एक्काइसौँ शताब्दीको दासप्रथा  | Khabarhub Khabarhub

एक्काइसौँ शताब्दीको दासप्रथा 



१. सन् १६०० को प्रारम्भदेखि १८६५ को अन्त्यसम्म आजको अमेरिका जङ्गली प्रकृतिको दासप्रथाको प्रचलनले कलङ्कित भएको अवधि हो । यस अवधिमा अमेरिकाका ४० प्रतिशतभन्दा बढी घरमा दासहरू खरिद गरेर राखिएका थिए । खास गरेर भर्जिनिया, टेक्सस, लुजियाना, जर्जिया र फ्लोरिडा दास प्लान्टेसनका केन्द्र थिए ।

त्यसभन्दा अगाडि पनि दासप्रथा रहेको कुरा इतिहासमा भेटिन्छ । सन् १५०० को प्रारम्भदेखि सन् १७०० को अन्त्यसम्म भूमध्य सागर तथा एटलान्टिक सागरको किनारमा बस्ने र यी सगारमा माछा मार्ने वा अन्य कामले यात्रा गर्ने युरोपेली मानिसहरूलाई समुद्री डाकाहरूले अपहरण गरी विभिन्न ठाउँमा लगेर बेच्ने गरेको र दासको रूपमा मानिसको व्यापार गर्ने गरेको कुरा अध्ययनबाट देखिन्छ । यस अवधिमा करिब १२ लाखको संख्यामा युरोपका सेता मानिसहरू दास बनाइएका थिए ।

२. तत्कालीन अमेरिकाको कुरा गर्दा सन् १६०० प्रारम्भदेखि सन् १८६५ को अन्त्यसम्ममा विशेष गरी अफ्रिकाबाट खेदेर ल्याइएकाहरूको मानव व्यापार र दासप्रथा चरम चुलीमा पुगेको थियो । त्यतिबेला घरेलु  तथा समूहमा बसेर खेती गर्ने ठाउँ र उद्योगमा काम गर्ने गरी दुई किसिमका दासहरू हुन्थे ।

वर्णको दृष्टिबाट पनि दासहरू काला र गोरा गरी दुई वर्गका थिए । कालाबाहेक अन्य मानव बेचखिनको कुरा माथि गरियो । कुनै प्रकृतिको कमारा राख्ने चलन नेपाल र भारतमा पनि थियो । यो बेला उत्तर अमेरिकी भूभागमा उखु, कपास, गहुँ, सुर्ती आदि खेतीको लागि एक ठाउँ वा समूहमा ३ सयदेखि माथिको संख्यामा विशेष गरेर अफ्रिकी जातिका मानिस दासको रूपमा खरिद—बिक्री हुन्थे र भाडामा लगाइन्थे ।

अफ्रिकी मानिसहरू अपहरण गरेर वा जबरजस्ती गरेर जहाज वा डुङ्गामा हालेर महिनौँ लगाएर ल्याइन्थे । त्यसरी ल्याउने क्रममा बिरामी परेर वा भोकले पटकपटक गरी करिब बीस लाख जति मानिसहरू मरे भन्ने कुरा दस्तावेजहरूमा उल्लेख गरेको पाइन्छ । कुनै व्यक्ति भाग्ने प्रयास गरेमा उसलाई साङ्लाले बाँधेर राखेका वा यातना दिएका चित्रहरू अहिले पनि अमेरिकी कंगे्रसको पुस्तकालयमा देखिन्छन् । त्यसबेलाको स्थिति यति बर्बर र जङ्गली थियो कि कुनै व्यक्ति गम्भीर बिरामी भएमा यात्राकै क्रममा ऊ समुद्रमा फ्याँकिन्थ्यो भन्ने कुरा पनि इतिहासमा पढ्न पाइन्छ । लगाएको काम गर्न नसक्नेलाई बर्बर तरिकाले शारीरिक र मानसिक ताडना दिइन्थ्यो ।

दासहरूलाई समूहमा राखेर गरिने खेतीको जमिनको क्षेत्रफल ५ सय एकडदेखि १ हजार एकडसम्म हुन्थ्यो । यसरी खेतीको लागि धेरै भूमिमा दासहरूलाई काम गराउनुलाई ‘स्लेभरी प्लान्टेशन’ भनिन्थ्यो । त्यस्तै गरी काला जातिलाई पुस्तौँपुस्ता राखिने दास व्यवस्थालाई ‘च्याट्टल स्लेभरी’ भनिन्थ्यो । यस प्रथामा दासदासीबाट जन्मेका केटाकेटी पनि दास नै हुन्थे र मालिकका नितान्त व्यक्तिगत सम्पत्ति हुन्थे ।

यस्ता दासहरूको किनबेच भएको कुरा उनीहरूलाई थाहा हुँदैनथ्यो । आज एउटा मालिक हुन्थ्यो त भोलि अर्कोले मोलतोल गरेर किनेर लान्थ्यो । कतिपपय अवस्थामा साङ्लाले बाँधेर नापतौल गर्ने र हेरजोख गरेर पनि किनबेच हुथ्यो, अहिले बङ्गुर र खसी बेचेजस्तो अनि काम गोरु र घोडाको जस्तो । आफ्ना छोराछोरी मालिकले अर्कालाई बेचेर पठाउँदा आमाबाबु मुकदर्शक हुनुपर्थ्यो । हेरेर रुन पनि पाउँदैन थिए । जति वेला पनि काममै हुन्थे ।

दासहरू ल्याएर राख्ने र थप दास उत्पादन गर्ने केन्द्रहरू खोलिएका थिए । यस्ता केन्द्रहरू ‘स्लेभरी ब्रिडिङ’ भनिन्थे । यस्ता केन्द्रमा उमेर पुगेकी दासीसँग संसर्ग गराउन अन्य केन्द्रका बलिया दासहरू ल्याएर लगाइदिने चलन थियो । यसरी उत्पादन गरेर पालिएका दासहरू घरमा, खेतीमा र कारखानामा काम गर्न बेचिन्थे । दासहरू भाडामा लगाइन्थे । दासहरू आवश्यक ठाउँमा आपूर्ति हुन्थे ।

दासहरूको अवस्था अचाक्ली गएगुज्रेको थियो, पशुको भन्दा पनि तल्लोस्तरको । काम गर्न सक्नेले मात्र पर्याप्त खान पाउँथे । बस्ने व्यवस्था दयनीय हुन्थ्यो, लगाउने लुगा नामात्रको । यो कुरा विद्वान लेखक बुकर टि वासिङटनले कतिपय लेखनमा समावेश गरेका छन् । उनी आफैँ काला जातिका हुन् र दासपुत्र पनि । ‘स्ट्रगल फर एन एजुकेशन’ शीर्षकको लेखमा उनले मार्मिक तवरले आफ्नो संघर्षको कथा लेखेका छन् । कतिपयले यो निबन्ध पढ्नुभएको होला । उनको ‘दासताबाट उठेर’ भन्ने पुस्तकमा यो कुरा पढ्न पाइन्छ ।

त्यस बेलाका यी सबै कृत्य कानुनी हुन्थे । युरोपका सरकार र राजाले बनाएका कानुनले यस्ता कर्महरूलाई वैधता दिएका थिए । त्यसबेला यस्ता दासको संख्या अमेरिकामा ४० देखि ५० लाख भएको अनुमान छ । तिनको कुल बजार भाउ त्यतिबेलाको मूल्यमा करिब ४ अर्ब अमेरिकी डलर हुन आउँथ्यो । अमेरिका, ब्राजिल र क्यारिबियन देशहरूमा समेत गरी ३५० वर्षको अवधिमा अफ्रिकी महादेशबाट दलाल र आपराधिक समूहहरू प्रयोग गरेर काला जातिका करिब १ करोड २० लाख मानिसलाई बलपूर्वक ती देशहरूमा ल्याएर बेचेको तथ्यहरूले देखाउँछन् ।

त्यस वेला पैसा कमाउन वस्तु व्यापारभन्दा मान्छेको व्यापार बढी फस्टाएको थियो भनिन्छ । यसरी ल्याइएका दासहरूको रगत र पसिना पशुवत ढङ्गले प्रयोग गरी चरम शोषणबाट उनीहरूको आर्तनाद मिसाएर उत्पादन गरेको चिनी, सुर्ती, चरोट, कपास, कपडा र खाद्यान्न समेतका वस्तु अन्य ठाउँको उत्पादनको तुलनामा सस्तो मूल्यमा युरोपका बजारमा पठाइन्थे ।

हुन त कालाहरूलाई दासका रूपमा ल्याएर काम लगाउनुअघि युरोपबाट गरिब गोराहरूलाई अमेरिका ल्याएर करार कामदार (इन्डेन्चर मजदुर) का रूपमा पैसा वा जग्गा दिएर निश्चित समयको लागि काम लगाउने गरिन्थ्यो । यो काम स्पेनी उपनिवेशबाट सुरु भएको थियो । अपराध गरेर जेलमा राखिएकाहरू पनि काममा लगाइन्थे ।

गहिरिएर हेर्ने हो भने अहिले पनि गैरकानुनी तथा कानुनी दुवै किसिमका दासप्रथाहरू अभ्यासमा छन् । बालबालिकाको तस्करी र अन्य हिंसा, बालश्रम शोषण, बँधुवा मजदुर, विद्रोही समूहहरूमा बाल छापामार प्रयोग, थुनछेक गरेर यौन धन्दामा लगाउने आदि गैरकानुनी काम भइरहेका छन् । यो पनि दासता नै हो ।

यसको अर्थ अमेरिकामा हुने सबै काला मानिसहरू दासमात्रै थिए भन्ने होइन । क्रिश्चेन धर्म मान्ने वा क्रिश्चेन बन्ने शर्तमा कामदारका रूपमा ल्याइएका कालाहरूले पनि दास राख्न पाउँथे । यस्ता स्वतन्त्र कालाहरूको संख्या भने अत्यन्त कम थियो । यसरी चलिआएकोमा अमेरिकी संविधानको तेह्रौँ संशोधनले ६ डिसेम्बर १८६५ मा दास प्रथालाई गैरकानूनी घोषणा गरी एउटा कालो युग अन्त्य गर्‍यो । त्यसको प्रभाव भने गरिबी, पछौटेपन तथा असमान अवसरका रूपमा अहिले पनि देख्न सकिन्छ ।

यो भयो बर्बर र जङ्गली दासप्रथाको व्याख्या ।

३. इतिहासका पान हेर्दा र सतहमा हेरेर कुरा गर्दा अहिले दासप्रथा विश्वबाट उन्मूलन भएझैँ देखिन्छ । उन्मूलन भयो भनिन्छ । कतिपय विषय र अवस्थाको विश्लेषण गर्दा भने विश्व समाजमा अहिले पनि दासप्रथा कुनै न कुनै स्वरूपमा अस्तित्वमा रहेको पुष्टि हुन्छ ।

गहिरिएर हेर्ने हो भने अहिले पनि गैरकानुनी तथा कानुनी दुवै किसिमका दासप्रथाहरू अभ्यासमा छन् । बालबालिकाको तस्करी र अन्य हिंसा, बालश्रम शोषण, बँधुवा मजदुर, विद्रोही समूहहरूमा बाल छापामार प्रयोग, थुनछेक गरेर यौन धन्दामा लगाउने आदि गैरकानुनी काम भइरहेका छन् । यो पनि दासता नै हो । यसलाई कानुनले बर्जित गर्छ तर अनेक प्रयासका बाबजुद पनि अझै निर्मूल भएको छैन ।

अल्प विकसित, विकासोन्मुख र कतिपय विकसित देशमा गरी हजारौँ—लाखौँ बालबालिका, किशोरकिशोरी र वृद्धवृद्धा समेत यस्तो दासतामा घचेटिन बाध्य पारिएका घटना धेरै छन् । यसो हुनमा व्यक्तिको चिन्तनदेखि देशको अर्थराजनीतिक व्यवस्था र राजनीतिक प्रणाली समेत जिम्मेवार छन् भन्न सकिन्छ ।

पछिल्ला केही वर्षमा प्रविधिको क्रान्तिकारी विकास भएको छ तर राजनीतिक व्यवस्था, अर्थप्रणाली र मानव विकास एवं श्रमनीतिमा अनेक कमजोरीहरू विद्यमान छन् । त्यस्ता प्रविधि जसले उत्पादन, अवसर र आयमा सकारात्मक योगदान गर्न सक्छन्, उत्पादन र उत्पादकत्व बढाउँछन्, तीमाथि मजदुर, गरिब, अशक्त र निम्नमध्यम वर्गको पहुँच अत्यन्तै न्युन छ ।

फलस्वरूप यो वर्ग आर्थिक तथा मानसिक रूपमा नवधनाढ्यहरूको दासता स्वीकार गर्न बाध्य छ । देखिने गरी शारीरिक यातना दिन पाइन्न, फरक यतिमात्र हो । प्रविधिको विकास धनी र पहुँचवाला वर्गको निजी सम्पत्ति भएको छ, उसैले कब्जा जमाएको छ । त्यसैले, अदृश्यरूपमा दासता अहिले पनि अभ्यासमा छ ।

यो एक्काइसौँ शताब्दीको दासता हो ।

आज एउटा पार्टीको कार्यकर्ता भोलि बिहान अर्कै पार्टीको बनाइएको हुन्छ भन्ने गुनासो सुनिन थालेको छ । यसरी दललाई गोठ र कार्यकर्तालाई बँधुवा दास मानेर बिक्री गर्ने काम हुन थालेको भन्ने टिप्पणी कतिपय राजनीतिक कार्यकर्ताहरूले गर्न थालेका छन् । यो नै दासताको नयाँ संस्करण हो कि भन्ने चर्चा सुनिन थालेको छ ।

४. अर्को दासता कथित राजनीतिक दल तथा तिनका नेताहरूले पनि सिर्जना गर्दै लगेका छन् । यो कुरा तत् तत् राजनीतिक दर्शनबाट दीक्षित युवा कार्यकर्ताहरूले नै भन्न थालेका छन् । त्यो युगमा अमेरिका समेतका देशमा दासका गोठहरू पालेर मालिकहरूले ती दासहरू एक अर्कामा सुम्पेजस्तो अहिले पनि राजनीतिको नाममा दल गठन, सञ्चालन, कार्यकर्ता भर्नाका काम हुन्छन् । नेताहरू दललाई गोठजस्तो ठान्छन् ।

आज एउटा पार्टीको कार्यकर्ता भोलि बिहान अर्कै पार्टीको बनाइएको हुन्छ भन्ने गुनासो सुनिन थालेको छ । यसरी दललाई गोठ र कार्यकर्तालाई बँधुवा दास मानेर बिक्री गर्ने काम हुन थालेको भन्ने टिप्पणी कतिपय राजनीतिक कार्यकर्ताहरूले गर्न थालेका छन् । यो नै दासताको नयाँ संस्करण हो कि भन्ने चर्चा सुनिन थालेको छ ।

यसरी हेर्दा दासताको प्रकृति र स्वरूप परिवर्तन भए पनि यथार्थमा दासता समाप्त नभएको हो कि भनेर बुद्धि विलास गर्ने प्रशस्त ठाउँ छ । पहिले घोषित दास हुन्थे, अहिलेको अघोषित, फरक यति हो । राजनीतिक गोठका मूल गोठालाले आफूलाई मालिक ठान्न थाले । गोठसारी वा गोठ मिलानमा, राजनीतिक भाषामा भन्दा दल एकीकरणमा कार्यकर्ताको विचार के छ भनेर कतै कसैले पनि सोधेको देखिएको छैन ।

यो विषय बैंकहरू आपसमा गाभ्नेजस्तो मर्जर अभियान होइन । कुरा ठट्यौलोजस्तो पनि लाग्न सक्छ तर गम्भीर छ ।

यो दास प्रथाको नयाँ संस्करण हो ।

राजनीति त देश र जनताको श्रीवृद्धिका लागि हो, बुझ पचाउने काम नहोस् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ९ : १० बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले