नक्कली नोटमा सङ्गठित गिरोह, काठमाडौँ बाहिर पनि छापिँदै | Khabarhub Khabarhub

नक्कली नोटमा सङ्गठित गिरोह, काठमाडौँ बाहिर पनि छापिँदै



काठमाडौँ— यही कात्तिकमा प्रहरीले दुई ठाउँबाट नेपाली नक्कली नोटका कारोबारी पक्राउ गर्‍यो ।

– कात्तिक २७ गते सिरहाको गोलबजार नागरपालिका–६ बाट ३ लाख ८४ हजार रुपैयाँ नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जना ।

– कात्तिक ७ गते मकवानपुरको राक्सिराङबाट ३ लाख २ हजार रुपैयाँ नक्कली नोटसहित एक जना ।

गोलबजारमा पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय विमलेन्द्रकुमार नायक, गोलबजार नगरपालिको–१२ २५ वर्षीय धीरज यादव र २० वर्षीय सञ्जे राय छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्मा पौडेलका अनुसार विशेष सूचनाका आधारमा छापा मार्दा उनीहरू समातिएका हुन् ।

प्रहरीले उनीहरूको डेराबाट तीन थान मोबाइल फोन, एउटा ल्यापटप कम्युटर, एक थान कलर प्रिन्टर र कागज काट्ने चक्कु बरामद गरेको छ ।

डिएसपी पौडेलले दिएको जनाकारी अनुसार ३ लाख रुपैयाँ नक्कली नोट तयारी अवस्थामा र ३ लाख ८४ हजार रुपैयाँ फोटोकपी पेपरमा प्रिन्ट गरेर काट्न बाँकी रहेको अवस्थामा बरामद भएको छ ।

बिहीबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली र सशस्त्र प्रहरीको टोलीले छापा मारेको थियो । उता प्रहरीको टोलीले मकवानपुरको राक्सिराङस्थित एक घरमा मकैको खलियामा लुकाएर राखेको एक हजार रुपैयाँका ३०२ नाथ नक्कली नोट बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङका अनुसार राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा नक्कली नोट भेटिएको हो । एसपी गुरुङले भने, ‘राक्सिराङको हालिजे क्षेत्र गाँजाखेती धेरै हुने ठाउँ हो । गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेका छौँ ।’

यी दुई घटनाले नक्कली नोटका कारोबारीहरू काठमाडौँ उपत्यकामा मात्रै नभई अन्यत्र पनि छन् भन्ने देखाएको छ । प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार पछिल्लो समय काठमाडौँबाहिर वीरगञ्ज र धनगढीलगायत भारतीय सीमाक्षेत्र आसपासमा कारोबारीहरूले मेसिन राखेर नक्कली नोट छाप्ने काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो तीन वर्षका ठूला घटना

– २०७६ पुस २४ गते काठमाडौँमा नक्कली नेपाली नोट बनाउने कारखानामा छापा मारी ४ लाख १३ हजार रुपैयाँ नक्कली नोटसहित ४ जना पक्राउ ।

– २०७६ कात्तिक ४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँ बस्तीबाट १ हजार दरका ३४ थान नक्कली नोट र नोट छाप्ने उपकरणसहित तीन जना पक्राउ ।

– २०७६ कात्तिक ४ गते काठमाडौँको बौद्धबाट ३४ हजार रुपैयाँ नक्कली नोट र नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ ।

– २०७५ माघ २६ गते काठमाडौँको गोंगबुबाट १ लाख ५० हजार रुपैयाँ नक्कली नोट सहित १ जना पक्राउ ।

–२०७५ कात्तिक ४ गते काठमाडौँका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ नक्कली नोटसहित ५ जना पक्राउ ।

– २०७५ असोज २६ गते काठमाडौँको रत्नपार्कबाट १० हजार रुपैयाँ नक्कली नोटसहित १ जना पक्राउ ।

– २०७५ जेठ २ गते २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नोटसहित ६ जना पक्राउ ।

(स्रोत : महानगरीय प्रहरी कार्यालय, रानीपोखरी)

प्रहरी अनुसन्धान अनुसार अहिलेसम्मका घटनाले नक्कली नोटनको कारोबारमा सङ्गठित गिरोहहरू सक्रिय रहेको देखाउँछन् ।

प्रहरी प्रवक्ता कडायत भन्छन्, ‘विशेष गरी महत्वाकांक्षी युवाहरू सङ्गठित भएर नक्कली नोटको कारोबारमा लागेका छन् । केही घटनामा भारतीय नागरिक पनि संलग्नता देखिएका छन् ।’

यसरी हुन्छ कारोबार

जानकारहरूका अनुसार नक्कली नोटको धन्दामा संलग्न व्यक्तिहरूले ससानो परिमाणमा कारोबार गर्ने गरेका छन् ।

रेष्टुरेन्टमा वा कुनै सामान खरीद गर्दा सक्कली नोटहरूको बीचमा मिसाएर नक्कली नोट दिन्छन् ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार नेपालमा भारतीय नक्कली रुपैयाँ बढी भेटिने गरेकोमा अहिले नेपाली नोटको यस्तो कारोबार हुन थालेको छ ।

उनका अनुसार नक्कली नेपाली रुपैयाँको बजार पनि नेपाल नै हो । कारोबारीहरूले भीडभाडमा र धेरै रुपैयाँको किनमेल गर्दा बीचमा नक्कली नोट मिसाएर दिने गरेका छन् ।

नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीका अनुसार काठमाडौँबाट अहिलेसम्म नक्कली नोटसहित पक्राउ परेका घटनाले यसमा सङ्गठितरूपमा गिरोहहरू नै सक्रिय रहेको देखाउँछ ।

यसरी चिन्ने नक्कली र सक्कली नोट

राष्ट्र बैँकका अधिकारीहरूका अनुसार नक्कली र सक्कली नोट छुट्याउन मुख्य गरी वाटरमार्क हेर्नुपर्ने हुन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ फर्काएर हेर्दा अथवा नोटको पछाडिबाट प्रकाश पारेर हेर्दा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ ।

लालीगुराँस आकृतिको वाटरमार्क नोटको कागजमाथिबाट प्रिन्ट नभई कागज बनाउने क्रममा नै राखिएको हुन्छ । सक्कली नोटमा दुवै तर्फबाट हेर्दा वाटरमार्क उत्तिकै स्पष्ट देखिन्छ । नक्कलीमा यसरी देखिँदैन ।

सुरक्षण धागो पनि नोट चिन्ने अर्को तरिका हो । एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्ब क्रमैसँग लहर मिलाएर लेखिएको छ ।

नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट प्रकाश दिएर नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै राखिने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फ नोटको पूरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । नक्कलीमा यसरी प्रष्ट देखिँदैन ।

नोटको अग्र भागमा लेखिएका शब्दहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ । नक्कली नोटमा कुनै पनि चिह्न यसरी प्रष्ट देखिँदैन ।

कानूनी व्यवस्था

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २५६ अनुसार खोटा मुद्रा बनाउने काममा संलग्न हुनलेलाई खोटा मुद्राको परिणाम र मूल्यअनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन्छ । सामान्यतया प्रहरीले यही ऐन अन्तर्गत कारबाही अघि बढाउने गरेको छ ।

 

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : १० बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन