पोखराबाट नारायणकाजीलाई खुला पत्र « Khabarhub
Logo
११ माघ २०७७, आइतबार

पोखराबाट नारायणकाजीलाई खुला पत्र



माननीय नारायणकाजी श्रेष्ठ (प्रकाश) ज्यू
नमस्कार !

हिजोआज सामाजिक सञ्जालमा तपाईंसँग सम्बन्धित अडियोसहितको भिडियो भाइरल भएको छ । धेरैले यसमा टिप्पणी गरेका छन् र तपाईंको नैतिकतामाथि प्रश्न उठाउँदै कडा आलोचना गरिरहेका छन् । यो समयमा यत्तिको विषय पाउनु विपक्षीलाई स्वाभाविकरूपमा राम्रै मसला हुने नै भयो ।

त्योभन्दा बढी तपाईंको पार्टीका एक पक्षीय कार्यकर्ताको लागि त झन यो विषय सबैभन्दा महत्वको हुने नै भयो किनभने उनीहरूलाई तपाईं केपीजीको प्रवक्ता नबनेर अर्को गुटतिर लागेको रिस जो पोख्नु छ ।

केपीको महत्वाकांक्षा पूरा हुन नदिन जुन भूमिकामा तपाईं हुनुहुन्छ, त्यसले गर्दा उक्त पक्षले तपाईंलाई राजनीतिबाट पाखा लगाउन चाहेको बेला तपाईंमाथिको आक्रमणमा उनीहरू खरो उत्रने कुरा राजनीतिमा स्वाभाविक नै होला ।

प्रकाशजी !

तपाईंप्रतिको मेरो गुनासो राख्नुभन्दा पहिला म मेरो पृष्ठभूमि राख्न उपयुक्त ठान्दछु । म जुनबेला राजनीतिकरूपमा थोरैमात्र सचेत थिएँ, त्यो बेला नेपालमा जनयुद्ध उत्कर्षमा पुग्दै थियो । म भर्खर स्कूल पढ्दै गरेको किशोरमा जनयुद्धले निक्कै सकारात्मक प्रभाव पार्दै थियो ।

यसले उठान गरेका मुद्दाले पक्कै पनि गरिब र निमुखाका गाँस, बाँस, कपास, शिक्षा, स्वस्थ्य र रोजगारीका समस्या हल गर्नेछ भन्ने मलाई लागेको थियो ।

शोषणको अन्त्यका लागि जनयुद्ध नै एक माध्यम हो भन्ने विश्वास ममा पूराका पूर थियो । त्यसैले मैले उक्त अवधिमा जनयुद्धलाई भौतिक, नैतिक र अझ सकेसम्म आर्थिक सहयोग समेत गरेँ, जति मेरो क्षमताले भ्यायो ।

जनयुद्ध चलिरहेकै बेला मैले यसमा भएका त्रुटी, कमजोरी र अराजक प्रवृत्ति नजिकबाट नियाल्ने मौका समेत पाएँ । यसबाट मलाई लाग्थ्यो कि यो अब पार लाग्ने अवस्था छैन ।

त्यही बेला दरबार हत्याकाण्ड भएसँगै नयाँ राजाको कदमले माओवादी र सात दललाई नजिक ल्याइदियो । उनीहरूलाई नजिक ल्याउन र शान्ति सम्झौता गर्न तपाईंले एकता केन्द्रको महासचिवको हैसियतले जुन भूमिका खेल्नुभयो, त्यहीँबाट ममा तपाईंप्रति एक प्रकारको श्रद्धा उत्पन्न भयो ।

पछि तपाईंले आर्जित उपलब्धिहरू संस्थागत गर्न पार्टी एकता गरी जुन पहलकदमी लिनुभयो, त्यसबाट समेत ममा तपाईंप्रतिको श्रद्धा अझ बढेर गयो ।

एकीकृत माओवादी बनिसकेपछि माओवादीको एउटा तप्का चन्दा उठाएर कमाउनमै मस्त थियो । उनीहरू जसरी हुन्छ कमाउनै पर्छ भन्ने सोचका साथ लागिरहेका थिए । यस्तो पारा मजस्ता सोझा कार्यकर्ता र समर्थकलाई पटक्कै मन परेको थिएन ।

यस्तै बेला थियो कास्कीबाट एउटा कार्यकर्ताको समूह तपाईंलाई भेट्न तपाईंको ललितपुरस्थित निवास पुगेको थियो ।

त्यो बेला तपाईंले भन्नुभएको थियो, ‘पार्टी गम्भीर अवस्थामा छ । हाम्रा कार्यकर्ता कमाउनमात्रै लागेका छन् । दाजुभाइबीच अंशबण्डाको झगडा भयो, हात हालिहाल्ने र त्यहीँबाट कमाउने । श्रीमानश्रीमतीबीचको झगडामा हात हाल्ने, त्यहीँ कुन पक्षबाट हुन्छ, धुतिहाल्ने । सँधियारबीच झगडा भए त्यहाँ पनि हात हाल्ने अनि कुनले पैसो दिन्छ उसैको पक्षमा निर्णय गरिदिने ।

कहीँ तस्करी र कालो बजारी गर्नुपरे, ठेक्कापट्टा गर्नुपरे भिडिहाल्ने । यो तरिकाले पार्टी बन्दैन र वर्गसंघर्ष पूरै मरेर जान्छ ।’

तपाईंले जे भन्नुभयो, मलाई पनि त्यही लागेको थियो । पार्टीमा यस्ता प्रवृत्तिका विरुद्ध व्यापकरूपमा कुरा उठाउने र यसलाई अन्त्य गर्ने गरी आफू लागिपर्ने कुरा गर्नुभएको थियो । यसबाट म तपाईंप्रति अझ विश्वस्त भएको थिएँ । तपाईंप्रतिको आशा भरोसा अझ बढेको थियो ।

समय बित्दै गयो । तपाईंहरूले पार्टी सञ्चालन गर्न सक्नुभएन वा परिस्थिति अनुकूल रहेन । अवस्था यस्तो भयो कि कम्युनिस्ट पार्टी भन्ने एउटा, गर्ने अर्को देखियो । सामान्य कांग्रेस र अरू पार्टीको जतिको इमानदारी पनि तपाईंको पार्टीमा देखिएन ।

पार्टी ध्वस्त भयो । जनताको र इमानदार कार्यकर्ताको निराशा चरमचुलीमा पुग्यो । पार्टी टुक्राटुक्रामा विभाजन हुन पुग्यो । जनयुद्धको एक जना प्रमुख समेत कम्युनिस्ट परित्याग गरी नयाँ पार्टी गठन गर्ने अवस्थामा पुगे ।

म त सामान्य कार्यकर्ता र समर्थक न परेँ, कम्युनिस्ट परित्याग गर्दै नेपाली कांग्रेसलाई समर्थन गर्ने घोषणा गरेँ । मेरा कारणले माओवादी भएका भाइबहिनी, काकाकाकी, हजुरबुबा, हजुरआमा, साथी, इष्टमित्रको ठूलो गुनासो रह्यो मप्रति ।

मैले उनीहरूलाई चित्त बुझाउन बाबुरामको सहारा लिनुपर्‍यो । मैले भनेँ कि जनयुद्धका दोस्रा नायक त पलायन हुनुपर्छ भने मेरो के कुरा ! यसरी मैले कांग्रेससम्मको यात्रा तय गर्दासमेत तपाईंप्रतिको श्रद्धा कायम नै रह्यो ।

तपाईंले वैदेशिक हस्तक्षेपको विरुद्ध उठाएको आवाज, सार्वजनिक यातायात प्रयोग गरेर दिएको सन्देश र हरेक ठाउँमा उठाएको न्यायपूर्ण आवाज श्रद्धालायक नै रहे । मैले पछिल्लो चुनावमा कांग्रेसको प्रचार गरेँ, भोट रूखमा हालेँ तर तपाईंप्रतिको श्रद्धामा कमी आएन ।

पदको लोभी भनेर भएको तपाईंको विरोधमा मैले काम गर्न र जनताको भलो गर्न पदमा रहनु पर्छ, यो व्यक्तिगत लोभको कुरा होइन भन्दै प्रतिवाद गरेँ । बहसमा तपाईंको पक्ष लिएँ ।

अझ तपाईं राष्ट्रिय सभाको सदस्य निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्दा मैले माथि भने झैं तपाईंमा आफ्नो व्यक्तिगत फाइदाको लागि पदको लोभ नभएको पुष्टि भएको ठानेँ ।

यसपटक भने तपाईंप्रतिको मेरो विश्वास भङ्ग भएको छ । तपाईंमाथि जे प्रश्न उठेको छ नि, यसबाट धेरै त खुशी छन् तर म भने अत्यन्तै दुःखी छु ।

सञ्जालमा आएको अडियो—भिडियोलाई लिएर तपाईंलाई गोकुलको भन्दा ठूलो अपराध गरेको भनी प्रचारप्रसार गर्न खोजिएको छ । त्यसलाई त म मान्दिनँ किनकि त्यसमा लेनदेन मिलाइदिन खोजेको स्पष्ट बुझिन्छ । त्यसमा तपाईंले पैसा खाएको र मागेको होइन नै भन्ने बुझिन्छ तर तपाईंमाथि नैतिकताको प्रश्न भने स्पष्टरूपमा उठेको छ ।

तपाईंलाई लेनदेन मिलाउन किन आवश्यक पर्‍यो ? ती पात्रहरूसँग तपाईंको सम्बन्ध के हो ? मिलाए बापत तपाईंले पाउने के हो ? कतै त्यहाँ भएको लगानी अप्रत्यक्षरूपमा तपाईंकै त होइन ? यसको उत्तर तपाईंले इमानदार भएर प्रष्टरूपमा नदिएसम्म एक सादगी नेताको छवि बच्नेवाला छैन ।

गोकुलको पाराको उत्तरले पक्कै काम चल्दैन । तपाईंले केपी ओलीका कार्यकर्ता र कांग्रेसका कार्यकर्ताका प्रश्नको उत्तर नै दिनुपर्छ भन्ने त लाग्दैन तर पूर्वमाओवादी कार्यकर्ताको सदाशयताले मात्र त्यसको उत्तर दिन्छ भन्ने नसोच्नु होला ।

तपाईंका मजस्ता लाखौँ शुभचिन्तक छौँ, जो भोट अर्को पार्टीमा हालेर पनि तपाईंको कार्यशैली र सादगीपनको प्रशंसा गर्छौं । तिनीहरूको आशंका मेट्नै पर्छ ।

अझ तपाईंको पार्टीकै लाखौँ इमानदार कार्यकर्ताको भरोसा त तपाईंले कुल्चनै हुँदैन । त्यसैले तपाईं साँच्चै सादगीपन भएको नेता हो भने कत्ति नढाटीकन यो विषय प्रष्ट पार्नै पर्छ । होइन भने गोकुल बाँस्कोटा र तपाईंमा के फरक रह्यो र ?

अनि अर्को कुरा, तपाईं घरभाडा तिरेर बस्नुभएको छ । दैनिक खान, सिजन अनुसारका आकर्षक कपडा लगाउन, बाहिर हिँड्न, कार्यकर्ता आउँदा चियासम्म ख्वाउन खर्च कहाँबाट जोरजाम हुन्छ ? यो पनि यसैपाला स्पष्ट पारिदिनु भए तपाईंको कद अझ उचो हुँदो हो कि !

यदि तपाईंले यस्तो खर्च शुभचिन्तकले दिन्छन् भन्नुभयो भने यो स्पष्ट हुन्छ कि तपाईं ठूला व्यापारी, तस्कर, दलाल, कालो बजारिया र माफियासँग पैसा लिनुहुन्छ । यदि तपाईं उनीहरूसँग पैसा लिएर चल्नुहुन्छ भने तपाईं पक्कै उनीहरूकै काम गर्नुहुन्छ । हाम्रो गर्नुहुन्न ।

तपाईंको पार्टीले तपाईंको खर्चको व्यवस्थापन गर्छ भने त्यो पनि पारदर्शी हुनुपर्छ । हामीलाई त्यो थाहा पाउने अधिकार छ ।

यी र यस्ता प्रश्नको उत्तर दिएर तपाईंले आफू अझ इमानदार भएको, आफ्नो जीवन साँच्चै सादगीपूर्ण रहेको प्रमाणित गर्नु नै हुनेछ भन्ने आशासहित… ।

तपाईंको शुभचिन्तक
पवित्र सुवेदी
पोखरा


भर्खर

0