अस्थायी बजार व्यवस्थित नभएपछि कालीमाटी नै फर्के तरकारी व्यापारी | Khabarhub Khabarhub

अस्थायी बजार व्यवस्थित नभएपछि कालीमाटी नै फर्के तरकारी व्यापारी



काठमाडौं– काठमाडौं महानगरपालिकाले उपभोक्ताको अत्यधिक भिड लागेको ठहर गरी वैकल्पिक तरकारी बजारको व्यवस्था गर्ने गरी गत बिहीबार कालीमाटी फलफूल तथा तरकारी बजार बन्द गरायो ।

महानगरले कालीमाटी बजारमा बाहिरबाट भित्रिएको तरकारी भण्डारण गरिए पनि थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पुर्‍याउने प्रबन्ध मिलाउने भन्यो । एक साता बितिसक्दा पनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौंका बल्खु, कलंकी, स्वयम्भू, बालाजु, वनस्थली, गोंगबु, वसुन्धारा, महाराजगञ्ज, चावहिल, तीनकुने, खुलामञ्च गरी ११ स्थानमा वैकल्पिक तरकारी बजार व्यवस्था गर्ने भनिएको थियो ।

यीमध्ये हाल कलंकी, स्वयम्भू र वनस्थलीबाट मात्र तरकारी बिक्री भइरहेको छ । ती स्थान पनि व्यवस्थित छैनन् ।

कालीमाटी बजारमा हुने भिडभाड नियन्त्रणका लागि महानगरले लिएको निर्णय राम्रो भए पनि तोकिएका अस्थायी बजारको व्यवस्थापन निकै फितलो छ । भिडभाड उस्तै छ ।

यता, तरकारी व्यापारीले महानगरले तोकेका स्थानभन्दा पनि सडकमै बसेर बेलुकाको समयमा बिक्री गरिरहेका छन् । सरकारले किनमेलमा सामाजिक दूरी कायम गर्न आह्वान गरे पनि उपभोक्ताले पालना गरेको देखिँदैन । साँझका तरकारी पसलहरूमा भिड देखिने गरेको छ ।

कालीमाटीमै फर्किए व्यापारीहरू

थोक बजार सञ्चालन गर्न आवश्यक पूर्वाधार नभएकोले तरकारी व्यापारीहरूले महानगरले तोकेका स्थानमा व्यापार नगरेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

व्यापारीहरू केही दिन महानगरले तोकेका स्थानमा गए पनि न्युनतम सामान्य सुविधा पनि नभएको भन्दै वैशाख १ गतेबाट कालीमाटी बजारमै फर्किएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘काठमाडौं महानगरपालिकाले तोकेका स्थानमा जान व्यापारीहरूलाई भनेका हौँ,’ श्रेष्ठले भने, ‘होलसेलभन्दा बढी खुद्रा व्यापारीहरू आएको र होलसेलका लागि उपयुक्त नभएको उनीहरूले सुनाए ।’

बत्ती, पानी र शौचालय केही छैन भन्दै व्यापारीहरू कालीमाटीमै फर्किएको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने, ‘व्यापारीहरूले गुनासो गरेपछि कालीमाटीमै केही व्यवस्थित बनाएर भिड कम गराउनेतिर हामी लाग्यौँ ।’

उनका अनुसार समितिले अहिले राति १० बजेदेखि बिहान ५ बजेसम्म कालीमाटी थोक बजार खुला रहने व्यवस्था गरेको छ । खुद्रा बजार भने चैत १६ गतेदेखि नै बन्द छ । कालीमाटी बजारमा अहिले दैनिक ५ सय टनभन्दा बढी तरकारी भित्रिरहेको श्रेष्ठले बताए ।

‘महानगरले वैकल्पिक बजार व्यवस्था गर्ने भनेपछि तरकारी आयात घटेको थियो,’ खबरहबसँग श्रेष्ठले भने, ‘करिब एक साता दैनिक सय टनको हाराहारीमा मात्र तरकारी आयो ।’

कालीमाटी बजारमा हात धुन साबुनपानी व्यवस्था गरिएको उनले बताए ।

के भन्छ महानगर ?

महानगरले कोरोना भाइरस नियन्त्रण नहुँदासम्म वैकल्पिक तरकारी बजार व्यवस्थापनको विषयमा मंगलबार छलफल गरेको छ । व्यवस्थापनका लागि छुट्टै कार्यदल गठन भएको महानगरले जनाएको छ ।

अहिले कलंकी, स्वयम्भू र वनस्थीलमा बजार सञ्चालनमा रहेको महानगरका विभागीय प्रमुख नवराज ढकालले जानकारी दिए । बाँकी ९ स्थान र अन्य स्थान पनि पहिचान गरेर अघि बढ्ने योजना रहेको उनले बताए ।

अस्थायी बजारमा व्यापारीका लागि न्युनतम सुविधा पनि नभएको भन्ने जिज्ञासामा ढकालले भने, ‘हामीले छुट्टै कार्यदल बनाएका छौँ त्यहीअनुसार अघि बढ्छौँ, सकेसम्म बाहिर नै बजार व्यवस्थापन गर्ने महानगरको लक्ष्य हो ।’ उनका अनुसार महानगरले भौतिक पूर्वाधार र सुरक्षाको उचित व्यवस्था मिलाउने छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : १७ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको