सरकारलाई विज्ञले नमानेको आरडीटी परीक्षणकै भर | Khabarhub Khabarhub

सरकारलाई विज्ञले नमानेको आरडीटी परीक्षणकै भर


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा बढाउने निर्णय गर्‍यो ।

सोहीअनुसार बिहीबार कालिमाटी तरकारी तथा फलफूल बजारका व्यापारी, तरकारी ढुवानी गर्ने व्यक्ति तथा त्यहाँ कार्यरत सरसफाइका कर्मचारीहरूमा कोरोना परीक्षण गरियो ।

स्वास्थ्य सेवा विभाग र काठमाडौँ महानगरपालिकाको समन्वयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मीहरूले कालीमाटी तरकारी बजारका व्यवसायी, ढुवानकीकर्ता तथा अन्य कर्मचारीको कोरोना परीक्षण सुरु गर्‍यो ।

योजनाअनुसार कोरोना परीक्षणका लागि लाइनमा बसेका पहिलो व्यक्तिमा पीसीआर विधिबाट परीक्षणका लागि थ्रोट स्वाब संकलन गरियो ।

दोस्रो, तेस्रो र चौथो व्यक्तिको आरडीटी विधिबाट परीक्षण गरी पाँचौँ व्यक्तिको पीसीआर विधिबाट परीक्षणका लागि थ्रोट स्वाब संकलन गरियो । र, यही प्रक्रिया दोहोर्‍याइयो ।

आरडीटी विधिमा स्वास्थ्य मन्त्रालयले परस्पर विरोधी मान्यता अङ्गीकार गरेको छ । आरडीटी रिपोर्टमा एन्टीबडी पोजेटिभ देखिए पीसीआर विधिबाट निर्योल गर्ने तर नेगेटिभ देखिए त्यसैलाई मान्यता दिने गरिएको छ ।

विज्ञहरूका अनुसार आरडीटी रिपोर्ट नेगेटिभ भए पनि पीसीआर परीक्षणमा पोजेटिभ देखिन सक्छ । आरडीटी रिपोर्ट पोजेटिभ भए पनि पीसीआरमा नेगेटिभ देखिनसक्छ ।

यो दुवै सम्भवना लगभग बराबर हुन्छ । त्यसैले आरडीटीलाई विश्वसनीय नमानिएको हो ।

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र बज्राचार्यका अनुसार बिहीबार कालीमाटी क्षेत्रमा सात सय जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरियो ।

यीमध्ये चार जनामा कोरोनाको एन्टीबडी पोजेटिभ देखियो । यी चार जनाको फेरि थ्रोट स्वाब संकलन गरी पीसीआर विधिका लागि नमूना प्रयोगशाला पठाइएको छ ।

महाशाखा प्रमुख बज्राचार्यका अनुसार आरडीटी पोजेटिभ देखिएका चार जनासहित ३३४ जनाको पीसीआर परीक्षणका लागि बिहीबार थ्रोट स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

आफ्नो नगरक्षेत्रमा आरडीटी विधिबाट गरिएको परीक्षणमा पनि कोरोनाको एन्टीबडी पोजेटिभ देखिएको तथ्य महानगरपालिकाले सार्वजनिक गर्‍यो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आरडीटी परीक्षण भएकाको संख्या मात्र बताउने गरेको छ । कालीमाटीमा आरडीटी विधिबाट गरीएको परीक्षणमा ४ जनाको एन्टीबढी पोजेटिभ देखिएको कुरा सार्वजनिक गरेको छैन ।

महाशाखाका प्रमुख बज्राचार्यका अनुसार उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएमात्र जानकारी गराइने छ र कन्ट्याक ट्रेसिङ पनि गरिनेछ ।

‘कालीमाटी क्षेत्रमा सात सय जनाको आरडीटी गर्दा चार जनामा एन्टीबडी पोजेटिभ आएपछि हामीले तत्कालै उनीहरूको थ्रोट स्वाब प्रयोगशालामा पठाएका छौँ, पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन,’ महाशाखा प्रमुख बज्राचार्यले खबरहबसँग भने, ‘आरडीटीमा पोजेटिभ देखिएकोलाई सरकारले मान्यता दिँदैन, अब पीसीआर परीक्षणमा पनि पोजेटिभ आयो भने कन्ट्याक टे«सिङ हुन्छ ।’

यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग जिज्ञासा राख्दा पीसीआर परीक्षणको नजिता पोजेटिभ आएमात्र स्वास्थ्य मन्त्रालयले संक्रमित भनेर पुष्टि गर्ने बताए ।

‘आरडीटीले त स्क्रिनिङ गर्ने मात्रै हो, आरडीटी पोजेटिभ देखिए पीसीआर विधिबाट पनि परीक्षण गछौँ,’ डा. अधिकारीले खबरहबसँग भने, ‘पीसीआर टेष्टमा पनि पोजेटिभ आएमात्र संक्रमण भएको पुष्टि गरेर सार्वजनिक गर्छौं ।’

सरकारले आरडीटी विधिबाट गरिएको परीक्षणको संख्या समेत जोड्दै परीक्षणको दायरा बढाएको बताउँदै आएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले बिहीबारको अपडेटमा आरडीटी र पीसीआर दुवै विधिबाट कोरोना परीक्षण भइरहेको बताएका थिए । उनले दुवै विधिबाट कुल ८४ हजार ९९१ वटा नमूना परीक्षण भएको बताए ।

मन्त्रालयका अनुसार चैत १९ गतेदेखि हालसम्म ६२ हजार ३२७ वटा नमूना आरडीटी विधिबाट परीक्षण गरिएको छ । यस्तै पीसीआर विधिबाट २२ हजार ६६४ जनाको परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २५८ जनामा पीसीआर विधिबाट कोरोना भाइरस संक्रमण पुष्टि गरिएको हो ।

आरडीटी परीक्षणमा कतिको रिपोर्ट नेगेटिभ र कतिको पोजेटिभ आयो भन्ने स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन । आरडीटी परीक्षणको नतिजाबारे प्रश्न गर्दा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग जवाफ हुँदैन ।

सरकारले कोरोना संक्रमितको खोजीका लागि आरडीटी परीक्षण विधि प्रयोग गर्नु गलत भएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । जनस्वास्थ्यविज्ञ रवीन्द्र पाण्डे आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएको भनेर छाड्न नहुने बताउँछन् ।

‘आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आयो भनेर छाडिँदिदा उनीहरूमा संक्रमण रहेछ अरुमा सर्ने जोखिम हुन्छ,’ डा. पाण्डेले खबरहबसँग भने, ‘आरडीटी विश्वसनीय छैन भनेर सबैलाई जानकारी छ, त्यसैले त सांसदहरूको पीसीआर टेष्ट गरिएको हो ।’

डा. पाण्डेका अनुसार व्यक्तिमा कोरोनासंक्रमण भएको पहिलो सातामा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबढी नेगेटिभ देखिन सक्छ । उनका अनुसार कोरोना संक्रमण फेलिन नदिन पीसीआर विधिबाटै परीक्षण हुनुपर्छ ।

उनको प्रश्न छ, ‘४० लाख जनसंख्या भएको काठमाडौँमा तीन हजार जनाको पनि पीसीआर परीक्षण नगरी संक्रमण फैलिएको छ कि छैन कसरी थाहा पाउने ?’

सरकारलाई डा. पाण्डेको सुझाब छ, कोरोना संक्रमणको भयावह अवस्था आउन नदिन सबै प्रदेशमा पीसीआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउनुपर्छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  २ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन