।

संयुक्त राष्ट्र संघका महासचिवले कोभिड–१९ बाट ज्येष्ठ नागरिकमा परेको प्रभाव सम्बन्धमा गत मे १ मा जारी गरेको प्रतिवेदनमा चारवटा मूल सन्देश छन् । पहिलो, कुनै पनि वर्गलाई विभेद गर्नु हुँदैन, युवाको स्वास्थ्यको अधिकार जति छ त्यति नै ज्येष्ठ नागरिकको पनि स्वास्थ्य सेवा पाउने अधिकार छ ।

दोस्रो, सामान्यतः ज्येष्ठ नागरिकले सामाजिक दूरी कायम गरेर नै बसेका छन् । तेस्रो, ज्येष्ठ नागरिक त्यसमा पनि महिला जो आर्थिकरूपमा विपन्न छन्, उनीहरू अझ कठिन जीवन व्यतित गर्न बाध्य छन् । चौथो, ज्येष्ठ नागरिकलाई शक्तिहीन वर्ग हुन् भन्ने सोच राख्नु हुन्न ।

महासचिवका यी आधिकारिक विचारलाई नेपालसहित संयुक्त राष्ट्रसंघका करिब १४६ सदस्य राष्ट्रले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका छन् । जसअनुसार ज्येष्ठ नागरिकका पक्षमा अन्य राष्ट्रका सरकारहरूले गरिरहेका राहतका निर्णयहरूको जानकारी समेत महासंघबाट सरकारलाई गराइएको छ । यससम्बन्धमा महासंघले काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा पत्राचार पनि गरेको छ ।

प्रस्तुत सन्दर्भमा विश्व स्वास्थ्य संगठनले पनि ज्येष्ठ नागरिकका सम्बन्धमा आफ्ना चार बुँदे धारणा अघि सारेको छ । पहिलो, ज्येष्ठ नागरिकप्रति गरिने व्यवहार र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्छ । दोस्रो, समुदायस्तरमा ज्येष्ठ नागरिकलाई एकीकृत गर्दै उनीहरूको मनोबल अभिवृद्धि र क्षमता विकासमा जोड दिनुपर्छ । तेस्रो, ज्येष्ठ नागरिकलाई आवश्यक व्यक्तिगत प्राथमिक स्वास्थ्य उपचार र हेरचाहको प्रबन्ध मिलाउनु पर्छ । चौथो, जो ज्येष्ठ नागरिकलाई दीर्घकालसम्म विशेष हेरचाहको आवश्यक पर्दछ, त्यसको प्रबन्ध मिलाउनु पर्छ ।

महासंघले नेपाल सरकारलाई यी सन्देशअनुसार नेपालमा पनि ज्येष्ठ नागरिकलाई यस प्रकारको सेवासुविधा प्रवाह गर्न आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसका कारणबाट पीडित ज्येष्ठ नागरिकमाथि २०७७ जेठ ५ गतेको एक राष्ट्रिय दैनिक पत्रिकाको प्रथम पृष्ठमा ‘श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नाङ्गै बनाइयो’ शीर्षकमा प्रकाशित समाचारबारे राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको गम्भीर ध्यानाकर्षण भएको व्यहोरा दर्शाउँदै, प्रस्तुत समाचारबारे सत्यतथ्य निक्र्योल गरी आवश्यक कारबाही अगाडि बढाइदिन महासंघले सरकारसँग आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणसँग सजग रही ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सरोकारवाला निकायले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा महासंघले आवश्यक पैरवी गरिआएको छ ।

यससम्बन्धमा विभिन्न सञ्चारमाध्यममा पटकपटक ज्येष्ठ नागरिकका पक्षमा वकालत गर्ने काम भएको छ । यस अतिरिक्त लेखरचनाको माध्यमद्वारा पनि ज्येष्ठ नागरिकका आवाज सार्वजनिक गर्ने प्रयास गरिएकको छ ।

आशा गरौँ, हामीले नेपालमा कोभिड–१९ को संक्रमणबाट ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न सक्नेछौँ । हाम्रा अमूल्य निधि, हाम्रा पहिचानका धरोहर र हाम्रा आदरणीय ज्येष्ठ नागरिकहरू यस विषम परिस्थितिमा पनि खुसी, सुखी र स्वस्थ रहून्, यही कामना छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : ४८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन