‘कुनै पनि डाक्टरले बिरामीको ज्यान लिन्छु भनेर उपचार थाल्दैन’ « Khabarhub
Logo
२८ चैत्र २०७६, शुक्रबार

‘कुनै पनि डाक्टरले बिरामीको ज्यान लिन्छु भनेर उपचार थाल्दैन’



डाक्टर लोचन कार्की नेपाली चिकित्सा क्षेत्रको परिचित नाम हो ।

हालै भएको नेपाल चिकित्सक संघको निर्वाचनमा डा कार्की अध्यक्षमा निर्वाचित भए । संघको निर्वाचनमा ४ हजार १ सय ११ मतले अध्यक्षमा निर्वाचित भएका डा कार्की संघको इतिहासमा सबैभन्दा कम उमर (४१ वर्ष) मा अध्यक्ष पदमा निर्वाचन भएका व्यक्ति समेत हुन् ।

देशभरका सबै चिकित्सकको हक अधिकार र सुरक्षाका लागि नेतृत्व गर्ने चिकित्सक संघको अध्यक्षमा निर्वाचित हुनुले पनि डा कार्की चिकित्सकहरुको नेता हुन् भन्ने कुरालाई पुष्टि गर्छ ।

कम उमेरमै संघको नेतृत्व गर्ने अवसर पाउनुको एउटा कारण सानै देखि उनमा रहेको नेतृत्व गर्ने क्षमता र पारिवारिक राजनीतिक पृष्ठभूमि हो ।

२०३४ साल माघ १३ गते भोजपुरमा जन्मिएका डा कार्कीको बाल्यकाल भने बिराटनगरमा बित्यो । कार्कीले बिराटनगरकै सेन्टजोसेफ स्कुलबाट एसएलसी सम्मको अध्ययन पूरा गरे ।

२०५० साल एसएलसी पास भएपछि कार्की आइएससी पढ्न काठमाडौं आए । कार्कीले २०५२ सालमा काठमाडौं विश्वविद्यालयबाट आइएससी पूरा गरे ।

राजनीतिक वातावरण

डा कार्कीका बुबा नेपाली कांगे्रसका नेता थिए । त्यसैले पनि उनको घरमा राजनीतिक चहल पहल हुने गरेको थियो ।

डा कार्कीका बुबालाई राजाविरोधी गतिविधि गरेको भन्दै जेल समेत हालिएको थियो । जतिबेला कार्की सानै थिए । स्कुल छुट्टि भएपछि बाबुलाई भेट्न धेरै पटक जेलमै समेत पुगेको डा कार्कीलाई अझै सम्झना छ ।

‘मेरो बुबा राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, राजाविरोधी गतिविधि गरेको भन्दै बुबा धेरै पटक जेल पनि पर्नुभयो, म धेरै पटक स्कुलबाटै बुबालाई भेट्न जेल गएको छु,’ डा कार्कीले विगत सम्झिए, ‘प्राय बुधबार बुबालाई भेट्न गएको अझै याद छ, बुबाको राजनीतिक बाटो र जेल जीवनले पनि मलाई राजनीति तर्फ सानैदेखि रुची बढेको थियो ।’

डा कार्की बाल्यकालमा स्कुलमा हुने अन्य रचनात्मक कार्यक्रम तथा प्रतियोगिताहरुमा पनि सक्रिय सहभागी हुन्थे ।

आमाले नमानेपछि डाक्टर

पारिवारिक राजनीतिक वातावरणको प्रभावले कार्कीलाई राजनीतिमा रुची भएपनि उनको सपना भने पाइलट बन्ने थियो । स्कुले जीवनमा उनले आफू भविष्यमा पाइलट बन्ने बारे सोच बनाएका थिए । उनले एसएलसी पछि आफ्नो पाइलट बन्ने सपना घरमा पनि सुनाए तर उनको प्रस्ताव स्वीकृत हुन सकेन ।

घरको एक्लो छोरा । ‘पाइलट बनेर कुनै दुर्घटना भयो भने छोरा नै गुमाउनुपर्ला कि !’ भन्ने डर उनकी आमामा थियो । कार्कीले आफ्नी आमाको मायाका अगाडि आफ्नो सपनालाई त्याग्नुपर्‍यो ।

कार्कीका ठूलो बुबा डाक्टर थिए । कहिलेकाही गाउँघरमा जाँदा ठूलाबुबाले समाजबाट पाएको सम्मान र माया उनले देखेका थिए ।
त्यसैले समाजबाट माया र सम्मान पाउने पेसा ‘डाक्टरी पेसा’ हो भन्ने छाप कार्कीमा पनि थियो । त्यसैले उनले आइएससी गर्दैगर्दा पाइलट बन्ने सपना त्यागेर डाक्टर बन्ने नयाँ सपना बुने ।

‘पाइलट बन्छु भन्दा आमाले मान्नुभएन, त्यसपछि आइएससी पढ्दैगर्दा मैले डाक्टर बन्ने योजना बनाएको थिए,’ कार्कीले भने, ‘आइएससी पढेपछि एमबीबीएस, इन्जिनियरिङ जे पढ्न नि पाइन्थ्यो,मैले फर्म सबैतिर भरें, भारतमा इन्जिनियरिङ पढ्न स्कलरसिप पनि पाए, तर, इन्जिनियरिङमा रुची थिएन, अनि एमबीबीएस नै पढें ।’

२०५२ सालमा आइएससी पूरा भएपछि उनी एमबीबीएस पढ्न बंगलादेश गए । बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा एमबीबीएस अध्ययन पूरा गरी कार्की डाक्टर बनेर सन् २००३ मा नेपाल फर्किए ।

बंगलादेशमा एमबीबीएस अध्ययन पूरा गरेपनि त्यतिबेला नेपालमा इन्टर्नसीप गर्नुपर्ने हुन्थ्यो । डा कार्कीले एक वर्षसम्म वीर अस्पताल, प्रसूती गृह र कान्ती बाल अस्पतालमा इन्टर्नसीप गरे ।

इन्टर्नसीप सकिएपछि नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स परीक्षा पास भए । त्यसपछि उनी काठमाडौंको हिमाल अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गर्न थाले ।

मेडिकल अफिसर भएर काम गरेको दुईवर्ष पछि कार्कीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी अध्ययन शुरु गरे । त्यतिबेला उनले न्याम्समा इन्टरनल मेडिसिन पढ्न सिट पाए । डा कार्कीले सन् २०१० मा एमडी अध्ययन पूरा गरे । डा कार्की हाल न्याम्सको इन्टरनल मेडिसिन विभागको सहप्राध्यापकको रुपमा कार्यरत छन् ।

चिकित्सक संघमा आवद्ध

डा कार्कीले आइएससी पढ्दा नै नेपाल चिकित्सक संघको विषयमा जानकारी पाएका थिए । उनले शुरुमा आफ्नो पढाइलाई पहिलो प्राथमिकता दिए । एमडीको पढाइ पूरा गरेपछि भने उनले संघको केन्द्रिय पदहरुमा आफू लाग्ने सोच बनाए ।

सन् २०१० मा एमडी अध्ययन पूरा गरेपछि नै उनी नेपाल चिकित्सक संघको केन्द्रिय सदस्य पदमा निर्वाचित भए । केन्द्रिय सदस्यमा उनीले त्यतिबेला सबैभन्दा बढी मतले सदस्य पदमा निवाचित भएका थिए । त्यसको तीनवर्ष पछि उनी फेरि केन्द्रिय सहसचिवमा निर्विरोध चुनिए ।
त्यसपछि उनी चिकित्स संघको महासचिव हुँदै अहिले उनी अध्यक्षमा निर्वाचित भएका छन् ।

अस्पताल तोडफोडको घटनामा वृद्धि

एमडी अध्ययन पूरा गरेपछि न्याम्स र चिकित्सक संघमा निरन्तर सक्रिय रहेका डा कार्कीका अनुसार २०६२/६३ को जनआन्दोलनपछि नेपालका अस्पतालहरुमा तोडफोड हुने र चिकित्सकमाथि हातपातका घटनाहरु हुन थालेका छन् ।

‘२०६२/६३ सालको आन्दोलन पछि अस्पतालहरुमा तोडफोड हुने, चिकित्सकहरुमाथि हातपातको घटना हुने क्रम बढेको छ,’ डा कार्कीले खबरहबसँग भने, ‘चिकित्सकहरुमाथि हातपात हुने, अस्पताल तोडफोड हुने क्रम अहिले निकै बढेको छ ।’

अस्पताल तोडफोड हुने र चिकित्सकमाथि हातपातको घटनाहरु हुन नदिन स्वास्थ्यकर्मीको सुरक्षाका लागि ऐन तथा नियमावलीहरु बन्न थालेको डा कार्की बताउँछन् ।

मेडिकल कलेज तथा अस्पतालको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीको सुरक्षा चुनौती पनि बढेको डा कार्कीको भनाइ छ ।

‘आजभन्दा १० वर्ष अगाडि नै पनि अस्पतालहरु कम थिए, डाक्टरहरु पनि कम थिए, अहिले अस्पतालहरु खुल्ने क्रम बढ्दै गयो, चिकित्सकहरुको उत्पादन पनि बढेको छ, यो सँगै चिकित्सकको सुरक्षामा पनि चुनौती थपिएको छ,’ डा कार्की भन्छन्, ‘त्यसैले पनि डाक्टरको सुरक्षा, तलब सुविधा, एमडीको सिटसंख्या बढाउनुपर्ने विषयमा चुनौती छ, पहिला र अहिले चुनौती र समस्याहरु बढी छन् ।’

स्वास्थ्य क्षेत्रको समस्या समाधान प्राथमिकतामा परेन

डा कार्कीका अनुसार स्वास्थ्य क्षेत्रलाई सबै राजनीतिक दलहरुले चुनावी अभियानमा मात्र समेट्ने गरेका छन् । चुनाव आउँदा स्वास्थ्य शिक्षाको सुधारका योजनाको घोषणा गर्ने र चुनाव जितेपछि स्वास्थ्य क्षेत्रलाई व्यवास्ता गर्ने गरेको डा कार्कीको आरोप छ ।

‘स्वास्थ्य क्षेत्रमा धेरै चुनौतीहरु छन् । सबै पार्टीहरुले स्वास्थ्य क्षेत्रलाई चुनावमा जाने बेलामा प्राथमिकताका साथ घोषणपत्रमा लेख्छ, संविधानमा पनि स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण मानिएको छ,’ डा कार्कीले भने, ‘तर व्यवहारिकतामा हेर्ने हो भने स्वास्थ्य क्षेत्रमा बजेट निकै कम छ, स्वास्थ्य मन्त्रालय सरुवा र बढुवा गर्ने कार्यमा मात्र सिमित छ, दूर दराज गाउँमा अस्पताल छैन, स्वास्थ्यसेवा पुगेको छैन ।’

डा कार्कीका अनुसार सरकारी सेवामा डेढ करोड जनसंख्या हुँदाकै चिकित्सकको दरवन्दी अहिले तीन करोड जनसंख्या हुँदा पनि बढेको छैन । जसले गर्दा सरकारी अस्पतालहरुमा बिरामीले सहज र सहि समयमा उपचार सेवा पाउन सकेका छैनन् ।

बिरामीलाई सहज रुपमा उपचार सेवा पुर्‍याउँन स्वास्थ्य मन्त्रालयले सिस्टम नै परिवर्तन गरेर पोलिसिलाई बलियो बनाउन जरुरी रहेको डा कार्कीले बताए ।

‘स्वास्थ्य सेवाका क्षेत्रमा धेरै समस्याहरु छन्, जनसंख्या अनुसारको सरकारी चिकित्सक र स्वास्थ्यसंस्था नै छैनन् ।  डा कार्कीले भने, ‘सरकारले सिस्टम नै परिवर्तन गरेर काम गर्नुपर्ने अवस्था छ ।’

चिकित्सकको सुरक्षा र अधिकारको लागि लाग्छु

डा कार्कीको अनुभवमा चिकित्सकप्रति बिरामीको विश्वास कम हुँदै गएको छ । चिकित्सकले बिरामीले सही उपचार पाएको चाहने भएपनि बिरामीलाई राम्रोसँग काउन्सिलिङ गर्न नसक्दा बिरामी र चिकित्सकबीच दरार उत्पन्न भएको डा कार्कीको तर्क छ ।

उनका अनुसार चिकित्सक र बिरामीबीचको सम्बन्ध सुधारका लागि बिरामीलाई सचेतना दिन जरुरी छ ।

‘आन्दोलन गरेपछि नै चाहेको कुरा पाइन्छ भन्ने गलत धारण मानिसमा पर्‍यो । पहिला डाक्टरहरुलाई सम्मानपूर्वक हेरिन्थ्यो, तर पछिल्लो समय विभिन्न वाहनामा अस्पताल तोडफेड र हातपातको घटनाहरु बढेको छ, डाक्टर र बिरामीको सम्बन्धमा केही दरारहरु आएका छन्, डाक्टर र बिरामीबीच अविश्वासको खाडलहरु बढेको छ,’ डा कार्कीले भने, ‘म संघको अध्यक्ष भएको छु, अब डाक्टर र बिरामी बीचको अविश्वासको खाडललाई पुर्ने प्रयास गर्नेछु ।’

कुनैपनि चिकित्सकले बिरामीको ज्यान लिन्छु भन्ने नियतले काम गर्न नसक्ने भन्दै उनले यो कुरा बिरामीलाई बुझाउन जरुरी रहेको बताए ।

‘कुनै पनि डाक्टरले आफू समक्ष उपचार गर्न आउने बिरामीको ज्यान लिन्छु भनेर कल्पना गर्दैन, उसको चाहना बिरामी निको भएर घर फर्कियोस् भन्ने नै हुन्छ, यो कुरा बिरामीलाई बुझाउनुपर्ने आवश्यकता छन्,’ डा कार्कीले भने, ‘जसरी प्रहरीले जनताले सकारात्मक सोचुन् भनेर ‘प्रहरी मेरो साथी’ भन्ने अभियान ल्याएको छ, त्यसैगरी अब हामीले पनि ‘चिकित्सक सुरक्षित रहे, बिरामी पनि सुरक्षित हुन्छन्’ भनेर ‘सुरक्षित डाक्टर, सुरक्षित बिरामी’ को म्यासेज दिन जरुरी छ ।’

बिरामीलाई उचार गरेर निको बनाउन सक्नु नै डाक्टरको सफलता भएको डा कार्कीको तर्क छ ।


भर्खर

0