लद्दाखबाट पछि हट्दै चिनियाँ सेना « Khabarhub
Logo
९ बैशाख २०७८, बिहीबार

लद्दाखबाट पछि हट्दै चिनियाँ सेना



तस्वीर : पीटीआई

काठमाडौँ –  ठूलो हताहती हुने गरी ४५ वर्षपछि चीन – भारतबीच भएको लद्दाख भिडन्तको करिव एक महिनापछि उक्त क्षेत्रबाट चिनियाँ जनमुक्ति सेना पछि हट्न थालेको छ ।

जुलाई ६ मा भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसहितका भारतीय विशेष प्रतिनिधि र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको वार्ताले सकारात्मक परिणाम ल्याएपछि विवादित क्षेत्रको तनाव कम हुँदै गएको हो ।

उक्त वार्तापछि ३ हजार ४८८ किलोमिटरको एलओसीमा दुबै पक्षबीचको तनाव कम भएको छ । आक्रोशमा रहेको चीनको पिपुल्स लिब्रेशन आर्मीले पाङ्‍गोङ साओको फिङ्‌गर फोरमा आफ्नो उपस्थितिलाई कम गरेको छ ।

यस्तै गलवान क्षेत्रबाट पनि चिनियाँ सेना पछि हट्‍ने क्रममा छ । गोर्गा र हट स्प्रिङ क्षेत्रमा पनि अप्रिलमा अघि बढेको चिनियाँ सेना पछि हट्ने तयारीमा रहेको छ ।

झण्डै एक महिना यता लद्दाखदेखि अरुणाञ्‍चलसम्म चीन – भारतका करिब ३० हजार सेना आमनेसामने भएकोमा अहिले स्थिति सामान्य बन्दै गएको छ ।

राष्ट्रिय सुरक्षा योजनाकारहरुका लागि यो सन्तुष्टिको विषय भएपनि जुन १५ को हिंसात्मक झडपपछि दुई मुलुकबीचको विश्वासमा भने संकटको स्थिति सिर्जना भएको छ ।

बेइजिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वास दिलाउने प्रयास गरिरहेको छ । शक्ति प्रदर्शनका क्रममा सन् २०१७ को दोक्लामपछि सन् २०२० मा भएको रणनीतिक गल्ती भएको भन्दै भारतलाई बेइजिङले मनाउने प्रयासमा रहेको बुझिएको छ ।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीले भने वुहान र चेन्नेइ वार्तामाजस्तो हतार नगरी यस विषयको चिन्तनमा लागेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

चीनको रणनीतिक स्वार्थ बुझेर मोदीले उसको विस्तारवादको नीतिलाई हतार नगरी सालिनतापूर्वक प्रतिरोध गरेको भनेर बिश्लेषण गरिएको छ ।

प्रधानमन्त्री मोदी लद्दाखको लेह पुगेर चीनको नाम नलिइ चीनलाई लक्षित गर्दै विस्तारवादलाई जसरी पनि प्रतिवाद गर्ने बताएका थिए ।

यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२० मा भारतमाथि गरेको शक्ति प्रदर्शनले आफैं पछि हटेको टिप्पणी हुन थालेका छन् ।

विश्लेषणहरूमा जनाइए अनुसार चीन लद्दाखको श्योक नदीलाई भारतसँग सीमा बनाउँदै दक्षिण चीन सागर क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन चाहन्छ । दक्षिण चीन सागरमा चीनको महत्वाकांक्षा मालाक्का, लोम्बार्ड र सुन्दा स्ट्रेट भएर जाने आधाभन्दाबढी विश्वव्यापी व्यापारलाई आफ्नो नियन्त्रणमा लिदै ताइवानलाई चीनको एक हिस्साको रूपमा कब्जा गर्ने मिसन रहेको बताइन्छ ।

यो महामारीकाबीच पनि विस्तारवादी नीति अबलम्बन गरेको चीनलाई भारतले उपयुक्त समयमा जवाफ दिने तयारी गरिरहँदा आफ्नो रणनीतिमा दख्खल नहोस् भनेर चीन भारतलाई मनाउने प्रयत्नमा लागेको टिप्पणी भइरहेका छन् ।

 


भर्खर

0