त्यो अधूरो भ्यालेनटाइन… « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

त्यो अधूरो भ्यालेनटाइन…



मान्छेको अन्तिम इच्छा जे पनि हुन सक्ला । तर, मेरो अन्तिम इच्छा चाहिँ उसले मसँग एक चुम्बन गरोस् भन्ने थियो । र, उसको अङ्गालोमा बाँधिएर अन्तिमपटक प्रेमको महसुस गर्दै मुटुको कुनामा धड्किरहेको त्यो धड्कन धित मरुन्जेल स्पर्श गरिरहूँँ भन्ने थियो ।

प्रिय, हरेक पटकको प्रेम दिवसमा मैले तिमीलाई सम्झन्छु । प्रेम दिवसकै दिन भेट्ने र एक–अर्काबीच भावना साट्ने प्रण गरेका ती दिनहरु । आज पनि सम्झिरहेकी छु मैले ।

झन् तिम्रा र मेरा ती संवादहरु जहाँ तिमी मेरो तारिफ गर्न व्यस्त हुन्थ्यौ । तिमीले त्यसरी तारिफ गर्दा म झनै कल्पनाको गहिराइमा पुग्थें । साच्चिँकै स्मरण गर्न योग्य लाग्छन् मलाई ती बातचित ।

तिमीसँग भेट्दाका त्यो समय मेरो मानसपटलमा यसरी खेलिरहन्छ कि, मानौं म भुल्नै सक्दिनँ ।

‘सबु हरेक दिन गोधुली साँझमा तिमलाई सम्झँदै म अस्ताउन लागेको सुर्यलाई हेरेर टोलाइरहन्छु,’ तिमीले भन्थ्यौ ।

‘किन के छ र त्यो सूर्यमा त्यस्तो हुँ ?,’ मैले प्रतिप्रश्न गर्थें ।

‘थाहा छैन, के छ त्यसमा, तिमी यसरी चम्किरहेकी छौ, जसरी हिरा चम्किन्छ, तिम्रो मुहार सूर्यजस्तै चम्किलो लाग्छ,’ तिमीले अगाडि थप्थ्यौ ।

‘त्यसोे भए सूर्यको सामु मलाई देख्छौ तिमी ?,’ म अलिकति लज्जाका साथ थोरै उत्सुक भएर सोध्थेँ ।

भन्थ्यौ, ‘मन, मुटु, आँखा जताततै बसेकी छौ तिमी, सूर्यलाई त हेरेको मात्र हो ।’

सामाजिक सञ्जाल फेसबूकमा भएका यस्तै संवादबाट हामी नजिकिएका थियौं ।

मैले फेसबूकको बायोमा राखेकी थिएँ, सिम्मल लिभिङ हाइ थिङकिङ । हुन पनि म त्यस्तै थिएँ । प्रोफाइल पिक्चरमा कुर्ता लगाएको सिम्पल तस्वीर राखेकी थिएँ ।

मान्छे, फोटो अनि बायो कति मिलाएकी भनेर भेटमा साथीहरुले भन्थे । मलाई रमाइलो लाग्थ्यो ।

फेसबुकमा चिनजानका भन्दा बढी अन्जान व्यक्तिका फ्रेण्ड रिक्वेस्ट आउन थालेका थिए ।

सन् २०१६ सालतिरको कुरा । फेसबुक चलाउँदै गर्दा फ्रेण्ड रिक्वेस्ट टुप्लुक्क आयो एक अपरिचित अनुहारको ।

त्यतिबेला जागिर पनि थिएन मेरो । बिहान क्याम्पस पढ्यो, दिउँसो पढ्न मन लागे पढ्यो नत्र फेसबुक चलाएर बस्यो । अरु विद्यार्थीको झैं मेरो पनि दिनचर्या यस्तै थियो ।

फुर्सद बढी नै हुँदा फेसबूकमा नै समय बिताउँथें मैले । नचिनेका अनुहारका साथी बन्न अनुरोध आए पनि खासै महत्त्व दिँदनथें ।

उसलाई पनि मैले मतलब गरिनँ । वास्ता लागेन । पेन्डिङमा राखिदिएँ ।

दुई दिनपछि त्यही पेन्डिङ प्रोफाइलबाट म्यासेज आयो – हाइ सबु !

त्यो म्यासेजलाई पनि मैले खासै महत्त्व दिइनँ । किनकि, मलाई जरुरी नै लागेन । म्यासेजमा रिप्लाइ गर्नु पनि किन पर्‍यो र भन्ने लाग्यो ।

त्यसपछि उसले फेरि म्यासेज गर्‍यो – हाई सबु, म राजीव (उसको नाम राजीव होइन) । मैले तिमीलाई चिन्छु ।

‘तिमी किन बोल्न चाहँदैनौ ?,’ उसले फेरि अर्को म्यासेज धकेल्यो ।

मलाई चिन्ने भनेपछि कोही होला भन्ने लाग्यो । कोही आफन्त हुनसक्छ भन्ने ठानेँ । लाग्यो, कोही आफन्त पनि त हुन सक्छ, हैन, बोल्नुपर्छ ।

एकछिनमा उसलाई रिप्लाई फर्काएँ, ‘हो र ! म त हजुरलाई चिन्दिनँ नि ।’

बिस्तारै हाम्रो कुरा हुन थाल्यो । चिनजान हुँदै हामी धेरै बोल्ने साथी हुन थाल्यौँ ।

त्यतिबेला मैले भर्खरै फेसबूक खाता खोलेकी थिएँ । साथी पनि धेरै थिएनन् । त्यसैले पनि ऊसँग बोल्दा मलाई रमाइलै लाग्न थाल्यो ।

हाई !

के छ खबर ?

के गर्दै ?

यो हाम्रो दैनिकी भइसकेको थियो ।

एकछिन कुराकानी नहुँदा पनि मलाई न्यास्रो लाग्न थालिसकेको थियो । उसको हरेक म्यासेज मलाई उसको झन् नजिक खिचिरहेको थियो । यतिसम्म कि, ऊ कुनै रात अनलाइन नआउँदा म मोबाइलको नोटिफिकेसन कुरिरहेकी हुन्थेँ ।

शायद, त्यो माया थियो । तर, अव्यक्त माया ।

हामीले एकअर्कालाई मन पराउन थालिसकेका थियौं । तर भन्न सकेका थिएनौं । मैले पनि सीधै माया गर्छु भन्ने आँट पनि त थिएन ।

हामीले एकअर्कालाई मन पराउने कुरा उसैले कुनै दिन भनोस् भन्ने म चाहन्थें ।

च्याटपछि हामी विस्तारै फोनमा बोल्न थाल्यौं । मोबाइल नम्बर साटासाट गर्‍यौं । ऊ पोखरा बस्थ्यो । म यता काठमाडौं ।

दूरीले त हामी नजिक थिएनौं । तर, मन सधै एकैठाउँ भएजस्तो लाग्थ्यो ।

फेसबूकले हामीलाई कहाँ टाढा हुन दिएको थियो र !

हामी मायाको गहिराइमा डुबुल्की मारिसकेका थियौं । कति बेला भविष्यका बारेमा पनि कुरा गर्थ्यौं । कहिलेकाहीँ साथै भएका कुराकानी गर्थ्यौं ।

तर, यो सब मेरो परिवारको सहमतिविना नै थियो । घरमा कसले के भन्ला भन्ने सोच ममा आएन । बरु हामी एकअर्काविना बाँच्न नसक्ने अवस्थामा थियौं ।

म उसको प्रेममा हराएकी थिएँ ।

उसको मेरो प्रेमको सम्बन्धको चासो समाजमा बढ्दै थियो । कुरा काट्नेहरुलाई पनि विषय बनेको थियो । आखिर हल्ला न हो । एकान दुकान मैदान भनेझैं भयो । समाजमा चर्किएको हाम्रो सम्बन्धको हल्ला मेरो बा–आमाको कानमा पुग्यो । तर, परिवारलाई केटा को हो भन्ने थाहा थिएन ।

सुरुमा त बा–आमाले राम्रै प्रतिक्रिया दिनुभयो । छोरीले आफै रोजेको केटा खुसी हुन्छे भने बिहे गरिदिऊ न त ममीले बुबालाई सुनाउनुभयो । खुसीको क्षण थियो मेरा लागि । ममीको त्यो शब्द सुन्नासाथ म हर्षले गदगद भएँ ।

ममीको प्रतिक्रियासँगै बुबाले केटाबारे सोध्नुभयो ? उसको नाम के हो ? अनि घर कता नि ?

मैले उसको नाम भनेँ – राजीव विश्वकर्मा ।

नाम भन्नासाथ बाबाले आक्रामक हुँदै भन्नुभयो – के रे ! विश्वकर्मा रे !

मैले बाँकी कुरा भन्नै पाइनँ । बाबाले सबै कुरामा त्यही पूर्णविराम लगाइदिनुभयो ।

‘कमसेकम आफ्नो जात त हेर्नुपर्छ, के गर्न खोजेकी तैंले ?’

‘हाम्रो इज्जतलाई माटोमा मिलाउन खोज्ने ?’

बाबाले हकार्न छोड्नुभएन । मैले केवल नाम मात्र त भनेकी थिएँ ।

‘सम्झाऊ तिम्रो छोरीलाई,’ मामुलाई हेर्दै बुबाले फेरि एकवचन रुखो बोल्नुभयो ।

मैले पहिलोपटक बुबा यसरी रिसाएको देखेकी थिएँ । उहाँका हरेक शब्दले मलाई स्तब्ध बनायो । मन भारी भएर आयो । उहाँका सामु मेरो बोली पटक्कै फुटेन ।

‘छोरी तेरो कारण हामीले समाजमा मुख देखाएर हिड्ने ठाउँ नै नहुने भयो,’ म निशब्द भएपछि ममिले पनि बुबाकै कुरामा सहमति जनाउँदै थप्नुभयो ।

त पानी नचल्ने जातसँग गइस् भने सम्झेस्, ‘आजबाट टुहुरी भएँ ।’

संसारमा सबैभन्दा ठूलो खुसी नै बाबुआमा त हुन् । बाबुआमा नभएको भए आज म यो धर्तीमा कसरी हुन्थेँ र । मनमनै सोच्थेँ । तर आफ्नो प्रेमलाई पनि त छोड्न सक्दिनँ ।

उ मेरो मुटुमा ढुकढुक गरिरहन्थ्यो । आँखा खोल्दा उसलाई समीपमै देख्थेँ अनि चिम्लिदा पनि अगाडि नै आएर उभिइरहन्थ्यो । म उसको गहिरो प्रेममा थिएँ ।

साँच्चिकै केही याद, केही बात, केही व्यक्ति अनि तिनैबाट बनेका सम्बन्धहरु निकै प्यारा लाग्ने रहेछन् । मायासँगै मन साटिनु, मुटुसँगै धड्कन साटिनु नै मेरा लागि दुर्भाग्य भएको महसुस गरें ।

घरमा भएको यो कुरालाई मैले ऊसामु प्रकट गर्न सकिनँ । पटकपटक सोच्थें, जे भए होस् तर यो कुरा उसलाई भन्छु । फेरि मनले भन्थ्यो, बाआमाले यसरी जातिगत विभेद गरेको कुराले उसको मुटुमा चोट पुग्ने पो हो कि !

मेरो प्रेमसम्बन्ध मलाई विस्तारै भारी लाग्न थाल्यो । चाहेर पनि आफ्नो बनाउन नसकेको सम्बन्धलाई अब कता लैजाने भन्ने अन्यौलमा म अल्झिएँ ।

त्यसपछिका केही महिना गाउँमै बसे । बाआमाले राजीवबाट मलाई अलग बनाउन साथमा भएको एउटा मोवाइल फोन पनि खोसिदिए । मोवाइल हातमा नुहँदा उसको यादले मलाई पागल बनाइसकेको थियो ।

शहरको जस्तो गाउँघरमा लाइन फोन पनि नहुने । त्यसमाथि बुबाले घरबाट बाहिर निस्कन पनि अनुमति नदिने । सोच्थें, मैले गरेको प्रेम बा–आमाका खातिर बलिदान नै हुन्छ त अब ?

राजीवले मलाई गरेको माया र हेरचाह सम्झिँदा लाग्थ्यो, भागेर कतै टाढा जाऊ जहाँ उसको र मेरो संसार मात्र हुनेछ…!

फेरि गाउँमै अन्तरजातीय विवाह गरेकै कारण एउटी दिदीले वर्षौदेखि माइती टेक्न पाएकी थिइनन् । म पनि भोलि त्यसरी बस्नुपर्‍यो भने ? अहँ, हुन्न । म सक्दिनँ ।

म समाजसँग लड्न सक्ने अवस्थामा थिइनँ ।

दिन बित्दै गए । मैले उसलाई भुल्नै पर्छ भन्ने लाग्न थाल्यो । अचानक सम्पर्कविहीन हुँदा उसको मनमा पुगेको आघातबारे पनि नबुझेकी होइन तर त्यो भन्दा ठूलो बज्रपात त मेरै हिस्सामा थियो ।

लामो समय हाम्रो कुराकानी भएन ।

मैले राजीवलाई प्रणय दिवसमा भेट्ने भनेकी थिएँ । ऊ पोखराबाट गाउँ फर्किंदा काठमाडौं हुँदै आउने र भेट्ने हामीबीच सल्लाह भएको थियो ।

मैले नै राजीवलाई सँगै गाउँ जाने बेला भनेकी थिएँ, हामी यसपालिको प्रेमदिवसमा भेट्ने है !

उसले खुशी हुँदै सहमति जनाएको थियो । ऊ व्यस्त थियो । तर, मेरा लागि समय मिलाउन मिलाउन सधै तयार थियो ।

तर, हाम्रो प्रणय दिवसमा कहिल्यै भेट हुन पाएन ।

हरेक वर्ष जब प्रणय दिवसको रौनक चौतर्फी उत्सव बन्न थाल्छ, मलाई भने त्यही पुरानो घाउ सम्झना बनेर आउँछ ।

ऊ अहिले मेरो सम्झनामा छ या छैन, मलाई थाहा छैन । तर, हरेक प्रणय दिवसमा ऊ मेरो भ्यालेनटाइन बनेर आउँछ । उसलाई भन्न मन लाग्छ, ‘राजीव, मैले चाहेको भ्यालेनटाइट तिमी नै हौ ।’

कति प्रणय दिवस गइसके । तर, ऊ भने अझै पनि मेरो अधूरो भ्यालेनटाइन बनेर मसँगै रमाइरहेको छ ।


भर्खर

0