बालबालिकालाई राष्ट्रपति कार्यालयमा मिष्ठान्न भोजन | Khabarhub Khabarhub

बालबालिकालाई राष्ट्रपति कार्यालयमा मिष्ठान्न भोजन


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपतिसँगको माघे सङ्क्रान्तिमा रमाए बालबालिका
“मनबिनाको धन ठूलो कि धनबिनाको मन
आकाशैमा उडी जाने ए चरी भन
दुनियाँलाई नियाल्ने तँ ए आकाश भन…”

विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगै रहेका बालबालिका त रमाए नै, राष्ट्रपति भण्डारी र सहभागी विशिष्ट व्यक्तिको अनुहारमा खुशी छाएको थियो । गीत गाइसकेपछि रोकायले मन नै भएन भने धनको काम नलाग्ने र धनभन्दा मन नै ठूलो हो भन्ने विचार दिएर मञ्चबाट ओझेल पर्दा उनलाई तालीको प्रशंसाको कुनै खडेरी परेन ।

अर्का विद्यार्थी गोविन्द सार्कीको ‘रेशम फिरिरी…’ धुनमा बाँसुरी बादन, बालबालिकाको अर्को समूहको ‘च्वाङ्वा ओइ च्याङ्वा..’, ‘चिँ मुसी चिँ’, ‘झुम्रा’, ‘झाँगड’ र ‘सोहराय’ नृत्यले माघी पर्वलाई उत्साहित तुल्याएको अनुभव सहभागीलाई भयो ।

कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पसका छात्राले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा बालबालिकालाई माघी पर्वमा खुवाइने परिकार मिष्ठान्न भोजन गराइएको थियो ।

गीत र नृत्य प्रस्तुत हुनुअघि बालबालिकाले मुलुकका राष्ट्र प्रमुखको कार्यालय र निवासको अवलोकन भ्रमण गरेका थिए ।

“अहिले हामी कहाँ छौँ ?”
“शीतल निवास”
“यहाँ को बस्नुहुन्छ ?”
“राष्ट्रपति विद्यादेवी भण्डारी”

माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा ‘बालबालिकासँग राष्ट्रपति’ नाम दिइएको कार्यक्रमका क्रममा सुनिएका यी संवादले अरु दिनमा भन्दा आजको शीतलनिवासको वातावरण फरक देखिएको थियो ।

राष्ट्रपति कार्यालयका कर्मचारीले बालबाबलिकालाई प्रश्न सोध्दै जवाफ लिँदै र बालबालिकाले नबुझेका वा उनीहरुले जान्न चाहेका कुराबारे अवगत गराउँदै थिए । कतिपय बालबालिका गुन्यू चोली र दौरा सुरुवालमा सजिएर आएका थिए भने कतिपय अनौपचारिक पोशाकमा शीतलनिवास पुगेका थिए ।

बालबालिकालाई राष्ट्रपति भण्डारीले प्रदूषण कम गराउने लक्ष्यका साथ प्रयोग गर्ने गरेको विद्युतीय गाडीबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो । परिसर वरिपरिका बगैँचा, पाहुना कक्ष, सुरक्षा कक्षका साथै बाहिर जाने र भित्र जाने ढोकाका बारेमा पनि बालबालिकाले चासो दिएका थिए ।

‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा सहभागी नेपाल बाल सङ्गठनका छ वर्षभन्दा माथि उमेरका बालबालिकाहरुमध्ये कतिपय पहिला पनि शीतलनिवास पुगिसकेका थिए ।

पहिलाभन्दा अहिले नयाँ नयाँ भवन र सरसफाइ गरेर परिसरलाई चिटिक्क बनाइएको छ । अभिभावक र सहाराबिहीन बालबालिकालाई आश्रय दिँदै आएको बाल सङ्गठनका बालबालिकालाई यसअघि पनि शीतलनिवासमा बोलाइएको थियो । राष्ट्रपति भण्डारीको इच्छाअनुसार उनीहरुलाई समयसमयमा लुगाफाटो र मिठाइ दिने पनि गरिएको थियो ।

बाल सङ्गठनका गृह व्यवस्थापन शाखाका प्रमुख सविता लम्सालले राष्ट्रपतिको निमन्त्रणामा आज सिफल र नक्सालका छ वर्षमाथिका बालबालिकालाई शीतलनिवास ल्याइएको जनाउँदै यस्ता कार्यक्रमबाट उनीहरुले खुशी हुने बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिका भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरुका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरिन् । उनले बालबालिकाको शिक्षा र स्वास्थ्यका साथै उनीहरुलाई असल नागरिक बनाउन लगानी बढाउन र हेरचाहमा कुनै कमीकमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको हो ।” उनले आफू एक दिन भए पनि बालबालिकासँग रमाउन र उनीहरुलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताइन् ।

विगतमा माघीका अवसरमा राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउँदै आएकी छिन् । बिदा भएर जाने बेलामा बालबालिकालाई बाल रचनामा आधारित बुँद राणाको ‘बुष्टकारी¬’ र रामबाबु सुवेदीको ‘भँगेरी’ बाल कविता सङ्ग्रह उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन