भुटानको ‘कूल राष्ट्रिय खुशीयाली’ अभियान विश्वका लागि उदाहरण « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

भुटानको ‘कूल राष्ट्रिय खुशीयाली’ अभियान विश्वका लागि उदाहरण



छिमेकी मुलुक भुटान नेपालसँग भौगोलिक रुपमा सबैभन्दा धेरै समानता रहेको मुलुक हो । बौद्ध अधिराज्य भुटान नेपालजस्तै हिमाली, पहाडी र समतल भूभाग मिलेर बनेको छ।

तिब्बती संस्कृतिबाट अत्यधिक प्रभावित रहेको भुटानी र नेपाली संस्कृतिबीच पनि उत्तिकै धेरै समानता छन् ।

करिब साढे सात लाख जनसङ्ख्या रहेको भुटानमा करिब अढाई लाख मानिसहरु नेपाली मूलका छन् । जो दैनिक बोलीचालीमा नेपाली भाषा प्रयोग गर्छन् ।

नेपाल र भुटानबीच भौगोलिक र सांस्कृतिक रुपमा धेरै नै समानता भएपनि एउटा कुरामा चाहीँ भुटान नेपाल र बाँकी विश्वभन्दा अलग छ । त्यो हो, भुटानको राष्ट्रिय खुशी नीति ।

विश्वका प्रायः सबै मुलुकहरु आर्थिक रुपमा समृद्ध हुन प्रयासरत भइरहेका बेला भुटान भने आफ्ना जनताको खुशीपन बढाउन लागि परेको छ ।

विश्वका अरु मुलुकले कूल ग्राहस्थ उत्पादन र कूल राष्ट्रिय आय बढाउन लागि परिरहेका बेला भुटानी सरकारका नीतिहरु भने ‘कूल राष्ट्रिय खुशीयाली’ बढाउन केन्द्रित छन् । यसका लागि त्यहाँ प्रधानमन्त्रीको अध्यक्षतामा कूल राष्ट्रिय खुशीयाली आयोग समेत गठन गरिएको छ ।

जनताहरु कति खुशी छन् भन्ने जान्नका लागि भुटानले हरेक ५ वर्षमा राष्ट्रिय खुशीयाली सर्वेक्षण समेत गर्दै आएको छ । यस्ता सर्वेक्षणमा दामासाहीबाट करिब ८ हजार घर परिवारलाई उनीहरु कति खुशी छन् भन्नेबारे भन्ने प्रश्न सोधिन्छ ।

यस्ता प्रश्नहरु पनि भुटानी जनताको खुशीयाली दर्शाउने किसिमका हुन्छन् । आर्थिक भन्दा पनि मनोवैज्ञानिक सुख, स्वास्थ्य, समय उपयोग, पैसा खर्च गर्ने शैली, शिक्षा, सामाजिक गतिशिलता, सुशासन, संस्कृति, पर्यावरण, जीवनशैली लगायतलाई आधार बनाएर घण्टौंसम्म मानिसहरुसँग कुराकानी गरिसकेपछि यसको माप लिइन्छ ।

एनपीआरले लेखेको समाचारमा सरकारी अधिकारीले ‘तपाईं कति समय ध्यान गर्नुहुन्छ ? तपाईं आफ्नो परिवारलाई कति समय दिनुहुन्छ ? कमाएको पैसा केमा खर्च गर्नुहुन्छ ?

कति घण्टा सुत्नुहुन्छ ? कति समय काम गर्नुहुन्छ ? आफ्ना छिमेकीलाई कति विश्वास गर्नुहुन्छ ? कति समय र पैसा सामाजिक कार्यमा खर्च गर्नुहुन्छ ? घरमा झगडा गर्नुहुन्छ कि गर्नुहुन्न ?’ लगायतका प्रश्न सोधिने गरेको उल्लेख छ ।

आर्थिक रुपमा भुटान अझै पनि विश्वका गरीब मुलुकहरुको सूचीमा आउँछ । भुटानलाई संयुक्त राष्ट्रसंघले अतिकम विकसित मुलुकको सूचीमा राखेको छ । आर्थिक रुपमा सम्पन्न नभएपनि भुटानले मुलुकमा आर्थिक विकासका लागि गरेको प्रयास पनि उल्लेख्य छ ।

भुटानले मुलुकमा पर्यटन, जलविद्युत उर्जा निर्यात, पूर्वाधारको विकासतर्फ भुटानको प्रयासले पछिल्ला केही वर्षमा गति लिन थालेका छन् । तर, आर्थिक रुपमा समृद्ध हुनेतर्फ मात्र भुटानको ध्येय छैन । भुटान आर्थिक सँगसँगै समाजका सबै क्षेत्रमा आफ्ना नागरिक सन्तुष्ट होउन् भन्ने चाहन्छ ।

भुटानमा कूल राष्ट्रिय खुशीयालीको अवधारणा कहिले आयो भन्ने किस्सा पनि रोचक छ । सन् २०१२ मा अर्थ जर्नालिज्म नेटवर्क नामक जर्नलमा प्रकाशित भुटानी पत्रकार टासी दोर्जेको लेखमा सन् १९७९ मा तत्कालिन भुटानी नरेश जिग्मी सिंगे वाङचुकले पहिलो कूल राष्ट्रिय खुशीयालीको उल्लेख गरेको लेखिएको छ ।

उक्त लेख अनुसार खासमा भएको के रहेछ भने सन् १९७२ मा आफ्ना पिता तथा भुटानका पूर्वनरेश जिग्मी दोर्जे वाङ्चुकको मृत्यु भएको २ वर्षपछि सन् १९७४ मा १९ वर्षको उमेरमा जिग्मी सिङ्गे वाङचुक भुटानका नयाँ नरेश बन्न पुगे ।

त्यसबेला किशोर राजा घोडामा चढेर आफ्नो अधिराज्यको भ्रमणका लागि गाउँगाउँसम्म जाने गरेका थिए । आफ्ना कर्मचारी र सामान्य जनतासँग कुराकानी गर्दै आएका उनले पछि गएर आर्थिक समृद्धी भन्दा पनि आफ्ना जनताको खुशीयाली महत्वपूर्ण हुने बुझे ।

६० को दशकसम्म बाहिरी विश्वबाट अलग्गै रहेको भुटान सन् १९७१ मा मात्र संयुक्त राष्ट्रसंघको सदस्य बनेपनि ७० को दशकसम्म विश्वका लागि रहस्यमय मुलुककै रुपमा रहेको थियो ।

सन् १९७९ मा क्युबाको राजधानी हवानामा भएको असंलग्न राष्ट्रहरुको सातौ शिखर सम्मेलनबाट स्वदेश फर्कने बेला भारतको बम्बईमा तत्कालिन नरेश जिग्मी सिङ्गे वाङ्चुकलाई एकजना पत्रकारले प्रश्न गरेका रहेछन्, ‘हामीलाई तपाईको मुलुकको बारेमा केही थाहा छैन । भुटानको कूल राष्ट्रिय उत्पादन कति छ भन्दिनुहुन्छ ?’

त्यसपछि नरेशले जवाफ दिएछन्, ‘हामी कूल राष्ट्रिय उत्पादनमा विश्वास गर्दैनौं । किनकी हाम्रा लागि कूल राष्ट्रिय खुशीयाली महत्वपूर्ण छ ।’ भुटानी नरेशको यही जवाफपछि त्यहाँ ‘कूल राष्ट्रिय खुशीयाली’ नामक दर्शनको प्रादुर्भाव भएको टासी दोर्जेको लेखमा उल्लेख छ ।

पछि सन् १९९८ मा दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एशिया प्रशान्त शहस्राब्दी सम्मेलनमा तत्कालिन प्रधानमन्त्री जिग्मी वाई थिन्लेले गरेको सम्बोधनमा पहिलो पटक भुटानले कूल राष्ट्रिय खुशीयालीलाई मुलुकको विकास दर्शनका रुपमा औपचारिक प्रस्तुत गर्यो । त्यसयता भुटानले कूल राष्ट्रिय खुशीयालीलाई विकासको वैकल्पिक धारणाका रुपमा प्रस्तुत गर्दै आएको छ ।

सन् २००८ मा जारी भएको संविधानमा भुटानले राष्ट्रको उद्देश्य कूल राष्ट्रिय खुशीयाली रहेको उल्लेख छ । भुटानले कूल राष्ट्रिय खुशीयालीको अवधारणालाई अन्तर्राष्ट्रियकरण गर्न समेत प्रयास गरिरहेको छ । भुटानको अग्रसरतामा २०११ मा संयुक्त राष्ट्रसंघको महासभाले खुशीयालीलाई विकासको समग्र दृष्टिकोणका रुपमा परिभाषित गर्दै सबै सदस्य राष्ट्रहरुलाई भुटानको उदाहरण पछ्याउँदै खुशीयाली ‘मानिसको आधारभूत लक्ष्य’ रहेको प्रस्ताव पारित गर्यो ।

भुटानको उदाहरण पछ्याउँदै विश्वका विभिन्न मुलुकमा खुशीयालीलाई प्रमुख लक्ष्य मान्न थालेका छन् । केही समयअघिमात्र संयुक्त अरब इमिरेट्स यूएईमा खुशीयाली मामिलाका लागि राज्य मन्त्री नै नियुक्त गरिएको छ ।

त्यसबाहेक संयुक्त राष्ट्रसंघले सन् २०१२ मा हरेक वर्ष २० मार्चलाई विश्व खुशीयाली दिवसका रुपमा मनाउने निर्णय समेत गरिसकेको छ । त्यस्तै, सन् २०१६ मा अर्को बौद्ध अधिराज्य थाइल्याण्डले पनि भुटानकै शैलीमा ‘कूल राष्ट्रिय खुशीयाली केन्द्र’ को स्थापना गरेको छ ।

त्यसबाहेक एशिया, युरोप र अमेरिकी महादेशका विभिन्न मुलुकमा कूल राष्ट्रिय खुशीयालीलाई प्रोत्साहन र प्रवद्र्धन गर्नका लागि विभिन्न संस्थाहरु स्थापना भएका छन् ।

कूल राष्ट्रिय खुशीयालीको अवधारणा ल्याएको भुटान अवश्य पनि विश्वको सबैभन्दा खुशी मुलुक भने होइन । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान सञ्जालले हरेक वर्ष सार्वजनिक गर्ने विश्व खुशीयाली सूचकांकमा भुटानको स्थान पुछारतिर नै आउँछ ।

अघिल्लो वर्ष प्रकाशित सूचकांकमा भुटान ९५ औं स्थानमा थियो । तर, सूचकांकमा जहाँ रहेपनि भुटानले ल्याएको कूल राष्ट्रिय खुशीयालीको अवधारणा भने विश्वका लागि एक उदाहरण नै बनेको छ र भविष्यमा अरु धेरै मुलुकहरुले यही अवधारणा अनुशरण गर्ने सम्भावना पनि उत्तिकै छ ।

तस्वीर : ‘कूल राष्ट्रिय खुशीयाली’ अभियान भुटान


भर्खर

0