प्रत्येक व्यक्ति जिम्मेवार नभए संक्रमण हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन | Khabarhub Khabarhub

प्रत्येक व्यक्ति जिम्मेवार नभए संक्रमण हाम्रो स्वास्थ्य प्रणालीले धान्दैन


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमितको संख्या धेरै भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण भएका वा गम्भीर अवस्थाका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्ने भनेको छ ।

मङ्गलबारसम्ममा ६६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितमध्ये २० हजार ८६७ जना होम आइसोलेशनमा र १५ हजार ४८ जना संस्थागत आइसोलेशनमा छन् ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आइसियु र भेन्टिलेटरमा पनि चाप बढ्दै गएको छ । देशभर आइतबार २९३ जना संक्रमित आइसियुमा र ५५ जना भेन्टिलेटरमा उपचारत छन् । काठमाडौँ उपत्यकाका अस्पतालहरूमा आइसियु र भेन्टिलेटरको अभाव हुन थालेको छ ।

यही अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग खबरहबका लागि रिता लम्सालले कुराकानी गरेकी छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २ हजारदेखि ५ हजारसम्म हुन थालेको छ । अहिलेको संक्रमणको अवस्था कस्तो हो, सामान्य, मध्यम वा खराब ?

हामीले प्राविधिक हिसाबले कुरा गर्दा संक्रमण एकदमै खराब अवस्थामा र उच्चतम बिन्दुमा आइसकेको छैन । तर, संक्रमण जुन गतिमा वृद्धि भइराखेको छ, यसले अस्पतालहरूमा व्यवस्थापन गर्न गाह्रो हुँदै गएको छ ।

लक्षणसहितका संक्रमितको संख्या बढ्दैछ । दीर्घ रोग भएका व्यक्ति र ज्येष्ठ नागरिकमा जसरी संक्रमण बढ्दो अवस्था छ, यसले हाम्रो स्वास्थ्य प्रणालीको क्षमतामा चुनौतीहरू थपेको छ ।

संक्रमण रोक्न सबैतिरबाट भूमिका निर्वाह गर्न सकेनौँ र सबैले आआफ्नो ठाउँबाट गर्नुपर्ने काम गर्न सकेनौँ भने संक्रमणले नराम्रो अवस्था लिन सक्छ । यो बीचमा सबै व्यक्ति, निकाय र संघसंस्थाहरूबाट जुन प्रयासहरू भए त्यसरूपमा नभएको भए नेपालमा अहिलेको भन्दा धेरै खराब अवस्था आउन सक्थ्यो । आजको अवस्था केही महिना पहिले नै आइसकेको हुन्थ्यो ।

योभन्दा खराब अवस्था आउन नदिन हामी सबैको भूमिका अपरिहार्य हुन्छ । हामीले विगतमा गरेका प्रयासहरूले जे जति सफलता पाएका छौँ, त्यो सफलता कायम राख्न हामी कठिन मोडमा आइपुगेका छौँ ।

संक्रमण रोक्न हाम्रा काम र क्रियाकलापहरू अझै बढाउनुपर्ने र अझै सशक्त बनाउनुपर्ने आवश्यकता छ । होइन भने संक्रमणको अवस्था एकदमै खराब हुनसक्छ ।

कोरोना नियन्त्रण लागि स्वास्थ्य मन्त्रालयका नीति, निर्देशिका, मापदण्डहरू छन् । कोरोना प्रतिकार्यका लागि मन्त्रालयले काम गरिरहेको छ तर पनि संक्रमण किन बढेको होला ?

यो संक्रामक रोगको महामारी हो । महामारी विदेशबाटै सुरु भएको हो । बाहिरबाट आउने व्यक्तिहरूबाट नेपालमा संक्रमण प्रवेश गर्‍यो ।

त्यसपछि उहाँहरूको सम्पर्कमा आएका व्यक्तिहरू संक्रमित भए, उहाँहरू बसोबास भएको ठाउँ विशेषमा संक्रमण देखियो । त्यही क्रममा अलि ठूला ठाउँमा रहेका मानिसहरूलाई संक्रमित बनाउँदै गयो ।

नेपालमा सुरुमा विदेशबाट आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्ने काम गर्‍यौँ । यसो गर्दा संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको थियो । सरकारले सुरक्षाका उपायहरू भनिराखेको छ । मापदण्डहरू छन् । शंकास्पद व्यक्तिहरू आइसोलेट भएर बसौँ, क्वारेन्टिनमा बसौँ । लक्षण नदेखिए पनि हामीले संक्रमण फैलाइरहेको हुनसक्छ ।

घरबाट बाहिर निस्किने व्यक्तिहरू सजग बनौँ । सकेसम्म ननिस्कौँ, निस्किनै परेमा भिडभाड नगरौँ । भिडभाडबाट टाढा बसौँ । दूरी कायम गरौँ । मास्क लगाऔँ । साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गरौँ । सबै कुरामा हामी सबै सचेत छौँ, बुझेका छौँ तर व्यवहारमा चाहिँ हेलचेक्र्याइँ गरिराखेका छौँ ।

मास्क उचित तरिकाले लगाएको देखिँदैन । हातले जहाँसुकै छुने र त्यही हातले नाकमुख छोएर संक्रमण आफूमा सार्ने काम भइरहेको छ । आफूबाट घरमा, साथीभाइमा र सहकर्मीमा सार्ने काम भइरहेको छ । यसरी संक्रमण बढेको हो ।

यसलाई न्युनीकरण गर्न हामी शंकास्पद व्यक्तिबाट अलग बस्ने, शंकास्पद व्यक्तिमा संक्रमण भए/नभएको चाँडो पहिचान गर्ने, सक्रमित भए उनको सम्पर्कका व्यक्तिहरू खोजी गरेर परीक्षण गर्ने काम गर्नुपर्छ । श्वासप्रश्वासमा समस्या आएको छ भने अस्पताल लैजानुपर्छ । हामीसँग भएको एकमात्र उपाय महामारी रोकथाम नै हो ।

रोकथामका लागि सरकारबाट, जिम्मेवार निकायबाट र सञ्चार माध्ययबाट आएका आधिकारिक जानकारीहरू पालना गर्नुपर्छ । हाम्रो आवतजावत बढेको छ, लापरबाही पनि बढेको छ र यसले कोरोना संक्रमण बढाएको छ । जोखिममा रहेका व्यक्तिहरू संक्रमित भएर सघन उपचार चाहिने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या बढ्छ ।

सरकारले बनाएको मापदण्ड पालना भएन भन्नुभयो । स्वास्थ्य सुरक्षाका मापदण्डबारे बुझाउन वा पालना गराउन सरकार आफैँ चाहिँ कति चुकेको हो ?

हामी जुन शासन व्यवस्था र जुन ठाउँमा छौँ, त्यसैअनुसार सबै कार्यान्वयन गर्ने, गराउने र कडाइ गर्ने हो । हामीले कतिपय देशमा संक्रमण धेरै बढ्दा मानिसहरूलाई केही दिन घरबाहिर निस्किनै नदिएर संक्रमण नियन्त्रण गरेको पनि देख्यौँ ।

हामीले व्यवहार परिवर्तनका लागि अनुरोध गर्न सक्छौँ । व्यक्तिलाई घरमै थुनेर राख्ने कुरा आउँदैन । बन्दाबन्दीको कुरा गर्दा अलोकप्रिय भइने अवस्था छ । बन्दाबन्दी राम्रो कुरा पनि होइन । यसले संक्रमण शतप्रतिशत रोक्छ भन्ने पनि होइन ।

बन्दाबन्दी हुँदा स्वास्थ्यको क्षमताले धान्ने हुन सक्छ । हामीले बन्दाबन्दी भन्दा पनि व्यक्तिको व्यवहार परिवर्तनका लागि सुसूचित गर्ने हो, अनुरोध गर्ने हो । अहिले सबै नेपालीहरूले आफूलाई स्वास्थ्यकर्मीको ठाउँबाट हेरेर स्वास्थ्यकर्मीको झैँ भूमिका निर्वाह गर्ने समय हो ।

यसका लागि हामीले अनुरोध गरेका छौँ । समन्वय गरेका छौँ र सहकार्य गरेका छौँ ।

प्रत्येक व्यक्ति आफू जोगिनु पर्छ र आफ्नो परिवारलाई जोगाउनु पर्छ भन्ने हामी सबैले बुझेका छौँ । सबैलाई घरमै थुनेर संक्रमण रोक्नुपर्छ भनेर हुँदैन । बन्दाबन्दी नगर्न हाम्रा व्यवहारहरू परिर्वतन हुन आवश्यक छ । संक्रमणबाट जोगिन घरभित्र बस्ने निर्णय पनि व्यक्ति आफैँले गर्ने हो ।

ठूला चाडपर्वहरू नजिकिँदै छन् । चाडपर्वमा हुने आवतजावतले कोरोना संक्रमण बढ्न सक्ने देखिन्छ । अब चाडपर्व कसरी मनाउने ?

यसपालिको दशैँतिहार पनि गत वर्षहरूमा झैँ भिडभाड गरेर यात्रा गर्ने, शहरबाट गाउँ र गाउँबाट शहर ओहोरदोहोर गर्ने हो भने संक्रमण धेरै फैलिने सम्भावना हुन्छ । हामीले गाउँघरमा सुरक्षित रहेका ज्येष्ठ नागरिकहरू र मान्यजनहरूलाई कोरोना सार्ने डर हुन्छ । हामीलाई चिन्ता लाग्न थालेको छ ।

अहिले काठमाडौँ उपत्यकामा संक्रमण धेरै बढेको छ । अस्पतालहरूमा संक्रमितको व्यवस्थापन गर्न चुनौती भएको छ । यही समयमा काठमाडौँमा भएका व्यक्तिहरू बाहिर जाने हो भने संक्रमण पनि जान्छ । जोखिममा रहेका व्यक्तिहरूलाई सरेर सघन उपचार चाहिने अवस्था आउन सक्छ ।

यस्ता संक्रमति व्यक्तिहरूलाई समयमा अस्पताल पुर्‍याउन नसक्दा र अस्पतालमा पनि आवश्यक स्वास्थ्य उपकरण नपाउँदा दुर्घटना हुने अवस्था आउनसक्छ ।

यस्तो सम्भावना विचार गरेर अहिले आफू बसेकै ठाउँमा चाडपर्व मनाऔँ । चाडपर्व त अर्को वर्ष पनि आउँछ । अहिलले अनावश्यक यात्रा गरेर संक्रमण नबढाऔँ । भोलि पछुताउनुभन्दा आजै सावधानी अपनाऔँ ।

यसपालि दशैँमा पनि टाढै बसेर प्रविधिको प्रयोग गरौँ । हामीले बारम्बार अनुरोध पनि गरेका छौँ ।

अहिले नै अस्पतालमा संक्रमतिले आइसोलेशन बेड, आइसियु र भेन्टिलेटर नपाएको भनेर हारगुहार गर्न थालिसके । अझै बढ्दै गए के होला ?

जोखिममा रहेका व्यक्तिहरूमा संक्रमण बढ्दै गएको छ । सघन उपचार चाहिने अवस्था सिर्जना हुँदैछ । हाम्रो स्वास्थ्य क्षमताले धान्न नसक्ने अवस्था आउन थालिसकेको छ ।

हामीले भनेका थियौँ, सक्रिय संक्रमितहरू २५ हजार हुँदासम्म हाम्रो स्वास्थ्य क्षमताले अरू स्वास्थ्य सेवाको प्रणालीलाई प्रभावित नगर्ने गरी संक्रमितहरूको पनि व्यवस्थापन गर्न सकिन्छ । त्यो भन्दा बढी हुँदा हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउँछ । संक्रमण रोक्न निक्कै कडा कदम चाल्नुपर्ने हुन्छ । हाम्रा स्वास्थ्य सेवाहरूको क्षमता निकै गुणात्मकरूपमा वृद्धि गर्नुपर्ने हुन्छ ।

हामी अहिले यी दुवै पाटोमा कमजोर छौँ । क्षमतमा गुणात्मक वृद्धि गर्ने अवस्थामा पनि छैनौँ । संसारमै सामग्रीहरूको उपलब्धता र जनशक्तिको अभाव छ । हामी यो पाटो विश्लेषण गरिराखेका छौँ ।

कोरोना केही होइन भने भ्रम सिर्जना गरिएको छ । यस्तो गलत प्रचारले गर्दा कोरोनाको संक्रमण रोक्न व्यवहार परिवर्तन गर्न चुनौती थपिँदै गएको छ । व्यक्तिहरूलाई बुझाउन समस्या पर्दै गएको छ ।

अस्पतालको क्षमता नहुने र औषधि पनि नहुने अवस्थामा धेरै जना संक्रमितलाई निकै ठूलो समस्या हुनेछ । हामीले यो कुरा भन्दै आएका छौँ । संक्रमणबाट बच्ने उपाय यसको रोकथाम मात्र हो ।

सरकारले भनेको कुरा पालना गरेर रोकथाम गर्न सकियो र परिवारलाई जोगाउन सकियो भने उपचार गर्न नसक्ने जोखिमको पाटोमा हामी जादैनौँ । हामीसँग अर्को उपाय पनि छैन ।

कोरोनाको खास उपचार छैन । उपाय भनेकै संक्रमण रोकथाम हो । रोकथामको उपाय तपाईं हाम्रो हातमा छ ।

सक्रिय संक्रमितको संख्या ३० हजार नाघिसकेको छ । अब कोरोना संक्रमितको उपचार गर्न सकिएन भनेर हात उठाउने अवस्था आइसकेको हो ?

सरकारले हामी सक्दैनौँ भनेर हात उठाउने अवस्था हुँदैन । स्रोत साधनले पुगेसम्म गर्नै पर्छ । अस्पतालहरूमा भएका स्वास्थ्यकर्मीलाई अझै खटाएर, रिटायर्ड स्वास्थ्यकर्मीलाई खटाएर, बाहिर रहेका विज्ञहरू बोलाएर, जे जसरी हुन्छ, व्यवस्थापन गर्ने पाटोमा हामी लागेका छौँ ।

संक्रमितहरूलाई, अस्पतालमा, विस्तारित ठाउँमा र घरमै राखेर पनि अक्सिजनको व्यवस्थापन गर्न हामीले काम गर्नुपर्छ । वैकल्पिक प्रविधिबाट काम गर्दै जानुपर्ने हुन्छ तर अहिलेको अवस्था सहज छैन । केही महिनाअघि कोभिड केही होइन, संक्रमण केही होइन भनेर हल्ला भइरहेको थियो ।

अहिले कोभिड साँच्चै समस्या हो, यसले गाह्रो बनाउँछ भन्ने आवाज सुन्न थालेका छौँ । आजको अवस्था आउन सक्छ भनेर हामीले धेरै पहिलेदेखि भनेका थियौँ । हामीले तयारी पनि गरेका र सर्वसाधारणलाई सुसूचित पनि गरेका हौँ । भ्रमका पछि नलाग्नुस् भनेका हौँ ।

कोभिडको यथार्थ त भोगाइ त जसलाई संक्रमण भयो, जसको परिवारमा संक्रमण भएर समस्या पर्‍यो, उहाँहरूलाई थाहा हुन्छ । संक्रमण अझै बढ्दै गयो भने हाम्रो क्षमताले नभ्याउने अवस्था आउँछ । त्यति वेला पनि कुनकुन रूपमा, कस्तो विधिबाट व्यवस्थापन गर्न सकिन्छ भनेर सरकारले प्रयास गर्ने नै छ । अहिले नै गाह्रो हुन थालिसकेको छ ।

कोभिड अस्पतालहरू भरिएर अन्य अस्पतालमा पनि संक्रमितहरूलाई राख्नुपरेको छ । अस्पतालहरूको विकल्प खोज्ने काममा हामी लागिसकेका छौँ ।

केही समयअघि संक्रमितको संख्या अनुसार आइसोलेशन, आइसियु र भेन्टिलेटरको अवाश्यकताबारे स्वास्थ्य मन्त्रालयले आकलन गरेको थियो । त्यो आकलनभन्दा बाहिर गयो ?

स्वास्थ्य मन्त्रालयले विश्लेषण गरेरै सक्रिय संक्रमित २५ हजार हुँदासम्म हाम्रो स्वास्थ्य प्रणालीले नियमित र कोभिडको सेवा पनि दिन सक्छ भनेका हौँ । त्यसैअनुसार काम गरिराखेका छौँ । क्षमता पनि बढाउँदै लगेका छौँ तर अहिले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि भइसकेको छ ।

संक्रमण काठमाडौँ उपत्यकामा केन्द्रित छ । स्रोतसाधन पनि काठमाडौँ उपत्यकामै धेरै छ । त्यति हुँदा हुँदै पनि व्यवस्थापन गर्न गाह्रो हुँदै गएको छ ।

अहिले हाम्रो क्षमताको अधिकतम उपयोग गरेर सेवाहरू प्रवाह भइरहेको छ । संक्रमण यही गतिमा बढ्यो र रोक्न सकेनौँ भने हाम्रो स्वास्थ्य प्रणालीमा कोभिड र ननकोभिड बिरामीलाई नियमित सेवा दिन नसक्ने हुन सक्छ ।

२५ हजारभन्दा बढी संक्रमित भए लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ भन्ने सुनिन्छ नि !

लकडाउनबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय लिने कुरा भएन । नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरेको छैन । हामी लकडाउनको लामो अवस्थाबाट गुज्रेर आएका छौँ । लकडाउन सजिलो छैन ।

तर, संक्रमण हाम्रो काबुभन्दा बाहिर जान थाल्यो र जटिल अवस्था भयो भने मानिसहरूको आवतजावत नियन्त्रण त गर्नै पर्छ । यो नेपाल सरकारले निर्णय गर्ने विषय हो । अहिलेसम्म जेजस्तो कठिनाइ भए पनि स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयबाट समन्वय भइरहेको छ । हामीले भोलि लकडाउन हुन्छ कि हुँदैन भन्नेतिर भन्दा पनि संक्रमण रोक्न भूमिका निर्वाह गर्नुपर्छ ।

संक्रमितको पहिचान, कन्ट्याक्ट ट्रेसिङ, केस अनुसन्धान, संक्रमितहरूको सघन उपचार, उपचार सामग्रीहरूको जोहोजस्ता काम गरिरहेका छौँ । हाम्रो स्वास्थ्य प्रणालीको अधिकतम क्षमतामा काम गरेका छौँ ।

हाम्रो आग्रह छ, यस वर्ष आफू बसेकै ठाउँमा प्रविधिको प्रयोग गरेर फोनबाटै आशीर्वाद लिऔँ । बजारमा भिडभाड नगरौँ । लामो यात्रा गरेर संक्रमण गाउँमा नपुर्‍याऔँ । गाउँको संक्रमण शहरमा नपुर्‍याऔँ । सबैले आफ्नो व्यवहार परिवर्तन गरौँ । सबैलाई चाडपर्वको शुभकामना ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ०१ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल