७२ वर्षीय दीपक सोतीको अविराम साहित्य साधना | Khabarhub Khabarhub

७२ वर्षीय दीपक सोतीको अविराम साहित्य साधना



नवलपुर- लमजुङ कुन्छामा जन्मिएका ७२ वर्षीय दीपक सोती हरेक दिन केही न केही लेख्छन् । उमेरको सत्तरीऔँ दशकसम्म आइपुग्दासम्म उनको जीवन साहित्यमै छ । उनले २०२१ सालमा १४ को उमेरमा ‘नरोक मलाई’ शीर्षकमा पहिलो कविता लेखेका थिए ।

उक्त कविताले शान्ति हाइस्कूल, कुन्छामा दोस्रो स्थान हासिल गरेको क्षण उनको सम्झनामा ताजै छ ।

सानै उमेरदेखि साहित्यमा चाख भएका सोतीका प्रकाशित/अप्रकाशित थुप्रै गीत र कविताहरू छन् । उनका धेरै रचनाहरू पाण्डुलिपिमै सीमित छन् । किन प्रकाशित हुन सकेनन् त उनका कृतिहरू ?

सोती भन्छन्, ‘परिस्थितिले यस्तै बनाउँदो रैछ ।’

जब राजा महेन्द्रबाट बक्सिस् पाए…

सोती २०२३ सालमा कुन्छाबाट एउटा साहित्यिक कार्यक्रममा भाग लिन चितवन झरे । प्रतिष्ठित कविहरूका बीच हाफपेन्ट लगाएर गएका सोतीलाई बालकविका रूपमा कविता सुनाउने अवसर दिलाएछन् भीमनिधि तिवारीले ।

केदारमान व्यथितको अध्यक्षतामा भएको त्यो कार्यक्रममा राजा महेन्द्र पनि उपस्थित थिए । त्यहाँ सोतीको कविता सुनेर राजा महेन्द्रले मजाले ताली बजाए ।

मेरा आवाजहरूलाई,
शत्रुका आँखाले, पेट भरेर राखेका हुन्छन्
त्यसैले,
हरियो बाँसको पलङमाथि, पहेँलो झुलको कात्रोभित्र ।
चिर निद्रामा नपरेसम्म सुख छैन मलाई । …

पहिलोपटक यतिठूलो मञ्चमा कविता सुनाउँदा ताली मात्र बजेन, राजबाट बक्सिस समेत पाए । उनको खुसीको सीमा रहेन ।

कविता लेखेकै कारण उनले तत्कालीन पञ्चायती व्यवस्थाको सास्ती पनि भोग्नुपर्‍यो । गण्डकी अञ्चलका अञ्चलाधीशले उनलाई तारिख बोकाए । उनी ‘मेरी मर्स्याङ्दी’ कविताको पाण्डुलिपिमै अञ्चलाधीशको आदेशले पक्राउ परे ।

पञ्चायतका अधिकारीहरूले पक्राउ गरेर दुःख दिने गरेका भए पनि सोतीले राजा वीरेन्द्रकै हातबाट पनि चारपटक बक्सिस पाए । २०३० सालमा पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन सोतीले एउटा कविता पठाए । कविता स्वीकृत भए पनि कविवर माधवप्रसाद घिमिरेले त्यो कविता नसुनाउन सुझाब दिएका थिए तर आफ्नै ढिपीले सुनाए ।

कविता सुन्दासुन्दै राजा वीरेन्द्रले ताली बजाए । अरू सबैले ३ सय रुपैयाँ पाएकोमा सोतीले राजाबाट अतिरिक्त ५ हजार रुपैयाँ बक्सिस पाए । त्यही बक्सिसले उनलाई साहित्य क्षेत्रमा अघि बढ्न थप प्रेरणा मिल्यो ।

३२ वर्षदेखि ‘म्याउँ म्याउँ बिरालो’ खोजी

सोतीले २०२८ सालतिर ‘म्याउँ म्याउँ बिरालो’ शीर्षकमा एउटा बालगीत लेखेका थिए । तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवले आफ्नै कोठामा उस्ताद भैरवहादुर थापालाई बोलाएर ‘म्याउँ म्याउँ बिरालो’ रेकर्ड गर्न लगाएका थिए । भैरवबहादुरको सङ्गीत र उनकी छोरी सङ्गीता थापाको स्वरमा गीत रेकर्ड भयो ।

उक्त गीत रत्न रेकर्डिङको ८१ नम्बरमा दर्ता भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङ बन्द भइसकेको छ । उक्त रेकर्ड नेपाल टेलिभिजन र रेडियो नेपालमा सुरक्षित रहेको सोतीको विश्वास छ ।

आफ्नो रचना रेकर्ड भए पनि उनले खासै वास्ता गरेनन् । २०४५ सालपछि भने आफ्नो रचना खोज्दै सोती रेडियो नेपाल र नेपाल टेलिभिजन धाइरहेका छन् । खोज्न थालेको ३२ वर्ष भयो तर फेला परेको छैन ।

रेडियो नेपालदेखि भारत, चीन र श्रीलंकाका रेडियोसम्ममा बज्ने गरेको गीत युट्यूबमा लाखौँले हेरेका छन् । युट्युबमा आइपुग्दा भने उनका रचना तोडमोड गरिएका छन् ।

‘त्यसको रोयल्टीको निम्ति क्यासेट खोजिरहेको छु,’ सोतीले भने, ‘क्यासेट पाइन्छ, रचना तपाईंकै रैछ, भूकम्पमा धेरै क्यासेटहरू फुटे, अब हामी तिनलाई बनाउँदैछौँ भनेर नवराज लम्सालले भन्नुएको छ ।’ उनी आशावादी देखिएका छन् ।

उनका अनुसार गीत खोज्न पहल गर्छु भनेर सङ्गीतकार दीपक जङ्गमले पनि आश्वासन दिएका छन् । रोयल्टीमा मर्का परेछ भनेर जङ्गमले पनि भनेको सोतीले बताए । गीत रेकर्ड हुँदा रेकर्डिङ स्टुडियोबाट ८० रुपैयाँ पाएको सोतीलाई सम्झना छ ।

सोतीका अनुसार एकता प्रकाशनको एउटा पुस्तकमा उक्त गीत बेनामे छापिएको छ । उनले प्रकाशन गृहमा पुगेर रचना आफ्नो हो भनेर दाबी गरे । अर्कोपटक नाम राखिदिने आश्वासनका साथ प्रकाशनले २ हजार रुपैयाँ दियो । सोतीले आफ्नो रचना देखाए ।

म्याउ म्याउ बिरालो मुसो मारी खाऊ
मेरो नाना काटी गर्ने मुसाहरू खाऊ ।
कराहीको दुधु, खाइदियौ भने
म त भोकै हुन्छु, नखाइदेऊ भन्छु ।
बाबा भन्छिन् खाली, बुबु चोर्न जाली
आमा भन्छिन्, चोरले भाडाहरू फोर्ले ।
बुबु चोर्‍यौ भने लठ्ठीले नै हान्छु
न आइज न यता, चोर्ने म्याउँ भन्छु ।
चोर्लिस नि कि लात्तीले हान्छु ।

सोतीका सिर्जनामा सामाजिक चित्रणहरू प्रशस्त पाइन्छन् । उनले समाजको चित्रण गरेर राष्ट्रवादी कविता लेखे । क्रान्तिकारी हुँ भन्नेहरूलाई ब्यङ्ग्य गर्न पनि पछि परेनन् ।

साथी भन्छ, म क्रान्तिकारी,
एक होटल एक बोतल एक साडी,
तीन चिजको अधिकारी ।
भोक लाग्छ होटल जिन्दावाद,
पिर लाग्छ बोतल जिन्दावाद
बोतललाई साडी जिन्दावाद
तीन चिजमा अधिकारी
म कति क्रान्तिकारी !

सोतीको ‘मेरी मस्र्याङ्दी’ (कविता संग्रह, २०२८) पहिलो प्रकाशित कृति हो । ‘दुई बत्ति निभेर’ (कविता संग्रह २०३०), ‘समालोचक’ (शोक काव्य २०४१), ‘जगदम्बा’ काब्य २०४५ र ‘मेरी आमा रुँदी हुन्’ (कविता संग्रह, २०६७) प्रकाशित छन् ।

उनले ‘धरा’ मासिक साहित्यिक पत्रिका सम्पादन गरे । गोरखापत्र, माधुर्य, मिर्मिरे, गरिमा, प्रज्ञा, पल्वल, दौँतरी, लालुपाते, सरस्वती लगायतका पत्रिकामा उनका कविताहरू प्रकाशित छन् । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भए । धरा साहित्यिक मासिकबाट २०४५ सालमा पुरस्कृत भए ।

उनले बालकृष्ण सम, गोविन्दराज विनोदी, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित र माधवप्रसाद घिमिरेहरूसँग मौकाअनुसार सङ्गत गरे । राजेश्वर देवकोटा, श्यामदास वैष्णव, लोकेन्द्रबहादुर चन्द, गोकुल जोशी र धर्मराज थापा, दैवज्ञराज न्यौपाने, क्षेत्रप्रताप अधिकारीसँग पनि साहित्यिक जमघटमा धेरै पटक भेट भयो ।

दीर्घजीवी साहित्य

हिजोआज साहित्यिक स्रष्टाहरूबीच एकताको खाँचो देख्छन् सोती । आफू चर्चामा आउन अर्काको बारेमा लेखिदिने चलन उनलाई मन पर्दैन ।

सोती भन्छन्, ‘दीर्घजीवी हुनेहरू दुःखै पाएर पनि बाँच्छन् । दीर्घजीवीहरू कहिल्यै मर्दैनन् । उनीहरूले नयाँ युग ल्याउँछन् । लेखनका निम्ति लेखिएका कृतिहरू सधैँ जीवित रहन्छन्, व्यवसायका निम्ति लेखिएका अल्पजीवी हुन्छन् ।’

उनले लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, सिद्धिचरणको ‘विश्वव्यथा’ र ‘उर्वशी’ जस्ता केही कृतिहरूको नाम लिए जो कालजयी छन् ।

वर्तमान व्यवस्थाप्रति चिन्ता

भूपि शेरचन कम्युनिष्ट भनेर चारैतिर खेदिन्थे तर राजा वीरेन्द्रले उनलाई प्रज्ञा बनाए । त्यो बेला राजाको प्रशस्ति गाउने कविताहरूलाई पनि राजाले बक्सिस नदिएको सोतीको सम्झना छ ।

वर्तमान राज्य व्यवस्थाका पात्रहरूप्रति सोतीको चित्त दुखाइ छ । उनको विचारमा अहिलेको व्यवस्था बेठिक होइन तर व्यवस्था चलाउने पात्रहरू खराब भए । उनलाई नेताहरूले तलब खाएको चित्त बुझेको छैन । भन्छन्, ‘पञ्चहरूले पनि नखाएको तलबभत्ता खाने भए अहिलेका नेता । त्यो व्यवस्थामा भ्रष्टलाई कारबाही हुन्थ्यो, अहिलेको व्यवस्थामा सम्मान हुन्छ ।’

दरबार हत्याकाण्डले बज्रपात

२०५८ सालको दरबार हत्याकाण्डपछि सोतीलाई पोखरा बस्न मन लागेन । त्यो बेला उनलाई आफू प्राज्ञ भएँ भन्ने विश्वास थियो तर दरबार हत्याकाण्डपछि त्यो विश्वास चकनाचुर भयो ।

त्यसपछि तराई झरेका सोतीको साहित्यकार सदानन्द अभागीसँग भेट भयो नवलपुरमा । ‘उहाँ (अभागी) हरिभक्त कटुवालको चेला हुनुहुँदो रैछ,’ सोतीले भने, ‘म हरिभक्त कटुवालसँग साहै्र भिजेको मान्छे । कटुवाल गृहमा पनि कताकता भेटेजस्तो लाग्छ ।’

धर्मराज थापासँग सङ्गत

सोती कुनै बेला लोकगीत संकलन गर्थे । धर्मराज थापासँग लोकगीत संकलन गर्दै हिँड्ने क्रममा सोतीले पनि धेरै लोकगीतहरू गाए । ती गीतहरू रेडियो नेपालमा बज्ने गरेको उनी सम्झन्छन् ।

‘आउँछ कि कतै भनेर आज बगर कुरेकी’, ‘जुनेली रातमा मस्यार्स्याङदी काखमा गाउँदैन रोएर’ जस्ता पुराना गीतहरू दीपक सोतीका रचना हुन् ।

२०३७ सालमा घुम्दै आउँदा नवलपुरमै सोतीको प्रेम विवाह भएको थियो । उनी परिवारका साथ नवलपुरमा बस्छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : १५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को