‘काम सानोठूलो हुँदैन, मेहनत गरे पैसा कमाउन विदेशिनु पर्दैन’ « Khabarhub
Logo
१२ मंसिर २०७७, शुक्रबार

‘काम सानोठूलो हुँदैन, मेहनत गरे पैसा कमाउन विदेशिनु पर्दैन’



काठमाडौं– फागुन लागेसँगै दिउँसो चर्किन थालेको घाम । माटो र धुलोले रंगिएका कपडा । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको लागि काम गरिरहेका थिए जुम्लाका कृष्णबहादुर थापा ।

हातमा पञ्जा लगाएका उनी साबेलले माटो खेलाइरहेका थिए । खुट्टामा लगाएका बुटले पनि उनलाई माटो मुछ्न सहयोग गरिरहेकै थिए ।

यही माटोसँग खेल्दा उनको निधारबाट चट चट पसिनाका ढिक्काहरु पनि खरिरहेका थिए । माटोसँगै खेल्ने उनलाई दिनभरी गरेको कामले पुग्दैन । त्यसैले उनी बिहानको झुल्के घामसँगै काम गर्न पुगिसक्छन् रानीपोखरीमा ।

उनी रानीपोखरी आउन थालेको ५–७ महिना भयो । बिहान घामको झुल्कोसँगै काम गर्न पुग्छन् ।

विषेशत् उनी पर्खाल लगाउने र साबेलले माटो मुछ्ने काममा व्यस्त हुन्छन् । त्यति मात्र होइन परिआएको खण्डमा निर्माणका अन्य काम गर्ने गरेको बताउँछन् थापा ।

बिहीवार पनि उनी सँधै झै आफ्नै काममा व्यस्त थिए । निधारबाट तप..तप.. पसिना चुहिइरहेको थियो । उनलाई त्यो पसिना पुछ्ने फुर्सद थिएन । त्यही पसिनाले निथ्रुक्क भिजेको शरीर लिएर काम गर्न आनन्द हुने उनको अनुभव छ ।

‘पसिना बगाएर काम गर्नुको आनन्द छुट्टै छ’, हाँस्दै उनले भने, ‘यी झरेका पसिना होइनन् यी त मेरा आम्दानीका आधार हुन् ।’

थापाले यसरी मजदुरी गर्न थालेको झण्डै ३ वर्ष बितिसकेको छ । सम्पदा क्षेत्रमा भने पहिलो पटक पसेका हुन् उनी ।

‘निर्माणका काममा लागेको ३ वर्ष बित्यो’ उनले भने, ‘यसअघि घर बनाउने काममा व्यस्त थिएँ ।’

‘यसरी नै भारी बोक्न नेपालीहरु लाखौं रुपैयाँ खर्च गरेर विदेसिन्छन्’ थाकेको शरीरलाई केहि आराम दिँदै काम गरिरहेको ठाउँ छेउमा टुसुक्क बसेर थापाले भने, ‘आखिर शरीरको पसिनालाई स्वदेशमै बगाए के हुँदैन र ?’

उनको लक्ष्य ठूलो छैन न त सोच नै । दुई छाक खाना र परिवारलाई पाल्न पाए पुग्छ उनलाई । त्यसो त श्रीमती पनि उनीसँगै मजदुरी गर्छिन ।

यसरी श्रीमान–श्रीमती सँगसँगै काम गर्न पाउँदा खुसी लाग्छ उनलाई । ‘दुई जनाको कमाईले शहरमा बस्न आरामसँगले पुगेको छ’ उनले थपे, ‘अहिले चाहिँ उनी घरमै छिन् केही दिनदेखि ।’

त्यसो त उनको पनि वैदेशिक रोजगारमा जाने इच्छा भने नभएको होइन । ०६५ सालतिर उनले सीटीईभीटीबाट सोलारसम्बन्धि तालिम सिकेका थिए ।

रोजगारीको शिलशिलामा युएई जान सीप पनि सिके उनले । डेढ लाख रकम म्यानवापरले मागेपछि पैसा जुटाउन सकेनन् र त आज स्वदेशमै छन् ।

‘खोजेको भए त गाउँघरतिर ऋण पनि पाइन्थ्यो’ थापाले खबरहबसँग भने, ‘तर ऋण लिएर के विदेश जानु भन्ने सोच आयो त्यसैले विदेश जाने सोचलाई परिवर्तन गरेर यस्तो काम गर्न थालेको ।’

काम सानो ठूलो हुँदैन र गाह्रो सजिलो भन्ने हुँदैन । ‘मलाइ कतिपयले सोध्छन् यसरी मजदुर गर्दा गाह्रो हुँदैन ?’ अरुको प्रतिक्रियालाई सुनाउँदै उनले भने, ‘काम सजिलो गाह्रो भन्ने हुँदैन त्यो त मानिसको लगनशीलतामा भर पर्छ नि ।’

शहरमा पढ्दा ठूलो बनिन्छ भन्ने सोच

वि.स. २०४९ सालमा जुम्लामा जन्मिएका थापा परिवारका कान्छा छोरा हुन् । विकट गाउँमा जन्मिएकाले पढ्ने र लेख्ने त सपनामा मात्र सीमित हुन्थ्यो त्यतिबेला ।

‘स्कुलहरु पनि पर्याप्त नहुने फेरि घण्टौ हिडेर पुग्नु पथ्र्यो’ गाउँघरको कुरा सम्झिँदै उनले भने, ‘परिवारको आर्थिक अवस्था पनि कमजोर त्यसमाथि सबै सन्तानलाई पढाउन गाह्रो हुन्थ्यो ।’

जुम्लामा प्रोजेक्टका लागि गएका एक व्यक्ति (माडवाली)ले थापालाई बिहान बेलुका घरको काम लगाउने र दिउँसो स्कुल पठाउन पढाउने भनेर काठमाडौं ल्याए ।

पढ्नकै लागि भनेर उनी काठमाडौं प्रवेश गरेका थिए १० वर्षको उमेरमा ।

तर सोचेभन्दा फरक भइदियो उनको यात्रा । दिनभर काम गर्न परेपछि पढ्न पाएनन् उनले । कहिलेकाहिँ फुर्सदमा मात्र स्कुल जान्थेँ उनी । नगरी काम पुग्दैन खाना साँझ र बिहान भनेझैँ हुन्थ्यो उनलाई । पढ्नेलेख्ने उमेरमा घरायसी काममा व्यस्त हुनु बाध्यता थियो उनका लागि ।

अध्ययन छोडेर तालिम केन्द्रतिर..

पढ्न भनेर गाउँ छोडेर आएका थापाले घरको काम गर्दागर्दै पढ्नै छोडिदिए । ‘साहुले काम लगाइरहने अनि पढ्ने त समय नै हुँदैन थियो’ निराश हुँदै उनले भने, ‘काम गर्दै जादा स्कुल जानै पाउदिनाँ थिए ।’

पढ्नकै लागि माडवालीको साथमा लागेर आएका थापा पढ्ने इच्छा पूरा नभएपछि काम गर्नुपर्छ भन्ने तिर सोच जान थाल्यो ।

‘पढ्दै थिएँ, स्कुल छोडिदिएँ’ उनले भने, ‘र डेरा लिएर साथीहरुसँग बस्न थाले ।’

डेरामा बस्न थालेपछि भाडा तिर्नै पर्‍यो । फेरि खाना लगाउन पनि पर्ने । शुरुमा त उनलाई फसाद नै पर्‍यो ।

‘काठमाडौंको ठाउँ पाइलैपिच्छे पैसा लाग्ने’ ती दिनहरु स्मरण गर्दै उनी भन्छन्, ‘साथीहरुसँगै कामको खोजीमा हिड्न थाले ।’

केही दिन कामको खोजीमा भौतारिएपछि सुकेधारास्थित सीप केन्द्रमा पुगे । तत्कालका लागि केही पैसा कमाउने र सीप सिकेपछि विदेशतिर लाग्ने उनको सोच बनाए ।

सुकेधारामा रहेको पाथीभरा सोलार हिटर टावर ट्रेनिङ सेन्टरमा २ वर्ष काम गरे उनले ।

दुई वर्षसम्म काम गरेपछि त्यसबारे राम्रो ज्ञान हासिल पनि गरे । त्यसपछि उनलाई विदेश जाने सोच पलायो ।

सोही उद्धेश्यले उनी जुम्ला पुगे । बा–आमालाई विदेश जाने कुरा सुनाउन । ‘डेढ लाख जति रुपैयाँ चाहियो विदेश जान’ उनी भन्छन्, ‘त्यो बेला मलाई त्यति पैसा जुटाउन पनि मुस्किल पर्‍यो ।’

साथीलाई प्लेनमा उडाएर आफू मजदुरको काममा

‘आफूसँगै तालिम केन्द्रमा सीप सिकेका साथीलाई युएईतिर प्रस्थान गर्ने प्लेनमा उडाएँ’ मन भारी बनाउँदै फर्किनु परेको सुनाउँदै भन्छन्, ‘त्यहि दिनबाट मजदुरी गर्न निर्माण भइरहेका ठाउँमा पुगे ।’

त्यतिबेला उनले कल्पना गरेका थिए । विदेश जान पाएको भए धेरै पैसा कमाउथेँ । घर परिवारलाई खुसी राख्थेँ ।
तर आज उनी स्वदेशमै बसेर पनि निकै खुसी महशुस गरिरहेका छन् ।

‘परदेश नगएकै राम्रो भयो मेरा लागि । यही काम पाएँ, विहे पनि गरे अहिले त ४ वर्षकी छोरी पनि छिन्’ गर्व गर्दै उनले भने, ‘यसरी परिवारसँगै बसेको छु दुःख सुख बाँड्न पाएको छु यो खुसी परदेशमा कहाँ मिल्थ्यो र ।’

माटो मुछेरै कमाउछन् वार्षिक ५ लाख

थापाले काम शुरु गर्दा दैनिक ६ सय रुपैयाँ ज्याला थियो । तर अहिले एक हजार रुपैयाँ पुगिसकेको छ ।

‘दिनभर काम गर्दा हजार रुपैयाँ कमाई हुन्छ’ माटो मुछ्दै उनी भन्छन्, ‘तर म बिहानैदेखि काम गर्छु १२–१५ सयभन्दा बढी कमाउँछु ।’

ठेकेदारमार्फत काम गर्ने हुँदा विभिन्न ठाउँमा निर्माण ठेक्का आइरहने र कामको अनुभव नहुने बताउँछन् उनी । ‘धेरै मानिसहरु काम नै छैन भन्दै हिड्छन्’ काम देखाउँदै उनले भने, ‘काम जति पनि छ तर गर्न सक्नु पर्‍यो ।’

मजदुरी गरेर स्वदेशमै पनि जीविकोपार्जन गर्न सकिने बताउँछन् थापा ।

‘पैसा कमाउनका लागि परदेश नै जानुपर्छ भन्नेहरुले स्वदेशलाई पनि परदेश नै सम्झिनुस्’ अन्तमा थापाले भने, ‘परिवारसँग खुसी साट्दै रमाउन स्वदेशमै पाइन्छ परदेशमा होइन ।’


भर्खर

0